Successfully Copied

कतै घुम्न जाऊँ

अक्सर विवाहलगत्तै हनिमुनको बहानामा दम्पतीले घुम्ने योजना तय गर्छन् । वैवाहिक जीवनलाई स्मरणीय एवं रोमाञ्चक बनाउने राम्रो उपाय हो-हनिमुन ।

अक्सर विवाहलगत्तै हनिमुनको बहानामा दम्पतीले घुम्ने योजना तय गर्छन् । वैवाहिक जीवनलाई स्मरणीय एवं रोमाञ्चक बनाउने राम्रो उपाय हो-हनिमुन । त्यस क्रममा घुमिएका ठाउँ, खिचिएका तस्बिर, गरिएका कुराकानी, चाखिएका व्यञ्जन जीवनभर सम्झनलायक हुन्छन् ।

विवाहपछि जीवनलाई फरक लयमा दौडाउनुपर्ने हुन्छ । विवाहपछि छोराछोरी जन्मन्छन्, पारिवारिक आवश्यकता बढ्दै जान्छ भने जिम्मेवारी पनि थपिँदै जान्छ । बिस्तारै घर-गृहस्थीमै जीवन गुज्रन थाल्छ । यस्तो अवस्थामा दम्पतीबीचको सम्बन्ध जति रसपूर्ण हुनुपर्ने हो त्यति हुन पाउँदैन । नयाँपनको अनुभूति धूमिल हुँदै जान्छ । फलतः दाम्पत्य जीवनको खुसी, आनन्द एवं रोमाञ्चकता क्रमशः कम हुँदै जान्छ ।

यस्तो परिस्थितिबाट जोगिँदै दाम्पत्य जीवनलाई रोमाञ्चक बनाउने राम्रो विकल्प हो-यात्रा । घरको सम्पूर्ण तनाव बिर्संदै श्रीमान्-श्रीमतीले केही दिनका लागि घुमफिरको योजना बनाउनुपर्छ, जसले जीवनमा नयाँपन ल्याउन सकोस् । छोराछोरीलाई घरकै अरू सदस्यका साथ छाडेर यात्रामा निस्कनुपर्छ । आवश्यक कपडा बोकी खर्चको व्यवस्था गरेर निस्फिक्री यात्रामा निस्कनुपर्छ । त्यसका लागि आफूलाई मन पर्ने गन्तव्य रोज्न सकिन्छ जहाँ आपसमा रमाउने, खेल्ने, हाँस्ने, जिस्किने काम खुलेर हुनसक्छ । यस किसिमको अभ्यासले जीवनमा छुट्टै रोमाञ्चकता ल्याउँछ ।

कहाँ जाने ? योजना बनाउनुपर्छ । सहरको आसपास, कुनै हिल स्टेशन, समुद्री किनार वा मुलुकबाहिरको कुनै पनि मनोरम स्थल जहाँ पनि घुम्न सकिन्छ । आफ्नो बजेट, मुड, समय एवं रुचिलाई आधार बनाएर घुम्ने स्थान तय गर्नुपर्छ । छोटो यात्राका लागि आसपासकै खास ठाउँ रोज्नुपर्छ, जहाँ आफन्त वा चिनेजानेेका मानिसहरू पनि भेटिऊन् । अप्रत्याशित कुनै समस्या भए उनीहरूबाट आवश्यक सहयोग लिन सकिन्छ ।

कहाँ घुम्ने ?

