Successfully Copied

सर्वोच्चमा प्रथम महिला प्रधानन्यायाधीश

मुलुकको न्यायिक क्षेत्रको सबैभन्दा माथिल्लो पद पहिलोपटक महिलाले सम्हालेकी छिन् । ती ऐतिहासिक महिला हुन्–सुशीला कार्की ।

मुलुकको न्यायिक क्षेत्रको सबैभन्दा माथिल्लो पद पहिलोपटक महिलाले सम्हालेकी छिन् ।  ती ऐतिहासिक महिला हुन्–सुशीला कार्की । यद्यपि उनी अझैसम्म कायममुकायम प्रधानन्यायाधीश नै छिन् । कार्कीको नाम प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिमा सिफारिस भए पनि त्यसमाथि सुनुवाइ नभएकाले उनले कायममुकायमकै रूपमा न्याय प्रशासन सम्हालेकी हुन् । नयाँ संविधानअनुसार सुनुवाइ समितिको नियमावली नबनेकाले कहिले सुनुवाइ हुन्छ भन्ने टुंगो छैन ।

‘प्रधानन्यायाधीशको पदपूर्ति गर्ने संवैधानिक अनिवार्यतालाई पनि अटेर गर्दा यस्तो स्थिति आएको हो,’ निवर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘न्यायालयमा राजनीति गर्ने काम भैरहेको छ, यो राम्रो होइन ।’ आठ वर्षअघि सर्वाेच्चमा अस्थायी नियुक्ति पाएकी कार्की निष्कलंक छविकी न्यायाधीशका रूपमा परिचित छिन् । कार्की न्यायाधीश हुनुअघि गृहनगर विराटनगरमा सक्रियतापूर्वक वकालत गर्थिन् । उनको जन्म विराटनगरकै शंकरपुरमा २००९ साल जेठ २५ गते भएको थियो । महेन्द्र मोरङ कलेज विराटनगरबाट स्नातक र भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेकी सुशीलाले सन् १९७८ मा नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी छिन् । त्यसलगत्तै उनले वकालत सुरु गरेकी थिइन् । कार्कीले महेन्द्र बहुमुखी क्याम्पस धरानमा तीन वर्ष अध्यापनसमेत गरिन् । ०६१ पुस ५ मा वरिष्ठ अधिवक्ता बनेकी कार्की ०६५ माघ ९ मा सर्वोच्चको अस्थायी न्यायाधीश भइन् । ०६७ मंसिर २ गते उनी स्थायी भएकी हुन् ।

 Image