Successfully Copied

पुष्प व्यवसाय

पुष्प व्यवसाय नेपालमा बिस्तारै फस्टाउँदैछ । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दु:ख हरेक कार्यका लागि फूल चाहिन्छ ।

पुष्प व्यवसाय नेपालमा बिस्तारै फस्टाउँदैछ । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दु:ख हरेक कार्यका लागि फूल चाहिन्छ । उद्घाटन होस्, खुसी व्यक्त गर्न होस् वा नयाँ जीवनको सुरुवात फूलको बुकेले महत्वपूर्ण भूमिका खेल्छ । अहिले प्रशस्त नर्सरी खुलेका छन् । पुष्प व्यवसायले नर्सरी तथा बुके तयार गर्ने दुईवटा व्यवसायलाई सम्बोधन गर्छ । नयाँ फूल उमार्ने तथा ती फूलबाट सुन्दर बुके तयार गर्ने कार्यलाई पुष्प व्यवसायअन्तर्गत राख्न सकिन्छ । यो व्यवसायमा महिलाहरूको प्रशस्त सहभागिता छ । नर्सरीका लागि बढी लगानी चाहिए पनि कालान्तरमा यो व्यवसायले राम्रो फाइदा दिन्छ । यो सजिलो जस्तो लागे पनि जोखिमपूर्ण छ । नर्सरीका लागि राम्रो तथा मलिलो जग्गा आवश्यक हुन्छ । जग्गा मात्र भएर हुँदैन, फूल उत्पादनका लागि प्राथमिक खर्च पनि जोहो गर्नुपर्छ । बाँजो रहेको आफ्नै जग्गामा पनि नर्सरी सञ्चालन गर्न सकिन्छ । नर्सरीका लागि फराकिलो तथा मलिलो भू-भाग चाहिन्छ । अहिले फ्यानले पुष्पसम्बन्धी तालिम पनि दिने गरेको छ । यो तालिम लिएपछि नर्सरी संचालनमा पर्याप्त सहयोग पुग्छ । नर्सरी संचालन गर्दा नयाँ बेर्ना तयार गर्ने, मल भण्डारण गर्ने तथा पसलका लागि उचित ठाउँको व्यवस्थापन पनि गर्नुपर्छ । पानीको राम्रो व्यवस्था हुनुपर्छ । प्रकाश तथा हावा लाग्ने ठाउँ भए बिरुवा राम्रोसँग हुर्कन्छ । बिरुवा ढुवानीका लागि आफ्नै यातायातको साधन प्रयोग गर्नुपर्छ । वषर्ा तथा जाडो मौसममा बिरुवालाई जोगाउने संयन्त्र तयार गर्नुपर्छ । महिलाहरूले बसी-बसी गर्न सक्ने यो व्यवसायका लागि आफ्नो रुचिको पनि उत्तिकै भूमिका हुन्छ । फूल उत्पादन गर्ने क्रममा कर्मचारीहरूको पनि आवश्यकता पर्नसक्छ । यो राम्रो परिणाम प्राप्त गर्न सकिने उत्कृष्ट व्यवसाय हो । अहिले माला, बुके, इकेवाना तथा सजावटमा पनि फूलको प्रयोग हुन थालेको छ । आफूलाई फूलको संयोजन गर्ने तरिका थाहा भए यो व्यवसाय अघि बढाउन निकै सहज हुन्छ । यसमा प्रशस्त फाइदा पनि छ ।

