Successfully Copied

बनौं होम डेकोरेटर

फर्निचर अरेन्जमेन्ट –कुनै फर्निचर मन पर्‍यो भन्दैमा पूरा ध्यान त्यसैमा केन्द्रित गर्नु ठीक होइन । त्यसका अन्य विकल्पमा पनि विचार पुर्‍याउनुपर्छ ।

फर्निचर अरेन्जमेन्ट

–कुनै फर्निचर मन पर्‍यो भन्दैमा पूरा ध्यान त्यसैमा केन्द्रित गर्नु ठीक होइन । त्यसका अन्य विकल्पमा पनि विचार पुर्‍याउनुपर्छ ।

–फर्निचर लिनुपूर्व ठूलो साइडबोर्डलाई लिविङ रुममा लगाएर हेर्नुपर्छ कि के त्यो फर्निचर त्यसमा सहज रूपमा फिट हुन्छ ? फर्निचर कोठामा राखेपछि आवतजावतका लागि स्पेस हुनुपर्छ ।

–आउने–जाने बाटो भएन भने हरेक पटक फर्निचर सार्नुपर्ने हुन्छ वा स्थान अभावले गर्दा आउँदा–जाँदा आफैँलाई घाउचोट लाग्न सक्छ ।

–कुनै एक स्थानमा फर्निचरलाई स्थायी रूपमा राख्ने हो भने कोठाको भित्ताको लम्बाइ–चौडाइको हिसाबबाट फर्निचर खरिद गर्नुपर्छ । यसबाट पनि आउने–जाने स्पेस प्राप्त हुन्छ ।

–साथीभाइ एवं आफन्तजनको लिविङ रुमलाई ध्यानपूर्वक हेर्नुपर्छ र त्यसको इन्टेरियरलाई बुझ्ने प्रयास गर्नुपर्छ । इन्टेरियर म्यागजिन पढ्नुपर्छ । यी सबैबाट लेटेस्ट ट्रेन्ड एवं कलर आदिका बारेमा जानकारी प्राप्त हुन्छ ।

–कल्पनाशील हुनुपर्छ र आफ्नो लिविङ रुममा उपलब्ध स्थान, पर्दा र भित्ताको रंगको हिसाबले कुन फर्निचर सुहाउँछ विचार पुर्‍याउनुपर्छ ।

कार्पेटको रंग

–कार्पेटको रंगको छनोट सोचेर–बुझेर गर्नुपर्छ ।

–रंग चयन गर्नुपूर्व कति स्थान उपलब्ध छ, निक्र्यौल गर्नुपर्छ । त्यसो त क्रिम वा बेजजस्ता न्युट्रल रंग राम्रो विकल्प हुनसक्छन् । 

–वाल टु वाल कार्पेट लगाउनु छ भने कार्पेटको रंग न्युट्रल हुनु राम्रो हुन्छ ।

–रग्स लिने हो भने त्यो बोल्ड कलरको हुनसक्छ । यी महँगा हुँदैनन् । यिनलाई सजिलै बदल्न सकिन्छ ।

पर्दा कस्तो हुनुपर्छ ?

–ट्रेन्डका दृष्टिले पर्दाको टेक्सचर, रंग एवं डिजाइन परिवर्तन हुन्छ । ट्रेन्डी बन्ने चक्करमा यिनलाई बारम्बार परिवर्तन गर्न सम्भव हुँदैन । यस्तोमा पुरानो पर्दालाई नै नयाँ रूप दिनुपर्छ ।

–पुरानो पर्दाको खराब र खुइलिएको भागलाई निकाल्नुपर्छ । मिक्स एन्ड म्याच गर्दै त्यसका साथमा अर्को रंगको कपडा लगाएर सिलाउन सकिन्छ ।

–बजारमा पहिले नै तयार प्यानल पाइन्छ, जुन तुलनात्मक रूपले सस्तो पनि हुन्छ । घरको झ्यालढोकाका दृष्टिले सही लम्बाइको प्यानल पाइरहेको छैन भने सानो प्यानललाई लामो गर्न त्यसको मुन्तिर कन्ट्रास्ट रंगको पट्टी लगाउनुपर्छ । प्यानलको किनारमा पाइपिङ, रिबन आदि राख्न सकिन्छ ।

–अलग–अलग रंगका पर्दाको कम्बिनेसन प्रयोगमा ल्याउन सकिन्छ ।

–पर्दा सिलाउने कार्य गाह्रो भए जहाँ किनेको हो त्यहीँ सिलाउन दिनु राम्रो हुन्छ ।

आफ्नोपनको अनुभूति

सामान्यत: ठूलो कोठामा हरेक कुरा आफूबाट टाढा भएको महसुस हुन्छ । यसमा आफ्नोपनको अनुभव सिर्जना गर्न अनेकौं सिटिङ अरेन्जमेन्ट गर्नुपर्छ ।

