Successfully Copied

वृद्धावस्थामा स्याहार

वृद्धावस्था जीवनको महत्वपूर्ण अवस्था हो । वृद्धावस्थामा आराम गर्नुपर्छ । वृद्धावस्थामा अरू बेलाभन्दा बढी स्याहार तथा हेरचाहको आवश्यकता पर्छ ।

वृद्धावस्था जीवनको महत्वपूर्ण अवस्था हो । वृद्धावस्थामा आराम गर्नुपर्छ । वृद्धावस्थामा अरू बेलाभन्दा बढी स्याहार तथा हेरचाहको आवश्यकता पर्छ । वृद्धावस्थामा शरीरका सबै अङ्गहरूले पहिलेभन्दा कम काम गर्छन् । वृद्धावस्थामा चाँडै थकाइ लाग्ने, आँखा कम देख्ने, फुर्ती कम हुने, बल कम हुनेजस्ता शारीरिक समस्या देखिन्छन् । ६० वर्ष नाघेपछि मुटु, मिर्गाैला, फोक्सो, कलेजो आदिले पहिले जति क्रियाशील भएर काम गर्न सक्दैनन् । पाचनक्रिया र मलमूत्र विसर्जनमा अनियमितता तथा शिथिलता देखा पर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । फलत: सानातिना समस्याले पनि शरीर कमजोर तुल्याउन सक्छ । त्यसैले वृद्धावस्थामा शिथिलता, दुर्बलता आदिको अनुभव भए तुरुन्तै सतर्कता अपनाउनुपर्छ । स्वास्थ्यका सामान्य नियमहरूको इमान्दारीपूर्वक पालना गर्नुपर्छ । आफूलाई चाहिने आहार, आराम एवं व्यायाम तथा ठीक समयमा औषधि सेवनको जिम्मा आफैले लिनुपर्छ । आफैं जान्ने भएर व्यथालाई जित्छु भन्नु हुँदैन । डाक्टरको सल्लाह पालना गर्नुपर्छ । केही भैहाल्यो भने आत्तिनुहुँदैन तर सजगता अपनाउनुपर्छ ।

खानपान

धेरै चिल्लो, भुटेको, तारेको, पिरो, नुनिलो एवं पोलेको खाद्य पदार्थको सेवन निकै कम गर्नुपर्छ । मैदा तथा चिनीबाट बनेका गुलिया मिठाईंले वृद्धावस्थामा क्षति पुर्‍याउँछ । यो उमेरमा मानिसलाई विभिन्न रोगले आक्रमण गर्न सक्छ । कुनै दीर्घ रोग पनि हुनसक्छ । त्यसैले खानपानमा निकै ध्यान पुर्‍याउनुपर्छ । मधुमेह तथा उच्च रक्तचापका कारण औषधि सेवन गरिरहेको भए अमिलो–पिरो कम गर्नुपर्छ । खानामा अधिक नुनको प्रयोग गर्नु पनि हानिकारक हुन्छ । वजन बढाउनु हँुदैन । सबै खानेकुरा सन्तुलित मात्रामा सेवन गर्नुपर्छ । खाना मीठो लाग्यो भन्दैमा बढी खानु हुँदैन । फलफूल तथा ताजा तरकारीको सेवनमा जोड दिनुपर्छ । सकेसम्म सेता तथा गुलिया परिकार बहिष्कार गर्नुपर्छ । समयमै खाने तथा सुत्ने बानीको विकास गर्नुपर्छ । बिहान उठेपछि हलुका व्यायाम गरेर चिसो वा मनतातो पानी पिउनुपर्छ ।

व्यायाम

वृद्धावस्थामा व्यायामले शरीर स्वस्थ तथा स्फूर्त हुन्छ । नियमित व्यायाम गर्नाले लागेका रोग कम भै लाग्नसक्ने रोगहरू पनि नियन्त्रण गर्न सकिन्छ । उठबस गर्ने, शरीर तन्काउने, बिहान घाँसमा हिँडेर पसिना चुहाउने आदि कामले फाइदा पुर्‍याउँछन् । यसबाट शरीर सक्रिय एवं हलुका हुन्छ । बिहान गरिने व्यायामले दिनभर ताजापन महसुस गराउँछ । सामान्य क्रियाकलापलाई आनन्दसँग अघि बढाउनुपर्छ । घरमा ठाउँको कमी भए घर वरपरको कुनै पार्कमा जान सकिन्छ ।

