Successfully Copied

अपाङ्गता भएकाको अब्बल परिचय

अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।’ तिनै अपाङ्गता भएकाले देश–विदेशमा नाम कमाइरहेका छन् । आफ्नो क्षमता, सीप र आत्मविश्वासमार्फत संसारभर देशको प्रतिष्ठा फैलाउन सफल छन् । ‘नारी’ पत्रिकाको यो अंकमा हामीले अपाङ्गताभित्रका केही अब्बल उदाहरणहरू प्रस्तुत गरेका छौं :

सुजल बम, बहिरा कलाकार तथा मोडल

डोटीमा जन्मिएकी सुजल बमलाई बुवा टेक बम र आमा हीरा शाहले उपचारका लागि भारतका विभिन्न अस्पतालमा पुर्‍याए तर सन्चो भएन । जन्मिएको वर्ष दिनसम्म टाउकै नउठाउने सुजललाई डाक्टरहरूले सुस्त विकास भएको र आजीवन यस्तै रहन सक्ने बताए । उमेर बढ्दै गयो तर उनको आवाज निस्किएन । साथै पूर्णरूपमा कान नसुन्ने भइन् । डेढ वर्षकी हुँदा कोल्टे फेर्न थालेकी उनको शरीर सात–आठ वर्षकी हुँदा अत्यन्तै मोटो र भद्दा थियो । उनलाई चल्न–चल्मलाउन निकै गाह्रो हुन्थ्यो । कान पटक्कै नसुन्ने अनि बोल्न पनि नसक्ने हुँदै गएको देखेर गाउँलेहरूले उनकी आमालाई पूर्वजुनीको श्राप परेको, पाटेघर नै खराब, गर्भावस्थामा मन्दिर गएर यस्तो भएको आदि लाञ्छना लगाउन थाले ।

बुवा राजनीतिज्ञ र समाजसेवी भएकाले उनीहरूको काठमाडौं बसाइ सराइ भयो । सुजल केन्द्रीय बहिरा विद्यालयमा पढ्न थालिन् । उनलाई नाचगान र अभिनयमा औधी रुचि थियो । थाहा पाउने र बुझ्ने भएदेखि सधै चिरिच्याट्ट पर्नुपर्ने सुजल स्कुलमा धेरै जनाको बीचमा आँखामा पर्थिन् । पढाइमा उनी अत्यन्त तेज थिइन् । २० वर्षीया उनी हातको ईशारामा भन्छिन्–‘मुखले नबोलेर, कानले नसुनेर के भयो त मैले अरुले गर्ने जस्तै काम गरेर देखाएकी छु । आफैं पैसा कमाउँछु, बुवाआमाको बोझ बनेकी छैन बरु साथ दिएकी छु । मेरा अभिभावकले मेरा लागि खर्च गरिदिनु पर्दैन म आफैं समक्ष छु ।’ 

ब्याचलर पहिलो वर्षमा अध्ययनरत बमले एसइई दिइसकेपछि सन् २०१९ मा सम्पन्न फेसन इरा नामक फेसन शोमा ‘फर्स्ट रनर अप’ को उपाधि हात पारिन् । ‘झिमझिम परेली’ लगायतका एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले १६ भागको ‘कलेज लभ’ नामक टेलिसिरियलमा अभिनय गरिन्, उनको अभिनयलाई दर्शकहरूले अत्यन्त रुचाए । त्यसबाहेक बम स्टेज शोमा निकै सक्रिय छिन् । टिकटकमा रमाउने उनी दैनिक दुईदेखि चारवटा भिडियो अपलोड गरेकै हुन्छिन् । असाधारण प्रतिभा र कलाकी धनी सुजलको सीपको कदर गर्दै संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चम श्रेणीले सम्मान गरियो । साथै उनलाई विभूषण अधिकारपत्र पनि प्रदान गरिएको छ । बहिरा मोडलहरूमा विश्व रेकर्ड कहलाएको एभरेस्ट वर्ल्ड रेकर्ड २०१९ पनि उनले प्राप्त गरिन् । 

