महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि

गत महिना संयुक्त राष्ट्रसंघको विशेष सत्र सीएसडब्लू अर्थात् कमिसन अन द स्टाटस अफ विमेनको ६० औं बैठकमा विश्वभरिका महिला अधिकारकर्मीका बीच नेपाली महिला अधिकारका सम्बन्धमा बहस भयो । बैठकमा नेपालकातर्फबाट सहभागी सरकारी टोलीले राष्ट्रसंघको बैठकमा प्रतिवेदन प्रस्तुत गर्यो भने गैरसरकारी टोलीले साइड इभेन्टहरूमा कार्यपत्र प्रस्तुत गर्दै छलफल चलायो । सरकारी टोलीको प्रतिनिधित्व गर्दै न्यूयोर्क पुगेका उप–प्रधानमन्त्री सीपी मैनालीले सरकारी प्रतिवेदनमा नेपाल महिला अधिकारको पक्षमा भएका प्रगति विवरण र केही सुधार गर्नुपर्ने विषय समेटिएको बताए । यो विशेष बैठकमा महिला अधिकारका सम्बन्धमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबाट सरकारी प्रतिबद्धता कति कार्यान्वयन भयो र चुनौती के–के छन् भन्ने विषयमा बृहत् छलफल हुन्छ । चौथो विश्व महिला सम्मेलनपछि द्वन्द्व र महिला, महिला र सञ्चार, महिला र वातावरणलगायत विभिन्न १२ वटा मुख्य विषयमा विभिन्न प्रतिवेदन प्रस्तुत हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघको यो बैठकमा प्रत्येक वर्ष सदस्य राष्ट्रहरूले महिला अधिकारका क्षेत्रमा भए–गरेका प्रगति विवरण पेस गर्छन् र राष्ट्रसंघले सदस्य राष्ट्रबाट आएका सुझाव एवं प्रगतिका आधारमा महिला अधिकारको विश्व रणनीति तयार गर्छ । गैरसरकारी संस्थाहरूले पनि आ–आफ्नो क्षेत्रमा गरेका कामहरूको अनुभव आधारमा छलफल चलाएर सुझाव दिए पनि त्यो राष्ट्रसंघका लागि आधिकारिक मानिँदैन ।