सक्रियता

वृद्धावस्थामा सकेसम्म आफूलाई सक्रिय तथा क्रियाशील राख्नुपर्छ । वृद्धावस्थामा पुगियो भनेर शिथिल भएर बस्नुहुँदैन । बिहान उठ्नेबित्तिकै अखबार पढ्ने, टिभी हेर्ने, रेडियो सुन्ने, विश्वमा के भैरहेको छ जानकारी राख्नेजस्ता कामबाट आफूलाई समयअनुरूप ढाल्नुपर्छ । गीत गाएर, नाचेर, मीठो खाना पकाएर, चित्र बनाएर, कथा लेखेर, तरकारी काटेर तथा भजन गाएर पनि सक्रिय रहन सकिन्छ । बिहान उठ्नेबित्तिकै केश कोरी सफा लुगा लगाएर चिटिक्क भएर बस्नुपर्छ । यो उमेरमा सामाजिक काममा पनि लाग्न सकिन्छ । आफ्नो उमेरका साथीभाइसँग मिलेर विभिन्न खेल खेल्न सकिन्छ । टोलका बालबालिकाहरूलाई कथा सुनाउने तथा युवाहरूसँग ज्ञानगुनका कुरा गरेर समय कटाउन सकिन्छ भने आफूसँग भएको सीप अरूलाई सिकाउन सकिन्छ ।

मानसिक अवस्था

वृद्धावस्था रमाइलोसँग आराम गर्ने समय हो । वृद्धावस्थामा सकेसम्म प्रसन्न रहनुपर्छ । विगतका रमाइला कुरा सम्झेर खुसी मान्नुपर्छ । मनमा रिस, राग, द्वेषजस्ता भावना ल्याउनु हुँदैन । अरूलाई प्याच्च केही भन्नु हुँदैन । साथीभाइबीच आपसमा गाली गर्ने, झगडा गर्ने, अरुलाई जस नदिने काम गर्नु हुँदैन । परिवारका सदस्यहरूसँग खुसी बाँड्ने प्रयास गर्नुपर्छ । आफ्नो कारणले कसैलाई दु:ख दिनुहँुदैन । वृद्धावस्थामा प्राय: मानिस चिढचिढे हुन्छन् । यतिबेला चाँडै रिस उठ्छ भने स–साना कुराले पनि मनमा असन्तुष्टि उत्पन्न हुन्छ । रिसले रक्तचाप बढाउँछ । त्यसैले सकेसम्म शान्त रहने प्रयास गर्नुपर्छ ।

बूढाबूढीको स्याहारमा ध्यान दिनुपर्ने कुराहरू

    आफ्नो स्वास्थ्य स्थिति थाहा पाउनुपर्छ । स्वास्थ्यमा के–के समस्या छन् । रुचि के–कस्तो छ । के–के गर्न सकिन्छ के गर्न सकिँदैन आदि कुरामा ध्यान दिनुपर्छ ।

    आफ्ना मुख्य आवश्यकता के–के हुन् । तिनलाई प्राथमिकताअनुसार पूरा गर्ने प्रयास गर्नुपर्छ ।

    वृद्धवृद्धाहरूलाई हेला गर्नु हुँदैन । गाली गर्ने, कुटपिट गर्ने, होच्याउने, सराप्ने आदि कार्य गर्नु हुँदैन । बेइज्जत गर्ने उनीहरूको दु:खलाई हाँसोमा उडाउनेजस्ता कार्य गर्नु हुँदैन ।

    वृद्धवृद्धाहरूको चाहना बुझेर उनीहरूलाई रहर लागेको कुरा पूरा गर्न सहयोग गर्नुपर्छ । उनीहरूलाई खान मन लागेको खाना ख्वाउने अनि घुम्न मन लागेको ठाउँमा घुमाउनुपर्छ ।