पुँजी : १० लाख ।

प्रशिक्षण : फ्यानले दिने आधारभूत तालिम ।

स्थान : फराकिलो भू-भाग ।

फाइदा : २० प्रतिशतसम्म ।

——————————

अचार व्यवसाय

अचार नेपाली खानाको महत्वपूर्ण पक्ष हो । धेरैलाई अचारबिना खाना रुच्दैन । अचारले सामान्य दाल-भातलाई पनि स्वादिलो बनाउँछ । अचार बनाउँदा लामो चरण पार गर्नुपर्छ । समय नभएकाहरूले घरमा अचार बनाएर खान भ्याउँदैनन् । सबै चरण पार गरेर अचार तयार गरिएन भने अचार कुहिने तथा गल्ने डर हुन्छ । अचार बनाउँदा तरकारी राम्रोसँग केलाउनु तथा सुकाउनुका साथै सबै मरमसला आवश्यक मात्रामा राम्रोसँग मिसाउनुपर्छ । यसलाई गृहिणीहरूले घरमै तयार गर्न सक्छन् । विगत एक दशकदेखि नेपाली बजारमा अचार व्यवसाय निकै फस्टाएको छ । कम लगानी तथा विशेष योग्यता नचाहिने भएकाले पनि यो व्यवसाय फस्टाएको छ । नेपाली बजारमा मालु अचार, सगरमाथा अचार तथा नवरस अचारले निकै लोकप्रियता हासिल गरेका छन् । अहिले विभिन्न संघसंस्थाले अचार बनाउने तालिम प्रदान गर्छन् । यसका लागि न्युनतम १ हप्ताको तालिम दिइन्छ । विन कोअपरेटिभले पनि यस्तो तालिम दिने गरेको छ । अचार व्यवसाय घरबाटै प्रारम्भ गर्न सकिन्छ । सानोतिनो उत्पादनका लागि घरायसी चुल्हो पनि प्रयोग गर्न सकिन्छ । यसका लागि घाम लाग्ने आँगन आवश्यक हुन्छ । अचार व्यवसायका लागि सामानहरूको भण्डारणको महत्वपूर्ण भूमिका छ । अचार व्यवसाय सानै पुँजीबाट प्रारम्भ गर्न सकिन्छ ।

 

कच्चापदार्थ

प्लास्टिक वा सिसाको बोतल, चक्की, मिक्सी, तराजु, प्याकिङ प्लास्टिक, मसला, नुन, हिङ, रायो, हलेदो, अमिलो आदि । मौसमअनुसारका तरकारी तथा अचार बनाउने सामग्रीहरू । हरेक सामग्रीबाट अलग-अलग अचार बनाउन सकिन्छ । सुरुको समयमा आफ्ना उत्पादन प्लास्टिकमा प्याकिङ गर्न सकिन्छ ।

 

समय

अचार तथा सस तयार गर्दा सुरुमा चारदेखि पाँच घन्टा लाग्न सक्छ । तयारी अचार एअर टाइट बोतलमा राख्नुपर्छ । यो काममा सहयोगी भए अझ सजिलो हुन्छ । एक लट अचार तयार गर्न ७ दिनसम्म लाग्न सक्छ  ।

प्याकिङ

अचार तयार भएपछि प्लास्टिकको थैली तथा बोतलमा राख्न सकिन्छ । आफ्नो लेबलिङ बनाएर अचारको मार्केटिङ सकिन्छ । सुरुमा साधारण प्याकिङबाटै पनि यो व्यवसाय प्रारम्भ हुन सक्छ । व्यापार बढ्दै गएपछि प्याकिङ परिवर्तन गर्न सकिन्छ । प्याकिङ गर्दा अचारमा भएको तेल-मसला आदि लिक हुन दिनुहुँदैन । आफ्नो अचारको ब्रान्ड बनाउनुपर्छ । अचार तयार गर्दा सरसफाइ तथा शुद्धतामा ध्यान पुर्‍याउनुपर्छ ।

लाभांश

उत्तम गुणस्तरको अचार प्रतिकिलो ३० रुपैंयाँसम्ममा तयार हुन्छ । यसलाई ५० रुपैंयाँसम्ममा बिक्री गर्न सकिन्छ । यो लघु उद्योगबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ ।

फाइदा

कम पढेका महिलाहरूले पनि यो व्यवसाय गर्न सक्छन् । घरमै बसेर कम लगानी कम प्रविधिको सहयोगमा यो काम प्रारम्भ गर्न सकिन्छ ।

 

