विज्ञहरूले भन्दै आएको विपत्ति आखिर आइछाड्यो। २०७२ साल वैशाख १२ गते हाम्रा लागि नब्बे सालजस्तै त्रासदीपूर्ण दिन सावित भयो। नेपाल भूकम्पीय दृष्टिले जोखिमपूर्ण अवस्थामा छ भनेर बारम्बार चेतावनी पाइरहँदा पनि गम्भीर नहुने प्रवृत्तिले गर्दा हाम्रो ध्यान पूर्वतयारी एवं क्षमता वृद्धिमा गएन। सचेतनामूलक प्रचार पनि औपचारिकतामा सीमित भयो। अनुमानअनुसारको क्षमता बढाउने असल प्रयत्न भएन। आवश्यक पर्ने उद्धारका सामग्रीको भण्डारण भएन। सरकारले काम गरिरहेको छ तर यो महाविनाशको तुलनामा अहिले भैरहेको प्रयत्न सशक्त र प्रभावकारी हुन सकेको छैन। सरकार प्रतिरक्षा गर्नमै ठिक्क छ। सरकारको क्षमता बढाउने हामी सबै मिलेर नै हो। हौसला बढाएर विमति तथा नकारात्मक सोच हटाएर सरकार एवं सबै राजनीतिक दल मिलेर यो विपत्तिको सामना गर्नुपर्छ अनि भविष्यमा आइपर्नसक्ने यस्तो विपत्तिको सामना गर्न तत्पर रहनुपर्छ। अहिलेको घटनाबाट पाठ सिकेर तत्काल र दीर्घकालीन योजना बनाई पुरानो प्रवृत्तिबाट पार पाउनु नै आजको आवश्यकता हो।
कल्पना राई, ललितपुर
पुनर्निर्माणमा महिला सहभागिता
देश अहिले भूकम्पले हल्लिएको छ। मध्यमाञ्चल विकास क्षेत्रका सबै जिल्लाका साथै गोरखा, दोलखा आदि जिल्ला बढी प्रभावी छन्। प्राय: सबैजसो घर पूरै भत्किएका छन्। मर्ने त मरेर गए बाँचेकाहरूको बेहाल छ। यस्तो अवस्थामा यथाशीघ्र पुनर्निर्माण प्रारम्भ गर्नुपर्ने आवश्यकता छ। आधा आकाश ओगटेका महिलाहरू यस्तो बेलामा चुप लागेर बस्नु हुँदैन। देशको पुनर्निर्माणमा आफ्ना तर्फबाट सक्दो सहयोग गर्नुपर्छ। प्राकृतिक विपत्तिका कारण देश दसौं वर्षपछि परेको वर्तमान अवस्थामा विकासको लक्ष्य पूरा गर्न महिला सहभागितामा वृद्धि गरिनुपर्छ। महिलाहरूलाई आर्थिक क्रियाकलापमा अग्रसर नगराएसम्म देशको अवस्थामा सुधार आउँदैन तसर्थ राज्यले पनि महिलाहरूमाथि विश्वास गरेर उनीहरूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पनुपर्छ। महिलालाई बेवास्ता गरेर बनाइने विकासका योजना अपरिपक्व एवं त्रुटिपूर्ण हुन्छन्। त्यसैले पुनर्निर्माणका योजना तयार पार्दा महिलालाई समावेश गराइनुपर्छ अनि मात्र ती योजनाले अपेक्षित परिणाम दिनसक्छन्। यो संकटले विनाश मात्र निम्त्याएको छैन निर्माणको अवसर पनि दिएको छ भन्ने कुरा बुझेर सोहीअनुसार काम गर्नु आवश्यक छ।
सविता भट्टराई, त्रिपुरेश्वर, काठमाडौं
सबैले सक्दो सहयोग गरौं
भनिन्छ, मौकामा हीरा फोर्नु। यो हीरा फोर्न पनि पछि नहट्ने बेला हो। यस्तो समयमा मुठी खोल्नुपर्छ, आफूमा उदार भाव जगाउनुपर्छ। आफूले अलिकति सहयोग गर्दा कसैका पेटमा एक दाना अन्न पर्यो भने पनि त्यो ठूलो उपकार हुन्छ। आज अरूमाथि परेको विपत्ति भोलि आफूमाथि बज्रनसक्छ भन्ने कुरामा सबैले हेक्का राख्नुपर्छ। त्यसैले पीडामा परेर छटपटाइरहेकाहरूको चोटमा मल्हम लगाउन चुक्यौं भने भोलि त्यो बज्र हामीमाथि पनि पर्न सक्छ, त्यतिबेला कसैले मुठी खोलेन भने हाम्रो स्थिति कस्तो हुन्छ ? त्यसैले अनावश्यक लोभ नगरौं, जसले मुठी खोल्न सक्छ उसको मुठीले कसैलाई नयाँ जीवन दिन्छ र आफूलाई पर्दा पनि नयाँ जीवन प्राप्त गर्न सकिन्छ। विपत्तिमा परेकाहरूलाई सहयोग गर्न कुनै कसर बाँकी नराखौं। दु:खमा परेकाहरूलाई सानो सहयोग गर्दा पनि त्यसले ठूलो काम गर्छ भन्ने हेक्का राखौं।
