५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७१ मंसिर ५ गतेको राजपत्रमा प्रकाशित छ । नेपालमा यस्ता कतिपय ऐन-कानुन महिलाका पक्षमा बनेका भए पनि तिनको कार्यान्वयन पक्ष फितलो देखिन्छ । सामाजिक परम्परा एवं पुरातन सोचका कारण महिलामाथि विविध हिंसा तथा विभेद हुँदै आएको परिस्थितिमा कार्यस्थलमा हुने हिंसा तथा दुव्र्यवहारका विषयमा यसपटकको बहस केन्दि्रत छ :
सिर्जना अधिकारी, युवा नेतृ तथा अधिकारवादी
भर्खरै सरकारबाट पास भएको कार्यस्थलमा हुने दुव्र्यवहार निवारणका लागि बनेको ऐनमा हाम्रै संस्थाले पनि वकालत गरेको थियो । मैले स्कुल पढ्दा सरले गाला चिमोटिदिने र धाप मार्ने काम अहिले बुझ्दा दुव्र्यवहार रहेछ । हरेक महिलाको जीवनमा दुव्र्यवहार हुन्छ । कुनै महिलाले मैले यस्तो समस्या भोगेको छैन भन्दा त्यो भन्दा बकवास अरू केही हुँदैन । अहिले हामी महिलाहरू घरबाट निस्कन पाउनुपर्छ, काम गर्न पाउनुपर्छ भन्ने कुरामा बढी केन्दि्रत छौं । अब हामीले बाहिरका ती क्षेत्रमा सुरक्षित हुन पाउनुपर्छ भन्ने मुद्दा पनि उठाउनुपर्छ । महिलाको पहुँच र नेतृत्वको अभावका साथै आत्मविश्वासको कमीका कारण यस्ता समस्या उत्पन्न हुनसक्छन् । दुव्र्यवहारको सबैभन्दा ठूलो कारण पुरातन सोच हो । कुनै पनि संस्थामा महिला ऐक्यबद्ध हुने हो भने कसैले केही गर्न सक्दैन । अबको महिलाको युद्ध भनेको पहिचान हो र त्यो पहिचानका लागि यस्ता हिंसा र दुव्र्यवहार सहन हुँदैन । नेपालमा महिलाका पक्षमा धेरै ऐन बनेका छन् तर धेरै कानुन बन्दा अझ अन्याय हुँदोरहेछ तसर्थ हामीले प्रस्तावनामै दुव्र्यवहारको परिभाषाभित्र के-के पर्छ ? कार्यस्थलमा हुने हिंसा भनेको छ ऐनमा तर खेतीपातीमा काम गर्ने महिलाविरुद्ध हिंसा भए कहाँ जाने ? यसको कमी छ अहिले आएको ऐनमा । ऐन बन्नु उचित हो तर त्यसको कार्यान्वयन प्रमुख कुरा हो ।
दुर्गा बन्जाडे, योजना अधिकृत राष्ट्रिय योजना आयोग
समाजमा जे कुरा हुन्छ काम गर्ने ठाउँ वा अन्य ठाउँमा पनि त्यही हुन्छ । हामीकहाँ नीतिको होइन नियतको समस्या छ । व्यक्ति कहाँ र कसरी हुर्किएको हो त्यसमा भर पर्छ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७१ मंसिर ५ गतेको राजपत्रमा प्रकाशित छ । हाम्रो समाजमा यस्ता गतिविधि भैरहेको महसुस गरेरै यो ऐन आएको हो । कसैले कुनै कर्मचारी वा सेवाग्राहीप्रति यौनजन्य दुव्र्यवहार गरेको ठहरिए निजलाई कसुरको प्रकृति हेरी ६ महिनासम्म कैद वा ५० हजार जरिवाना वा दुवै हुनसक्छ भनिएको छ तर महिलाहरू उजुरी दिनसक्ने अवस्थामै छैनन् । उनीहरूमा भोलि समाजमा कस्तो स्थिति हुने हो मेरो परिवारले के भन्ला भन्ने त्रास हुन्छ । यसको न्यूनीकरणमा स्कुलदेखि नै सहन हुँदैन भन्ने कुरा सिकाउनुपर्छ । हामीलाई तिमी छोरी हौ बोल्न हुँदैन भनेर सिकाइएको छ । हामी निजामतीतर्फका कर्मचारी सुरुदेखि लोकसेवाबाट आउने हुँदा हिंसा कम हुन्छ तर काम गर्दै जाँदा कालान्तरमा यौनभन्दा पनि अन्य दुव्र्यवहार सहँदै जानुपर्दो रहेछ । हरेक कार्यालयमा गुनासो पेटिका राख्नु प्रभावकारी हुनसक्छ । अर्को कुरा हामीले महिला-महिला भन्नुपर्दा पनि महिलाभन्दा माथि उठेर पुरुषसँगको सहकार्यमा अघि बढ्नुपर्छ । अहिले आएको ऐनले केही हदसम्म काम गर्ला तर सँगसँगै चेतना, सोच वा दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्छ ।
