Successfully Copied

शिशु जिज्ञासा

जाडो मौसममा शिशुलाई पखाला लाग्नुका साथै बान्ता हुने, ज्वरो आउने एवं रुघाखोकीजस्ता समस्याले सताएको पाइन्छ । चिसोका कारण लाग्ने यस्ता रोगले विकराल रूप लिए निमोनियाँको समस्या देखा पर्नसक्छ । चिसोमा लाग्ने यस्तो रोग भाइरल भएका कारण एकबाट अर्कोमा पनि सर्छ ।

 निभा राजभण्डारी श्रेष्ठ  बालरोग विशेषज्ञ, बयोधा हस्पिटल 

जाडो मौसममा शिशुमा कस्ता समस्या देखापर्छन् ?  

जाडो मौसममा शिशुलाई पखाला लाग्नुका साथै बान्ता हुने, ज्वरो आउने एवं रुघाखोकीजस्ता समस्याले सताएको पाइन्छ । चिसोका कारण लाग्ने यस्ता रोगले विकराल रूप लिए निमोनियाँको समस्या देखा पर्नसक्छ । चिसोमा लाग्ने यस्तो रोग भाइरल भएका कारण एकबाट अर्कोमा पनि सर्छ । कुन उमेरका बालबालिकामा यस्तो समस्या देखिन्छ ? 

भर्खरै जन्मिएका शिशुदेखि ५ वर्षका बालबालिकामा यस्तो समस्या देखिन्छ । 

जाडो मौसममा यस्ता समस्या बढी देखिनुको कारण के होला ? 

जाडो मौसममा वातावरण तथा सरसफाइको अभावका कारण पनि यस्ता रोग लाग्छन् । कतिपयलाई गर्मी मौसममा मात्र पखाला लाग्छ भन्ने भ्रम छ । शिशुलाई जाडो मौसममा पनि पखाला लाग्ने वा बान्ता आउने हुन्छ । जाडो मौसममा खानेकुरा बासी भए पनि बिग्रदैन । त्यसैले बासी खानेकुरा खाइन्छ । अहिले त अझ इन्धनको अभाव छ । एक–दुई दिनअघि पकाएको बासी खाना शिशुलाई ख्वाउँदा पखाला लाग्ने सम्भावना हुन्छ । खानपान तथा सफाइमा ध्यान नदिँदा पनि रोग लाग्छ । घरमा कसैलाई रुघाखोकी लागे शिशुमा सर्न सक्छ । नउमालेको पानी तथा राम्रोसँग नपखालेका फलफूल खाँदा पनि यस्तो समस्या उत्पन हुन्छ । यसैगरी यो मौसममा रुघाखोकी लागेर कतिपय शिशुलाई ज्वरो नै आउँछ । चिसो एवं धूवाँधूलोले गर्दा यस्तो समस्या देखापरेको हो ।  

यसबाट जोगिन के गर्न सकिन्छ ? 

हामीकहाँ जाडो भयो भनेर शिशुलाई धेरै गुम्स्याएर राखिन्छ जुन गलत हो । बाक्ला एवं धेरै पहिरन लगाइदिँदा पसिनाले भिजेर शरीर अझ चिसो हुनसक्छ । त्यसैले न्याना पहिरन समय–समयमा फेरेर लगाइदिनुपर्छ । जाडोमा शिशुलाई कम नुहाइदिने चलन छ । यो पनि गलत हो । हप्ताको दुई पटक नुहाइदिनुपर्छ । सन्तुलित, तातो एवं स्वस्थ खानेकुरा ख्वाइदिनुपर्छ । यति गर्दा पनि समस्या समाधान नभए चिकित्सककहाँ लानुपर्छ । 

 Image