सार्क सम्मेलन आयोजनाको अवसरमा काठमाडौं सिंगारियो । सडकहरू सफा पारियो, चारैतिर रंगरोगन गरियो, जताततै झलमल्ल भयो । यसको तयारीका लागि उतिबेला द्रुत गतिमा काम अगाडि बढाइयो । अहिले केही महिना नबित्दै उही लथालिङ्गे पुरानो ताल सुरु भएको छ । हामी अरूलाई देखाउन विकास गर्छौं कि आफ्ना लागि ? सबै मिलेर सार्कअघि जसरी नै काम गर्ने हो भने हाम्रो सहर सफा एवं सुन्दर हुन लामो समय लाग्ने छैन । यसका लागि मात्र निरन्तरताको खाँचो छ ।
सिर्जना पाइजा, म्याग्दी
वैदेशिक रोजगारीमा जानुअघि
नेपालबाट थुप्रै महिला वैदेशिक रोजगारीमा गएका छन् जसमध्ये सबैजना पूर्ण सुरक्षित छैनन् । विदेश जानुअघि त्यहाँको वस्तुस्थिति नबुझी हचुवामा निर्णय गर्नु तथा मेनपावर एजेन्सीहरूले यथार्थ कुरा नबताउने कारणले पनि महिलाहरूले दुःख पाउनुपरेको छ । विदेशमा भरोसा गरेका व्यक्तिहरूले धोका दिएर हुने ठगी तथा अन्य विभिन्न कारणले अलपत्र परेका कारण महिला कामदारहरू सुरक्षित हुन सकेका छैनन् । सुखद् भविष्य निर्माण गर्ने सपना बोकेर विदेश पुगेका नेपाली चेलीहरूले अनेकौं समस्या बेहोरिरहेका छन् । यस्तो समस्या रोक्नु आवश्यक छ । विशेषगरी खाडी मुलुक जानुअघि पर्याप्त विचार पुर्याउनुपर्छ । सकेसम्म घरायसी काममा जानुहुँदैन, अस्पताल, मल, वृद्धाश्रमजस्ता संस्थाको काममा जानुपर्छ । विदेश जानुअघि एकपटक गएर फर्किएकाहरूसँग सल्लाह लिने तथा आवश्यक तालिम लिएर वैधानिक बाटोबाट मात्र जानुपर्छ । कहिल्यै आवेगमा आएर विदेश जाने निर्णय गर्नुहुँदैन । आफन्त एवं शुभेच्छुकहरूसँग सल्लाह गरेर मात्र विदेशिनुपर्छ ।
कुमारी लामा, महाराजगञ्ज
मनोरञ्जनमूलक समाचार थप्नुपर्यो
नारी मनोरञ्जक पत्रिका भए पनि यसमा त्यस्ता समाचार कमै छापिन्छन् । मनोरञ्जन समाचारमा पनि संगीत र सिनेमाका एक-दुई टुक्रा मात्र हुन्छन् जुन पर्याप्त छैन । राजधानी तथा मोफसलमा आयोजना भैरहने मनोरञ्जक कार्यक्रमका झलक तथा जानकारीहरू समेटिएका हुँदैनन् । त्यस्ता कुराहरू पनि उचित रूपले समेट्न सके नारी अझ पठनीय हुने थियो र यसको पाठक संख्या पनि बढ्ने थियो ।
शिला बस्नेत, हेटौंडा
पानी र बिजुली अभाव कहिलेसम्म ?