घुमघामका लागि गन्तव्यको कमी छैन । सौराहा गएर जंगल सफारी गर्न सकिन्छ, पोखरामा नौका विहारको मज्जा लिन सकिन्छ, मुस्ताङमा पदयात्राको अनुभूति सँगाल्न सकिन्छ ।

समुद्रको छालसँग खेल्न तथा त्यसको किनारमा बसेर न्यानो घाम ताप्न हामीले छिमेकी मुलुक भारतसम्मको यात्रा तय गर्नुपर्ने हुन्छ । भारतमा उडिसा, केरल, गोवा आदि थुप्रै त्यस्ता स्थान छन्, जहाँ निस्फिक्री समुद्री छालसँग खेल्न सकिन्छ । समुद्री तटमा बसेर अस्ताउँदो सूर्यको दृश्यावलोकन गर्न सकिन्छ वा रोमाञ्चक नौका विहारको आनन्द लिन सकिन्छ ।

रमणीय प्राकृतिक दृश्य हेर्दै पैदल यात्रामा रमाउनेहरूका निम्ति पनि थुप्रै विकल्प छन् । त्यसका लागि पहाडी क्षेत्रको यात्रा गर्नुपर्ने हुन्छ । स्थानीय जनजीवन, रहनसहन, भाषा तथा संस्कृतिसँगको साक्षात्कारले पनि यात्रालाई रोमाञ्चक बनाउँछ ।

फेवातालमा डुँगा सरर

ताल, गुफा र हिमशृंखलाको दृश्यावलोकन पोखराका मुख्य आकर्षण हुन् । फेवाताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोटजस्ता स्थलले जोकसैको मन सजिलै लोभ्याउँछन् । पोखराबाट धौलागिरि, अन्नपूर्ण तथा मनास्लु शृंखलालगायत ८ हजार मिटरभन्दा अग्ला हिमाल देख्न सकिन्छ । फेवाताल पोखराको मुख्य आकर्षण हो । यहाँ माछापुच्छ्रे्र हिमालको प्रतिबिम्ब देखिन्छ । पातले, महेन्द्र एवं गुप्तेश्वर गुफा पोखराका थप आकर्षण हुन् । वेगनास तालमा गरिने डुँगा सवारी तथा अन्नपूर्ण पदयात्राबाट पनि पोखरा भ्रमणको मज्जा लिन सकिन्छ ।

सौराहामा जंगल सफारी

हात्तीमा चढेर गरिने जंगल सफारी तथा राप्ती नदीको किनारबाट साँझको सूर्यास्त हेर्न पाउनु सौराहाको विशषेता हो । यहाँ पर्यटकहरूलाई आकषिर्त गर्न बर्सेनि अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता हँुदै आएको छ । सौराहामा सुविधासम्पन्न होटल, रेस्टुराँहरू छन् । त्यहाँ गैंडा, बाघ, नील गाई, गोही, अजिङ्गर, चितुवा आदि वन्यजन्तुहरू पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत यी वन्यजन्तुहरूको संरक्षण गरिँदै आएको छ ।

पदयात्राका लागि मनाङ

विभिन्न अन्तर्राष्टिय सर्वेक्षणले अन्नपूर्ण पदयात्रा मार्गलाई जीवनमा एकपटक पुग्नैपर्ने विश्वका उत्कृष्ट १० गन्तव्यमा राखेको छ । मनाङ अन्नपूर्ण पदयात्रा मार्गको महत्वपूर्ण हिस्सा हो । पर्यटकीय दृष्टिले पिसाङ, भ्राखा, खाडसागर, टंकिमनाङ, नार र फु, थोन्चे, तिलिचो ताल आदि यो पदयात्राका महत्वपूर्ण गन्तव्य मानिन्छन् । अन्नपूर्ण पदयात्रा मार्गमा होमस्टेको सुविधा छ ।

लुम्बिनीमा लुकामारी

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्धमार्गीको पवित्र धार्मिक स्थल मात्र नभई विश्वभरका पर्यटक तान्ने आकर्षक गन्तव्य पनि हो । पुरातात्विक महत्वको लुम्बिनीका खास आकर्षण हुन्-अशोक स्तम्भ, मायादेवी मन्दिर तथा विश्वशान्ति दीप । त्यसबाहेक पनि पर्यटकलाई लक्षित गरेर त्यहाँ आकर्षक कृत्रिम संरचनाहरू निर्माण गरिएका छन् ।

