निर्वाचनमा महिला उपेक्षित
मुलुक चुनावमा होमिएको छ । यसैक्रममा प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको मनोनयम प्रक्रिया सकिएको छ । मनोनयमा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।

विनीता पन्त, डाइटिसियन, अल्का अस्पताल
गर्मी महिनामा कस्तो खाना खानुपर्छ ?
जाडो होस् अथवा गर्मी, खाना हाम्रो आधारभूत आवश्यकता हो । खाना आवश्यकता हो भने मिलाएर सन्तुलित खाना खानु कला हो । खानेकुरा खाएर हामी आफ्नो भोक टार्छौं नै यसबाट शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्वहरू पनि प्राप्त गर्न सकिन्छ । यसका लागि पाँच खाद्य समूह (१. अन्न २. दाल तथा गेडागुडी ३. फलफूल र तरकारी ४. माछा, मासु, दूध, दही र ५. तेल, घिउ, चिनी) सन्तुलित मात्रामा खानामा समावेश गर्नुपर्छ ।
कृषिको विकाससँगै विभिन्न बेमौसमी खानेकुरा पनि बजारमा उपलब्ध छन् तर मौसमी खाद्यवस्तुहरू आफ्नो खानामा समावेश गर्नु स्वास्थ्यका दृष्टिले बढी लाभदायक हुन्छ । गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी आउने हुँदा शरीरलाई शीतलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ । गर्मीमा पाइने खरबुजा, तरबुजा, मेवा, प्याज, पुदिना, कागती, काँक्रो, काँचो आँप, मकै, हरिया सागपात तथा तरकारीहरूमा एन्टिअक्सिडेन्ट, एन्टिहिट स्ट्रोक एवं शीतलता प्रदान गर्ने तत्वहरू विद्यमान हुन्छन् । त्यसैगरी नरिवलको पानी, ताजा फलफूलको जुस, पुदिनाको जुस, कागतीको जुस, दही–मोही आदिले शरीरमा तापक्रम र पानीको मात्रा सन्तुलन राख्नुका साथै शरीरलाई चाहिने शक्तिको प्रबन्ध पनि गर्छन् ।
जाडो मौसमको तुलनामा गर्मी मौसममा कम खान मन लाग्नुको कारण के हो ?
जाडो महिनामा शरीरको तापक्रमभन्दा बाहिरी तापक्रम चिसो हुने भएकाले शरीरको बाहिरी भाग र मांसपेशी पनि चिसो हुन्छ । शरीरको बाहिरी भाग र मांसपेशीलाई तातो राख्न तथा मांसपेशीको कार्य सुचारु राख्न बढी शक्तिको खर्च हुन्छ । त्यसकारण जाडोमा बढी भोक लाग्छ । गर्मीमा बाहिरी तापक्रम नै बढी हुने हुँदा शरीरको बाहिरी भाग र मांसपेशीलाई तातो बनाउन शक्ति खर्च हुँदैन । त्यसकारण शक्तिको आवश्यकता नै कम हुने भएकाले गर्मीमा भोक पनि कम लाग्छ ।
गर्मीमा बढी पिरो–अमिलो खान मन लाग्छ, यसले स्वास्थ्यमा कस्तो असर पार्छ ?
पिरो तथा अमिलो खानेकुरा जिब्रोको स्वादका लागि वा रिफ्रेसका लागि खाइन्छ । यस्ता खानेकुराले बाहिरी तापक्रमअनुसार शरीरको भित्री तापक्रम पनि वृद्धि गराई शरीरको तापक्रम सन्तुलित कायम राख्छन् । अमिला (कागती वा अन्य फलफूलहरू) तथा पिरा (हरिया खुर्सानी) खानेकुराहरूले हाम्रो शरीरका लागि आवश्यक अन्य पौष्टिक तत्वहरू पनि प्रदान गर्छन् । ताजा खाद्य स्रोतबाट प्राप्त अमिला वा पिरा खानेकुराहरूले स्वस्थ मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन तर विभिन्न रोगको समस्या छ भने पोषणविद्हरूसँग परामर्श गरेर मात्र यस्ता कुरा खानु उपयुक्त हुन्छ ।
गर्मीमा प्रतिदिन कति पानी पिउनुपर्छ ?
शरीरको तापक्रम ठीक राख्न पनि पानी अत्यन्त आवश्यक हुन्छ । गर्मी मौसममा पानी कति पिउनुपर्छ भन्ने कुरा उक्त ठाउँको तापक्रम कति छ र कति पानीको मात्रा पसिनाबाट उत्सर्जन हुन्छ त्यसमा भर पर्छ । स्वस्थ मानिसले चिसो मौसममा दैनिक १ दशमलव ५ लिटरदेखि २ लिटर पानी पिउनुपर्छ भने गर्मी मौसममा २ लिटरदेखि ३ लिटर पानी पिउनुपर्छ । बढी तापक्रम हुने र पसिना बढी आउने ठाउँमा ५ लिटरसम्म पानी पिउन सकिन्छ । पानीको मात्रा कम गर्नुपर्ने बिरामीले भने चिकित्सक वा पोषणविद्को सल्लाहअनुुसार पानी पिउनु उपयुक्त हुन्छ ।