Successfully Copied

सौन्दर्य

केही घन्टाअघि राम्रो स्याम्पुले नुहाउनुपर्छ । स्याम्पु गर्दा डिप कन्डिसनर लगाउनु आवश्यक हुन्छ, जसले केशमा केमिकल परे पनि कन्डिसनरले उक्त क्षति कम गर्छ ।

केशलाई कलर गर्नुअघि के-के गर्नु जरुरी हुन्छ ?

केही घन्टाअघि राम्रो स्याम्पुले नुहाउनुपर्छ । स्याम्पु गर्दा डिप कन्डिसनर लगाउनु आवश्यक हुन्छ, जसले केशमा केमिकल परे पनि कन्डिसनरले उक्त क्षति कम गर्छ ।

कस्तो रंग छनोट गर्ने ?

आफ्नो केशको रंगभन्दा १-२ लेयर मात्र हल्का रंग छान्नुपर्छ । यसबाट केशमा लगाइएको कलरलाई छिटोछिटो रिटच गर्ने झन्झटबाट मुक्त भइन्छ । आफूलाई मन परेको जुनसुकै कलर लगाउन सकिन्छ तर गुणस्तरमा ध्यान पुर्‍याउनुपर्छ ।

केशको प्रकारअनुसार कलर गर्ने तरिका फरक हुन्छ ?

नरम केशमा जहिले पनि वान स्टेप हाई गर्नुपर्छ । फ्रिजी हेयरमा छिटो कलर बस्छ र ड्यामेज हेयरमा कलर गर्दा पहिले हेयर स्पा गरी पछि कलर गर्नुपर्छ । कलर गरेपछि जहिले पनि स्याम्पु गर्नुपर्छ । स्याम्पु पखालेपछि हेयर स्पा एकछिन राखेर पखाल्नुपर्छ ।

केशमा कसरी रंग लगाउँदा सबैतिर राम्रो तरिकाले रंग बस्छ ?

केशमा रंग लगाउँदा माथिल्लो भागमा राम्रोसँग तानीतानी लगाउनुपर्छ । केशमा रंग बस्ने वा नबस्ने कुरा केशमा भर पर्छ । कालो, मोटो रेसा भएको केशमा रंग बस्न अलि गार्‍हो हुन्छ भने नरम तथा मसिनो रेसामा छिटै रंग बस्छ ।

हेयर कलरलाई लामो समय टिकाउने उपाय के छ ?

कलरलाई टिकाउन हेयर कलर स्याम्पु नै प्रयोग गर्नुपर्छ । नुहाउँदा तातोपानी प्रयोग नगर्ने तथा टि्रटमेन्ट क्रिम पनि कलर लगाइएको केशमा कमै मात्रामा प्रयोग गर्ने । केशलाई हावा र घामका साथै स्वीमिङ पुलको क्लोरिनबाट पनि जोगाउने ।

कसैकसैमा भित्र बढी र बाहिर कम रंग बसेको पाइन्छ नि ?

कलरका बारेमा थाहा नभएर यस्तो भएको हो । केशको बाहिरी भागको अनुपातमा भित्री भागमा हिट बढी हुन्छ र कलर मिक्स गर्दा डिप्लपर पनि मिक्स गरिन्छ । डिप्लपर पहिले नै हिट हुन्छ । टाउकाको हिट र डिप्लपरको हिट दुवै मिलेपछि बढी नै हिट हुन्छ । यद्यपि कलर अप्लाई गर्दा रुट भन्दा २ इन्च छाडेर अप्लाई गर्ने र २५ मिनेटपछि २० भोलुम मिक्स गरेर रुटमा कलर लगाउने । यसलाई १० मिनेटपछि पखाल्नुपर्छ ।

कलरले केश बिगार्छ भनिन्छ नि ?

कलर गर्नुभन्दा पहिले अमोनिया केयर वा हेयर मास्क गर्ने । कलर केशमा कम केमिकल भएको स्याम्पु प्रयोग गर्ने । कन्डिसनरको साटो हेयर स्पा प्रयोग गर्ने । कलरलाई सकेसम्म जरामा नछुवाउँदा समस्या हुँदैन ।

अनिता खड्का, ब्युटिसियन, कलंकी ब्युटिपार्लर

आइलाइसिस एक्सटेन्सन

आइलाइसिस एक्सटेन्सन के हो ?

