Successfully Copied

स्वास्थ्य

कान पाक्ने रोग नै बहिरोपनको मुख्य कारण हो । कान पाक्ने रोगको प्रमुख कारण

स्वास्थ्य

डा. मिलन महर्जन, सर्जन, नाक, कान, घाँटी

बहिरोपनको मुख्य कारण के हो ?

कान पाक्ने रोग नै बहिरोपनको मुख्य कारण हो ।

कान पाक्ने रोगको प्रमुख कारण ?

साना शिशुलाई सुताएर दूध ख्वाउने, रुघाखोकी लागिरहने, कान पाक्ने रोग भए पनि जँचाउन नआउने, कानमा तेल हाल्ने, इन्फेक्सन भएको कानमा गुलाब जल, सुर्तीको झोल आदि राख्नेजस्ता व्यवहारका कारण कान बिग्रन्छ । सानो कोठामा गुम्सिएर धेरैबेर बस्ने, चुरोटको धूवाँ, खाना पकाउँदा निस्कने धूवाँ तथा कान कोट्याइरहने बानी पनि कान पाक्ने रोगको कारण हुनसक्छ ।

कान पाकेपछि के कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

रुघा लाग्न नदिने, रुघा लागिहाल्यो भने पनि तत्काल औषधि गराउनुपर्छ । बाल्यावस्थामा कानको समस्या भैहाले पनि समय-समयमा उपचार गराउँदा साना प्वालहरू टालिंँदै जान्छन् तर समस्या बढी भैसकेकाहरूको कान अप्रेसनबाट मात्र बचाउन सकिन्छ ।

कान नसुन्ने कारणहरू के-के हुन् ?

कानको जाली प्वाल पर्‍यो भने, कानको हड्डी कुहियो भने, कानको हड्डी जाम भयो भने अनि कानेगुजी भरियो भने कान नसुन्ने समस्या हुनसक्छ ।

कानको हड्डी कुहिने रोगले कस्तो असर गर्छ ?

कान र ब्रेनबीच धेरै दूरी छैन । जसले गर्दा कानको हड्डी कुहिएर मस्तिष्कमा पुग्न सक्छ । फलस्वरूप मेनन्जाइटिस, ब्रेनमा पिप जम्ने, फेसियल प्यारालाइसिस समेत हुन्छ । कानको हड्डी कुहिए ज्यानै जानसक्छ ।

कानको अप्रेसन गरियो भने कान अझ नसुन्ने हुन्छ भनिन्छ नि ?

कानको जाली मात्र बनायो भने राम्रोसँग सुनिन्छ तर कानको हड्डी नै कुहिइसकेको छ भने कुहिएको भाग पूरा निकाल्दा श्रवण शक्ति कम हुन सक्छ तर अप्रेसन गरेर कुहिएको भाग निकाल्दा ब्रेनसम्बन्धी समस्याबाट भने जोगिन सकिन्छ ।

लेजर थेरापी

\"\"डा. सुशीला वैद्य, लेजर थेरापी क्लिनिक, जावलाखेल

लेजर थेरापी के हो ?

विकिरणको माध्यमद्वारा विभिन्न रोगको उपचार गर्ने विधिलाई लेजर थेरापी भनिन्छ । यसमा कम शक्तिको विकिरणबाट सेकेर चार सय किसिमका रोगको उपचार गर्न सकिन्छ ।

लेजर थेरापीबाट कस्ता रोगको

उपचार हुन्छ ?

यसबाट कोलेस्ट्रोल बढेको, ब्रोङकाइटिस, बाथ, हड्डी खिइएको, जोर्नीको पीडा, नसा आदि सम्बन्धी धेरै रोगको उपचार गर्न सकिन्छ । यसले विकिरणका माध्यमबाट मर्न लागेका तथा अशक्त कोशिकालाई उत्तेजित बनाएर हिलिङ गर्छ ।

लेजर थेरापीका लागि उमेरको हदबन्दी छ ?

लेजर थेरापी शिशुदेखि वृद्धवृद्धासम्मले गर्न सक्छन् । खासगरी शिशुको नाक बन्द हुने, टन्सिल बढ्ने, हाछ्युँ आउने, कान पाक्ने रोग छिटो निको पार्न सकिन्छ । यसैगरी ठूला मानिसमा देखापर्ने हड्डी तथा नसासम्बन्धी रोग पनि यसको माध्यमद्वारा ठीक गर्न सकिन्छ ।

लेजर थेरापीको कुनै साइड इफेक्ट छ कि ?

लेजर थेरापी विकिरणबाट गरिने उपचार पद्धति भएकाले यसको कुनै साइड इफेक्ट छैन । यो आयुर्वेदिक, होमियोप्याथिक वा एलोप्याथिक उपचारसँगै एकै समयमा गर्न सकिन्छ ।

लेजर थेरापीबाट पीडासम्बन्धी समस्या समाधान हुन्छ ?

कुनै पनि रोग लाग्नासाथ उपचार गरे समयमै निको हुन्छ । यसैगरी नसा तथा हड्डीसम्बन्धी समस्यामा समयमै लेजर थेरापी गरे समस्या समाधान हुन्छ । बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्नुपर्छ । कसैलाई एक हप्ताको कोर्सले पूर्णरूपमा निको हुन्छ भने कसैमा रोगको प्रकृतिअनुसार पटक-पटक लेजर थेरापी गराउनुपर्ने हुन्छ ।

लगानी

\"\"रीता डगोल खतिवडा, पञ्चशिल बहुउद्देश्यीय सहकारी

महिलाहरूका लागि लगानी किन आवश्यक छ ?