मन अघाउँदैन से-फोक्सुन्डोमा

से-फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको यात्रा गर्न सकिन्छ । जीवविहीन यो ताललाई हरियो र नीलो रंगको अनुपम मिश्रणले रंगाएको छ । आकाशमा सूर्यको स्थानसँगै रंग फेर्ने फोक्सुन्डोको कञ्चन पानीलाई नाङ्गा हिमालहरूले पहरा दिएका छन् । एउटा प्रचलित किंवदन्तीअनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष देखिन्छ । से फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो । से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा यो ताल र से गुम्बा छ । उपल्लो डोल्पामा पर्ने से गुम्बा विश्वका प्रमुख १२ बौद्ध गुम्बामध्ये एक मानिन्छ ।

राराकी अप्सरा

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको यो ताल हेर्दा साँच्चै स्वर्ग पुगेको अनुभूति हुन्छ । मुगु जिल्लामा अवस्थित रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । १० हजार फिटको उचाइमा १० हजार वर्गफिटमा फैलिएको यो तालको पानीको निकास कतै देखिँदैन । तालवरिपरि फन्को लगाउन गोरेटो पनि छ । राराको कञ्चन पानीमा स्नो ट्राउट माछादेखि हाँस, जलेवा, कर्‍याङकुरुङजस्ता चराहरू जलक्रीडामा मस्त देखिन्छन्. ।

हिमाल हेर्न सैलुङ

दोलखा जिल्लामा अवस्थित सैलुङबाट रमणीय हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यसो त सैलुङ धार्मिक पर्यटनका लागि पनि उत्तिकै परिचित छ । सैलुङमा हरेक १२ वर्षमा गोदावरी फूलको विशेष मेला लाग्छ । सयवटा थुम्का भएको सैलुङ पुग्न खोलाखर्कबाट पैदल हिँड्नुपर्छ ।

मन लोभ्याउने बन्दिपुर

तनहुँ जिल्लामा अवस्थित बन्दिपुर पनि घुम्नलायक ठाउँ हो । नेवारी संस्कृतिमा आधारित बन्दिपुरको सहरी संरचना साढे २ सय वर्ष पुरानो मानिन्छ । बन्दिपुर आसपासका क्षेत्रमा मगर संस्कृति अवलोकन गर्न पाइन्छ । आँखैअगाडि देखिने हिमशृंखला, ३ सय किलोमिटर फराकिलो क्षितिजमा फैलिएको फाँट आदिले जोकसैको मन लोभ्याउँछ । मुग्लिङबाट आधा घन्टाको दूरी छिचोलेपछि डुम्रे बजार पुगिन्छ । त्यहाँबाट पिप्ले हुँदै बन्दिपुर पुग्न सकिन्छ ।

कन्याम र सन्दकपुर

इलाम भ्रमणको क्रममा कन्याम र सन्दकपुरको फन्को लगाउन सकिन्छ । थुम्का-थुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले पनि प्राकृतिक सुन्दरताको अनुपम झझल्को दिन्छ । सूर्योदयको दृश्यावलोकनका लागि नेपालमै प्रख्यात श्रीअन्तुदेखि जैविक विविधताले सम्पन्न माईपोखरी र सन्दकपुरसम्मको यात्राले इलाम भ्रमणलाई सार्थक बनाउँछ ।

घान्द्रुकको यात्रा

अन्नपूर्ण पदमार्गका क्रममा पर्ने रमणीय स्थल हो-घान्द्रुक । यहाँको प्राकृतिक सौन्दर्यले आगन्तुकहरूको मन सजिलै लोभ्याउँछ । यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, ङयोवराह ताल यहाँका थप आकर्षण हुन् ।