आँखाको परेला ग्लुको सहायताले जोड्ने प्रक्रियालाई आइलाइसिस एक्सटेन्सन भनिन्छ ।

फल्स आइलाइसिस एक्सटेन्सन र परमानेन्ट आइलाइसिस एक्सटेन्सनमा के फरक छ ?

फल्स आइलाइसिसमा रेडिमेड आइलाइसिसलाई ग्लुको सहायताले पार्टी, फोटोसेसन आदिका लागि लगाइन्छ भने परमानेन्ट कुनै निश्चित समयका लागि लगाइन्छ । यसलाई इन्डिभिजुअल आइलाइसिस एक्सटेन्सन पनि भनिन्छ । फल्समा फेक आइलाइसिस प्लास्टिक, फिडर तथा नेचुरल पनि हुन्छ भने परमानेन्टमा नेचुरल रौंबाटै बनेको हुन्छ ।

परमानेन्ट आइलाइसिस कति समय टिक्छ ?

ग्राहकको आर्थिक क्षमताअनुसार ग्लु तथा आइलाइसिस छनोट गर्न सकिन्छ । बजारमा एक हप्तादेखि वर्ष दिनसम्म टिक्ने ग्लु पाइन्छ । मध्यम खालको अर्थात् ६ महिना टिक्ने ग्लु छनोट गरेर समय-समयमा रिफिल तथा रिपेयर गराउनु राम्रो हुन्छ ।

पानीले धुँदा वा फेसियल गर्दा आइलाइसिस र्झने डर हुँदैन ?

परमानेन्ट भएकाले अनुहार धुँदा वा फेसियल गर्दा जाँदैन तर मस्कारा लगाउनु हुँदैन । मस्काराले परेलालाई कमजोर बनाउँछ भने एक्सटेन्सन गरिएको परेला बिनामस्कारा नै सुन्दर देखिन्छ ।

आइलाइसिस एक्सटेन्सनलाई कसरी लामो समय टिकाउने ?

आँखालाई नमिच्ने, धूलो टाँसिएको छ भने टिस्युले नपुछी सादा पानीले पखाल्ने ।

एक्सटेन्सन आँखाका लागि कत्तिको हानिकारक छ ?

परेलामा जोडिने भएकाले यसले आँखालाई असर त गर्दैन तर लेन्स लगाइएको छ भने अलि बढी केयर गर्नुपर्छ । छालामा नछुने भएकाले यसलाई जसले पनि लगाउन सक्छन् ।

जुनु चक्रधर, सौन्दर्यविद्, जुम ब्युटिपार्लर, कुपण्डोल

आर्किटेक्ट

कस्तो जग्गा घर बनाउन सबैभन्दा उपयुक्त हुन्छ ?

आयताकार जग्गा उपयुक्त हुन्छ । जग्गा त्यो आकारमा छैन भने पनि जस्तो जग्गा छ सोहीअनुसार घरको डिजाइन गर्न सकिन्छ । जग्गाको प्रोफाइल सम्म छ कि, भिरालो छ कि, पहाडमा छ योजना गर्दा सोहीअनुसार गर्न सकिन्छ ।

घरको नक्सा बनाउँदा कुन कुरामा बढी ध्यान दिनुहुन्छ ?

जग्गाअनुसार थिम बनाउनुपर्छ । साथमा कुन ठाउँबाट राम्रो दृश्य देखिन्छ, उज्यालो, घाम कताबाट बढी आउँछ र घरधनीको चाहना एवं बजेट कस्तो छ भन्ने कुरा बुझेर मात्र नक्सा कोरिन्छ ।

घाम र उज्यालोका लागि कुन दिशा खुला गर्दा राम्रो हुन्छ ?

उज्यालो र घामका लागि पूर्व र दक्षिण दिशाको भागमा खुल्ला छोड्नु उपयुक्त हुन्छ । वास्तुको दृष्टिमा दक्षिण दिशामा खुल्ला नछोड्नु भनिन्छ । नेपालको सन्दर्भमा घाम चाहिने हुँदा उक्त भाग खुल्ला छोडिन्छ । पानीको मुहान, ट्वाइलेट तथा मुख्य ढोकाहरूमा वास्तुशास्त्र पालना गरिए पनि उज्यालो र घामका लागि दक्षिण दिशा उपयोग गरिन्छ ।

भूकम्पप्रतिरोधात्मक भवनका विषयमा के भन्नुहुन्छ ?