काठमाडौं उपत्यकामा हरेक वर्ष घरको संख्या बढ्दैछ, जनसंख्या बढ्दैछ तर यहाँ पानी र बिजुलीको चरम संकट छ । हुन त यो देशव्यापी समस्या हो तर पनि राजधानीकै अवस्था खराब हुनु दुःखको कुरा हो । यो समस्या छिट्टै समाधान हुने लक्षण पनि छैन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अपेक्षित रूपमा अघि बढ्न सकिरहेको छैन । अहिले पाइप बिछ्याउने काम सुरु गरिएको छ तर पानी नआइपुग्दै बिछ्याइएका पाइप बिग्रन पनि सक्छन् । जे होस् आशा गर्नुको विकल्प छैन । त्यस्तै बिजुलीको चरम संकट झेल्न विवश हाम्रो राजधानीले यो समस्याबाट कहिले मुक्ति पाउने हो भन्न गार्हो छ । चालु आयोजनाहरू विभिन्न बहानामा समय-समयमा रोकिने गरेको सुनिन्छ । विद्युत् उत्पादन गृहहरू पनि अनेकौं कारणले समय-समयमा बन्द हुने गरेका छन् । पानी र बिजुलीजस्ता जीवनयापनका लागि महत्वपूर्ण कुराहरूमा राज्यले विशेष ध्यान पुर्याई जनतालाई सुविधा दिनुपर्ने होइन र ?
कौशल्या अधिकारी, गोठाटार
राजधानीको सडक छिटो बनोस्
राजधानी काठमाडौंका सडक सार्है अव्यवस्थित एवं असुरक्षित छन् । जताततै भत्काइएका छन् तर कहिले बन्छ भन्ने कुराको टुङ्गो छैन । सडक बिस्तारका लागि भत्काइएका अधिकांश स्थानमा निर्माणको काम सार्है ढिलो भैरहेको छ । जनताले सास्ती बेहोर्नुपरिरहेको छ । यस्तो अवस्था छिट्टै अन्त्य होस् ।
मैया श्रेष्ठ, नयाँबजार, काठमाडौं
महिलाहरूचाहिँ सधैंभरि सहनशील नै भैरहनुपर्ने अनि पुरुषले चाहिँ थिचोमिचो गर्न हुने हो र ?(कामकाजी महिलाहरूको चुनौती, माघ नारी)
सिर्जना मालाकार, कालिमाटी
नारीमा प्रकाशित हुने टिप्स तथा प्रश्नोत्तरजस्ता स्तम्भ सार्है उपयोगी छन् । यो स्तम्भमा अझ नयाँ-नयाँ कुराले स्थान पाऊन् ।
सुधा लिम्बू, सैंबु, भैंसेपाटी
छतमा तरकारी फलाउनु निकै राम्रो कुरा हो । यस्तो चलन बढाएर परिवारको स्वास्थ्यमा योगदान दिन किन पछि पर्ने ? (छतमा तरकारी बारी, नारी पुस)
विमला कार्की, चाबहिल
नेपाली महिलाहरूमा चेतना बढाउन नारीले पुर्याएको योगदान प्रशंसनीय छ । नारीले आफूलाई अझै समयसापेक्ष बनाउँदै लगोस् ।
नीता अधिकारी, सीतापाइला
कुनै-कुनै महिना नारी समयमा आइपुग्दैन । हरेक महिना १ गते नै हात पर्ने व्यवस्था मिलाउन सकिँदैन ?
रुकु उप्रेती, गोंगबु
नारीको कभरमा प्रकाशित नायिका अशिष्मा नकर्मीको तस्बिर सार्है मन पर्यो । नेपाली चलचित्रकी आशालाग्दी अनुहार अशिष्मालाई शुभकामना ।
विनीता भट्ट, सोर्हखुट्टे
महिलामाथि हुने विभेद हट्न निकै कठिन छ तर असम्भव भने छैन ।
गीता शर्मा, गोर्खा
साइबर संसारमा रमाउने बालबालिकालाई रमाउन दिऊँ तर निगरानी भने अवश्य राखौं । (साइबर वल्र्डमा बालबालिका)
उर्मिला थापा, एकान्तकुना
गतांकमा प्रकाशित बाँझोपनको समस्या र उपचारसम्बन्धी प्रश्नोत्तर उपयोगी लाग्यो ।
कृपा भण्डारी, ठिमी
एक्काइसौं शताब्दीमा पनि मानव बेचबिखनजस्तो जघन्य अपराध भैरहनु मानव समाजका लागि कलंक हो । (मानव बेचबिखनको दुःखद पाटो, माघ नारी)
सीता राई, नख्खिपोट, ललितपुर