जोमसोममा हावा सरर

घुमघामका सौखिनहरूले एकपटक पुग्नैपर्ने गन्तव्य हो-जोमसोम । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा हिमाली जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिन्छ । यहाँको अनौठो भू-बनोटले आगन्तुकहरूको मन पगाल्छ । पर्यटनमै आधारित जोमसोमबाट धौलागिरि तथा नीलगिरि हिमाल अवलोकन गर्न सकिन्छ । जोमसोम प्रख्यात तीर्थस्थल मुक्तिनाथ र लोमान्थाङ जाने प्रवेशद्वार पनि हो ।

प्रकृतिको क्रीडास्थल ककनी

काठमाडौंबाट छोटो यात्रामै पुग्न सकिने गन्तव्य हो-ककनी । यो प्रकृतिको क्रीडास्थल नै हो । यहाँबाट पश्चिममा लमजुङ र मनास्लु हिमाल, उत्तरमा गणेश र लाङटाङ तथा पूर्वमा गौरीशंकर हिमाल स्पष्टसँग देख्न सकिन्छ । मनोरम हिमाली भेगदेखि समतल नदीका फाँटसम्म अवलोकन गर्न सक्नु ककनीको खास आकर्षण हो । यहाँ कृत्रिम बगैंचा तथा स्मारकहरूसमेत निर्माण गरिएको छ ।

मनमोहक जलजला

माओवादी द्वन्द्वकालमा धेरै चर्चा हुन्थ्यो-जलजलाको । माओवादीले क्रान्तिको प्रतीकका रूपमा मान्दै आएको यो पहाड अहिले प्राकृतिक, धार्मिक एवं सांस्कृतिक आकर्षण बोकेको गन्तव्य भएको छ । रोल्पाको सदरमुकाम लिवाङबाट २४ कोस पूर्वको व्यापारिक केन्द्र सुलिचौरबाट २२ कोस उत्तरमा अवस्थित छ यो ठाउँ । डाँफे, मुनाल, घोरल, मृगजस्ता पशुपन्छी अवकोलन गर्न सक्नु जलजलाको विशेषता हो ।

बीसहजारी ताल

भरतपुरबाट करिब ६ किलोमिटर दक्षिण-पूर्वमा अवस्थित बीसहजारी ताल विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य हो । विभिन्न मुलुकबाट बसाइ सरी आउने मौसमी चाराहरूको आश्रयस्थल बीसहजारी तालमा गोही, माछा तथा अजिङ्गर आदि पनि पाइन्छन् ।

राजेन्द्र जिसी, प्रबन्ध निर्देशक

स्पोर्टस् टुर्स एण्ड ट्राभल, ठमेल-झम्सिखेल

नेपालीहरू घुम्नका लागि विदेश जाने ट्रेन्ड कस्तो पाउनुभएको छ ?

अहिले अलि बढेको छ । खासगरी दसैं-तिहारजस्ता लामो बिदाको अवसर पारेर परिवारसहित घुम्न जाने ट्रेन्ड छ । यद्यपि यसरी घुम्न जानेमा धेरैजसो उच्च सरकारी अधिकारी तथा एनजिओ, आइएनजिओमा काम गर्नेहरू छन् । पछिल्लो समयमा हनिमुनमा जाने जोडीहरूको संख्या पनि उल्लेख्य छ ।

नेपाली घुम्न जाने विदेशी गन्तव्य कुन-कुन हुन् ?

धेरैजसो नेपाली थाइल्यान्ड जान्छन् । त्यसबाहेक सिंगापुर र मलेसिया जानेहरूको संख्या बढी छ । पर्यटनमै आधारित भएकाले ती मुलुक घुम्नका लागि बढी सहज छन् ।

नेपालीहरूले सामान्यतः विदेशमा कति दिन बिताउँछन् ?

