दीक्षा चापागाईं, पवित्र समाज सेवा नेपाल, अध्यक्ष
भूकम्पका कारण बालबालिका, महिला तथा वृद्धवृद्धाहरूलाई कस्तो असर परेको छ ?
भूकम्पले बालबालिका, महिला तथा वृद्धवृद्धाहरूमा नकारात्मक असर पारेको छ । उनीहरू बारम्बार धर्ती कसरी हल्लिन्छ ? अब के हुन्छ भनिरहन्छन् । कतिपय त अहिले पनि घरभित्र जान डराउँछन् । टेलिभिजनमा घर ढलेको, मानिस पुरिएको दृश्य देखाइने भएकाले टेलिभिजन हेर्न पनि डराउँछन् ।
उनीहरूले गर्ने व्यवहारमा कत्तिको परिवर्तन आएको छ ?
भूकम्पका कारण महिला तथा बालबालिका आफू बसेको घरभित्र जानै डराउँछन् । गाडी हल्लिँदा पनि घरै हल्लिएजस्तो महसुस गर्न थालेका छन् । यी कुराका बाबजुद पनि भूकम्पले उनीहरूमा पहिलेभन्दा थप सहयोगी भावनाको विकास गराएको छ ।
उनीहरूको मनमा कस्तो असर परेको छ ?
बालबालिका तथा महिला डराए पनि वृद्धवृद्धाहरूले भने जीवन यस्तै हो भनेर चित्त बुझाएका छन् । उनीहरूलाई सान्त्वना दिन कहिले कथा भनेर त कहिले गीताका कुरा गरी टेलिभिजनका कार्यक्रममा मन बहलाउँदै आएकी छु । म कतै जान लागे मामु छिटो आउनू कतै नजानु भन्छन् । जीवन यस्तै रहेछ, भविष्यका लागि नसोचौं राम्रो लगाऊँ मीठो खाऊँ भन्छन् ।
उनीहरूलाई यस्ता असरबाट जोगाउन के गर्नुपर्ला ?
अहिले सबैतिर भय व्याप्त छ । मनबाट भय हटाउन सकारात्मक कुरा सोच्नुपर्छ, कठिन परिस्थितिपछि सहजता आउँछ भन्ने कुरा महसुस गराइदिनुुपर्छ । विदेशी भोलेन्टियरहरूले पनि यो केही होइन, यस्तो भूकम्प त हाम्रो देशमा कति आउँछ कति ? आफू सचेत रहनुपर्छ भनेर तालिम दिएका छन् । उक्त तालिमले पनि हाम्रो संस्थामा रहेकाहरूको डर कम भएको छ ।
प्राथमिक उपचार
गीता भण्डारी, नर्स, बीएस्सी नर्सिङ
सामान्य रोगका लागि प्राथमिक उपचार के हुनसक्छ ?
ज्वरो आउँदा पानीपट्टी दिनुका साथै सिटामोल, निम्सजस्ता सामान्य औषधि ख्वाउन सकिन्छ । ज्वरो आउँदा पानी धेरै पिउनु हुँदैन भन्ने भनाइ गलत हो । ज्वरो आएको अवस्थामा डिहाइड्रेसन हुने हुँदा प्रशस्त मनतातो पानी पिउन दिनुपर्छ । झ्यालढोका खुल्ला राखी पातलो कपडा ओढ्नुपर्छ । रुघाखोकीमा बाफ लिने अनि तुलसीको पात, हिङ तथा जिरा हालेर पकाइएको पानी मनतातो बनाएर पिउनुपर्छ । चोटपटक लागेको स्थितिमा उपलब्ध भए बेटाडिन नभए साबुनपानीले घाउ सफा गर्ने
अनि मर्किएको ठाउँमा आइडेक्सले हल्का मसाज गर्नु प्राथमिक उपचारभित्र पर्छन् ।
यस्ता प्राथमिक उपचार रोग निको पार्न कत्तिको सहयोगी हुन्छन् ?