पवित्रा आचार्य, नुवाकोट
घरभाडाको नियमन होस्
राजधानी काठमाडौंमा जनसंख्याको चाप बढी छ। यहाँ अवसरको खोजीमा देशका विभिन्न भागबाट मानिसहरू ओइरिएका छन्। यहाँ त्यसरी आउने सबैको घर छैन तसर्थ भाडा तिरेर बस्नुपर्ने बाध्यता छ। फलस्वरूप यहाँ अनेकौं विकृति मौलाएका छन्। सुविधा केही नभएका यस्ता घरमा पानी, बिजुलीजस्ता आधारभूत आवश्यकताका वस्तुहरूको अभाव झेल्नुपरे पनि घरभाडा भने महँगो छ। अब त भूकम्पका कारण धेरै घर बस्न नहुने भएका छन् जुन तत्कालै पुनर्निर्माण हुने सम्भावना छैन। त्यसो हुँदा आमनागरिकले ठूलो कठिनाइ बेहोर्नुपर्ने भएको छ। विभिन्न कारणले गर्दा काठमाडौंमा नबसी पनि नहुने र ओत लाग्ने ठाउँ पनि नपाइने भएपछि जीवन कसरी चलाउने भन्ने चिन्ताले अहिले धेरैलाई पिरोलेको छ। सम्बन्धित निकायले यसमा तत्काल ध्यान दिनु जरुरी छ। जनताको दैनिक जीवनसित प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा आँखा चिम्लनु उपयुक्त होइन।
विनीता नापित, बालाजु
भूकम्पले घर मात्र हल्लाएन, मन पनि हल्लाएको छ।
रोजिना थापा, नेपालटर
हाम्रो पुस्ताले भूकम्पको यो त्रासदी खप्नुपर्यो त्यो डरलाग्दो अनुभवले सपनामा पनि झस्काइरहन्छ।
गौरी बस्नेत, सीतापाइला
नारीभित्रको अदम्य शक्तिले उनलाई जस्तोसुकै परिस्थितिमा पनि विजयी बनाउँछ। भूकम्पपछिको यो अवस्थामा नारीशक्तिले पुनर्निर्माणको प्रेरणा प्रदान गरून्।
सुभद्रा गौतम, बालाजु
अब राज्यका हरेक मानिसको दायित्व भूकम्पपीडितको पीडामा मल्हम लगाउनु हो। हाम्रा महिला दिदीबहिनीहरू यस्तो कार्यमा अब्बल साबित हून्।
पल्लवी श्रेष्ठ, हेटौंडा
पीडाको बेला सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई नारी पत्रिकामार्फत धन्यवाद ज्ञापन गर्न चाहन्छु।
प्रतिभा पुन, कीर्तिपुर
नारीमा प्रकाशित हुने विभिन्न विषयका टिप्स असाध्यै उपयोगी छन् ।
शकुन्तला मानन्धर, चावहिल
प्राकृतिक प्रकोपबाट पीडित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु।
सौरभी उपाध्याय, कलंकी
अब नेपालमा भवन निर्माणसम्बन्धी आचारसंहिता कडाइका साथ लागू गरियोस् र कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउने स्थिति सिर्जना नहोस्।
सुनीता कार्की, काँडाघारी
बिग्रिने–भत्किने कुरा त भैहाल्यो, अब चिन्ता गरेर के नै हुन्छ र ? अब नयाँ जोस र जाँगरका साथ राष्ट्रनिर्माणमा लागौं र देशलाई पहिलेभन्दा अझ राम्रो बनाऔं।
द्वारिकादेवी श्रेष्ठ, ताहाचल