सन् २०१२ को मिस नेपालमा धेरैको नजरमा चढेकी सृष्टि श्रेष्ठ नै अन्तत: मिस नेपाल भइन् । लन्डनमा मोडलिङको अनुभव बटुलेकी चितवनकी सृष्टि मिस चितवन पनि हुन् । उनले मिस नेपालमा वेस्ट कन्फिडेन्ट अवार्ड पनि हात पारेकी थिइन् । ५ फिट ९ इन्च अग्ली सृष्टि मिस वल्र्डमा बीच ब्युटी सब टाइटलमा आठौं भएकी थिइन् । मोडलिङमा आफूलाई अघि बढाइरहेकी सृष्टिले केही समयअघि बलिउडको कभी जो बादल बरसे गीतमा अभिनय गरेकी थिइन् । त्यसपछि पनि उनलाई हिन्दी तथा नेपाली भिडियोबाट थुप्रै प्रस्ताव आए तर उनले अभिनयलाई परिपक्व तरिकाले सिकेपछि मात्र यसमा सक्रिय हुने योजना बनाइन् । चलचित्रमा आफूलाई स्थापित गराउनकै लागि उनले केही समय मण्डला थिएटरमा सुनील पोखरेलसँग अभिनयको प्रशिक्षण लिइन् । चलचित्रमा सदाबहार हुन रूपसँगै अभिनय क्षमता पनि हुनुपर्ने उनको तर्क छ । अहिले उनी नेपाली चलचित्र ‘गाजलु’ मार्फत अनमोल केसीकी नायिकाका रूपमा डेब्यु गर्दैछिन् । सानैदेखिको अभिनय मोहलाई सार्थक बनाउन नेपालमै रहेर नेपाली चलचित्रमार्फत परिचित हुने सृष्टिको योजना छ । कुनै काममा हात हालेपछि पूरा गरिहाल्नुपर्ने सृष्टि फेसनप्रति निकै सचेत छिन् । समय, ठाउँ र अवस्थाअनुसारको गेटअपमा हिँड्ने श्रेष्ठ फेसनको पछाडि अन्धाधुन्ध दगुर्दिनन् । आफूलाई जुन पहिरन सजिलो लाग्छ र सुहाएको छ त्यसैमा हिँड्न रुचाउने सृष्टिलाई नेपाली फेसन डिजाइनर आस्तिक शेरचनका पहिरन बढी मन पर्छन् । मिस नेपाल पनि भएकीले आफूले अभिनय गर्ने चलचित्र दर्शकहरूले रुचाउने खालको र उत्कृष्ट छानेर मात्र काम गर्ने उनको सोच छ । जीवनमा सफल हुन आफूले गर्ने कामप्रति इमान्दार, लगनशील एवं कामलाई बुझेको हुनुपर्ने अन्यथा सफल हुन नसकिने सृष्टिले बताइन् ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : युवी थापा
मेकअप तथा हेयर : ओशा मूलमी तथा ओनिशा मूलमी, गल्र्ज ब्युटिपार्लर, खिचापोखरी
लोकेसन : काठमाडौं गेस्ट हाउस, ठमेल