यस्ता उपचारले रोग चट्टै निको पार्नेभन्दा पनि कालान्तरमा गएर थप समस्या हुन दिँदैनन् । यो बिरामीको उपचारमा लाग्नुअघिको प्रक्रिया मात्र हो ।
प्राथमिक उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरू के–के हुन् ?
सर्वप्रथम सरसफाइमा ध्यान दिनु जरुरी छ । त्यसपछि सामग्री उपलब्ध हुनुपर्छ । खिया लागेका कैंची वा ब्लेड प्रयोग गर्नु हुँदैन । यस्तो बेला भर्खर आरनबाट झिकेका औजार प्रयोग गर्नु उत्तम हुन्छ भने उपलब्ध नभएको खण्डमा पानीमा उमाल्नुपर्छ । उपचार दिने मानिसले पनि मास्क लगाउने, उपचार सुरु गर्नुअघि साबुनपानीले हात धुनुका सरसफाइमा विशेषध्यान पुर्याउनुपर्छ ।
यस्तो उपचारले कस्ता रोग निको हुन्छन् ?
अत्यन्त सरल र सामान्य रुघाखोकी, ज्वरो, पेट दुख्ने, हातखुट्टा बाउँडिने वा झमझमाउने साधारण रोग निको हुन्छन् । प्राथमिक उपचार भन्नेबित्तिकै उपचारको पहिलो चरण हो त्यसपछि पनि उपचारलाई निरन्तरता दिनु जरुरी हुन्छ ।
नानीशोभा शाक्य, डाइटिसियन, शिक्षण अस्पताल
जंकफुडले स्वास्थ्यमा कस्तो असर पार्छ ?
अहिले भूकम्पका कारण धेरै मानिस जंकफुडकै भरमा छन् । क्षणिक समयको यसको सेवन ठीकै भए पनि लामो समयसम्म यसमै भर पर्नु हुँदैन । लामो समयसम्म यस्ता खानेकुरा खाए शरीरमा भिटामिन तथा प्रोटिनको अभाव हुन्छ ।
अहिले धेरै ठाउँमा चाउचाउ बाँडिएको छ ? चाउचाउ शरीरका लागि कति फाइदाजनक हुन्छ ?
थोरै मात्रामा थोरै समयका लागि काँचो चाउचाउ खान सकिन्छ । चाउचाउ काँचोभन्दा पनि पकाएर खानु राम्रो हुन्छ । पकाउँदा त्यसमा तरकारी समावेश गर्न सकिन्छ । यसले गर्दा शरीरमा पौष्टिक तत्वको अभाव हुन पाउँदैन । चाउचाउमा अण्डा हालेर पनि खान सकिन्छ ।
विपद्को यो परिस्थितिमा विदेशबाट शक्तिवद्र्धक खानेकुरा पनि आएका छन् ? ती खानेकुरा खानु राम्रो हो ?
यस्ता खानेकुराले शरीरमा शक्ति प्रदान गर्छन् । सबै कुरा समावेश हुने भएकाले यस्ता खानेकुरा शरीरका लागि फाइदाजनक हुन्छन् ।
स्वस्थ मानिसले दिनभरमा कति मात्रामा खानु उचित हुन्छ ?
महिलाले दिनभरमा १९०० क्यालोरीयुक्त खाना खानु उचित हुन्छ । यसैगरी किशोरीहरूले शारीरिक वृद्धिका लागि त्यसभन्दा बढी खानुपर्छ । मध्यम मानिसले भने २२०० देखि २४०० क्यालोरी भएको खानेकुरा खानु फाइदाजनक हुन्छ ।
अहिले भूकम्पपछि मासु खानुहुँदैन भन्ने कुरा आइरहेको छ ? मासु खानु कत्तिको उचित हुन्छ ?
