२०७२ साल वैशाख १२ गते शनिबारका दिन गएको शक्तिशाली भूकम्पका कारण नेपाली जनजीवन तहसनहस भएको छ, त्रसित भएको छ। धेरैको घरबार वा कर्मक्षेत्र गुमेको छ। धेरैले आफन्त गुमाएका छन्। यो प्राकृतिक विपत्तिका कारण नेपालमा धन–जनको ठूलो क्षति भएको छ । लाखौं मानिस काठमाडौं छोडेर गएका छन्। अहिले पनि धेरैको मनमा त्रास छ।
कतिपय मानिस जनजीवनसँग घुलमिल हुन इच्छा नलागी–नलागी आफ्नो नियमित काममा जान थालेका छन्। अहिले पनि घरबारविहीन भएकाहरू टेन्टमै छन्। टेन्टको जीवन कष्टकर छ। त्यसमाथि महिला, बालबालिका एवं वृद्धवृद्धाहरूको स्थिति अझ दर्दनाक छ। उनीहरू छिनछिनमा बेहोस हुने तथा उठ्ने गरेका छन्। नेसनल इन्स्टिच्युट अफ साइकोलोजीकी मनोविद् डा. गंगा पाठकका अनुसार डर तथा आफ्नै आँखाअघि विनाशकारी घटना घटेकाले यस्तो स्थिति सिर्जना भएको हो। कोही पनि एक–अर्कासँग बोल्ने स्थितिमा छैनन्। कतिपय मानिस एक्लै टोलाइरहेका छन्। केटाकेटीहरू आत्तिएका छन्, तर्सिएका छन्। यस्तो अवस्थामा सकारात्मक सोच राखेर पीडालाई बिर्सने प्रयास गर्नुपर्छ।
फस्ट एड काम : भूकम्पका कारण मानिसहरू पछिसम्म पनि आत्तिने तथा कराउने गरिरहेका छन्। डा. गंगा पाठकका अनुसार यस्तो अवस्थामा पीडितको कुरा सुनिदिएर, मनमा लागेको कुरा व्यक्त गर्न लगाउनु उपयुक्त हुन्छ। यसो गर्दा पीडितको मन हल्का हुन्छ अन्यथा यसको असर लामो समयसम्म रहन सक्छ।
पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर : यसको असर मानिसमा बिस्तारै–बिस्तारै देखिन थाल्छ। घटना भएको एक महिनापछि पनि यसको असर देखा पर्न सक्छ। जति समय गुज्रदै गयो त्यति नै यसको असर देखिन्छ। प्रकृतिमा विपत्ति आइसक्यो। त्यसैले सकेसम्म धैर्य धारण गर्नुपर्छ, त्रसित हुनुहुँदैन अन्यथा पछि ट्रम्याटाइज हुनसक्छ। यस्तो मानिस सामान्य हुन सक्दैन। उसलाई सधैं त्रास, भय एवं चिन्ताले सतारइहन्छ ।
यस्ता मानिस राति सुत्न सक्दैनन् र उनीहरूलाई भोक पनि लाग्दैन। उनीहरू जति बेला पनि चिन्तित हुन्छन्। यस्तो अवस्थामा हातखुट्टा मांसपेशी एवं नसा दुख्ने, टाउको दुखिरहने, छटपटी हुने, चिटचिट पसिना आउने, मुटुको धड्कन बढ्ने, भित्रैबाट पेट पोल्नेजस्ता शारीरिक समस्या देखापर्नसक्छन्। कतिपयलाई राम्रोसँग निद्रा नपर्ने, भोक नलाग्ने समस्या हुन्छ। जसले गर्दा शरीरमा अन्य समस्या देखिने खतरा पनि उत्तिकै बढ्छ।
सामाजिक समस्या : यस्तो समस्या भएका मानिसलाई अरूको कुरा सुन्न एवं समूहमा बस्न मन लाग्दैन। यसैगरी आफ्नो दैनिक कार्य गर्न र खान पनि मन लाग्दैन।
मानसिक असर : धेरैलाई डिप्रेसनका कारण यस्तो हुन्छ। पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरमा गएकाहरूमा यस्तो समस्या देखापर्छ। कतिपयमा भूकम्पको नाम मात्रले पनि त्रास उत्पन्न हुन्छ। केही दिन, हप्ता तथा महिनापछि यसको सम्झना आउँछ र छटपटी हुन्छ।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर : यस्ता मानिसको दिमागले एउटा सोच्छ, गर्ने अर्कै हुन्छ। कुनै पनि कुरा सोच्दिन भन्दा पनि मनमा बारम्बार त्यही कुरा आइरहन्छ। यस्ता मानिसको घर भत्किएको भए पछिसम्म पनि आफ्नो भत्किएको घर तथा आफ्ना सामान हेर्न जान्छन्। कुनै मानिस पीडितको उद्धार गर्न गएको छ भने पछि पनि साबुनले हात धोइरहन्छ। जुन काम गरिरहेका छन् त्यही काम निरन्तर गरिरहन्छन्। डराउने, तर्सिने त छँदैछ के गरूँ–कसो गरूँ भएर छिनछिनमा दिसा–पिसाब गर्न मन लाग्छ।
