Successfully Copied

गोपनीयताको ख्याल गरौं

कतिपय मानिसको पेटमा कुरा अड्न सक्दैन । यस्ता मानिस न त साथीको विश्वासपात्र बन्न सक्छन् न त आफ्नै जीवनसाथीको ।

कतिपय मानिसको पेटमा कुरा अड्न सक्दैन । यस्ता मानिस न त साथीको विश्वासपात्र बन्न सक्छन् न त आफ्नै जीवनसाथीको । आफ्नो यस्तो बानीका कारण कतिपय महिला धेरैपटक कठिन परिस्थितिमा फस्न पुग्छन् । यस्तो बानी भएकाले आफ्नो धेरै बोल्ने तथा यताको कुरा उता लगाउने बानीमा सुधार ल्याउनुपर्छ ।

बानेश्वरकी सविना थापा आवश्यकताभन्दा बढी बोल्छिन् । उनको पेटमा केही कुरा रहँदैन । थाहा पाएको कुरा भनिहाल्ने उनको बानी छ । त्यसैले घरदेखि अफिससम्म उनलाई गसिप क्विनको उपाधि दिइएको छ । कसैको केही कुरा थाहा पाए उनी सबैलाई भन्छिन् । यसले गर्दा परिवार तथा साथीभाइबीचमा कुनै पनि कुरा गोप्य रहन पाउँदैन । कतिपय कुरा गोप्य नै राख्नुपर्ने हुन्छ जसको पालना नगर्दा परिवार तथा साथीभाइको विश्वास गुम्न पुग्छ ।

समझदारीले काम लिने

कुनै साथी वा माध्यमबाट मिल्ने साथीका श्रीमान्ले उसलाई धोका दिएको थाहा पाए साथीलाई बताउनु कर्तव्य हो । यद्यपि बताउने तरिका भने सही हुनुपर्छ । एक्कासि गएर भन्नुभन्दा पहिले यताउताको कुरा गरेर उनलाई उनका श्रीमान्को एक्स्ट्रा म्यारिटल अफेयरका बारेमा थाहा भए नभएको पत्ता लगाउनुपर्छ । साथीको स्थिति बुझेर मात्र यस्ता कुरा भन्नु बुद्धिमानी हुन्छ ।

सही समय

कुनै साथी तथा आफ्नो परिवारका बारेमा कुनै सेक्रेट कुरा पत्ता लागे तुरुन्तै बताउनुभन्दा पनि सही समय कुर्नुपर्छ । शान्त दिमागले कति बेरसम्म यस्ता कुरा नभन्दा ठीक हुन्छ भन्ने मनन गर्नुपर्छ । कतिपय कुरा नभन्दा नै सम्बन्धित मानिसको भलाइ हुन्छ भने त्यस्ता कुरा नभन्नु नै उचित हुन्छ । कुनै कुरा नभन्दा साथी तथा परिवारलाई हानी हुन्छ भने त्यस्ता कुरा सही समयमै भनिदिनुपर्छ । कुनै रहस्यको गसिप पनि बनाउनु हुँदैन ।

बीचमा बोल्नु उचित हुँदैन

अफिस वा कुनै पनि ठाउँमा दुईजना कुरा गरिरहेका छन् भने कुनै रहस्य थाहा भए पनि बीचमा बोल्नु उचित हुँदैन । जस्तो कि अफिसमा कुनै साथीबीचमा अफेयर चलिरहेको छ भने पनि थाहा नपाएजस्तो गर्नुपर्छ ।

विषयवस्तु परिवर्तन

 धेरैजनाका बीच कुनै विषयमा कुराकानी भैरहेको छ र आफूलाई त्यसका बारेमा थाहा छ भने आवेशमा आएर नराम्रा कुरा गर्नुहुँदैन । यस्तो बेलामा विषयवस्तु परिवर्तन गर्नुपर्छ । सम्भव नभए चुपचाप कुरा सुन्नु वेश हुन्छ ।

मनको कुरा लेख्नु

कुनै कुरा मनमा लुकाएर राख्दा पीडा तथा बोझ भएको छ वा मनको कुरा शेयर गर्न नपाएर छटपटी भएको छ भने डायरी लेख्नुपर्छ । डायरी कसैले पढ्ने चिन्ता भए कागजमा लेखेर फालिदिनुपर्छ । यसो गर्दा मनको बोझ हल्का हुनुका साथै रहस्य पनि रहस्य मै रहन्छ ।

 Image