हामीकहाँ प्याकेज लिएर जानेहरू प्रायः एक सातासम्मका लागि घुम्न निस्कन्छन् । कतिपय व्यक्तिगत रूपमा पनि भ्रमण गर्छन्, उनीहरूको बसाइ अवधि निश्चित हुँदैन । विदेशमै आफन्त, साथीभाइ भएकाहरू टिकट मात्र लिएर त्यता जान्छन् ।

विदेश यात्रा निकै खर्चालु हुन्छ होला होइन ?

आफन्त एवं साथीभाइ उतै छन् भने त्यति खर्च लाग्दैन । टुर प्याकेजअन्तर्गत थाइल्यान्डमा एक साता घुम्न एक जनाले औसत ८० हजार खर्च गर्नुपर्ने हुन्छ । सिंगापुर, मलेसियामा पनि करिब-करिब त्यति नै खर्च लाग्छ ।

न्यूनतम खर्च गरेर घुम्न सकिने कुनै विदेशी गन्तव्य ?

कम खर्च गरेर घुम्न सकिने मुलुक भारत नै हो । संस्कृति तथा भाषा पनि मिल्छ, भिसा लाग्दैन । भारतमा पनि घुम्न लायक ठाउँ प्रशस्तै छन् । त्यसबाहेक अहिले धेरैजसो नेपाली बंगलादेश जाने गरेका छन् ।

विदेश यात्रा गर्नुअघि के-कस्तो तयारी गर्नुपर्छ ?

सुरुमा त भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ । पैसाको व्यवस्थापन त मुख्य कुरा नै भयो । कतिपयसँग क्रेडिट कार्ड नहुने भएकाले ट्राभल टिकट बनाउनुपर्छ । त्यसपछि घुम्ने गन्तव्यका सम्बन्धमा पनि जानकारी लिनुपर्छ । त्यहाँको राजनीतिक अवस्था, हावापानी आदिमा ध्यान पुर्‍याएर मात्र यात्रा

सुरु गर्नुपर्छ ।

घुमफिरका लागि अनुकूल मौसम कुन हो ?

प्रायःजसो अंग्रेजी नयाँ वर्ष र क्रिसमसको सिजनलाई अनुकूल मानिन्छ । यद्यपि पिक सिजनमा गरिने यात्रा बढी खर्चालु हुन्छ । त्यसैले अफ सिजनमा यात्रा गर्दा ३० प्रतिशतसम्म खर्च जोगाउन सकिन्छ ।

घुम्ने संस्कृति

भनिन्छ, नेपालीहरूमा घुम्ने संस्कारको विकास भैसकेको छैन । विगतमा वृद्धवृद्धाहरू तीर्थयात्रा गर्थे । त्यस क्रममा उनीहरू नेपालकै मठमन्दिरदेखि भारतका विभिन्न धार्मिक स्थलसम्म पुग्थे । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले प्रथम पटक सगरमाथा आरोहण गरेपछि विश्व समुदायमा नेपालको हिमालका सम्बन्धमा कौतूहलता बढ्यो । त्यसपछि विदेशी पर्यटकहरू हिमाल हेर्न, चढ्न आउने क्रम सुरु भयो । यसरी नेपाल घुम्न आउने पर्यटकहरूबाटै नेपालीहरूमा पनि घुम्ने संस्कृति विकास भएको मानिन्छ । यातायात, सञ्चार, होटलजस्ता पूर्वाधारले यो संस्कृतिलाई थप मलजल पुर्‍यायो । पर्यटन प्रवर्द्धनका लागि महोत्सवहरू हुन थाले । ग्रामीण क्षेत्रमा होमस्टेको अवधारणा ल्याइयो । यसले बाह्य मात्र होइन, आन्तरिक पर्यटनलाई समेत बढावा दियो ।

