घर मानिसको वासस्थान मात्र नभई एउटा पवित्र मन्दिर र जीवनभरिको पुँजी पनि हो । जमिनका साथसाथै अग्ला भवनका कारण आकाश पनि साँघुरिदै गएको छ । मानिसले जति विकास गरे पनि प्राकृतिक प्रकोपसँग भने सधंै हार्नुपरेको छ । अहिलेको भूकम्पले पनि हजारौंको ज्यान लिएको छ, अनगिन्ती भवन भत्किएका र बस्नै नमिल्ने गरी चर्किएका छन् । कतै भरखरै बनेका नयाँ भवन माटोको थुप्रो भएर जमिनमा मिसिएका छन् भने कतै वर्षौं पुराना घर पनि जस्ताको तस्तै ठडिएका छन् । अब हामीले यो विषयमा गम्भीर चिन्तन गर्ने बेला भैसकेको छ । कमजोरीलाई लुकाएर आफ्नो जीवनभरिको पुँजी लगाएर बनाइने घरलाई अब कसरी सुरक्षित बनाउने ?
नेपाल भूकम्पीय दृष्टिले जोखिमपूर्ण छ । हरेक देशको आ–आफ्नै भौगोलिक विशेषतासँगै सहरी व्यवस्थापन र भवन निर्माण संहिता पनि लागू गरिएको हुन्छ । भूकम्पबाट हुने सम्भावित दुर्घटनालाई सक्दो न्यूनीकरणका लागि सरकारले राष्ट्रिय भवन निर्माण संहिता पनि लागू गरेको थियो । हामी भन्छौं भूकम्पले यति धेरैको ज्यान गयो तर वास्तवमा भन्ने हो भने भूकम्पले होइन, आफैंले निर्माण गरेका असुरक्षित भवनहरूले मानिसको ज्यान लिन्छन् । तसर्थ घरलाई कंक्रिटको बट्टा बनाउनुभन्दा एउटा सुरक्षित वासस्थान बनाऔं ।
घरलाई सुरक्षित बनाउन घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ । सानो क्षेत्रफलमा साँघुरो र आकाश छुने घर बनाउने हो भने भूकम्पको सानो झट्काले पनि त्यसलाई गल्र्यामगुर्लुम ढाल्न सक्छ । मापदण्डअनुसार कुनै पनि घरको चौडाइको साढे दुई गुनाभन्दा ठूलो घर बनाउन नपाइने नियम छ तर यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । घरको सबैभन्दा महत्वपूर्ण पक्ष जग हो । त्यसैले जग खन्दा भेटिने माटोको प्रकार, घरको उचाइ, पिल्लरको आकार, लम्बाइ, चौडाइ र भवनको प्रयोजन आदि सबै पक्षलाई मध्यनजर गरेर मात्र जगको गहिराइ निर्धारण गरिन्छ । आवासीय प्रयोजनका लागि बनाइने सामान्य दुई तल्ले घरको जग भने माटोको प्रकारअनुसार ३ देखि ५ फिटसम्म हुनु आवश्यक छ । अहिले चलनचल्तीमा रहेको पिल्लर सिस्टमको घरको जग डन्डीको जाली बुनेर ढलान गरेर हात्तीपाइले बनाइन्छ । पिल्लर अथवा थाम सबैभन्दा बलियो गरेर निर्माण गरिन्छ । घरको सबै बोझ पिल्लरले बोक्ने भएकाले २ वा ३ तल्लासम्मको घरका लागि पिल्लरको साइज न्यूनतम १२ह१२ इन्च राख्नुपर्छ ।
पिल्लरहरू सीधा लाइनमा नभएको संरचनालाई भूकम्पीय दृष्टिकोणले त्यति सुरक्षित मानिँदैन । यसैगरी पिल्लरको दूरी पनि सकेसम्म थोरै अथवा १५ फिटभन्दा बढी राख्नु हुँदैन । भवनका गाराहरूमा रहेको ओपनिङमा पनि झ्यालको तल र माथि तथा ढोकाको माथि लिन्टल बिम राख्नुपर्छ । बिमले पुराना घरमा निदालको काम गर्छ तसर्थ बिमको आकार पिल्लरभन्दा केही कम रहँदा पनि खासै असर पर्दैन । घर भूकम्पबाट मात्र होइन आगलागीबाट पनि बच्न सकिने हुनुपर्छ जसका लागि सकेसम्म २ वटा मूलढोका राख्नुपर्छ । व्यापारिक प्रयोजनका भवनहरूमा बाहिरबाट पनि भर्याङ निर्माण गर्नुपर्छ ।
जीवनभर कमाएको पुँजीले जमिन र आकाशलाई पनि साँघुरो बनाएर निर्माण गरिएका भवनहरूमा सधैं डर, त्रास लिएर असुरक्षित रूपमा बस्नुभन्दा जमिन र आकाशलाई खुल्ला राखौं, स्वस्थ हावामा श्वास फेरौं र आफ्नो विचारलाई फराकिलो पारौं । अब निर्माण गरिने घरहरू पूर्णरूपमा भवन निर्माण मापदण्डभित्र रहेर प्राविधिकहरूको सल्लाहअनुसार निर्माण गरिएको हुनुपर्छ जसमा सबै सुरक्षित हुनसक्छन् ।
लक्ष्मी खड्का
आर्किटेक्ट