‘यति गर्न सक्नुमा मेरो पढाइ, व्यवहार र केही गर्छु भन्ने इच्छाशक्ति नै प्रमुख कुरा हुन् । मलाई हरेक कुरा प्रयोग गर्न मन लाग्छ । जे कुरामा पनि प्रयास गरिरहेकी हुन्छु ।’ मुस्कानसहित कपीमा कलम दौडाउँदै यस्तो उत्तर लेखिन्–‘मसँग भएको कला र प्रतिभामार्फत विदेशमा गएर नेपाल र नेपालीको नाम चिनाउने मन छ । म जस्तोसुकै ठाउँमा जतिजना मान्छेको अगाडि पनि नाच्न र अभिनय गर्न सक्छु । यो आत्मविश्वास मलाई पढाइ र अनुभवले दिएको हो । तसर्थ हामीजस्ता युवा पढाइमा केन्द्रिकृत हुनुपर्छ । आफ्नो इच्छा र रुचि बुझेर सोही क्षेत्रमा कडा परिश्रम गर्नुपर्छ, हार मान्नु हुँदैन एक न एक दिन सफल भइन्छ ।’ आमाबुवालाई खुसी राख्ने र उनीहरूको नाम फैलाउने इच्छा बोकेकी सुजल भविष्यमा पनि कलाकारितामै जीवनलाई खुसी बनाउने बताउँछिन् ।

सृष्टि केसी, मोटिभेसनल स्पिकर, ट्रेनर, डान्सर तथा अध्यक्ष, ब्लाइन्ड रक्स

असीमित रहर र आकांक्षा बोकेको सोह्र वर्षको कलकलाउँदो उमेर, जुन उमेरबाट जीवनमा अगाडि बढ्ने गोरेटो तय हुन्छ । सोही उमेरमा सृष्टि केसीको आँखाको ज्योति पूर्णरूपमा गुम्यो । आँखाको एलर्जीका लागि प्रयोग गरिएको औषधि डाक्टरको लापरबाहीका कारण गलत परेछ । जसका कारण सृष्टिले सदाका लागि ज्योति गुमाउनुपर्‍यो । ‘मेरो आँखाको भिजन जब गुम्यो, त्यही दिनदेखि मेरो लाइफको भिजन सुरु भयो’ सृष्टिले भनिन्, ‘जीवनमा चुनौतीको पहाड थपियो । त्यस्तो अवस्थामा पनि म डिप्रेस्ड भएर बसिन । उपाय र विकल्पहरू खोज्दै अघि बढें । अनि स्कुल हुँदा सामान्य विद्यार्थी म, दृष्टि गुमेपछि ‘नेपाल टप’ गरेर ‘गोल्ड मेडल’ पाएँ । ‘प्लस टु’ र ‘ब्याचलर’ दुवैमा म त्रिवि टपर हुँ जबकि म त्यसअघि कहिल्यै ब्रेललिपि देखेकी र छोएकी नै थिइन ।’ 

सृष्टिको दृष्टि गुमेपछि समाजले विभेदपूर्ण दुर्व्यवहार गर्‍यो । यो दुर्व्यवहार शाब्दिक बढी हुन्थ्यो । यो सुनेर उनकी आमा खुब रुन्थिन् । आमाको त्यही आँसु सृष्टिको शक्ति बन्यो । एकदिन आमाको मुहारमा हाँसो र आँखामा खुसीका आँसु ल्याउने अठोटका साथ उनले आफूलाई भित्रैदेखि बलियो र आत्मविश्वासी बनाइन् । देख्नु र नदेख्नुबीचको दूरी, सामाजिक विभेद र आफन्तहरूबाटै गरिएका तीता व्यवहारले उनीभित्र सकारात्मक इख पलायो । नेपालमा स्नातक सकेपछि उनी केरलाको कान्थारी इन्टरनेसनलमा नेतृत्व विकासलगायत संस्था कसरी चलाउने भन्ने तालिम लिन गइन् । सोही संस्थामा एक वर्ष काम गरेर नेपाल फर्किएपछि ‘ब्लाइन्ड रक्स’ संस्था खोलिन् । अनिलकेशरी शाहले ‘म मुभमेन्ट’ का लागि बोलाएपछि उनको स्पिच भाइरल भयो । त्यपछि देश–विदेशबाट उनको खोजी हुन थाल्यो । 