घरेलु उद्योगका लागि आवश्यक

पुँजी : न्यूनतम ५० हजार ।

तालिम : अचार बनाउने तालिम, आफ्नो खुबी वा पारिवारिक परम्परा ।

स्थान : आफ्नै घर वा भाडाको फ्ल्याट ।

——————————

सौन्दर्य व्यवसाय

ब्युटिसियनको काम अहिले हरेक महिलाको पहिलो रोजाइमा पर्छ । पार्लरमा बढी लगानी पनि आवश्यक हुँदैन । थोरै लगानीबाटै महिलाहरूले प्रशस्त आम्दानी गर्ने भएकाले यसलाई राम्रो व्यवसाय मानिएको छ । सानोतिनो पार्लरबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । यसका लागि बढी कर्मचारीको आवश्यकता पनि पर्दैन । शिक्षा पनि सामान्य भए पुग्छ । तालिम लिएपछि हात सफा भए आफैले पार्लर संचालन गर्न सकिन्छ । पार्लरको माध्यमबाट स्किन केयर, हेयर केयर, मेहन्दी, मेनिक्योर, पेडिक्योर तथा मेकअपका माध्यमबाट आय आर्जन गर्न सकिन्छ । आफ्नो घरमा ठाउँ छ भने यसलाई घरैमा संचालन गर्न सकिन्छ । पार्लरको तालिम भरसक राम्रो ठाउँमा लिनुपर्छ । ब्युटिपार्लरका लागि आफूमा सौन्दर्यसम्बन्धी जानकारी पनि हुनुपर्छ ।

सौन्दर्य तथा यसको उत्पादनको व्यापार

अहिले सहर-बजार होस् वा गाउँ मानिसहरू आफ्नो सौन्दर्यलाई लिएर सजग भएको अनुभव गर्न सकिन्छ । मानिसहरू आफ्नो आम्दानीको केही भाग पार्लर तथा स्पामा खर्च गर्छन् । पार्लरको काम सिक्न खासै कठिन पनि छैन । यो अहिले रोजगारीको राम्रो अवसर तथा आम्दानीको माध्यम बनेको छ । यसमा गरिएको लगानीबाट सबैजसो महिलाले आम्दानी गरिरहेका छन् । यो विशेषगरी महिलाहरूका लागि उपयुक्त व्यवसाय सावित भएको छ । तालिम लिएर केही लगानीमा पार्लर खोल्न सकिन्छ । अहिले नेपालका चोक-चोकमा पार्लर खुलेका छन् भने ब्युटिसियनहरूका लागि विभिन्न तालिम केन्द्रहरू पनि संचालनमा छन् । यसका लागि सिटिइभिटीबाट तालिम तथा सम्बन्धन प्रदान गरिन्छ । पार्लर खोल्दा त्यसलाई घरेलुमा दर्ता गराउनुपर्छ ।

फाइदा

यसलाई घरायसी रूपमा पनि खोल्न सकिन्छ भने चल्ने ठाउँमा सानो स्पेश लिएर पनि सुरु गर्न सकिन्छ । यसका लागि बढी लगानीको आवश्यकता पनि पर्दैन । महिलाहरूले सौन्दर्यसम्बन्धी तालिम लिएपछि पार्लर खोल्न सक्छन् । आफ्नो चाहनाअनुसार चल्ने ठाउँमा पार्लर खोल्न तथा लगानी गर्न सकिन्छ  । पार्लरका लागि सौन्दर्य प्रसाधन, ड्रेसिङ टेवल, फेसियल रुम, पेडिक्योर गर्ने कुर्सी आदि सामग्री आवश्यक हुन्छन् । पार्लर चल्तीको ठाउँमा भए कर्मचारीको आवश्यकता पनि पर्नसक्छ ।

ब्युटिपार्लरको संरचना

पार्लर सफा तथा सुन्दर हुनुपर्छ । पार्लरको काउन्टरदेखि कैंचीसम्म सफा हुनुपर्छ । सौन्दर्य तथा स्वास्थ्य एक-अर्काका परिपूरक हुन् । त्यसैले पार्लर सफा हुनुपर्छ । यसलाई चाहिने सबै आधारभूत तत्वहरू सुसज्जित हुनुपर्छ । पार्लर केवल केश काट्ने ठाउँमात्र होइन । समयअनुसार पार्लरलाई परिस्कृत बनाउँदै लानुपर्छ । सानो ठाउँ होस् वा ठूलो मिलाएर सबै सेवा प्रदान गर्ने गरी यसको संरचना तयार गर्नुपर्छ । पार्लरमा चिसो तथा तातोपानीको व्यवस्था हुनुपर्छ । बजारमा आफ्नो फरक पहिचान बनाउनुपर्छ । तालिम संचालन गर्ने भए फराकिलो ठाउँ तयार गर्नुपर्छ ।

