सौजन्य विमिन एक्ट, रूपान्तरणका लागि महिला ऐक्यबद्धता, भाटभटेनी
हिन्दू धर्मावलम्बीहरूमा तीज मनाउने चलन पुरानै हो । विशेषत: महिलाहरूको चाड तीजको आफ्नै किसिमको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व छ । चेली, माइती, दर, नाचगान तथा संगीतको वरिपरि झुम्ने यो पर्व पछिल्लो समयमा परिस्कृत रूपमा अघि बढिरहेको छ ।
रीता थापा श्रेष्ठ, फेसन डिजाइनर
तीजमा महँगा पहिरन र झपक्कै गरगहना लगाउनुपर्छ भन्ने छैन । कम पैसामा पनि राम्रा र आकर्षक पहिरन तयार गर्न सकिन्छ । मकहाँ तीजकै लागि भनेर लाखौंका पहिरनको अर्डर आइरहेको छ, सक्नेले लगाउँछन् पनि । यद्यपि पर्वलाई निरन्तरता दिन सामान्य ढंगबाटै अघि बढ्नु उपयुक्त हुन्छ । फजुल खर्च गर्ने लहर बढ्नु राम्रो होइन । हैसियतअनुसार खर्च गरेर चाडपर्व मनाउनुपर्छ । यस्ता पर्वमा आफूलाई राम्रो पहिरनमा पाउँदा भित्रैदेखि रिफ्रेस पनि भइन्छ । तीजजस्ता पर्वलाई महिनौंअघिदेखि नमनाऔंं, परिवारसँग रमाइलो गरौं अनि संस्कृतिलाई निरन्तरता दिऊँ । म पनि विवाहअघि लहलहैमा लागेर पानी पनि नखाई व्रत बस्थें तर अहिले व्रत बसे पनि खाएर बस्छु ।
राधा शर्मा, प्राध्यापक त्रि.वि.
पर्व संस्कार, संस्कृति र मूल्य–मान्यता जोगाउन मनाउनुपर्छ । पहिले नेवारहरूको घरमा महिनामा दुई पटक भोज हुन्थ्यो तर अहिले उनीहरूले त्यसलाई कम गर्दै लगेको अवस्था छ तर हामीले भने अझ थप्दै गएका छौं जुन आवश्यक छैन । अहिले साउन नलाग्दै तीज आएजस्तो हुन्छ । उपहार बाध्यता भएको छ । अर्काले दिन्छन्, लिएपछि फिर्ता गर्नैपर्यो । पार्टी प्यालेसको व्यापार उत्कर्षमा पुग्छ । उहिले वर्ष दिनसम्म छोरी माइत जान नपाउने बेलामा तीज ठीक थियो । चेलीहरू घरका हरेक काम सकेर माइती गएर आराम गर्थे तसर्थ त्यसको छुट्टै मूल्य–मान्यता थियो । अहिले समय बदलिएको छ । त्यसैले देखासिकी होइन रहरले पर्व मनाऔं । चोखो खाएर व्रत बसौं । धर्मअनुसार सहज ढंगले कर्म गरौं ।
लालदेवी महर्जन, नर्सिङ डाइरेक्टर, ग्रान्डी इन्टरनेसनल हस्पिटल
म आजसम्म तीजको व्रत बसेकी छैन, बस्नैपर्छ भन्ने पनि छैन । ३६ घन्टा भोकै बस्नु ठीक होइन । केही समयका लागि व्रत बस्नु ठीकै होला । भोको बस्दैमा धर्म हुने, राम्रो श्रीमान् पाइने भन्ने कुरा त्यति विश्वसनीय पनि छैन । व्रत बसेकै भरमा असल श्रीमान् पाइने भए कसैका पनि श्रीमान् जँड्याहा पर्दैनथे होलान् । रातो लाउने, के–कस्तो खाने आ–आफ्नो स्वतन्त्रताको कुरा हो–मन लागे गर्ने मन नलागे नगर्ने । संस्कृतिलाई निरन्तरता दिऊँ, तर आफ्नो स्वास्थ्य नबिगारौं । हामीले आफ्नो धर्म एवं परम्परा जोगाउनुपर्छ । यो वर्ष भूकम्पका कारण पनि तडकभडक नगरी साधारण ढंगले तीज मनाऔंं ।
मिलु थापा, अध्यक्ष, महिला सिर्जनशील केन्द्र
तीज महिला दिदीबहिनीले आफ्ना लागि रमाइलो गर्ने अवसर हो । पहिले तीज घरभित्र मात्र सीमित थियो । हामीले तीज महोत्सव सुरु गरेपछि हरेकले सार्वजनिक रूपमा तीज मनाउन थाले । कतिपय महिलाले काम पाउन थाले । पर्वलाई मास्नु भएन । यो वर्ष हामी ‘सामाजिक सद्भाव, सद्विचार, भूकम्पपीडित दिदीबहिनी तथा बालबालिकाहरूलाई आवश्यक छ सहयोगको हात’ भन्ने नाराका साथ तीज फेस्टिवल मनाउँदैछौं । तीज मनाउनुपर्छ, संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्छ । महिना दिनअघिदेखि तीज मनाउँदा धेरैले रोजगारी पाएका छन् । महिलाहरूको आम्दानी बढेको छ । तसर्थ विकृति भित्रन नदिई विकासमूलक ढंगले तीज मनाऔंं ।
विष्णुमाया भुसाल, अधिवक्ता
