Successfully Copied

नयाँ वर्ष मनाउने शैली

नयाँ वर्ष उत्साहको क्षण हो । नयाँ वर्ष विश्वमा अलग–अलग तिथिमा मनाउने चलन छ । नेपालमा नयाँ वर्षको पहिलो महिना वा पहिलो दिन, वैशाख १ गते नयाँ जोस र जाँगरका साथ मनाउने परम्परा छ । नयाँ वर्ष सकारात्मक सोच, एकता, नयाँ योजनाका साथ

नयाँ वर्ष उत्साहको क्षण हो । नयाँ वर्ष विश्वमा अलग–अलग तिथिमा मनाउने चलन छ । नेपालमा नयाँ वर्षको पहिलो महिना वा पहिलो दिन, वैशाख १ गते नयाँ जोस र जाँगरका साथ मनाउने परम्परा छ । नयाँ वर्ष सकारात्मक सोच, एकता, नयाँ योजनाका साथ मीठा परिकार खाई विशेष उत्सवका रूपमा मनाउने चलन छ । नयाँ वर्ष मनाउने कुरालाई आधुनिक युवायुवतीहरूले विशेष जोड दिन्छन् । नयाँ वर्ष  मिष्ठान्न भोजन खाँदै साथीभाइसँग रमाइलो भलाकुसारी गरी मनाइन्छ । यो उत्सव एकअर्काको प्रगति र सफलताको कामना गरी हर्षोल्लासका साथ मनाइन्छ । हरेक मानिसमा आफ्नै किसिमको उत्साह हुन्छ । कसैमा धेरै त कसैमा थोरै । यसका  अतिरिक्त किशोरावस्थामा जति सक्रियता र उत्सुकता अरूमा खासै पाइँदैन । भनिन्छ, यो उमेरमा धेरै कुराको विकास हुन्छ अनि योजना बनाउने जाँगर पनि उत्तिकै हुन्छ । 

वर्ष २०७३ सबैका लागि नयाँ खुसी बोकेर आओस् भन्ने अपेक्षा सबै नेपालीमा छ । यद्यपि २०७३ सालमा आम नेपालीले अरू वर्षभन्दा बढी अपेक्षा गरेका छन् । गत वर्षको चोट र कष्ट भुल्न पनि आमनेपाली नयाँ वर्षको प्रतीक्षामा छन् । यही अपेक्षा पूरा गर्न टिनएजरहरू विगतभन्दा उत्कृष्ट ढंगले नयाँ वर्ष मनाउने तयारीमा छन् । साहसका साथ अघि बढ्न र कष्टको सामना गरी अघि बढ्ने शक्ति मिलोस् भनी नयाँ वर्ष मनाउने विचार धेरै किशोरीको मुखबाट सुन्न पाइन्छ । 

सुनसरी, धरान घर भै हाल भक्तपुर बस्ने १८ वर्षीया सारंगा प्रधान अरू बेलाको भन्दा फरक ढंगले नयाँ वर्ष मनाउने सोचमा छिन् । प्रधान डान्स पार्टी जाने, साथीहरूसँग  भेला भै रमाइलो गर्ने र घुम्न जाने योजना बुन्दैछिन् । चैत मसान्तको दिन न्यू इयर इभका रूपमा मनाइन्छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन खुवै रमाइलो गर्ने मनसायमा छिन् सारंगा । प्रधानले एक महिनाअघिदेखि नै साथीहरूसँग सल्लाह गरी नयाँ वर्ष मनाउन स्कर्ट किनेकी छिन् ।

