घर मानिसको जीवनको सुनौलो सपना हो । हाम्रो समाजमा घर बनाएपछि मात्र मानिस परिपक्व हुने मान्यता छ । जीवनमा एकपटक घर निर्माण गरेर त्यसलाई सजाउनु सबैको सपना हुन्छ । हुन पनि मानिसहरूको गासपछिको आवश्यक तत्व बाँस हो । बासबिनाको जीवन कल्पना पनि गर्न सकिँदैन । घरले हामीलाई बाहिरी वातावरणबाट हुने दुस्प्रभावबाट जोगाउँछ । बासले गर्मी, जाडो, चिसो तथा विभिन्न विपत्तिबाट रक्षा गर्नुका साथै थुप्रै कुराबाट सुरक्षा दिन्छ । कुनै जमानामा घर आवश्यकता थियो भने हिजोआज यो स्टाटस सिम्बोल पनि बनेको छ । घर बनाउनु सबैको सपना हो तर त्यसलाई साकार गर्नु निकै जटिल कार्य हो । घर बनाउने चाहना भए पनि आफूसँग घर बनाउने पर्याप्त पुँजी नहुन सक्छ । पुँजीबिना घर बनाउने सपना सपनामै तुहिन्छ । यद्यपि अहिले पहिले जस्तो जटिल वातावरण छैन । आफूले सपना र कल्पना सजाउनुपर्छ । वित्तीय संघसंस्थाहरूले त्यसमा सहयोग गर्छन् । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माणमा मात्र होइन घरको आन्तरिक सज्जाका लागि पनि ऋण दिने गरेका छन् ।
घर कस्तो बनाउने आफ्नो क्षमता तथा चाहनामा भर पर्छ । निर्माण गर्दै जाँदा बजार भाउले गर्दा बजेट नै गडबड त हुन्छ नै आफ्नो बजेटभन्दा ठूलो घर बनाउँदा बढी खर्च पनि लाग्नसक्छ । नेपालमा विभिन्न मनसायले घर बनाइएको पाइन्छ । कोही घर भाडामा लगाएर ढुक्क हुन चाहन्छन् भने कोही ठूलो बंगला बनाएर राजसी तरिकाले बस्ने चाहना राख्छन् । कसैलाई एउटा घर बनाएर चित्त बुझ्दैन उनीहरू आफ्नो परिवारका प्रत्येक सदस्यका लागि पनि घर बनाउन चाहन्छन् । कोही केवल आफू बस्नका लागि घर बनाउँछन् । जुनसुकै हिसाबले बनाए पनि आफूसँग भएको पैसाले मात्र पुगेन भने बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर भए पनि आफ्नो घरको सपना साकार बनाउन सकिन्छ ।
वैशाख १२ गतेको शक्तिशाली भूकम्पले धेरैका घर भत्किए । भूकम्पले सानादेखि ठूलासम्मका संरचनालाई तहसनहस बनायो । कुनै योजनाबिना बसेकाहरूलाई यो महाभूकम्पले निकै अप्ठ्यारो स्थितिमा पुर्याएको छ । विपत्तिपछि मानिसहरूको जीवनस्तर नै ओरालो लागेको छ । यसले हरेकको जीवन दु:खदायी मोडमा पुर्याएको छ । यस्तो स्थितिमा घर निर्माण गर्ने कुरा निकै कठिन हुन्छ । भूकम्पले ठूलो आर्थिक क्षति मात्र भएको छैन मानिसहरू बेघर भएर सडक तथा टेन्टमा जीवन बिताउन बाध्य छन् । उनीहरू आर्थिक रूपमा पनि निरीह भएका छन् । यसले देशकै अर्थतन्त्रमा असर पुर्याएको छ । त्यसैले घर निर्माण अहिले सबैका लागि चुनौती बनेको छ । पूर्णरूपमा नभत्किएका थुप्रै घर पनि बस्न योग्य छैनन् । त्यसको पनि पुनर्निर्माण गर्नुपर्ने स्थिति छ । यस्तो बेला पैसाको अभाव हुनु स्वाभाविक हो ।