आजसम्म सृष्टिले करिब दुई दर्जन बढी मुलुकमा ‘मोटिभेसनल स्पिच’ दिइसकेकी छन् । केरलास्थित कान्थारी इन्टरनेसनलको ‘भिजिटिङ ट्रेनर’ का रुपमा उनी वर्षको तीन महिना केरलामै हुन्छिन् । यता नेपालमा ‘ब्लाइन्ड रक’ हाँकिरहेकै छिन् भने बेलाबखत डान्स प्रस्तुतिमा पनि उनको सहभागिता देखिन्छ । छोरी मान्छे त्यो पनि दृष्टिविहीन एक्लै बाहिर निस्कियो भने बलात्कार, यौनहिंसामा पर्छन् भन्ने सोच र मान्यतालाई चुनौती दिँदै उनी एक्लै युके, हंगेरी, नर्वे र फ्रान्स पुगेर त्यहाँका विश्वविद्यालयहरूबाट उच्च शिक्षा हासिल गरिन् । ‘सबै कुरा सोच रहेछ । दृढ इच्छाशक्ति भयो भने मानव जातिले जे पनि गर्न सक्छ, अल्छी हुन भएन, हार मानेर छोड्न भएन । म यहाँसम्म पुग्नुमा मेरो परिवारको ठूलो सहयोग छ’ सृष्टिले भनिन्, ‘म आफू मात्रै नभएर आफूजस्ता हजारौं र आफूभन्दा फरक हजारौंको जीवनमा थोरै भए पनि परिवर्तन ल्याउन सकेकोमा गर्व गर्छु । धेरै पटक आत्महत्या प्रयास गरेका अस्ट्रेलिया बस्ने एकजना व्यक्तिले मेरो स्पिच सुनेर बाँच्ने निर्णय गरेको र अहिले व्यवसायमा निकै सफल भएर खुसीले जीवन बिताएको सुन्दा मलाई आफू बाँच्नुको अर्थ लाग्छ । यो त एउटा उदाहरण मात्रै हो यस्ता धेरै व्यक्ति छन् जो आजसम्म पनि मसँग नियमित सम्पर्कमा छन् । जीवन बदल्न नसकिएला तर केही व्यक्तिको जीवन बदल्न सकेकोमा खुसी छु । अपाङ्गता भएका धेरैको जीवन, करियर, पढाइ र सोचमा परिवर्तन ल्याउन सकेकोमा राम्रै गरेकी छु भन्ने लाग्छ ।’

जीवनको एकक्षण पनि खेर जान नदिएकी सृष्टि आफूले कहिल्यै हार नखाएको र निरन्तर प्रयासमै संघर्ष गरेको बताउँछिन् । दृष्टि नगुमेको भए यत्ति छिट्टै जीवन बुझ्दिनथें होला भन्ने उनले धेरै कुरा आफूमाथि परेर सिकेको बताइन् । जीवनमा कहिल्यै हार नखाने र यो काम सकिँदैन होला भनेर त्यसै नछाड्ने स्वभावले आफूलाई सबल र सफल बनाएको उनको अनुभवले बताउँछ । ‘प्लस टु’ मा नेपाल टपेपछि राष्ट्रपतिको हातबाट छात्रा विद्या पदक, अर्जुन स्वर्ण पदक, राष्ट्रिय युवा प्रतिभा पुरस्कारलगायतका थुप्रै पदक र सम्मान पाएकी सृष्टिको राज्यले आफूहरू जस्ता व्यक्तिलाई सँगै लिएर अगाडि बढ्नुपर्ने माग छ । उनले भनिन्, ‘ब्लाइन्ड रक्स’ मार्फत हामीले मुलुकभरका हजारभन्दा बढी अपाङ्गता भएकाहरूसँग काम गरिसकेका छौं । कला र सिर्जना, फेसन, संगीत, शिक्षा र आर्थिक आत्मनिर्भरतालाई मूल विषय बनाएर काम गरिरहेका हामीलाई राज्यको साथ र सहयोगको खाँचो छ ।’

 

