प्राकृतिक विशेषतालाई समेटेर प्रकृतिकै अनुकरण गरी हरियाली तयार गर्नुलाई ल्यान्डस्केप भनिन्छ । यो आजको सोच होइन । हजारौं वर्ष पहिले मानिसहरू बाटो र घरवरिपरि दुवै क्षेत्रमा बिरुवा रोपेर बगैंचा तयार पार्थे जुन अहिले नयाँ ट्रेन्डका रूपमा विश्वभर फैलिइरहेको छ । हिजोआज घर, आवासीय क्षेत्र, व्यापारिक क्षेत्र, पार्क, बगैंचाका साथै रिसोर्ट, रेस्टुराँ एवं टेरेसमा पनि ल्यान्डस्केपिङ गराइएको पाइन्छ । ल्यान्डस्केप पनि सफ्टस्केपिङ र हाइस्केपिङ गरी दुई प्रकारका हुन्छन् ।
सफ्टस्केपिङ : यसमा आफ्नो ठाउँको हरियाली कायम राख्दै कुनै प्रकारको निर्माण कार्य नगरी सफ्टस्केपिङ गरेर लन तयार गरिन्छ ।
हाइस्केपिङ : हाइस्केपिङको अर्थ कंक्रिट, बिरुवा एवं त्यस्तै अन्य चीजहरूले गरिने निर्माण कार्य हो । स्टोनहरू राख्नु, कंक्रिटको हिँड्ने ठाउँ बनाउनु, ठाउँ–ठाउँमा पानी पठाएर खोलाजस्तो बनाई काठका स–साना पुलहरू बनाउनु, झरनाहरू राख्नु आदि यसमा पर्छन् । यसमा कृत्रिमता महसुस हुन नदिन फेन्सी आर्टिफिसियल आइटम्सहरू प्रयोग गरिन्छ जसले गर्दा ल्यान्डस्केपिङ सुन्दर तथा आकर्षक देखिन्छ । सिमेन्टको निर्माणले पत्थरको जस्तो स्वाभाविक सुन्दरता दिन सक्दैन । तैपनि खम्बा, शिल्प, फोहरा, कमलपोखरी, ह्यान्ड रेलिङयुक्त पुल, विभिन्न आकारका पत्थर, ग्रेनाइट एवं चिप्स आदिले ल्यान्डस्केपलाई अझ सुन्दर बनाउँछन् । वाटर फल आदिले यसलाई हाइलाइट गर्न सकिन्छ । विभिन्न किसिमका बत्तीको प्रयोगले लन राति अझ बढी आकर्षक देखिन्छ ।
लनमा ल्यान्डस्केपिङका लागि बफेल्लो, मेक्सिकन कारपेट, ब्लु केनयन, अस्ट्रेलियन एवं कुसियन घाँस आदि प्रयोग गरिन्छ । जुनसुकै घाँस भए पनि मौसम परिवर्तनसँगै यसमा ध्यान दिनु जरुरी हुन्छ । वर्षामा पानी एकठाउँमै जम्न नदिन स्लोप ड्रेनेज सिस्टम एवं गर्मीको मौसममा राम्रो सिंचाइको व्यवस्था पनि जरुरी हुन्छ । फंगस, विभिन्न किसिमका कीरा लनका शत्रु हुन् । त्यसबाट जोगाउन प्राकृतिक कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ ।
यो सुन्दर कला पनि हो
सुन्दर घरको चाहना सबैमा हुन्छ । मानिसहरूको दृष्टि सबैभन्दा पहिले घरबाहिरको भागमै पर्छ । त्यसैले घरको भित्री भागको सजावटका साथै बाहिरी भागको सजावटमा पनि ध्यान पुर्याउनुपर्छ । हरियाली बगैंचामा छायादार रुखहरू, फूलहरू, सानो पोखरी र प्रकृतिको स्वाभाविकता देखाउन ठूलो पत्थर राखेर घरलाई प्राकृतिक रूपमा सुन्दर बनाउन सकिन्छ । ल्यान्डस्केप धेरै खर्चिलो हुन्छ भन्ने आमधारणा पाइन्छ तर आफ्नो ठाउँ, इच्छा र बजेटअनुसार तयार गराउन सकिने हुँदा यो त्यति खर्चिलो छैन । नयाँ घर बनाउँदा ल्यान्डस्केपका लागि कति जग्गा राख्ने हो पूर्वयोजना बनाउनुपर्छ । ल्यान्डस्केप प्राकृतिक सुन्दरतायुक्त कला भएकाले यसमा सिर्जनशिलताको महत्वपूर्ण भूमिका हुन्छ ।
खर्च
ल्यान्डस्केपिङ गराउनुअघि त्यसका लागि बजेट छुट्याउनुपर्छ । त्यही बजेटअनुसार डिजाइन निर्धारण गर्नुपर्छ । डिजाइनअनुसार खर्च तल–माथि हुनसक्छ । बजेट कम छ भने महँगो घाँस वा ग्राससीट किनेर बिछ्याउनुको साटो स्थानीय तहमै उपलब्ध घाँस लगाउन सकिन्छ । लन तयार गर्न १ इन्चदेखि ४ इन्च मोटाइसम्मको माटो राख्न सकिन्छ । उपलब्ध ठाउँको क्षेत्रफलअनुसार बिरुवाहरू छान्नुपर्छ । ल्यान्डस्केप तयार गरेपछि स्याहार–सुसारमा पनि त्यत्तिकै ध्यान पुर्याउनुपर्छ अन्यथा समय र पैसा दुवै बर्बाद हुन्छ ।