अस्वस्थकर खाना, प्रदूषित वातावरण, सुविधाभोगी दिनचर्या तथा यान्त्रिक जीवनशैली । यस्तै प्रवृत्तिले सहरियाहरूलाई शारीरिक रूपमा दीर्घरोगी बनाउँदै लगेको छ । करियर, पैसा एवं घर–व्यवहारको दौडधूपले मानसिक समस्या थपिएका छन् । उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घ रोगले धेरैलाई गाँजेको छ । कतिपयलाई मोटोपनको समस्या छ भने कतिपय कोलोस्ट्रोलले थलिएका छन् । यस्तो अवस्थामा आफूलाई ‘फिट एन्ड फाइन’ कसरी राख्ने ? सहरियाहरू उपायको खोजीमा छन्, जसले फिटनेस इन्स्ट्रक्टरको माग बढाएको छ ।
शरीरलाई चुस्तदुरुस्त राख्न खानपानसँगै नियमित व्यायाम, योग गर्नेहरू क्रमश: बढ्दैछन् । शरीरलाई निरोगी बनाउन, मोटोपन घटाउन, फुर्तिलो रहन उनीहरूको फिटनेस क्लब, हेल्थ क्लब, जिम, स्पा धाउन थालेका छन् । यसबाट बुझिन्छ, फिटनेस इन्स्ट्रक्टरमा करियर अघि बढाउन सजिलो छ ।
यस्तो जनशक्ति ठूला होटल, हेल्थ क्लब, फिटनेस सेन्टर, स्पा, टुरिस्ट रिसोर्ट आदि स्थानमा खपत हुन्छ । केही अनुभव लिएर आफैंले पनि फिटनेस सेन्टर पनि सञ्चालन गर्न सकिन्छ । त्यसो त कतिपय मल्टिनेसनल कम्पनी पनि आफ्ना कर्मचारीका निम्ति समय–समयमा वर्कप्लेस वेलनेस तथा फिटनेस कार्यक्रमको आयोजना गर्छन् । सक्षम फिटनेस इन्स्ट्रक्टरका निम्ति धेरै क्षेत्रमा रोजगारको अवसर खुला छ । उनीहरूले एथलिट ट्रेनर, डाइटिसियन, स्पोर्टस् कोच, फिजिकल थेरापिस्ट आदिका रूपमा काम गर्न सक्छन् ।
फिटनेस इन्स्ट्रक्टरको काम
फिटनेस इन्स्ट्रक्टरलाई शरीर तन्दुरुस्त राख्नुका साथै एरोबिक्स, फेलेक्सिविलिटी ट्रेनिङ, बीएमआई, पोषण तथा ट्रेनिङसँग जोडिएका सबै उपकरणको ज्ञान हुनु जरुरी हुन्छ । यी कुराको ज्ञान भए मात्र उनीहरूले सेवाग्राहीलाई उपयुक्त परामर्श दिन सक्छन् किनभने फिटनेस इन्स्ट्रक्टरले शरीरको बनोट, ढाँचा र तौलका आधारमा उपयुक्त डाइट निर्धारण गर्न तथा फिट रहन उपकरणको सही प्रयोगका सम्बन्धमा जानकारी दिन सक्नुपर्छ । उनीहरूले मूलत: फिटनेस, न्युट्रिसियन, वेट म्यानेजमेन्ट, स्ट्रेस रिडियुसन, हेल्थ रिक्स म्यानेजमेन्ट आदि विषयमा ध्यान दिनुपर्छ ।
यसमा पनि एरोबिक्स इन्स्ट्रक्टरका रूपमा काम गर्नेले वर्कआउट सत्रमा एरोबिक्स, स्टेचिङ तथा मसल्स एक्सरसाइजमा ध्यान दिनुपर्छ । स्पोर्टस् कोच हुन चाहनेले स्टामिना बढाउनका लागि जगिङ, वेट लिफ्टिङ, पुसअपजस्ता विशेष व्यायाममा जोड दिनुपर्छ । यसका अतिरिक्त योग एवं प्राकृतिक उपचार पद्धतिमा विज्ञ हुन सके व्यायामका साथै रोग मुक्त हुने उपाय पनि सिकाउन सकिनेछ । धेरैसँग घुलमिल र सम्पर्क गर्नुपर्ने भएकाले विनम्रता र व्यावहारिक कुराकानी गर्ने कला पनि यो पेसाका लागि अनिवार्य छ ।
अहिले टिनएजरदेखि वयस्कसम्म सबैले आफूलाई फिट एण्ड फाइन राख्न चाहन्छन् । तसर्थ स्वास्थ्य तथा फिटनेसमा रुचि हुने जोसुकैका लागि फिटनेस इन्स्ट्रक्टर करियरको उपयुक्त विकल्प हुनसक्छ । फिटनेस इन्स्ट्रक्टरले व्यक्तिगत वा समूहमा व्यक्तिलाई व्यायाम, एरोबिक्स र फिटनेस सामग्रीका माध्यमबाट फिट एण्ड फाइन रहन आवश्यक सहयोग गर्छ । यसका साथै स्वस्थ, पौष्टिक भोजन, जीवनशैलीमा परिवर्तन ल्याउने उपायहरू पनि सिकाउँछन् ।
फिटनेस इन्स्ट्रक्टरले फिटनेसको लक्ष्य तय गर्नुका साथै मानिसको जीवनशैली एवं उमेरको हिसाबले फिटनेस सेड्युल बनाउँछन् । फिटनेस इन्स्ट्रक्टर पनि पर्सनल इन्स्ट्रक्टर, जिम इन्स्ट्रक्टर एवं विशेष इन्स्ट्रक्टर गरी तीन किसिमका हुन्छन् ।
व्यक्तिगत गुण
फिटनेस इन्स्ट्रक्टर आफ्नो क्षेत्रका सम्बन्धमा अपडेट भैरहनुपर्छ । त्यस सम्बन्धमा भएका अनुसन्धान, ट्रेन्ड, बजार आदिको विषयमा जानकार हुनुपर्छ । साथै उनीहरूले बायोमेकानिक्स, काइनेजियोलोजी, एक्सरसाइज टेक्निक एनाटोमी, एक्सरसाइज फिजियोलोजी एवं न्युट्रिसियनको तालिम लिनु राम्रो हुन्छ ।
योग पनि महत्वपूर्ण
फिटनेस उद्योगमा योगको महत्व पनि बढ्दै गएको छ । नयाँ पुस्तामा फिटनेस क्रेज बढ्दै गएपछि शरीर मात्र होइन मस्तिष्क र आत्मा पनि फिट राख्नुपर्छ भन्ने ज्ञान भएको।