टीका दाहाल, अध्यक्ष, नेपाल अपाङ्ग महिला संघ

मोरङका इन्द्रलाल र मेधमायाले छोरीको उपचारमा निकै खर्च गरे । साथै दुःख र सास्ती त कति हो कति । कति धामी–झाँक्री लगाए तर बीसको उन्नाइस भएन । एक वर्षको कलिलो उमेरकी बालिकाको शरीरमा दिनहुँ अकुपञ्चरका नाममा दर्जन सियो रोपिन्थ्यो । छिमेकी र गाउँलेले पूर्वजन्मको पापले यस्ती सन्तान जन्मिई भन्थे । तर टीका दाहालले पोलियो थोपाको अभावमा कम्मरमुनिको भाग नचल्नुको पीडा आजीवन भोग्नुपर्‍यो । 

टीकालाई उनका बुवाले बोकेर स्कुल लाने–ल्याउने गर्थे । उनी अलि बुझ्ने भएपछि अरुलाई दुःख दिइरहेछु भन्ने बोध भएकाले एक्लै स्कुल जाने हठ गर्न थालिन् । उनी घिस्रिएरै स्कुल पुग्थिन् । बाटाघाटामा धेरैले उनलाई ‘लङ्गडी’ भन्ने, ढुंगाले हान्ने, छिर्के हानेर लडाइदिने गर्थे । ‘शारीरिक दुःख त कति हो कति, त्यसमाथि समाजको हेय र तिरस्कारले मन उत्तिकै दुखिरहेको थियो । घुँडा रग्ताम्य हुन्थे । असाध्यै दुःख गरेर १० कक्षासम्म पढें । बीचमा बहिनीको सहयोगले केही राहत भयो’ टीकाले भनिन्, ‘एसएलसी पास गरेर यो नर्कमा बस्दिन भन्ने थियो । नभन्दै त्यसै गरें । चेतना आएदेखि नै आत्मनिर्भर बन्नैपर्छ भन्ने सोच पलाएपछि ०५३ मा काठमाडौं आएँ । दिदी–भिनाजुकहाँ केही दिन बसेपछि म आफैं केही गर्छु भन्ने सोचेर एक्लै बस्न थालें, अरुको बोझ बन्न चाहिन । कम्प्युटर सिक्न थालें, त्यहीको छिंडीमा चिसो कोठा थियो, त्यहीँ बस्थें । बिरामी भएर थला परें । साह्रै दुःख गरेर कम्प्युटरमा पोख्त भएँ । थेसिसका ठेली टाइप गर्ने काम गर्न थालें । काम लगाएर पैसा नदिने र अरु कामको समेत श्रमशोषण गर्ने समस्या त कति झेलें कति ।’

संघर्षको पहाड चिछोल्दै दौडिएकी टीकालाई आफ्ना लागि मात्रै नभएर आफूजस्तै अपाङ्गता भएकाहरूका लागि काम गर्ने इच्छा जाग्यो । उनी नेपाल अपाङ्ग महासंघमा अवसर खोज्दै पुगिन्, त्यहाँ पनि पुरुषको हावी, उनैले बढी अवसर पाउने भेदभाव देखेपछि वि.सं. ०५४ मा केही साथीहरूलाई साथ लिएर आफैंले संस्था खोलिन् । अहिले त्यही संस्थामा देशैभरिका अपाङ्गता भएकाहरूलाई सीप सिकाउने, आत्मनिर्भर बनाउने, क्षमता अभिवृद्धि गर्ने काम भइरहेको छ । हालसम्म संस्थाले मुलुकभरिका गाउँ–गाउँमा समूह बनाएर बचत कार्यक्रम सञ्चालन गरेको छ । उनी भन्छिन्–‘अपाङ्गताभित्रको लैंगिक समानताको लडाइँको अभियानलाई स्थापित गर्न सक्यौं । अपाङ्गता भएका महिलालाई राष्ट्रिय नेटवर्किङमा समावेश गरी हजारौं काम गर्‍यौं । पढाइ छाडेका कतिपय साथीहरू पुनः स्कुल–कलेज जान थालेका छन् । राज्यको नीति निर्माण तहमा हाम्रा कुरा पार्न सकियो । अपाङ्गता भएकाले पनि केही गर्न सक्छन् भन्ने सामाजिक सोच बदल्न सकियो ।’ 