परम्परादेखि मनाइँदै आएको तीज आफैंमा महत्वपूर्ण पर्व हो । टाढाका चेली माइती आउने, सुख–दु:ख बाँड्ने, माइती आएकी चेलीलाई एकजोर भए पनि राम्रा लुगा दिनुपर्छ भन्ने कुरा यसको सकारात्मक पक्ष हो । यद्यपि अहिले मनाइने तीज फरक छ । यसका केही विकृति पनि छन् । सामाजिक सुधार ऐन २०३३ ले ५१ जनाभन्दा बढी जन्ती जान नपाइने र भोज गर्न नपाइने भनेको छ तर त्यसले विकृतिलाई अझ बढाएको छ । विवाहमा चार तोलाभन्दा बढी सुन लगाउन नपाइने भनिएको छ । हामी विश्वमा सबैभन्दा राम्रो कानुन बनाउँछौं तर जनताको राय लिँदैनौं तसर्थ कार्यान्वयनमा फितलो छौं हामी । म व्रत बस्छु तर दूध एवं फलफूल खाएर मात्रै । ऐन–कानुन बनेर मात्र विकृति रोकिँदैन मानिसको सोच परिवर्तन हुनुपर्छ, चेतना वृद्धि हुनुपर्छ । स्वास्थ्य, खर्च र समय व्यवस्थापनमा सन्तुलन राख्दै तीज मनाउनुपर्छ ।
सुधा भट्टराई बाँस्कोटा, फलित ज्योतिष
तीजको धार्मिक महत्वको कुरा गर्दा व्रत किन बस्ने ? भन्ने प्रश्न उठ्छ । व्रत भनेको काम, क्रोध, लोभ, मोह सबै त्याग्नु हो । भोकै बसेर धर्म र भारी बोकेर धन कमाइँदैन भनेको छ शास्त्रले । धर्म भनेको अर्थ थाहा पाएर गरिने कुरा हो । व्रत भनेको एकाग्रता हो । व्रत बसे पनि यो गर्नु छ त्यो गर्नु छ भनियो भने व्रतको फल मिल्दैन । एकदिन सबै कुरा बिर्सिएर व्रत बस्दा कति आनन्द आउँछ ? मेरो घरमा विवाहको पहिलो वर्ष निराहार व्रत बस्ने चलन छ । मेरा श्रीमान्ले पहिलो वर्ष तिमी बस अर्को वर्ष म बस्छु भनेर त्यसै गर्नुभयो । शिवजीले पार्वतीलाई माता भन्नुहुन्छ । शास्त्रले दुवैलाई समान स्थान दिएको छ । बरू नारीलाई अझ उच्च स्थान प्रदान गरेको छ । हाम्रो धर्मशास्त्रअनुसार सोह्र शृंगारमा रातोको विशेष महत्व छ तसर्थ रातोलाई शुभको प्रतीक मानिन्छ । धर्मका अनुयायीहरूले शुद्ध आहारका साथ व्रत बस्नुपर्छ ।
इन्द्रकुमारी गुरुङ, महिला विकास तथा सामाजिक कार्यकर्ता
५० वर्षअघि रामघाटको शिव मन्दिरमा महिलाहरू जम्मा भएर सासूलाई गाली गर्ने, श्रीमान् एवं नन्द–आमाजूलाई सराप्ने तीज गीत गाउँथे । साँझ परेपछि अब तीज सकियो भनेर रुँदै घर फर्कन्थे । म गुरुङ समुदायकी, हाम्रोमा महिलालाई छुट छ । तीजका केही सकारात्मक पक्ष हेर्दा हिजोआज मनाऊँ–मनाऊँजस्तो लाग्दै आएको छ । म कहिल्यै व्रत बसेकी छैन, महादेव पति पाए पनि लिनेवाला छैन । निर्धक्क एन्जोय गर्न पाइनु यो पर्वको सुन्दर पक्ष हो । म तीजलाई महिला दिवसका रूपमा हेर्छु । अहिले पनि हामीलाई स्वतन्त्र हुने प्लेटफर्म चाहिएको छ । यसपटकको तीज भूकम्पपीडितमा समर्पित गरेर मनाऔं । अर्काको उपदेशको भन्दा महिला आफैंले बुझेर आफ्नो स्वतन्त्रता कायम गर्दै यस्ता चाडपर्व मनाउनुपर्छ ।
रमिला न्यौपाने, लोकदोहोरी गायिका
पर्व मनाउँदा परम्पराकै कुरा आउँछ । मैले तीजको एल्बम निकाल्न थालेको करिब ५ वर्ष भयो । उहिलेदेखि सिक्दै आएको परम्परा, आमा–हजुरआमाका पालादेखि तीजमा छमछमी नाचेको देख्दै आएकी हुनाले पर्वलाई निरन्तरता दिने काममा हामी पनि सहयोगी भएका छौं । हिजोआज परिमार्जित एवं विकसित गीतहरू आइरहेका छन् । गीत–संगीतको माध्यमबाट सामाजिक परिवर्तन भएको छ । संगीतबिना कोही पनि रमाउँदैन । प्रविधि एवं परिवर्तित समयसँगै संगीत पनि परिवर्तन हुन्छ । अबको तीज गीतमा सासू–बुहारीको कटाक्ष, श्रीमान्लाई गाली होइन सशक्तीकरण एवं महिला विकासका कुरा आउनुपर्छ, जुन क्रान्तिकारी रूपमा अगाडि आइरहेको पनि छ । सकारात्मक सोचका साथ अरूलाई असर नपर्ने गरी तीज मनाऔं, यसैमा सबैको भलो छ ।