बैशाख महिनाको राशिफल
बैशाख महिनाको राशिफल

स्तन क्यान्सर के हो ?
स्तनमा हुने क्यान्सर नै स्तन क्यान्सर हो । स्तनको कुनै पनि भागमा दुख्ने तथा नदुख्ने गिर्खा आउनु, दुवै स्तनको आकार समान नहुनु एवं स्तन सुन्निएर वा कडा भएर दुख्नु स्तन क्यान्सरको लक्षण हुनसक्छ ।
कुन उमेरका महिलालाई स्तन क्यान्सर हुने सम्भावना छ ?
सामान्यतया २२ वर्षदेखि ९१ वर्षका महिलामा पनि स्तन क्यान्सर भएको पाइएको छ । नेपालमा महिलालाई मात्र नभएर पुरुषमा पनि स्तन क्यान्सर देखिएको छ । मेनापज (महिनावारी सुकेपछि) पछि स्तन क्यान्सरको जोखिम अझ बढ्छ ।
स्तन क्यान्सरका लक्षण कस्ता हुन्छन् ?
स्तनको वरिपरिको भागमा गिर्खा आउनु, दुवै स्तनको आकार समान नभई आकार तथा बनोटमा फरकपन देखापर्नु, स्तन सुन्निएर आउनु तथा कडा भएर दुख्नु, स्तनको मुन्टाबाट पिप तथा रगत आउनु, स्तनको मुन्टा सीधा बाहिर नफर्किएर दायाँ–बायाँ तथा घुमेर भित्रतिर फर्कनु आदि लक्षण देखा पर्छन् । कतिपय अवस्थामा स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखिन्छ ।
स्तन क्यान्सर हुने कारण के होला ?
जीवनशैली, खानपान तथा वंशानुगत कारणले गर्दा स्तन क्यान्सर हुने सम्भावना बढ्छ । मद्यपान तथा धूम्रपानका कारण पनि स्तन क्यान्सर हुनसक्छ । मोटोपन, ढिलो सन्तान जन्माउने, स्तनपान नगराउने तथा सन्तान नजन्माएका महिलामा पनि स्तन क्यान्सर हुने खतरा उत्तिकै छ ।
यसबाट जोगिन के गर्न सकिन्छ ?
सबैभन्दा पहिले खानपान तथा जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । आफैंले आफ्नो स्तन जाँच गर्नु स्तन क्यान्सर पत्ता लगाउने सबैभन्दा उत्तम उपाय हो । महिनावारी भएको ५ दिनमा ऐना हेरेर यस्तो जाँच आफैंले गर्न सकिन्छ । पहिले सीधा उभिएर दुवै हात माथि लाने । त्यसपछि दायाँ हातले हल्कासँग बायाँ स्तनको वरिपरि जाँच गर्ने । यसैगरी बायाँ स्तन पनि छाम्ने । यसो गर्दा गिर्खा भए–नभएको पत्ता लगाउन सकिन्छ । महिलाले लाज नमानी यो जाँच गरे रोग भए–नभएको समयमै पत्ता लाग्छ । यसबाहेक वर्षको एकपटक ४० वर्षमाथिका महिलाले म्यामोग्राम गराउनुपर्छ । त्यसैगरि ४० वर्ष उमेरभन्दा कमका महिलाले सेल्फ ब्रेस्ट इक्जामिनेसन महिनाको एकपटक गर्नु जरुरी हुन्छ । संकेत देखापरेमा अल्ट्रासाउन्ड गर्नुपर्छ । तर ४० वर्ष भन्दा कम उमेरका महिलाको स्तनमा देखापरेका सबै गिर्खा क्यान्सर हुदैनन् । २० प्रतिशत गिर्खा मात्र क्यान्सरको लक्षण हुन सक्छ ।
डा. ज्योति रायमाझी, ब्रेस्ट तथा कस्मेटिक सर्जन, वीरेन्द्र सैनिक अस्पताल, छाउनी