टीकालाई अब नीति निर्माण तहमा अपाङ्गता भएका महिला पुग्नुपर्छ भन्ने लाग्छ र सोहीअनुसार उनी अघि बढिरहेकी छन् । त्यसका साथै अपाङ्गता भएकाहरूलाई आत्मनिर्भर बनाउनुपर्छ, आर्थिक आत्मनिर्भरताले जीवन सफल बनाउँछ भन्ने उनलाई बोध भएको छ । त्यसकारण अहिले उनी आर्थिक आत्मनिर्भरमा जोड दिने कार्यक्रम कार्यान्वयनमा व्यस्त छिन् । आफूहरू दयाको पात्र नभएर मुलुक परिवर्तन गर्न सक्ने आँट र साहस बोकेका मानव हौं भन्ने उनी आर्थिक सशक्तीकरणले विभेद र हिंसा विरुद्ध लड्ने हिम्मत आउने बताउँछिन् । 

नेपाल अपाङ्ग महिला संघमार्फत देशभरका २० हजारभन्दा बढी अपाङ्गता भएका महिलाले तालिम पाइसकेका छन् । तिनैमध्ये कोही संयुक्त राष्ट्रसंघमा काम गर्छन् त कोही लोकसेवा पास गरेर सरकारी अधिकृत भइसकेका छन् । ‘बाँच्ने चाहना बोकेको र सपना देख्ने मानिस सधैं अगाडि बढ्छ । मान्छे बन्ने सपना देखेर संघर्ष गरियो र यहाँसम्म आइपुगियो ।’ सफलता प्राप्तिको सूत्र खोतल्दै टीका भन्छिन्–‘कहिल्यै अल्छी लागेन । सधैं जिम्मेवारी बोध भयो । आफ्ना लागि मात्रै नभएर समाज र राष्ट्रका लागि बाँचें यसैमा खुसी छु ।’

मेघा घिमिरे, टिकटक स्टार

टिकटकमा आजकल एउटी सुन्दर युवती दिनहुँ उत्प्रेरक वक्ता, कुशल नृत्यांगनाका साथै आकर्षक अभिनेतृका रूपमा प्रस्तुत भइरहेकी हुन्छिन् । उनको आकर्षक अनुहार देख्दा धेरैले अनुमानसम्म लगाउन सक्दैनन् कि उनका दुवै हात छैनन् भनेर । वास्तवमा उनका दुवै हात छैनन् तर खाने, ब्रस गर्नेदेखि लिएर मेकअप गर्नेसम्म उनी आफैंले गरिरहेका भिडियोहरू देख्न पाइन्छ । ती व्यक्ति हुन्–विराटनगरकी मेघा घिमिरे । पछिल्लो समय दुवै हात नभएकी टिकटक स्टार भनेर चिनिएकी मेघाको टिकटक यात्रा कोभिड सुरु भएको केही समयपछि सुरु भएको हो । उनी भन्छिन्–‘ममी–बुवा दुवै अफिस, भाइ कलेज, घरमा म एक्लै हुन्थें । विभिन्न कुरा मनमा खेल्थे अनि माइन्ड डाइभर्ट गर्न टिकटक बनाउन थालें । नृत्य, डायलग र मेरा विभिन्न कृयाकलाप राख्न थालें । अहिले मेरो ३ दशमलव ६ मिलियन फलोअर्स पुगिसकेका छन् भने ६७ दशमलव २ मिलियन लाइक्स छ । लाइभ बस्यो भने पैसा पनि आउँछ । अहिले जीवन रमाइलो लागिरहेको छ । मेरो कारणले कतिजना उत्प्रेरित भएका छन् यसमा मलाई खुसी लाग्छ ।’ 