यतिबेला गाउँगाउँमा होमस्टेको व्यवस्था छ । पोखरा, सौराहा, मनाङ, मुस्ताङ, लुम्बिनी, जोमसोमजस्ता स्थानमा सुविधायुक्त होटल, रिसोर्ट आदि सञ्चालनमा छन् । पर्यटकले सौराहामा हात्ती सवारीको आनन्द लिन सक्छन् । सिन्धुपाल्चोकमा बन्जिजम्प खेल्न सक्छन् । पोखरामा स्काई डाइभिङको रोमाञ्चक अनुभव सँगाल्न सक्छन् । त्रिशूली वा भोटेकोसीमा साहसिक र्‍याफ्टिङ गर्न सक्छन् । हिमाली क्षेत्रको पदयात्रा, जंगल सफारी, हाइकिङ, कायकोनिङ, अल्ट्रालाइट विमानदेखि लिएर मनकामना केवलकारजस्ता विकल्पले घुमघामको संस्कृतिलाई थप टेवा पुर्‍याएको छ ।

राजकुमार भुजेल, प्रबन्ध निर्देशक

माउन्ट अन्नपूर्ण टुर्स एण्ड ट्राभल

नेपालीहरूमा घुम्ने संस्कार कस्तो पाउनुभएको छ ?

पहिलेको तुलनामा नेपालीहरू निकै घुमफिर गर्न थालेका छन् । हरेक साता हाइकिङ, ट्रेकिङ जाने गरेका छन् । कहिलेकाहीँ परिवारसहित विभिन्न ठाउँ घुम्न निस्कने गरेका छन् । विगतका दिनहरूमा लामो छुट्टी घरमै बसेर बिताउँथे तर अहिले बिदा मिल्नासाथ नेपालीहरू घुम्न निस्कन्छन् । अहिले बिस्तारै नेपालीहरूमा पनि घुम्ने संस्कार विकास भएको पाइन्छ ।

अक्सर नेपालीहरू परिवारसहित घुम्छन् कि एक्लाएक्लै ?

दसैं-तिहारजस्ता लामो बिदामा परिवारसहित घुम्ने संस्कार विकास भएको छ । त्यसबाहेक साथीहरूसँग मिलेर पनि घुम्न निस्किएको पाइन्छ ।

नेपालीहरूले घुम्न रुचाउने नेपालकै गन्तव्य कुन-कुन हुन् ?

मुख्यतः पोखरा नै हो । हाइकिङ, ट्रेकिङका लागि पुनहिल जाने गरेका छन् । त्यसबाहेक जनकपुर, लुम्बिनी, चितवन, इलाम, गोरखाजस्ता थुप्रै ठाउँमा घुम्ने गरेका छन् । घलेगाउँ, पञ्चासेजस्ता पर्यटनमै आधारित ठाउँहरू पनि थुप्रै छन् । आगन्तुकलाई विशेष आतिथ्य सत्कार मिल्ने, मौलिक संस्कार देखाइने, त्यहीँका उत्पादन चखाइने भएकाले पनि ती स्थानहरूमा नेपालीहरू पुग्ने गरेका छन् । त्यसबाहेक बेलाबेलामा सम्पन्न गरिने पर्यटन महोत्सव एवं होमस्टेको अवधारणाले नेपालीलाई घुमफिरमा बानी पर्न थालेको छ ।

घुमफिरमा नेपालीहरूले कति

खर्च गर्छन् ?

त्यसको कुनै सीमा छैन । मन परेका चीज किनिहाल्ने, खाइहाल्ने बानी भएकाले नेपालीहरू यात्रामा पर्याप्त खर्च गर्छन् । विदेशीहरू जस्तो सीमित बजेट बोकेर हिँड्दैनन् ।

आन्तरिक पर्यटनलाई प्राथमिकता दिन के गर्नुपर्ला ?

मुख्यतः यातायातको सुविधा हुनुपर्छ । परिवारसहित घुम्नेहरूका लागि सवारी साधनको सहज व्यवस्था पनि आवश्यक छ । त्यसबाहेक हरेक पर्यटकीय, धार्मिक, ऐतिहासिक, सांस्कृतिक स्थललाई पर्यटनमैत्री बनाउनुपर्छ ।

 

 Image