जीवनलाई धेरै कोणवाट देखिसकेकी छुल्ठिमलाई कहिल्यै पनि सेलिब्रटी बन्छु भन्ने लागेको थिएन । तर मानिसलाई समय र परिस्थितिले के गराउँछ र कहाँ पुर्याउँछ कसैलाइ थाहा हुदैन । केही गरौं भन्ने टिनएजरमा उनी घर व्यवहारमा व्यस्त भइन् । त्यही व्यावहारिक जीवनमा आफूलाई अगाडि ल्याएर जीवनमा केही गर्नुपर्छ भनेर घरबाहिर कदम हालेकी हुन् । शुरुमा गोर्खा एफएममा आरजेका रूपमा प्रवेश गरी आफूलाई स्थापित गराइन् । उनको स्वरका फ्यान धेरै भए । त्यसपछि छुल्ठिम म्युजिक भिडियोमा पनि देखिन थालिन् भने नेपाल वान मार्फत् देश विदेशमा कार्यक्रम प्रस्तोताको रूपमा जाने मौका पाइरहिन् । उनी विदेशमा सांगीतिक कार्यक्रममा जाँदा प्रस्तोता एवं नृत्यांगनाका रूपमा पुग्छिन् । आरजे, भिजे, म्युजिक भिडियो, कार्यक्रम होस्ट हुँदै नोभेम्बर रेनमा नायिकाको रूपमा देखा परेकी छुल्ठिम गुरुङ्ग यसै एक चलचित्रबाटै सबैका नजरमा परेकी छिन् । नयाँ गेटअप, फरक परिवेश बोकेको पात्र सहित उनी आफै निर्मात्रीको रूपमा दर्शकमाझ आउने तयारीमा छिन् । आफूलाई साधारण देखाई सबैसँग घुलमिल हुने उनको स्वभाव छ । उनले नोभेम्बर रेनवाट नेपाली सिनेमालाई दिइने प्राय: अवार्ड हात पारिसकेकी छिन् । यही चलचित्रमा उनको डल्ली पात्रको अभिनय धेरैले रुचाए पनि । मनोरञ्जन क्षेत्रको सबै विधालाई माया र सम्मान गर्ने उनले भर्खरै खसेको तारा बोलको गीतको म्युजिक भिडियो समेत रिलिज गरी आफूलाई गायिकाको रूपमा समेत स्थापित गरेकी छिन् । जीवनको हरेक उतार चढावमा आफूलाई सम्हालेर अघि बढिरहेकी छुल्ठिम जीवनलाई संघर्ष भन्न रुचाउँछिन् । आगामी दिनमा राम्रो अभिनय एवं बोलीले दर्शक श्रोतामाझ सदैव छाइरहने उनको सोच छ ।
पहिरन : एउटै खाले पहिरन लगाउन नरुचाउने छुल्ठिम पाइन्ट, वान पीस, फर्मल ड्रेस, क्याजुअल वेयरमै हिड्न रुचाउँछिन् । आफूलाई जस्तो सुहाउँछ, त्यस्तै पहिरनमा हिँड्ने उनी फेसनको पछाडि भने दगुर्दिनन् ।
सुन्दरताका लागि : स्किन केयरको लागि क्लिन्जिङ, हेयर ट्रिटमेन्ट गर्छिन् । फिटनेसको लागि व्यायाम एवं योग गर्छिन् ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : पिजे कलेक्सन, सिभिल मल, सुन्धारा
मेकअप तथा हेयर : स्वस्तिका राजभण्डारी, स्वस्तिका मेकअप एण्ड हेयर स्टुडियो, कुपण्डोल
लोकेशन : इम्प्रेरियल हाउजिङ्ग, सानेपा