वैशाख महिनाभरि नयाँ वर्ष मान्न सकिने कुरा बताउँछिन् सूर्यविनायककी १९ वर्षीया– निशा तामाङ । नयाँ वर्षमा नयाँ काम थालनी गर्नुपर्छ भन्ने कुरामा अहिलेका किशोरीहरू उत्तिकै सजग छन् । यसैगरी अहिलेको ट्ेरन्डलाई पछ्याएर रमाइलो गर्न पनि उनीहरू खप्पिस छन् । किशोर–किशोरीहरू रमाइलो गर्न नाइट पार्टी जानु तथा नाचगान गर्नुलाई सामान्य रूपमा लिन्छन् । यस्तै योजना छ काभ्रे तिमालकी १८ वर्षीया सुनीता तामाङको । २०७३ सालमा उनी धेरैभन्दा धेरै थांका खरिद गर्ने योजनामा छिन् । गत वर्ष हरकुरामा आम नेपालीले थुप्रै दु:ख व्यहोर्नुपरेको स्मरण गर्दै सुनीता आम नेपालीमा नयाँ वर्षले नयाँ जोस–जाँगर र सुख प्रदान गरोस् भन्ने कामना गर्छिन् । वर्ष १७ की सिर्जना तामाङ मोडल तथा कलाकार पनि हुन् र उनी नयाँ वर्षका दिन मुभी हेर्ने योजनामा छिन् । रामेछाप बेथान भोसाकी सिर्जना भने प्रेमीसँग घुम्ने, रमाइलो गर्ने, पार्टीहरूमा रमाउने योजनामा छिन् । उनी नयाँ वर्षदेखि अध्ययनमा प्रशस्त समय जुटाउने र मोडलिङमा पनि आफ्नो स्थान दह्रो बनाउने दाउमा छिन् । यस्तै काठमाडौंकी एलिना श्रेष्ठले नयाँ वर्ष मनाउन महिना दिनअघि नै नयाँ ठाउँ घुम्न जाने योजना बनाएकी थिइन् । अहिलेको वातावरणमा सहजै भिज्न सक्ने एलिनालाई घ्याम्पेडाँडा डुल्न असाध्यै मन पर्छ । उनी कतिपय बानी छोड्नैपर्ने खालका भएकाले नयाँ सालदेखि यस्ता खराब बानी त्याग्ने सोचमा छिन् । नयाँ वर्षमा नयाँ योजनाअनुसार अघि बढ्ने सोचमा त छिन् नै त्यसका अतिरिक्त रमाइलो वर्षका रूपमा दिन सुरु गर्ने उनको इच्छा छ । 

टिनएजरहरू नयाँ वर्ष मनाउन, रिसोर्ट, डेटिङ स्थल, मुभी हल, नाइट पार्टी वा क्लब, लाइभ व्यान्ड, सहरका विभिन्न क्षेत्रमा आयोजना हुने सांगीतिक कार्यक्रम तथा रमाइलो मेलाका साथै घुम्न विभिन्न स्थललगायत मठ–मन्दिरसम्म पुग्छन् । यी कुराहरूलाई नेपालमा प्रचलित रमाइलो गर्ने माध्यमका रूपमा पनि लिन सकिन्छ । यसका अतिरिक्त आफ्नो परिवार तथा साथीभाइसँग एक ठाउँमा भेला भै मीठा परिकार खाने, उपहार आदानप्रदान गर्दै शुभकामना साटासाट गर्ने चलन पनि छ । 

राजधानी देशकै सबैभन्दा बढी जनसंख्याको भार थाम्ने एक मात्र स्थल हो । यहाँ पचहत्तरै जिल्लाका मानिसको बसोबास छ । उपत्यका सबैभन्दा धेरै चहलपहल तथा व्यवसाय हुने केन्द्र पनि हो । यसकारण नयाँ वर्षको रौनक उपत्यकामा सबैभन्दा बढी देख्न सकिन्छ । नयाँ वर्षमा यहाँका रिसोर्ट, रेस्टुरेन्ट तथा बार,  फिल्म हल, रमाइलो मेला तथा डेटिङ स्पोर्टहरू भरिभराउ हुन्छन् । यसैगरी उपत्यकाका सबैजसो मलमा रमाइला कार्यक्रमहरू आयोजित हुने परम्परा बसेको छ । 

यतिबेला उपत्यका नयाँ वर्षको अवसरमा झकिझकाउ अनि व्यस्त हुन्छ । यसैगरी गिफ्ट हाउस, कोल्ड हाउसहरूको व्यस्तता पनि बढ्छ । नयाँ वर्षको रौनक त किशोरकिशोरीहरूमै झल्कन्छ । आफूलाई उत्सवमय बनाउन उनीहरू विभिन्न बहाना खोजिरहेका हुन्छन् । 