समाधानका उपाय
समयमै ध्यान दिन सके गम्भीर असर र परिस्थितिबाट जोगिन सकिन्छ। यस्तो अवस्थामा जसको आत्मबल कमजोर हुन्छ उनीहरू मानसिक रूपले कमजोर हुन्छन्। सानो कुरामा पनि चित्त दुखाउने तथा धेरै महत्वाकांक्षीहरूलाई यसको असर पर्छ। त्यसैले आत्मबल बलियो बनाउनुपर्छ। प्रकृतिले दिएको विपत्तिलाई स्वीकार गर्न सक्नुपर्छ। प्राकृतिक विपत्ति कसैको हातमा छैन। कम्तीमा पनि बाँचें भनेर सकारात्मक सोच राख्नुपर्छ। म यो भन्दा अझ धेरै गर्न सक्छु भन्ने आँट लिएर जिरोबाट सुरु गर्नुपर्छ। आफ्नो सोच एवं आत्मबल विकसित गर्नुपर्छ। महत्वाकांक्षा तथा अपेक्षाहरूबाट जोगिनुपर्छ। पुरुषको तुलनामा महिला बढी भावुक हुने भएकाले एकान्तमा तथा एक्लै बस्नुहुँदैन। मनमा कुरा राख्नुहुँदैन। समूहमा बसेर आफ्नो कुरा बाहिर निकाल्नुपर्छ। यसो गर्दा कतिपय समस्या आफैं समाधान हुन्छन्। समस्या ठूलो भए समयमै चिकित्सकको सल्लाह लिनुपर्छ जसले गर्दा रोगले विकराल रूप लिन पाउँदैन। .
सुत्केरी तथा गर्भवती महिला
विपत्तिका कारण धेरै सुत्केरी तथा गर्भवती महिलाहरू प्रभावित भएका छन्। कतिपय ठाउँमा गर्भवती महिलाको मृत्युसमेत भएको छ। बाँचेकाहरूमध्ये पनि धेरै सुत्केरी तथा गर्भवतीहरूमा नकारात्मक असर परेको छ। उनीहरूको खानपान तथा मानसिक अवस्था पनि तहसनहस भएको छ। कतिपय गर्भवती महिलाले समयअघि नै शिशु जन्माएका छन्। त्रासका कारण छिटो जन्मिएका शिशुलाई पछि गएर मानसिक असर पर्न सक्छ।
बानेश्वरकी एक महिलाको गर्भ रहेको ८ महिना भयो। यो विपत्तिले उनलाई डर लागिरहने, बच्चा माथि आएको महसुस हुनुका साथै छटपटी पनि हुन्छ। त्यसैले यस्तो अवस्थामा मनको त्रास हटाउन उनी काउन्सिलिङमा जाने गरेकी छिन्। यसले उनको मन केही हदसम्म शान्त भएको छ। यस्तो त्रासदीपूर्ण वातावरणबाट मुक्त रहन गर्भवती महिलाले छिनछिनमा चिसो पानी वा जुस सेवन गरिरहनुपर्छ। जे भयो, भयो भन्दै मनमा कुरा नखेलाई रिल्याक्समा बस्नुपर्छ। फेरिफेरि भूकम्प आए सुरक्षित स्थानमा बस्नुपर्छ। दौडने वा आत्तिने काम गर्नुहुँदैन। मनमा कुरा नराखी सेयर गर्नुपर्छ। आइरन तथा प्रोटिनयुक्त खाना खानुपर्छ। यसले शरीरको इम्युनिटी पावर बढाउँछ। दिनहुँ नुहाउनुपर्छ। सानै काममा भए पनि आफूलाई व्यस्त राख्नुपर्छ। ध्यान केन्द्रित गर्न मोडिटेटिभ संगीत श्रवण गर्नुपर्छ। यसैगरी सुत्केरी महिलाले पनि आफ्नो तथा शिशुको रक्षाका लागि पौष्टिक खानेकुरा खानुका साथै मनलाई शान्त राख्नुपर्छ। यसका लागि घरपरिवार पनि उत्तिकै सहयोगी हुनु आवश्यक छ।
सेयरिङ : मनमा लागेको भय, चिन्ता दबाएर राख्नुभन्दा त्यसलाई अभिव्यक्त गर्नुपर्छ। छरछिमेक, परिवारका सदस्य एवं साथीभाइसँग आफ्नो कुरा सेयर गर्नुपर्छ। यसो गर्दा मन हल्का हुन्छ। अरुको कुरा सुन्नुका साथै आफ्नो कुरा पनि भन्नुपर्छ। एक्लै भन्दा पनि समूहमा बस्नुपर्छ। अहिले धेरैलाई यो समस्या छ, त्यसैले समूहमा बस्नुपर्छ। समस्या बढ्दै गए समयमै मनोविद्कहाँ जानुपर्छ। समयमै उपचार नगराए मनोरोग विकसित हुने खतरा हुन्छ।