Successfully Copied

सच्चा प्रेमी

‘त्यसरी प्रेम गरेकै थिइन, जसरी प्रेम बस्न पुग्यो । एउटै टोलमा बस्दा–बस्दै कतिखेर प्रेम भयो थाहा भएन । सहज हुँदाहुँदै पनि हाम्रो प्रेम मेरै सांस्कृतिक संकीर्णताले बांगिन पुग्यो । प्रेम गर्छु भन्न नसक्दा वा विद्रोह गर्न नसक्दा उनको विवाह अर्कैसँगै भयो ।

‘त्यसरी प्रेम गरेकै थिइन, जसरी प्रेम बस्न पुग्यो । एउटै टोलमा बस्दा–बस्दै कतिखेर प्रेम भयो थाहा भएन । सहज हुँदाहुँदै पनि हाम्रो प्रेम मेरै सांस्कृतिक संकीर्णताले बांगिन पुग्यो । प्रेम गर्छु भन्न नसक्दा वा विद्रोह गर्न नसक्दा उनको विवाह अर्कैसँगै भयो । यो दु:खको अनुभव गरिरहेकै बेलामा मैले अचानक सुनें, उनी त श्रीमान्को घरमा नफर्कने गरी माइती आइन् रे । आफूले दुर्गासँग प्रेम गरेकाले प्रेम नगरेको बेहुलासँग जीवन बिताउन सक्दिन भनेर उनी फर्किछन् । 

म धर्मसंकटमा परें । साथीहरूले विवाह गरेकी तर घर नबसेकी त्यही युवतीसँग विवाह गर्ने सल्लाह दिए । त्यही सल्लाहअनुसार मैले उनलाई आफ्नी बनाएर घर भित्राएँ । आजभन्दा ५० वर्षअघिको समाजमा एउटी विवाहित युवतीलाई घर भित्राउँदा कस्तो संघर्ष गर्नुपर्‍यो, त्यसको कल्पना मात्र गर्न सकिन्छ । तर त्यो संघर्ष अहिले सम्झदा रमाइलो लाग्छ । त्यसयता हाम्रो दाम्पत्य जीवन बिनाअवरोध चल्दैछ । अब त बुढेसकाल पनि लाग्यो । त्यो संघर्ष यही बूढीका लागि गरियो भनेर गर्व पनि लाग्छ ।’ 

साँचो प्रेमलाई कसैले पनि रोक्न सक्दैन भन्ने प्रमाण दुर्गालाल र पूर्णदेवी श्रेष्ठको प्रेमले बताउँछ । ५५ वर्षअघि आँखा जुधाउँदा बसेको प्रेम यति लामो होला भन्ने दुवैले कल्पना पनि गरेका थिएनन् । संस्कृतिविद् दर्शनदास श्रेष्ठकी बहिनी पूर्णलाई दुर्गालालले पहिलो पटक उनकै घरमा देखेका थिए । दुर्गालालले लेखेका गीतलाई दर्शनदासले संगीत भर्ने योजना बनाएका थिए । यही कामको सिलसिलामा दुर्गालाल दर्शनदासको घर जाँदा उनीहरूका आँखा जुधेका थिए । त्यसबेला आजको जस्तो केटा र केटी कुरा गर्ने वातावरण थिएन । एक नजरमा माया बसेको यो जोडीले एक–अर्कालाई आँखाकै भरमा चित्त बुझाउनुपथ्र्यो । एउटै टोलका यी दुई विपरीत लिङ्गमा नजानिँदो तरिकाले आकर्षित भए । 

दुर्गालाल पूर्णलाई हेर्न साथी भृगुरामको घरमा पुग्थे । किनभने भृगुरामको बरन्डाबाट पूर्णको कृयाकलाप राम्रोसँग देख्न सकिन्थ्यो । उनको आकर्षण र मायामा दुर्गालालले सयौं गीत लेखे । दुर्गालालले मन पराएको देखेर पूर्णले आफ्नो एकजना साथीमार्फत् आफूलाई माग्न पठाउने सल्लाह दिइन् । दुर्गालालले घरमा सल्लाह गरे । तर जात नमिलेको भन्दै दुर्गाका अभिभावकले पूर्णलाई भित्राउन मानेनन् । आफ्नो खुट्टामा उभिन सकेकाले दुर्गाले पूर्णलाई भगाउने आँट पनि गरेनन् । त्यसपछि पूर्णको अर्कै युवकसँग धुमधामसँग विवाह भयो । उनलाई पनि भोजको निम्तो आयो । मुटुमाथि ढुंगा राखेर उनी भोजमा सामेल भए । उनले दाइजोका रूपमा चाँदीको फ्रेममा भैगो तिमी जाने भए यति कुरा सुनिजाऊ, गएसम्म कतै ठक्कर नखाऊ, पुगेसम्म तिम्रो जय होस्) भन्ने नेवारी गीत लेखेर सजाए । यही गीत दाइजो पाएपछि उनकी प्रेमिका विवाह घर बस्न सकिनन् । उनी माइती फर्कदा दुर्गालालले दिएको त्यही चिनो साथमा लिएर फर्किएकी हुन् । 

उमेरको हिसाबले ७३ नाघेकी, शरीर चाउरिएकी तथा पाइला टेक्दा ठाउँमा नपर्ने पूर्णलाल जीवनसाथी पूर्णदेवीलाई निकै माया गर्छन् । पूर्णलाई देख्दा भर्खरै बैसमा लागेको महसुस हुने बताउँछन् । उनलाई अहिले जीवनसाथीको खुट्टा दुखेर हिँड्न कठिन भएकोमा चिन्ता छ । निकै समझदार र सहनशील श्रीमती पाएकोमा दुर्गालाल आफूलाई भाग्यमानी ठान्छन् । विवाहका केही वर्ष कुनै कुरा नमिल्दा झगडा भए पनि हिँजोआज उनीहरूबीच माया मात्रै साटासाट हुन्छ । सबै सन्तान हुर्किएर आ–आफ्नो बाटोमा लागेपछि फेरि उनीहरू एक्ला प्रेमी–प्रेमिका भएका छन् । 

–सिर्जना दुवाल श्रेष्ठ 

 Image