स्मृति गौडेल, अफिसर, सिद्धार्थ बैंक
कामकाजी महिलाहरूका लागि यो ठूलो समस्या हो । पुरुष पुरुषै हुन् तर महिलाले सहनुपर्छ भन्ने मानसिकता छ । महिलाहरू यस्ता समस्यामा परिणाम के हुन्छ भनेर महिला बोल्न डराउँछन् । कार्यस्थलमा हुने हिंसा वा दुव्र्यवहार कम गर्न अफिसभित्रै प्रोब्लम सल्भिङ युनिट बनाउन सकिन्छ । बैंकमा दुव्र्यवहारै नभए पनि बढुवा, तलबजस्ता कुरामा विभेद गरिन्छ । ऐन-कानुन बने पनि संस्थामा काम गर्ने मानिसले यसलाई कत्तिको गम्भीर रूपमा लिन्छन् त्यसमा भर पर्छ । विदेशतिर हेर्दा पुरुषविरुद्ध पनि दुव्र्यवहार हुन्छ भनिन्छ तर हामीकहाँ पुरुषले मात्र महिलाप्रति दुव्र्यवहार गर्छन् भन्ने छ । दुव्र्यवहार बलियाले कमजोरलाई गर्ने भएकाले र हामीकहाँ धेरै महिला पावरमा पुग्न नसकेकाले उनीहरूमाथि बढी र लगातार दुव्र्यवहार भएको हुनसक्छ ।
सुष्मा रेग्मी, मनोवैज्ञानिक
दुव्र्यवहारका शैली फरक-फरक हुन्छन् । बाहिरबाट हेर्दा जिस्काएको त हो नि भनिन्छ तर त्यसले दुव्र्यवहारमा पर्नेलाई भित्रभित्रै अप्ठ्यारो पारेको हुन्छ । दुव्र्यवहार भोग्ने व्यक्ति ग्लानिको सिकार हुन्छन् । उनीहरू अघि बढ्न डराउँछन् । छोरी मान्छेले धेरै हाँस्न-बोल्न हुँदैन सहनुपर्छ भन्ने मनोवृत्तिले महिलालाई अझ दबाउँछ । जति दबेर बस्यो समस्या बढ्दै जान्छ । आफूप्रति दुव्र्यहार भएको कुरा भनियो भने भोलि आउने परिणाम के होला ? अफिसबाट निकालिनु पर्ला वा बढुवा रोकिएला अथवा सुविधा कटौती होला भन्ने त्रासले सताइरहन्छ । हामीकहाँ पनि कार्यस्थलमा भएको हिंसाका कारण आत्महत्या गर्नसम्म बाध्य भएका उदाहरण प्रशस्तै छन् । पद-प्रतिष्ठामा भएका महिलालाई तिम्रा श्रीमान् ठूलै पोस्टमा होलान् नि भनेर पनि दुव्यर्वहार गरिन्छ । केही नहुनुभन्दा त ऐन आउनु राम्रै कुरा हो । मानसिक किसिमका दुव्र्यवहारलाई कसरी सम्बोधन गर्ने, कसरी प्रमाणित गर्ने भन्ने चुनौतीहरू छन् । यस्ता समस्या न्यून गर्न मैले यसविरुद्ध आवाज उठाउन सक्छु कि सक्दिन ? म को हुँ ? भनेर आफैंलाई चिन्न सक्नुपर्छ । आप्ना बालबालिकालाई यस विषयमा के सिकाउन सकिन्छ त्यो आफैंबाट सुरु गर्नुपर्छ ।
मन्दिरा प्रजापति, एफ एण्ड बि म्यानेजर, एभरेस्ट होटल
मैले बीएचएम सक्नेबित्तिकै फाइभ स्टार होटलबाट कामको अफर आयो । यस्तो काममा रिटर्नमा केही दिनुपर्ने कुरा पनि आउँछ भन्ने चर्चा छ । होटल व्यवसाय ग्ल्यामरस भएकाले यस्ता दुव्र्यवहार हुन्छ भनिन्छ तर मैले त्यस्ता समस्या भोग्नु परेको छैन । ऐन आएको राम्रो हो तर यस्तो ऐन पनि छ है भनेर सबैलाई सूचना नदिई, यो विषयमा चेतना नजगाई ऐन मात्र आएर केही हुँदैन ।