माघ महिनाको पहिलो दिन अर्थात १ गते, देशभर माघे सङ्क्रान्ति मनाइदैछ । माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति अथवा माघी पनि भन्ने गरिन्छ । माघे सङ्क्रान्ति नेपालको एक प्रमुख साँस्कृतिक पर्व हो । सुर्य पङ्चाङ्ग अनुसार आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश भई उत्तरायण हुने भएकाले मकर सङ्क्रान्ति भनिएको हो । आजबाट सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकोले रात छोट्टिाएर दिन लामो हुँदै जाने गर्दछ । माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।
माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नदीनालाका त्रिवेणीहरुमा गई स्नान गरिन्छ । आज देवघाट, बराहक्षेत्र, रिढी, पनौति, दोलालघाट, कन्काई र कमलामा भव्य मेला लाग्ने गर्दछ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ । माघे सङ्क्रान्ति पर्वलाई मीठो खाने, राम्रो लगाउने तथा आफु भलो चिताउने र अरुबाट पनि भलो सुन्ने पर्वका रुपमा मनाइन्छ । आज माघी नुहाएपछि तिलका दाउराको आगो ताप्ने चलन रहेको छ । यसो गर्दा जीवनमा गरिएका पापहरु नासिएर जाने मान्यता छ । अर्कोतर्फ यस पर्वलाई एकता, मित्रता, सहयोग, सद्भाव आदान९प्रदान गर्ने पर्वका रुपमा मनाइन्छ । कसैसँग रिस राग रहेको खण्डमा एकआपसमा अङ्कमाल गरेर सद्भावपूर्ण व्यवहार प्रकट गरिन्छ, मेलमिलाप गरिन्छ । माघे सङ्क्रान्तिलाई गाउँ व्यवहारमा नयाँ आर्थिक बर्षका रुपमा पनि मनाइन्छ ।