महामारी तथा रोग फैलने डरले अस्वस्थकर माछा–मासु नखानु वेश हो
तर स्वस्थ तथा ताजा माछा–मासु खान डराउनु पर्दैन ।
भूकम्प तथा रेस्टुरेन्ट
शर्मिला श्रेष्ठ, इन्द्रेणी फुड ल्यान्ड
रेस्टुरेन्टमा खाना खाँदा के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिले रेस्टुरेन्टको लोकेसन तथा त्यसको संरचनामा ध्यान दिनुपर्छ । भूकम्प आइहाल्यो भने बाहिर निस्कन सजिलो हुने, ढोका तुरुन्त खुल्ने ठाउँ छनोट गर्नुपर्छ । सफा तथा हावा राम्रोसँग आवतजावत हुने रेस्टुरेन्ट छनोट गर्नुपर्छ । खाना हलुका प्रकारको छनोट गर्नुपर्छ । संक्रमणबाट जोगिन गरिष्ठ भोजनमा जोड दिनुहुँदैन ।
हलुका खाना भन्नाले ?
हलुका खानामा पेय पदार्थ, सुप, जुस आदि पर्छन् । खाना खाँदा मासुका परिकारमा भन्दा तरकारी तथा फलफूलमा जोड दिनुपर्छ ।
शाहाकारी भोजनमा जोड दिनुपर्ने कारण ?
भूकम्पका कारण वातावरण प्रदूषित छ । मानिसहरूमा काम गर्ने जाँगर नहुँदा कतिपय चीज बासी रहन सक्छन् । बासी तथा पुरानो मासुले रोग निम्त्याउन सक्छ । खराब मासु प्रयोग गरिएको खाद्यपदार्थबाट ज्वरो, झाडा–बान्ता, आउँ–मासी तथा घाँटीको समस्या आदि हुनसक्छ । त्यसैले मासुका परिकार सेवन गर्दा निकै ध्यान पुर्याउनुपर्छ ।
खानेकुरा शुद्ध तथा ताजा भए नभएको कसरी पत्ता लगाउने ?
सफा रेस्टुरेन्ट छनोट गर्नुपर्छ । रेस्टुरेन्ट भित्रको वातावरण, त्यहाँका कर्मचारी, प्रयोग गरिएका भाँडाकुँडा एवं भान्सा निरीक्षण गर्नुपर्छ । खानाको स्वादबाट पनि खाना ताजा भए नभएको पत्ता लगाउन सकिन्छ ।
जोखिम व्यवस्थापन गर्न रेस्टुरेन्ट व्यापारीहरूले कस्तो नीति बनाउनुपर्छ ?
अहिले हरेक क्षेत्रमा चुनौती तथा जटिलता छन् । रेस्टुरेन्ट क्षेत्र पनि त्यसबाट अछुतो छैन । काम गर्ने स्टाफको अभाव छ । आफूले भनेको सामान खरिद गर्न पाइएको छैन । थोरै कर्मचारी परिचालन गरी सेवा दिनुपरेको छ । यस्तो बेला सहयोग गर्ने कर्मचारीलाई बढी पैसा दिएर प्रोत्साहित गर्नुपर्छ । यस्तो समय सदैव नरहने विषयमा उनीहरूलाई सजग गराउनुपर्छ । कर्मचारी, ग्राहक सेवा, सामानको आपूर्ति, स्वस्थकर खाना बनाउन तथा आफ्नो रेस्टुरेन्टको वातावरण चुस्त–दुरुस्त राख्न विशेष प्रयास गर्नुपर्छ ।
भूकम्प आउँदा सुरक्षित हुन अबका दिनमा रेस्टुरेन्टको संरचना कस्तो हुनुपर्छ ?
फराकिलो ठाउँ तथा एकतल्ले अवधारणामा जानुपर्छ । रेस्टुरेन्टमा बालबालिकादेखि वृद्धवृद्धासम्म आउँछन् । त्यसैले सबैलाई ध्यानमा राखी यसको निर्माण गर्नुपर्छ । रेस्टुरेन्ट निर्माण गर्दा यसमा प्रयोग गरिने सामग्रीदेखि इन्जिनियरिङसम्म राम्रो हुनुपर्छ । नीति–नियम पूरा गरेर निर्माण सम्पन्न गर्नुपर्छ । यसो गर्दा ग्राहक तथा कर्मचारी सबैको जीवनको सुनिश्चितता हुन्छ भने लगानीकर्ताको लगानी पनि डुब्दैन ।
डा. रञ्जनकुमार दाहाल, भूगर्भविद्
भूपरीक्षण के हो ?