    उनीहरूको दिनचर्या अवलोकन गर्नुपर्छ । हरेक क्रियाकलाप समयमै पूरा गर्न सहयोग गर्नुपर्छ । औषधि सेवनमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

    उनीहरूको शयनकक्षको सुरक्षामा चनाखो हुनुपर्छ ।

घरभित्रको सुरक्षा

घरमा बूढाबूढी छन् भने उनीहरूको सुरक्षामा ध्यान दिनुपर्छ । उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक सुरक्षाको दायित्व नयाँपुस्ताको हो । आफ्ना बुवाआमाको सहजतालाई ध्यानमा राखेर घर निर्माणमा जोड दिनुपर्छ । उनीहरूको सुरक्षा सन्तानको दायित्व पनि हो ।

प्रवेशद्वार

घरमा बूढाबूढी हुँदा घरको मुख्य ढोका सदैव बन्द गर्नुपर्छ । उनीहरू घरमा एक्लै बस्छन् भने चुकुल बन्द गर्नुपर्छ । घरमा बूढाबूढी मात्र छन् भने चोरी हुने सम्भावना हुन्छ । यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ तसर्थ देखिने सजिलो ठाउँमा टेलिफोन जडान गर्नुपर्छ । बेडमा बेड रिंग जडान गर्न सकिन्छ ।

भुइँ

चिप्लो भुइँमा चिप्लेर लड्ने सम्भावना हुन्छ । यसले खुट्टा भाँच्चिने, कम्मर भाँच्चिने, नराम्रोसँग पछारिने समस्या उत्पन्न हुनसक्छ । त्यसैले चिप्लो भुइँ बनाउनु हुँदैन । भुइँ चिप्लो छ भने पानीको निकास राम्रो हुनुपर्छ । भुइँ चिप्लो छ भने पनि त्यसमा नचिप्लने खालको दरी, रग, राडी वा गलैंचा बिछ्याउन सकिन्छ ।

बिजुलीको प्लग वा प्वाइन्ट

बिजुलीको प्लग सजिलै भेटिने ठाउँमा लगाउनुपर्छ । अधिकांश घरमा भुइँभन्दा एक फुटजति माथि प्लगको प्वाइन्ट राख्ने चलन छ तर वृद्धावस्थामा उभिएर बत्ती बाल्न निकै कठिन हुन्छ । आफ्नो कम्मरको हाराहारीमा प्लग भए चलाउन सजिलो हुन्छ । यसबाट प्लगको प्वाल पनि राम्रोसँग देखिन्छ । त्यसमा बेड ल्याम्प जडान गरिदिन सकिन्छ ।

भान्सा

भान्सा घरको सबैभन्दा संवेदनशील ठाउँ हो । यहाँ निकै सतर्कता अपनाउनुपर्छ । भान्सामा बस्दा आगलागीबाट जोगिन सामान्य सतर्कता अपनाउनुपर्छ । पोलिस्टर र सिल्कका पहिरन लगाएर भान्सामा जानु हुँदैन । आगलागी भएर दुर्घटना पनि हुनसक्छ । त्यसैले भान्सा सुरक्षित बनाउनुपर्छ ।

शयन कक्ष

चिप्लो भुइँ मात्र होइन सामान छरिएको कोठामा लड्न सकिन्छ । त्यसैले कोठालाई सफा राख्नुपर्छ । सकेसम्म भुइँखाट, सानो दराज आदि फर्निचर प्रयोग गर्नुपर्छ । शारीरिक श्रम कम खर्च हुने फर्निचर मात्र उनीहरूको कोठामा राख्नुपर्छ । खाली भुइँमा गलैंचा बिछ्याएर कोठामा कुसन राख्नुपर्छ । सुरक्षाको हिसाबले मेचभन्दा कुसन उपयोगी हुन्छ । कोठामा हलुका सामान मात्र राख्नुपर्छ ।

 Image