अहिले धेरैजसो मानिस भूकम्पप्रतिरोधात्मक घर बनाउन चाहन्छन् । घरको स्टेक्चर एनालाइसिस गरेर कस्ता डन्डी, सेप, पिल्लर साइज तथा बिम राख्ने भन्ने कुरा निर्धारण गरी भूकम्पप्रतिरोधात्मक भवन बनाइन्छ ।

हिजोआज आर्किटेक्टलाई नक्सा कोर्न लगाउने र ठेकेदारलाई बनाउन दिने चलन छ ? यसले कत्तिको फरक पर्छ ?

धेरै फरक पर्छ । हामीले डिजाइन दियौं तर ठेकेदारले यसो गरौं, उसो गरौं भनेर आफ्नै किसिमले घर बनाउँदा डिजाइन नै फरक हुन्छ । हामीले सुपरभाइज गर्‍यौं भने मात्र जस्तो बनाउन खोजिएको हो त्यस्तै घर बन्छ ।

मल्लिका शाक्य गुरुवाचार्य, आर्किटेक्ट

छालाका समस्या

कालो पोतो कस्तो प्रकारको समस्या हो ?

कालो पोतो छालामा देखिने एक प्रकारको समस्या हो । छालामा कालो, खैरो तथा खरानी रंगको दाग आएर अनुहार कुरुप देखिन्छ । यो कुनै प्रकारको संक्रमण तथा सरुवा रोग भने होइन । न त कुनै एलर्जी नै हो ।

पोतो आउने कारण के-के हुन् ?

यो खासगरी मेलानोटाइस सेलका कारण देखा पर्छ । यो अनुहारको  छालाको माथिल्लो भागमा हुने कोष हो । यसले एक प्रकारको पिग्मेन्टेसन पैदा गर्छ । छालको माथिल्लो भागमा उत्पन्न हुने मेलानिन घामको संसर्गमा आउँदा त्यसले पोतोको रूप लिन्छ । त्यसैले पनि कालो पोतो गर्भवती महिला तथा घाममा बढी बस्ने मानिसमा देखिन्छ । सूर्यको किरणबाट निस्कने विकिरणले अनुहारमा यस्तो समस्या उत्पन्न गर्छ । खैरो रंगको छाला भएकाहरूको अनुहारमा पोतो आउने सम्भावना प्रबल हुन्छ । घाममा धेरै बस्ने महिलाहरूमा पनि यो समस्या देखा पर्छ ।

कस्तो छालामा पोतो आउँछ ?

मानिसको छालाको प्रकृति पाँच प्रकारको हुन्छ । त्यसमध्ये सेतो छालामा पोतो आउने सम्भावना निकै कम हुन्छ । खैरो रंगको छालामा बढी पोतो देखा पर्छ ।

अनुहारमा चायाँ-पोतो आउने मुख्य कारण के हुन् ?

वंशानुगत, थाइराइडको समस्या, तनाव, औषधि, घाममा बस्नुपर्ने पेसा तथा महिनावारीको गडबडी आदिका कारण यो समस्या देखिन्छ ।

गर्भावस्थामा किन चायाँ-पोतो देखिन्छ ?

गर्भावस्थामा एमएसएच हार्मोन बढ्ने भएकाले चायाँ देखिन्छ । यस्तो समयमा खानपानमा सन्तुलन भएन भने पनि अनुहारमा चायाँ देखिन्छ । त्यसैगरी गर्भधारण नहुने औषधि प्रयोग गर्दा पनि चायाँ देखिन्छ ।

यो समस्या समाधान हुने सम्भावना कस्तो छ ?

यसको सामाधानका लागि लामो समय लाग्छ । त्यसैले अनुहारमा भरसक चायाँ-पोतो आउन दिनु हुँदैन, आइहाल्यो भने पनि त्यसको उपचारका लागि धैर्य चाहिन्छ । धैर्य गर्न सके बिस्तारै यो समस्या कम हुँदै जान्छ ।

डा. सुदेश्ना श्रेष्ठ, यौन, छाला तथा चर्म रोग विशेषज्ञ, सिद्धि पोलिक्लिनिक, डिल्लीबजार

 Image