नेपाली पञ्चाङ्गअनुसार साउन चौथो महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । चन्द्रमानअनुसार हिन्दू पञ्चाङ्गको प्रारम्भ चैत शुक्ल प्रतिपदादेखि हुन्छ भने सौरमानअनुसार वैशाख वा मेष संक्रान्तिदेखि हुन्छ । नेपालमा सबै चाडपर्व, तिथि–श्राद्ध आदि चन्द्रमानअनुसार गरिन्छ भने अन्य कुरा सौरमानअनुसार गरिन्छ । यति हुँदाहुँदै पनि सूर्यले राशि परिवर्तन गर्ने संक्रान्तिहरूलाई पनि विशेष रूपमा लिइएको पाइन्छ । तीमध्ये पनि साउने संक्रान्ति वा कर्कट संक्रान्ति एवं माघे संक्रान्ति वा मकर संक्रान्तिलाई विशेष महत्वका साथ लिइएको पाइन्छ किनभने यी दुई संक्रान्तिमा सूर्यको अयन पनि परिवर्तन हुन्छ अर्थात् साउनदेखि सूर्य दक्षिणायन हुन्छ भने माघदेखि सूर्य उत्तरायण हुन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनामाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।
यो महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभित्र असार, साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् । सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ । यीमध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अत्युत्तम मान्ने परम्परा छ । श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरूले आममानिसलाई सुनाए । त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो । यसलाई आदिगुरु भगवान् शिवको प्रिय महिना पनि मानिन्छ ।
यो महिनाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यसबाहेक साउनमा नागपञ्चमी, मंगलचौथी, घण्टाकर्ण चतुर्दशी, जनैपूर्णिमा, गाईजात्रा आदि पर्व पर्छन् । यो वर्ष अधिक मास परेकाले साउन महिनामा साउने संक्रान्ति, हरिशयनी एकादशी, गुरुपूर्णिमा, मंगलचौथी र घण्टाकर्ण चतुर्दशी परेका छन् भने साउनमा पर्ने कतिपय पर्व भदौ महिना पुगेका छन् ।
साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा–मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ । विशेष गरी साउने सोमबारका दिन महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्छ । त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरूमा अर्पण गर्ने परम्परा पनि छ ।
यो वर्ष अधिक मासका कारण अन्य बेला असार महिनामा पर्ने गुरुपूर्णिमा साउन १५ गते परेको छ । सनातन हिन्दू परम्परामा यो पूर्णिमाको विशेष महत्व छ । धर्मग्रन्थका अनुसार यो दिन भगवान् विष्णुका अवतार कृष्णद्वैपायन वेदव्यासको जन्म भएको थियो । यो दिन गुरुको सम्मान गर्ने परम्परा छ ।
यो वर्ष हरिशयनी एकादशी साउन ११ गते परेको छ । उक्त दिन तुलसीको बिरुवा रोप्ने काम गरिन्छ । औषधीय महत्व बोकेको तुलसीलाई घर नजिकै रोपेर श्रद्धापूर्वक संरक्षण गर्दा त्यसबाट अनेकौं लाभ लिन सकिन्छ । यसैगरी साउनमै पर्ने मंगलचौथी, घण्टाकर्ण चतुर्दशी आदिको पनि आ–आफ्नै महत्व छ ।