घर बनाउने बेला जमिन कस्तो छ भनेर जाँच्नु नै भूपरीक्षण हो । घरको डिजाइन गर्दा त्यो घरले कति भार बोक्नसक्छ, जग कस्तो चाहिन्छ भनेर जमिनको परीक्षण गराउनुपर्छ । माटो र घरको संरचनाको आपसी तालमेल कस्तो हुनुपर्छ, कति जना मान्छे बस्ने, कुन प्रयोजनका लागि बनाउने भन्ने कुरा स्पष्ट भएपछि उक्त जमिनमा आवश्यकताअनुसारको संरचना बनाउन मिल्छ–मिल्दैन बुझेर मात्र घर बनाउनुपर्छ ।
काठमाडौंको जमिन कस्तो छ र यहाँ संरचना बनाउनुअघि के गर्नुपर्छ ?
हामीले काठमाडौंको जमिनलाई सरलीकरण गर्यौं अनि ठूला भवनहरू बनाउँदैं गयौं तर त्यो गल्ती भयो । पहिले ताल भएकाले पनि यहाँको जमिनको माटो एकदमै फरक छ । जमिन फरक–फरक भएकाले कम्तीमा १ सय मिटरमा ड्रिलिङ गरेर जमिन कस्तो छ पत्ता लगाउनुपर्छ । जुन कुनै एक घरले गर्ने होइन सरकारी टोलीले नै गरिदिनुपर्छ । जमिनअनुसार घरको डिजाइन गर्नुपर्छ ।
यसपटकको भूकम्पमा एउटै ठाउँमा पनि बेग्लाबेग्लै असर देखिनुको कारण के होला ?
भूकम्पको तरंग धेरै मोटो छ भने ठूला घरलाई बढी असर गर्छ र माटो कम भएको ठाउँमा सानो घरलाई बढी प्रभाव पार्छ । गोंगबु एरियामा माटोको मोटाइ कम भएकाले पनि त्यहाँ धेरै घरलाई प्रभाव पर्यो । त्यस्तै भूकम्पको तरङ्ग चट्याङबाट माटोमा जाँदा शक्ति बढ्नु पनि यसको कारण हो । त्यस्तै कमसल सिमेन्ट, डन्डी र स्ट्रक्चरले पनि उत्तिकै भूमिका खेल्छ ।
माटो राम्रो–नराम्रो कसरी थाहा पाउने ?
माटो राम्रो नराम्रो भन्ने हुँदैन । त्यो माटोले कति लोड लिन सक्छ भन्ने हो । त्यसका लागि ल्याबमा माटो लगेर व्यक्तिगत रूपमा परीक्षण गराउनु मात्र पर्याप्त हुँदैन । ल्याबमा माटोको कण हेर्नु ठीक हो तर माटोले संरचनालाई कस्तो असर गर्छ त्यो बढी महत्वपूर्ण हुन्छ ।
अब घर बनाउँदा के कुरामा ध्यान दिनुपर्छ ?
घरलाई पूर्णतया इन्जिनियरको डिजाइनमा बनाउनुपर्छ । स्ट्रक्चर, आर्किटेक्ट, जियोटेक इन्जिनियर, साइड कन्स्ट्रक्सन इन्जिनियरको टिम हुनुपर्छ । एक जना आर्किटेक्ट वा ठेकेदारको भरमा घर बनाउनु हुँदैन । घरमा कति जना बस्ने, कुन–कुन रुममा के–के सुविधा चाहिने हो सोहीअनुरूप मापदण्ड बनाएर इन्जिनियरलाई दिएपछि विज्ञहरूको टिम वर्कमा जानुपर्छ । अलि खर्च भए पनि यसरी बनाइएको घर पूर्णरूपमा सुरक्षित हुन्छ । यो टिमले नै माटो परीक्षणदेखि अन्य जे–जे काम गर्नुपर्छ सबै गरिदिन्छ । घर बनाउँदा कुनै सम्झौता गर्नुहुँदैन ।
जमिन भास्सिएको, घर भास्सिएको पनि पाइयो, यस्तो अवस्थामा काठमाडौंको कुन ठाउँ बस्न अयोग्य छ ?
