कतै घुम्न जाँदै हुनुहुन्छ भने सबैभन्दा पहिले गन्तव्यका सम्बन्धमा सम्पूर्ण जानकारी लिनुपर्छ । कतिपय अवस्थामा गन्तव्यमा पुग्दा त्यहाँ कुनै रोगको महामारी फैलिएको हुनसक्छ जस्तो, स्वाइन फ्लु, डेंगु आदि । त्यस्तो अवस्थामा गन्तव्य बदल्नुपर्ने हुनसक्छ । यद्यपि गन्तव्य बदल्न चाहुनुहुन्न वा त्यस्तै अवस्था छ भने एन्टिबायोटिक लिन सकिन्छ ।
सबैभन्दा जरुरी चीज हो, पिउने पानी । जहाँ गए पनि उमालेको वा सिलबन्द मिनरल वाटर नै पिउनुपर्छ । दूषित पानी रोगको स्रोत हो । त्यसले अनेकौं किसिमका रोग निम्त्याउन सक्छ । यात्राका क्रममा कम्तीमा पनि स्वच्छ पानीको व्यवस्था गर्नुपर्छ । जथाभावी पानी पिउनु हुँदैन । यात्राका क्रममा सकेसम्म तरल पदार्थ कमै पिउनुपर्छ । धेरै नुनिलो तथा सुख्खा खानेकुरा खानु हुँदैन, जसले बढी तिर्खा लगाउँछ । यद्यपि हवाई यात्रामा डिहाइड्रेसनबाट जोगिन पर्याप्त पानी पिउनुपर्छ ।
भ्रमण सुरु गर्नुअघि आफ्नो स्वस्थ्यस्थिति परीक्षण गराउनुपर्छ । भ्रमणपछि पनि यो क्रम दोहोर्याउनु उपयुक्त हुन्छ । आफू जुन स्थानमा जाने हो, त्यहाँका चिकित्सक, मेडिकल स्टोर, अस्पताल आदिका बारेमा जानकारी लिनु राम्रो हो । यसले गर्दा आपत्कालीन अवस्थामा तुरुन्तै उपचार गराउन सकिन्छ । सामान्य औषधि भने आफंैले बोक्नुपर्छ ।
लामो यात्राका क्रममा आफ्नो शरीरको फ्लेक्सिविलिटी कायम राख्न बसेरै पनि हल्काफुल्का व्यायाम गर्न सकिन्छ । जहाज, ट्रेन वा बसमा लामो यात्रा गरिँदैछ भने सिटमा टाँसिएर बसिरहनु हुँदैन । हात, खुट्टा तथा शरीर चलाइरहनुपर्छ । एउटै पोजिसनमा लामो समय बस्नु हुँदैन । यसले रक्तसञ्चारमा अवरोध पुर्याउन सक्छ । यात्रा सम्पन्न भैसकेपछि स्ट्रेचिङ गर्नुपर्छ ।
कतै निस्कनुअघि घरमै पूर्णरूपले निद्रा पुर्याउनुपर्छ । धेरै खाना र मदिरा सेवनबाट जोगिनुपर्छ । सम्भव भएसम्म यात्राका क्रममा थोरै खाना खानुपर्छ । छोटो यात्रामा घरबाटै खानेकुरा बनाएर बोक्नु उपयुक्त हुन्छ ।
कुनै पनि खानेकुरा खानुअघि राम्रोसँग हात धुनुपर्छ । यद्यपि सबै ठाउँमा पानी पाइँदैन, त्यसैले आफ्नो साथमा सेनेटाइजर राख्नुपर्छ जसले पानीको अभावमा पनि हात स्वच्छ र कीटाणुरहित बनाउँछ ।
होटलमा बसेका बेला अबेर राति डिनर खानु हुँदैन । डिनरपछि केही समय बाहिर टहल्नुपर्छ, अन्यथा यात्राको थकान र अनियमित खानपानले प्रतिरोधात्मक क्षमता प्रभावित हुनसक्छ भने एसिडिटीको समस्या बढ्ने खतरा पनि उत्तिकै हुन्छ । परिणामतः यात्राको पूर्ण आनन्द प्राप्त नहुन सक्छ ।
गर्भवती महिलाले चिकित्सकको परामर्शबिना यात्रा गर्नु हुँदैन । यात्राका क्रममा आरामदायक जुत्ता तथा कपडा लगाउनुपर्छ । यात्रा सुरु गर्नुअघि ट्राभल इन्स्योरेन्स लिनुपर्छ, जसले अस्पताल तथा औषधिको खर्च उठाउन सकियोस् ।