टिनएजरहरूका लागि नयाँ वर्ष मनाउने शैली 

डान्स बार    

डान्स बार अहिले किशोरीहरूका लागि रमाइलो गर्ने र उत्सव मनाउने राम्रो माध्यम मानिन्छ । आफ्ना साथीभाइ तथा परिवारसँग डान्समा झुम्न सहज हुन्छ । विशेषगरी डान्स बारमा सामान्य पेय पदार्थका साथ रमाइलो गर्न जोकोही चाहन्छन् । काठमाडौंमा संचालित डान्स बार यतिबेला व्यस्त र भरिएका छन् । पर्यटकदेखि लिएर नयाँ वर्षको मौका पारेर झुम्न चाहने टिनएजरहरूले डान्स बारलाई रोज्न सक्छन् ।

फिल्म हल

नयाँ वर्षको अवसर पारेर कलिउड, बलिउड तथा हलिउडका हाइ भाइव अर्थात् दर्शकले रुचाउने चलचित्र प्रदर्शन हुने हुँदा किशोर–किशोरीहरूका लागि नयाँ वर्ष मनाउन फिल्म हल राम्रो गन्तव्य बन्न सक्छ । उपत्यकामा संचालित आधुनिक शैलीका फिल्म हलहरू आरामदायकका साथै लोकप्रिय मानिने अर्काे प्रमुख गन्तव्य पनि हो । अरू बेलाको तुलनामा नयाँ वर्षका दिन चलचित्र हेरेर मनाउनेहरूको संख्या बढी हुन्छ । 

मल

आधुनिक सुविधा सम्पन्न मलहरू रमाइलो उत्सव मनाउने अर्काे मुख्य गन्तव्य हुन् । आधुनिक परिकार तथा आरामदायक ढंगले फिल्म हेर्नुका साथै विभिन्न लाइभ सांगीतिक कार्यक्रम पनि हुने हुँदा धेरैजसो नयाँ वर्ष मनाउन मलहरूसम्म पुग्छन् । यहाँ सपिङदेखि लिएर कफी होस् वा पेयपदार्थमा रमाउँदै लामो समय टहलिन तथा कुराकानी गरेर बस्न सकिने हुँदा किशोर–किशोरीहरूका लागि मल नयाँ वर्ष मनाउने राम्रो स्थल मानिन्छ ।

पार्क–रिसोर्ट

उपत्यकामा विभिन्न सुविधा सम्पन्न पार्कहरू छन् । प्रेमी–प्रेमिका, साथीभाइ वा परिवारजनसँग पनि पार्कमा गएर उत्सव मनाउने चलन बढ्दै गएको अवस्थामा नयाँ वर्ष मनाउने अर्काे आकर्षक स्थल पार्क पनि हो । पार्कमा आफ्नो हिसाबले सांगीतिक कार्यक्रम तथा रमाइलो खेल आयोजित गरी नयाँ वर्ष मनाउन सकिन्छ । 

धार्मिकस्थल

हुन त अहिलेका किशोर–किशोरीहरू धार्मिक कुरामा खासै विश्वास राख्दैनन् भनिन्छ तर यसलाई पूर्णसत्य पनि भन्न मिल्दैन । अहिलेका किशोर–किशोरीहरूको मोह आधुनिक कुरामा मात्र छैन । साथीसाथी  मिलेर समूहमा मन्दिरमा दर्शन गर्न जाने किशोर–किशोरीहरू प्रशस्तै देखिन्छन् । अहिलेका युवाहरू उत्सवलाई विश्वास र शान्तिको अनुभूति गर्न सकिने बलियो आधारका रूपमा लिन्छन् । यसका लागि पनि उनीहरू धार्मिकस्थलमा पूजाआजा गरी वर्षको सुरुवात गर्छन् ।  

उपत्यकामा रमाइलो उत्सव मनाउने थुप्रै विकल्प छन् । जस्तो आकर्षक केन्द्रका रूपमा ठमेल, दरबारमार्ग, न्यूरोड, भक्तपुर र ललितपुरका विभिन्न स्थलमा रमाइलो गर्न सकिन्छ । आम टिनएजरहरू यस्तै स्थलमा गएर रमाइलो गर्न रुचाउँछन् । काठमाडौं वरिपरिका नगरकोट, धुलिखेल, दामन, रानीपौवा, टोखा आदि आकर्षक क्षेत्रहरू नयाँ वर्ष मनाउने रमाइला ठाउँका रूपमा परिचित छन् । 

तस्विर: नवराज वाग्ले 

 Image