समुद्र त पुरेर घर बनाइन्छ भने यहाँको जमिन बस्न अयोग्य छ भन्ने होइन । जमिन हल्लिँदा कति धान्न सक्छ भन्ने कुरा मात्र थाहा पाउनुपर्छ ।
विमला तुलाधर, आर्किटेक्ट सहप्राध्यापक, थापाथली इन्जिनियर कलेज
भूकम्पले कति म्यागनेच्युडदेखि क्षतिको रूप लिन्छ ?
सामान्यतया ५ रेक्टर स्केलभन्दा साना भूकम्पले भवनहरूलाई क्षति पुर्याउँदैन । भूकम्पको म्यागनेच्युड ७ वा त्यसभन्दा बढीले संरचनालाई क्षति गर्छ ।
भूकम्पप्रतिरोधात्मक भवन भन्नाले कस्तो घर बुझिन्छ ?
साना तथा मझौला भूकम्पमा भवनलाई असर नगर्ने, ठूला भूकम्प जाँदा पनि सामान्य क्षति मात्र हुने तथा साधारण मर्मतपछि प्रयोग गर्न मिल्ने तर नढल्ने भवन ।
भूकम्पप्रतिरोधात्मक भवन निर्माणका लागि के–कस्तो मापदण्ड पूरा पर्छ ?
भवनको आकृति सरल, एकरूपको तथा सन्तुलित हुनुपर्छ, त्यसअनुसार स्ट्रक्चरल डिजाइन तथा गुणस्तरीय निर्माण हुनुपर्छ । भूकम्पप्रतिरोधात्मक भवन निर्माण गरे जोखिम न्यून गर्न सकिन्छ ।
भत्किएका घरहरूमा पुनर्निर्माणका लागि के गर्नुपर्छ ?
धेरैजसो भत्किएका घरमा अब निर्माण गर्दा व्यवस्थित प्लानिङ वा गुरुयोजना तयार गरी निर्माण कार्य गर्नु उपयुक्त हुन्छ । त्यसका लागि भौगोलिक रिपोर्टअनुसार कति तल्ला, कुन प्रयोजनका लागि, कुन क्षेत्रमा उपयुक्त हुन्छ सोहीअनुसार स्ट्रक्चर डिजाइन गर्नुपर्छ । क्षति भएका भवनहरूको पहिचान गरी सम्बन्धित विज्ञको सल्लाहअनुसार मात्र रिपोर्टिङ, स्ट्रेङ थिम गरी पुनर्निर्माण गर्दा भूकम्पीय जोखिम हुँदैन ।
भत्किएका, बिग्रिएका पुरातात्विक सम्पदा कसरी संरक्षण गर्ने ?
पुरातात्विक सम्पदाका महत्वपूर्ण मठ–मन्दिर, दरबार, चोक, बहाल आदिलाई पुरानै शैलीमा तर प्राविधिक रूपले भूकम्पप्रतिरोधात्मक नयाँ प्रविधि उपयोग गरी निर्माण गर्नुपर्छ । काठमाडौं इन्द्रचोकको आकाशभैरव मन्दिर २०५६ सालमा जीर्णोद्धार गर्दा पुरानै मौलिक शैलीमा तर भूकम्पप्रतिरोधात्मक प्रविधि अपनाएर मर्मत–सम्भार गरिएकाले त्यसलाई भूकम्पले असर नगरेको उदाहरण यहाँ महत्वपूर्ण हुनसक्छ ।