Successfully Copied

क्यासेट : सभर स्मृति

अस्ट्रेलियामा बस्दै आएकी स्मृति पोखरेलले ६ महिना नेपालमा बसेर आफ्नो बाल्यकालको सपना साकार बनाएकी छिन् ।

अस्ट्रेलियामा बस्दै आएकी स्मृति पोखरेलले ६ महिना नेपालमा बसेर आफ्नो बाल्यकालको सपना साकार बनाएकी छिन् । गायक, संगीतकार तथा रचनाकार कमलमान सिंहको शब्द एवं संगीतमा उनले गीति एल्बम सभर स्मृति तयार पारेकी छिन् । स्मृतिले यो एल्बमका लागि ८ वटा भिन्न शैलीका गीत गाएकी छिन् जसमा कमलमानले पहिले नै गाएर हिट भएको मेरो माया गीतलाई रिमेक गरिएको छ । पप, आधुनिक, स्लो, डान्स तथा लोक पप फ्लेबरका गीतहरू समावेश गरिएको यो एल्बमका प्रस्तुतकर्ता स्मृतिकै आमा सुशीला पोखरेल तथा बुबा शम्भुप्रसाद पोखरेल हुन् ।

कला : आर्टमा ट्रेडिसनल लुक्स

पाटन दरबार क्षेत्रको सुन्दरी चोकस्थित सुन्धारालाई कलाकार रिद्धिमा शाक्यले यो चित्रमा दुरुस्त उतारेकी छिन् । स्टोनको भित्तामा सुनको धारा र देवीदेवताका आकृति अंकित उक्त सुन्धारालाई शाक्यले ब्ल्याक एण्ड ह्वाइट तथा गोल्डेन कलर प्रयोग गरी क्यानभासमा सजाएकी हुन् । प्राचीन एवं परम्परागत चित्र कोर्न रुचाउने शाक्यका प्राय: चित्र यस्तै थिममा आधारित हुन्छन् ।

चलचित्र : भुलभुलैया

प्रविधिको विकास बढ्दो क्रममा छ । त्यसको असर चलचित्र निर्माणमा पनि पर्दैछ । योगेश घिमिरेले निर्देशन गरेको भुलभुलैया त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र हो जसमा नायक जीवन लुइँटेल, नीता ढुंगाना, सोहित मानन्धरको मुख्य भूमिका छ । यो चलचित्रमा स्पेस सीपको प्रयोग गरिएको छ । नेपाली चलचित्रका लागि पहिलो पटक डिजिटल प्रविधि प्रयोग गर्दै स्पेस सीपको प्रयोग गरिएको निर्देशक घिमिरेले बताएका छन् । युवा समूहलाई लक्षित भुलभुलैया सबैलाई रमाइलो लाग्ने पनि घिमिरेको दाबी छ । यो चलचित्रमा अहिलेका युवाहरूले प्रेम सम्बन्धलाई कुन रूपमा हेर्छन् भन्ने तथ्य प्रस्तुत गरिएको छ ।

पुस्तक : सरस्वतीको मनको सौगात

सानैदेखि साहित्य क्षेत्रमा रुचि राख्ने सरस्वती महतले ५ वर्षअघिदेखि गीत, गजल तथा कविता लेखनमा हात बढाएकी हुन् । पहिलो पटक कृतिका रूपमा मनको सौगात गजल संग्रह प्रकाशित गरेकी सरस्वतीले यो कृतिमा माया-प्रेमका गजलहरूका साथ देश-पे्रमका साथै बाल स्वभाव र उनीहरूको निर्दाेषपनमा समेत कलम चलाएकी छिन् । पहिलो कृतिमा सबै पक्षलाई समेटिन खोज्दा कतै-कतै प्रसंग अलि बदलिएजस्तो भए पनि गजलमा हुनुपर्ने सम्पूर्ण नियम, मात्राहरूलाई राम्रोसँग ख्याल गरिएको छ । ७४ वटा गजल समेटिएको यो कृतिलाई शब्दहार क्रियसनले बजारमा ल्याएको छ भने यसको मूल्य  १ सय २५ रुपैंयाँ छ ।

 Image