महिलाहरू घरका व्यवस्थापक हुन् । उनीहरूले घरको हरेक पक्षमा सहभागी हुँदै घरको काम कारबाहीलाई अघि बढाउँछन् । उनीहरू बचत गर्न पनि निकै अघि हुन्छन् । उनीहरूले सानो रूपमा गरेको बचत जम्मा भएर ठूलो रकम हुनपुग्छ । उक्त बचतलाई कुनै स्थानमा लगानी गर्न सकिए त्यसले राम्रो प्रतिफल दिन्छ तसर्थ बचतलाई त्यसै खेर फाल्न नदिन लगानी आवश्यक छ ।

लगानी गर्दा के-कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

महिलाहरूका लागि लगानी एक चुनौतीपूर्ण अभ्यास हो । लगानी गर्नुभन्दा पहिले निकै विचार पुर्‍याउनुपर्छ । दीर्घकालीन सोच राखी त्यसको प्रतिफल तथा त्यसबाट निम्तिने समस्याहरू बुझेर लगानी गर्नुपर्छ । लगानी गरेपछि त्यसमा जोखिम पनि अनेक हुन्छन् । कुनै पनि कार्ययोजना तयार गर्ने बित्तिकै तुरुन्तै नाफा हुँदैन । त्यसैले लगानी गरेपछि धैर्यपूर्वक त्यसको फल कुर्नुपर्छ ।

महिलाहरूले कस्तो परियोजनामा लगानी गर्नु उपयुक्त हुन्छ ?

कुनै पनि परियोजना आफैंमा पूर्ण हुँदैन । कुनै पनि क्षेत्रमा लगानी गर्दा अनेकौ समस्या आउँछन् त्यसलाई धैर्यपूर्वक अघि बढाएर स्थापित गर्नुपर्छ ।

नेपालको सन्दर्भमा महिलाहरूले के-कस्ता क्षेत्रमा बढी लगानी गरेको पाउनुभएको छ ?

नेपालमा महिलाहरूले सानादेखि ठूलासम्म क्षेत्रमा लगानी गरिरहेका छन् । विशेषगरी महिलाहरूले सुन-चाँदी, हीरा तथा जग्गामा लगानी गर्छन् ।

द्रव्यमा लगानी गर्नु कत्तिको लाभदायक हुन्छ ?

अहिलेको परिप्रेक्ष्यमा सुन-चाँदीमा गरिएको लगानीले निकै लाभ पुर्‍याएको छ । केही वर्ष यतादेखि सुनको मूल्यले आकाश छोएको छ, जसको प्रत्यक्ष फाइदा महिलाहरूलाइ पनि भएको छ । द्रव्यमा लगानी सुरक्षित लगानी हो । यो महिलाहरूको आफ्नो पेवा लगानी पनि हो ।

महिलाहरू किन द्रव्यमा लगानी गर्न आकषिर्त भएका होलान् ?

यसमा अरू क्षेत्र जस्तो ठूलो लगानी चाहिँदैन । यसलाई तुरुन्तै नगदमा परिवर्तन गर्न सकिन्छ । सानोतिनो बचतबाटै सामान जोडन सकिन्छ । यसका लागि त्यति झन्झट पनि हुँदैन । यो महिलाहरूको मौलिक लगानी हो ।

सौन्दर्य

संगीता प्रधान, सौन्दर्यविद

\"\"के कारणले छाला सुख्खा हुन्छ ?

सन्तुलित भोजनको कमी एवं भिटामिन ए तथा बीको अभावका कारण छाला सुख्खा हुन्छ । सुख्खा छालाबाट राहत प्राप्त गर्न सन्तुलित भोजन गर्नुपर्छ । बढी सोडा भएको साबुनले पनि छालालाई सुख्खा बनाउँछ । साबुनमा भएको अल्कालाइनले छालाको तेल नष्ट गर्छ ।

छाला सुख्खा भए त्यसको हेरचाह कसरी गर्ने ?

जाडो महिनामा साबुनको प्रयोग पटक्कै नगर्ने । अनुहारमा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्ने । एसीबाट सकेसम्म टाढा बस्ने ।

अनुहार सुख्खा भएको कसरी पत्ता लगाउने ?

गालाको भाग तथा मुखको वरिपरि सुख्खापन देखा पर्छ । अनुहार चिलाउनु सुख्खापनको पहिलो चरण हो । कुर्कुच्चा कडा भएको महसुस हुन्छ भने संक्रमणजस्तो अनुभव गर्न सकिन्छ ।

अनुहारको सुख्खापन हटाउन कस्तो फेसवास वा साबुन प्रयोग गर्नुपर्छ ?

अनुहारको सुख्खापन हटाउन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ ।

सुख्खा छालाका कारण के-कस्ता समस्या उत्पन्न हुनसक्छन् ?

सुख्खा छालालाई बेवास्ता गर्दा अनुहारमा चाउरी देखिन सक्छ । सुख्खा छालामा मेकअप पनि भनेजस्तो खुल्दैन ।

 

 

 Image