Successfully Copied

स्वरोजगारीमा सफलता

काम सुरु गर्नुअघि केही जानकारी तथा क्षमताको विकास गरी स्वरोजगारी अपनाएको खण्डमा अवश्य सफलता प्राप्त गर्न सकिन्छ । नर्भिक इन्टरनेसनल अस्पतालकी साइक्याट्रिक डा. रोजिना मानन्धर भन्छिन्, ‘पछिल्लो समयमा युवाहरू विदेश जाने क्रम तीव्र गतिमा बढेको छ ।

हिजोआज रोजगारी चाहना मात्र होइन आवश्यकता नै बनिसकेको छ । हरेक व्यक्तिले स्वरोजगार हुन चाहिरहेको आजको जमानामा कतिपय युवामनमा रोजगार सुरु गर्नुअघि नै अनेकौं भ्रम तथा आशंकाले जरा गाडेको हुन्छ । काम सुरु गर्नुअघि केही जानकारी तथा क्षमताको विकास गरी स्वरोजगारी अपनाएको खण्डमा अवश्य सफलता प्राप्त गर्न सकिन्छ । नर्भिक इन्टरनेसनल अस्पतालकी साइक्याट्रिक डा. रोजिना मानन्धर भन्छिन्, ‘पछिल्लो समयमा युवाहरू विदेश जाने क्रम तीव्र गतिमा बढेको छ । नेपालमा अवसरको कमी महसुस गर्नु अहिलेका युवाहरूको प्रमुख समस्या हो । परामर्शका दौरान कतिपय युवा यस्ता पनि भेटिएका छन् जो यहीँ आफ्नो क्षमता एवं खुबी लगानी गर्न चाहन्छन् तर उनीहरूमा भोलि गएर परिणाम शून्य हुने हो कि  भन्ने डर छ तसर्थ हामी उनीहरूलाई त्यस्ता सफल उदाहरण दिँदै विकासका उपाय सिकाउँछौं ।’ डा.मानन्धरका अनुसार अहिले करियर सुरु गर्न चाहनेहरू पनि परामर्शका लागि आउने गरेका छन् । उनीहरू क्षमता र दक्षताबिना रुचिको क्षेत्रमा प्रवेश गर्न चाहन्छन् । त्यस्ता युवालाई सर्वप्रथम त्यही क्षेत्रसँग सम्बन्धित ज्ञान, दक्षता एवं क्षमता बढाउन सल्लाह दिइने डा.मानन्धरले बताइन् । 

एकपटक स्वरोजगारको सुरुवातका लागि दृढ संकल्प लिइन्छ भने बीचमा आइपर्ने बाधा–अड्चन स्वत: टाढा हुँदै जान्छन् । नेपालमा शिक्षित बेरोजगारको संख्या ठूलो छ जुन मुलुकको तीतो यथार्थ हो । उनीहरू आफूले प्राप्त गरेको शिक्षालाई आधार मानी सानातिना काम गर्न लजाउँछन् भने पुँजी लगानी गरी ठूला उद्योग खोल्न उनीहरूसँग पर्याप्त रकम हुँदैन । यस्ता युवाहरूका लागि ठूल्ठूला उद्योगपतिले सानो लगानी र सानै कामबाट आफ्नो व्यवसाय बिस्तार गर्दै लगेको र सफलता प्राप्तिसँगै ठूलो उद्योग स्थापना गर्न सक्षम भएको उदाहरण सुनाउनु र देखाउनु आवश्यक छ । बिनाजानकारी आँखा चिम्लिएर व्यवसाय सुरु गर्नु भनेको पनि अधोगतितर्फ लाग्नु हो । तसर्थ सानै किन नहोस् व्यवसाय गर्नुअघि निम्न कुरामा ध्यान पुर्‍याउनु उचित हुन्छ :

–कुनै पनि व्यवसाय सुरु गर्नुअघि बजारको स्थितिका सम्बन्धमा जानकारी राख्ने तथा उक्त उत्पादनको बजार एवं उपभोक्ताहरूका सम्बन्धमा पूर्ण जानकारी लिने । 

–उद्योग सुरु गर्नुअघि नै कति लगानी गर्ने हो निश्चित हुने, त्यस्तै सामग्री आफूअघिका उत्पादकले कुन मूल्यमा बेचिरहेका छन् जानकारी बटुल्ने । 

–उद्योग सुरु गर्नुअघि आवश्यक मेसिन, कच्चापदार्थ, मेसिन चलाउने एवं मर्मत गर्ने जनशक्ति, स्थापना गर्ने ठाउँ आदि विविध विषयमा अध्ययन गर्ने । 

–आफूले सुरु गर्ने उद्योगसम्बन्धी सम्पूर्ण जानकारी लिने । 

–लगानीका लागि कुन बैंकले कति व्याजमा ऋण उपलब्ध गराउँछन् तीमध्ये सस्तो व्याज भएको बैंक छनोट गर्ने । 

–संयुक्त रूपमा व्यवसाय सुरु गर्ने हो भने अरूको शिक्षा, अनुभव तथा विश्वसनीयताप्रति सचेत हुने ।

–कर्मचारी छनोटका क्रममा शैक्षिक प्रमाणपत्रका अतिरिक्त कामको अनुभव, विश्वसनीयता एवं प्रतिभामा ध्यान पुर्‍याउने ।

–सामान उत्पादनपछिको अग्निपरीक्षा भनेको उक्त सामग्री बजारमा बेच्न सक्नु हो । सुरुमा बाधा–व्यवधान आइपर्न सक्छन् भने कतिपय मालसामान बिग्रिएर नष्ट हुन सक्छन् । त्यसकारण सुरुवात थोरैबाट गर्नु उपयुक्त हुन्छ । बढी सामान एकैपटक बजार पुर्‍याएर धेरै नाफा गर्ने कुरा सोच्नु हुँदैन । 

 

 Image