विराटनगरका परशुराम घिमिरे र पद्मा घिमिरेका दुई सन्तानमध्ये मेघा जेठी छोरी हुन् । उनका एक भाइ छन् । श्री आदर्श बालिका मा.वि. विराटनगरबाट एसइई दिएपछि आदर्श कलेजबाट प्लस टुसम्मको अध्ययन पूरा गरेकी उनले धेरैको जीवनमा परिवर्तन ल्याउन सफल भएकी छिन् । सात वर्षअघिको घटना सम्झँदै मेघा भन्छिन्–‘१८ पूरा हुँदै गर्दा घरको छतमा टहलिरहेकी थिएँ । मेरो एउटा हातमा भएको पञ्चरत्नको बालामा अलि पर भएको हाइटेन्सन बिजुलीको अर्थिङको झट्का लाग्यो । अर्को हातले छुटाउन खोज्दा दुवै हातमा करेन्ट लाग्यो । धरानको घोपा क्याम्पमा लगियो । त्यहाँ केही गर्न सकेनन्, काठामाडौं लैजान भनेपछि मलाई सुषमा मेमोरियलमा लगियो । मेरा अभिभावकसँग पर्याप्त पैसा नहुँदा टिचिङ अस्पतालमा मेरो अप्रेसन भयो । अप्रेसन गर्दा सुरुमा दुईवटै हात आधा–आधा काटियो । १५ दिनपछि मासु गलेर झर्न थाल्यो अनि दुवै हात जरैदेखि काटियो ।’

दुवै हात गुमिसकेपछि उनलाई अत्यन्तै गाह्रो भयो । अरु माथि निर्भर हुनुपर्दा दिक्क लाग्थ्यो । आफूलाई ऐनामा हेर्दा एकदम नराम्री र कुरूप लागेको उनी बताउँछिन् । उनलाई चिन्ता थियो, अब कसरी जीवन अगाडि बढाउने ? त्यसपछि उनले साहस जुटाएर केही गर्नुपर्छ, अमूल्य जीवन खेर जान दिनु हुँदैन भन्ने आँट आफूभित्र भर्न थालिन् । त्यतिबेला अपाङ्गता भएकाहरूको अधिकारका लागि काम गर्ने संस्थाका दिदीहरू भेट्न आए । उनीहरूले मेघालगायत परिवारलाई परामर्श दिए । ‘त्यसपछि म आफैंले खान सुरु गरें । अहिले त म ब्रस, फेसवास, मेकअप आफैं गर्न सक्छु । परिवारको सहयोग र साथले आत्मबल बढेर आयो । कुनै दिन त अब के बाँच्ने जस्तो हुन्थ्यो । रोएरै मात्र बस्थें अब मैले रोएर मूल्यवान् समय खर्च गर्न छोडिसकें’ मेघा भन्छिन्, ‘त्यसअघि केही नगरीकन बसिराखेकी थिएँ । केही गर्न सक्छु जस्तो पनि लाग्दैनथ्यो । परामर्श र परिवारको प्रेरणा पछि मैले आफूलाई परिवर्तन गरें । आफूलाई माया गर्न सिकें । जीवन बुझेपछि खुसी भएर बाँच्नुपर्छ भन्ने लाग्न थाल्यो ।’ 

मेघाको टिकटक भिडियोमा प्रायः डाइलग, डान्स र उनले गर्ने कृयाकलापसँगै ‘मोटिभेसनल भिडियो’ हरू पनि धेरै छन् । आत्मबल भएकै कारण यो सब सम्भव भएको उनको बुझाइ छ । ‘हार मान्न हुँदैन, जे पनि गर्न सकिन्छ’ भन्ने उनको जीवन र भोगाइको मूल मन्त्र हो । उनी भन्छिन्, ‘एकपटक नहोला, दुईपटक नहोला तर तीन पटकमा त कसो नहोला ?’ 

उनका योजना धेरै छन् । संगीत, अभिनय र नृत्यमा विशेष रुचि राख्ने मेघा सकारात्मक सोचकी पर्याय हुन् । आफ्ना तमाम शुभेच्छुकलाई सन्देश दिँदै उनले भनिन्–‘जतिखेर मलाई सहयोगको जरुरी थियो त्यतिबेला सारा नेपालीले सहयोग गर्नुभयो, साथ दिनुभयो । त्यही साथ र सहयोगले मैले सन् २०१८ मा अमेरिका गएर आर्टिफिसियल हात हाल्न सफ भएँ । टिकटकमा पनि माया गरिरहनुभएको छ । यसैगरी सधै साथ र माया पाइरहुँ, यसका लागि हृदयदेखि आभारी छु ।

मनैदेखि धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।’  

 Image