–हरेक बस्ने ठाउँमा गलैंचा ओछ्याएर त्यसलाई अलग पहिचान दिनुपर्छ ।

–कोठा ठूलो छ भने ठूल्ठूलो पेन्टिङ र ठूलै फर्निचर प्रयोग गर्नुपर्छ । यसमा कालीन, पर्दा र गद्दा आदिको मद्दतबाट रंग, डिजाइन भर्नुपर्छ । 

 बोल्ड कलर

–आजभोलि बोल्ड कलर गर्ने फेसन चलेको छ । अरेन्ज वा अरू कुनै रोमान्टिक कलरबाट रंगाउन खोज्दै हुनुहुन्छ भने घरको इन्टेरियरको रंगमा सन्तुलन कायम राख्नुपर्छ । फर्निचरमा प्रयोग गरिने कपडाको रंग भने ब्राइट नभई हल्का हुनु राम्रो हुन्छ ।

–तिनमा हल्का रंगका फूल, पात वा स्ट्राइप्स छ भने एकाध हल्का टोनको अरेन्ज कलर हुनुपर्छ, जसबाट भित्ताको रंग म्याचिङ होस् ।

–फर्निचर तथा पर्दा हल्का सुन्तला रंगको छ भने टेबलमा अरेन्ज रंगका फूल वा सुन्तला भरेको बाउल राख्नु राम्रो हुन्छ ।

–ब्राइट फ्युसिया रंग लगाउँदै हुनुहुन्छ भने सेतो काउचमा न्युट्रल कलरको तकिया र ग्रे रंगको गलैंचा बिछ्याउनुपर्छ ।

–भित्ताको रंग मन परेन भने पुन: परिवर्तन गर्न सकिन्छ ।

–गाढा रंगले भित्ता रंगाउँदा कुनै ठाउँ खाली छोडी त्यसमा पेन्टिङ, ह्याङगिङ वा मिरर वर्क कुनै सामान लगाउनुपर्छ । यिनलाई लगाउँदा गाढा रंगमाथि नजर पर्दर्ैन र भित्ताको रंग केन्द्रबिन्दु बन्नुको साटो ब्याक ग्राउन्डमा सीमित हुन्छ ।

कस्तो हुनुपर्छ डाइनिङ टेबल

–घरको आकार र आवश्यकताअनुसार डाइनिङ टेबल छनोट गर्नुपर्छ ।

–परिवारमा चार वा छ जना सदस्य भए त्यस हिसाबबाट फोर सिटर वा सिक्स सिटर डाइनिङ टेबल राख्नुपर्छ । कोठा सानो छ भने सिसाको डाइनिङ टेबल उपयुक्त हुन्छ । यसबाट कोठा ठूलो भएको महसुस हुन्छ ।

–कोठा ठूलो छ भने काठको डाइनिङ टेबल उपयुक्त हुन्छ । यस्तो डाइनिङ टेबलले मुनिबाट धेरै ठाउँ ओगट्छ ।

–घरमा प्राय: पार्टी हुन्छ भने फोल्डिङ डाइनिङ टेबल प्रयोग गर्न सकिन्छ । यसलाई टेरेस वा छतमा कतै पनि राख्न सकिन्छ ।

–डाइनिङ टेबललाई सही ढंगबाट सजाउन सके त्यसले कोठाको लुक नै परिवर्तन गर्छ । डाइनिङ टेबललाई रनर वा टेबल म्याटले सजाउन सकिन्छ । रनर छनोट गर्दा मौसम, अवसर तथा रंगमा विचार पुर्‍याउनुपर्छ । 

घर खाली नदेखियोस् 

–कोठालाई सजाउन ठूलो साइजको सामान खरिद गर्नु हँुदैन । स–साना सरसामान थोरै राख्नुपर्छ । कतिपय मानिस सानो घरलाई ठूलो देखाउने हेतुले ठूलो साइजको सोफा, काउच र साइड टेबल आदि खरिद गर्छन् जसबाट घर सुन्दर देखिनुको साटो भद्दा देखिन्छ ।

–कोठा सानो छ भने कलर स्किम हल्का राख्नुपर्छ । कन्ट्रास्ट कलर स्किमका लागि हल्का सेड्स प्रयोग गर्नुपर्छ, जस्तै हल्का नीलो, हल्का हरियो, हल्का पहेंलो वा हल्का प्याजी । कालो र सेतोको कन्ट्रास्टबाट बच्नुपर्छ । यस प्रकारको रंगको प्रयोग पर्दा वा फर्निचरमा गर्न सकिन्छ ।

–कोठामा सीधा उभिने सरसामानमा फोकस गर्नुपर्छ ।

–भित्तामा सेल्फ आदि तल भुइँबाट सुरु गरी माथि छतसम्मको बनाउनुपर्छ र चारैतिर मोल्डिङ गर्नुपर्छ ।

–कोठाको सबैभन्दा सानो भाग वा बुक केसको पछाडि सिसा राख्दा पनि कोठा ठूलो देखिन्छ ।

–रोजिन शाक्य

 Image