टेन्टको जीवन दीर्घकालीन नहुने हुँदा घर निर्माणको विकल्प छैन । त्यसका लागि होम लोन लिन सकिन्छ । आवश्यक कागजातहरू तयार पारेर बैंकहरूबाट ऋण लिन सकिन्छ । अहिले सबै बैंकले सहुलियत दरमा ऋण प्रदान गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले भूकम्पबाट पीडितहरूलाई २ प्रतिशतमा ऋण लगानी गर्ने जनाइसकेको छ । राष्ट्र बैंकका अनुसार भत्किएका तथा बस्न नहुने घर पुनर्निर्माण गर्न २ प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था गर्न सबै वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । क, ख, ग तथा घ वर्गका सबै बैंकले राष्ट्र बैंकको निर्देशिकाबमोजिम उक्त ऋण प्रवाह गर्नेछन् । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले ४ प्रकारको ऋण फाइनान्सको प्रावधान पनि अघि सारेको छ जसमा जनरल रिफाइनान्स, स्पेशल रिफाइनान्स, एक्सपोर्ट रिफाइनान्स तथा एसएमई छन् । नेपालमा रहेका सबै वित्तीय संस्थाले यसलाई पछ्याए पनि यसको प्रक्रियामा भने केही अस्पष्टता छ । एनबी बंैकका सीईओ ज्ञानेन्द्र ढुंगानाका अनुसार राष्ट्र बैंकले ल्याएको यो नीति निकै राम्रो हो ।
यसले भूकम्पपीडितहरूलाई निकै राहत प्रदान गर्छ । यसले उनीहरूको जीवनमा केही खुसी ल्याउँछ । घर भएर पनि टेन्टमा बस्न बाध्य नेपालीहरूलाई यसले राहत त प्रदान गर्छ तर यसलाई अवलम्बन गर्ने बाटो भने अझै तय भैसकेको छैन । यसलाई पूर्णरूपमा लागू गर्न केही चरणमा ध्यान पुर्याउनुपर्ने ढुंगाना बताउँछन् । रिफाइनान्स गर्दा ऋणको अवधि पूरा भएको ऋणलाई के गर्ने भन्ने कुरा पनि अन्योल छ । कुनै पनि हाउजिङ लोन लिँदा बैंकले ६ महिना मेच्युरिटी समय दिन्छ । त्यसपछि ऋणको नवीकरण गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मेच्युरिटीको समय कति राख्ने भन्ने प्रश्न पनि गहन छ । यद्यपि भूकम्मपीडितहरूलाई सहुलियत दरको ऋण प्रदान गरिने खबरले पीडितहरूमा केही आशा संचार गरेको छ । उनीहरूमा आफ्नो घर बनाउने आँट तथा रहर पलाएको छ । सरकारले राष्ट्र बैंकलाई उदार बनाए पीडितहरूलाई आफ्नो घर निर्माणमा थप सहयोग पुग्नेछ ।
यो ऋण बिनाधितो भने प्रदान गरिँदैन । यसका लागि ऋणीले धितो राख्नुपर्छ । यो सुविधा वाणिज्य बैंक, विकास बैंक तथा सबै फाइनान्स कम्पनीहरूले प्रदान गर्नेछन् । यसका लागि काठमाडौं उपत्यकाभित्र साढे २ करोडसम्मका तथा काठमाडांैबाहिर साढे १ करोडसम्मका घरका लागि २ प्रतिशत ब्याजमा ऋण प्रवाह गरिनेछ । यसरी प्रदान गरिने ऋणको अवधि ५ देखि १० वर्ष हुनेछ । भूकम्पमा परेर नेपालमा २ लाख ८४ हजार ४ सय ५५ घर पूर्णरूपमा क्षति भएका छन् भने २ लाख ३४ हजार १ सय २ घर आंशिक रूपले क्षति भएका छन् । यसरी ऋण प्रवाह गर्दा बस्न नमिल्ने पूर्णरूपमा क्षति भएका घरलाई मात्र प्राथमिकता दिइनेछ । मर्मतका लागि ऋण प्रदान गरिने छैन । ऋण लिन गाविस वा नगरपालिकाको कागजपत्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ र त्यसमा घर पूर्णरूपमा क्षति भएको उल्लेख हुनुपर्नेछ । बुझाउनुपर्ने सबै कागजात जम्मा भएपछि ऋण प्राप्त गर्न सकिनेछ ।