Successfully Copied

नयाँ वर्षको संकल्प

नयाँ तथा एक्स्ट्रा कमिटमेन्ट, विगतलाई परिमार्जित गर्ने सुनौलो अवसर, नयाँ कुराको थालनी, नयाँ उमङ्ग, जोस, जाँगर, घुमघाम, रमाइला कुराको थालनी ।

डा. नम्रता पाण्डे, क्षेत्रीय कृषि व्यवसायी योजना विज्ञ–कृषि उद्यम केन्द्र, हिमाली आयोजना 

नयाँ वर्ष भन्नासाथ मस्तिष्कमा के कुरा क्लिक हुन्छ ?

नयाँ तथा एक्स्ट्रा कमिटमेन्ट, विगतलाई परिमार्जित गर्ने सुनौलो अवसर, नयाँ कुराको थालनी, नयाँ उमङ्ग, जोस, जाँगर, घुमघाम, रमाइला कुराको थालनी आदि ।

नयाँ वर्षका योजना के–के छन् ?

नयाँ वर्षकै दिन श्रीमान्को जन्मदिन हो । आफन्त तथा साथीभाइ भेटघाट गरेर रमाइलो गर्ने योजनामा छु । त्यसो त वैशाख महिना मेरा लागि विशेष छ । १ गते  श्रीमान्को जन्मदिन, ६ गते विवाह भएको दिन तथा यही महिना छोरीको जन्म भएकाले पनि म यो महिनालाई सेलिब्रेसन तथा उत्सवमय महिना भन्न रुचाउँछु । नयाँ वर्षको आगमनसँगै ममा एक्साइटमेन्ट बढ्छ । यसलाई म व्यग्रताका साथ पर्खिरहेकी हुन्छु । 

नयाँ वर्षको अवसर पारेर संकल्प लिने गर्नुभएको छ ? 

नयाँ कुरा गर्न तथा आफूलाई थप परिमार्जन गर्न नयाँ वर्ष नै कुर्नुपर्छ भन्ने छैन । प्रत्येक दिनको बिहानीसँगै नयाँ कुराको थालनी गर्नुपर्छ । यति हुँदाहुँदै पनि नयाँ वर्ष आएपछि अर्कै खाले जोस–जाँगर उत्पन्न हुन्छ । यो वर्ष पनि गत वर्षजस्तै सिकायत गर्ने बानी छोड्छु । आफ्नो कामको दायरा पनि फराकिलो बनाउँछु । संकल्प लिएर मात्र हुँदैन त्यसलाई पूरा पनि गर्नुपर्छ । संकल्प पूरा गर्न त्यसलाई प्राथमिकतामा राख्नुपर्छ । 

यो वर्ष आफ्नो कर्म क्षेत्रमा तपाईंको योगदान के रहला ? 

म विभिन्न काममा आबद्ध छु । अफिसको काममा थप परिमार्जित हुनेछु । ओशोधारामा आचार्य छु । त्यसैले ध्यान तथा प्रज्ञा (भित्री ज्ञान) को माध्यमबाट आनन्दित जीवन महसुस गर्नेहरूको संख्या बढाउन चाहन्छु । आफ्नो ध्यान तथा योगको समय बढाउनेछु । त्यस्तै बाग्मती सफाइको अभियन्ता भएकीले त्यसमा पनि कटिबद्ध भएर लाग्नेछु । विभिन्न स्कुल तथा अफिसमा जीवन रूपान्तरण, सकारात्मक सोच विकास आदि काममा पनि लाग्नेछु । म काम तथा अध्ययनको सिलसिलामा १० वर्ष जापान बस्दा सिकेको ज्ञानलाई आफ्नै देशका लागि उपयोग गर्नेछु । विभिन्न पत्रपत्रिकामा लेख–रचना लेख्ने कामलाई निरन्तरता दिनेछु । यो वर्ष १–२ वटा एकेडेमिक पेपर पनि निकाल्नेछु । 

 Image