समयसँगै परिस्कार

सौन्दर्यको संसार निकै परिवर्तित छ । समयअनुसार नयाँ-नयाँ प्रसाधन, हेयर कट तथा फेसियलका विधि फरक-फरक हुँदै गएका छन् । ती सबै कुरालाई पछ्याउनुपर्छ । टिभी च्यानल तथा पत्रिकाहरू नियमित रूपमा पढ्नुपर्छ । नयाँ ट्रेन्डका सम्बन्धमा तालिम लिनुपर्छ । तालिम लिन विदेश पनि जान सकिन्छ । अहिले त अझ फरक-फरक विधाका लागि फरक-फरक तालिम केन्द्र

खुलेका छन् ।

पुँजी : १ लाख ।

प्रशिक्षण : सौन्दर्यसम्बन्धी तालिम ।

स्थान : आफ्नो घर तथा बाहिर कुनै ठाउँ लिएर सुरु गर्न सकिन्छ ।

फाइदा : २० देखि ६० प्रतिशत ।

 ——————————

सौन्दर्य प्रसाधनको व्यवसाय

सौन्दर्य प्रसाधनको व्यवसाय पनि समयअनुसार बिस्तार भैरहेको छ । ब्युटिसियन हुने क्षमता छैन भने सौन्दर्य प्रसाधनको व्यवसाय गर्न सकिन्छ । अहिले कतिपय ब्रान्डले राम्रो जनसम्पर्क भएका महिलाहरूलाई फ्रेन्चआइजी दिन्छन् । आफ्ना सामानहरू यस्ता महिलाहरूका माध्यमबाट बिक्री गरेर उत्पादकहरूले आफ्नो विज्ञापनमा लाग्ने रकम जोगाउँछन् । महिलाहरूले यस्ता सामग्री बिक्री गरेर राम्रै आम्दानी गर्छन् । एकै पटक सामान खरिद गर्दा उनीहरूलाई कम्पनीले राम्रो छुट प्रदान गर्छ । महिलाहरूका लागि यो अनुकूल व्यवसाय मानिएको छ । धेरै जनासँग सम्पर्क हुँदा आफ्नो डिलिङ गर्ने क्षमता विकसित हुन्छ । केवल कस्मेटिक खरिद गर्दा आफ्नो केही रकम लगानी हुन्छ । नेपालमा धेरै महिलाले ओलिफलेम तथा रोवियसको व्यापारमा आबद्ध भएर थोरै लगानीमा प्रशस्त आम्दानी गरिरहेका छन् ।

घरैमा सौन्दर्य प्रसाधनको उत्पादन

अहिले मानिसहरू रसायनबाट निकै दिक्क छन् । त्यसैले पनि जोकोही हर्बल उत्पादन प्रयोग गर्न चाहन्छन् । रसायनले अनुहारको छालामा विभिन्न समस्या निम्त्याएकाले सचेत वर्ग हर्बल उत्पादनतर्फ मोडिएका हुन् । अहिले घरमै बनेका हर्बल क्रिम, गाजल, साबुन तथा स्याम्पुको क्रेज बढिरहेको छ । घरमा बनेको उत्पादन खासै महँगो हुँदैन । यो प्राकृतिक हुने भएकाले यसले छालालाई खासै असर पुर्‍याउँदैन । हर्बलका विषयमा ज्ञान छ भने घरमै सौन्दर्य प्रसाधन उत्पादन एवं बिक्री गरी नाफा आर्जन गर्न सकिन्छ । यसका लागि अहिले विभिन्न संस्थाहरूले स्वरोजगार तालिमको व्यवस्था पनि गरेका छन् । तालिम लिएपछि आफैले यस्ता प्रसाधन उत्पादन गर्न सकिन्छ । अहिले नेपालमा चिउरी, अमला, निम तथा मेवाका साबुन निकै लोकप्रिय छन् । घरमै बनाइएको गाजलको पनि राम्रो माग छ । उत्पादन मात्र होइन दक्षता हासिल गरेपछि तालिम केन्द्र पनि खोल्न सकिन्छ । यसका लागि खासै लगानी चाहिँदैन । गुणस्तरीय भए यस्ता उत्पादनले चाँडै नै बजार लिन्छन् ।

——————————

एनिमेसनको संसार

सिर्जनामा रुचि राख्नेहरूले जीवनमा फरक खालका काम गर्न सक्छन् । केही गर्ने चाहना भए एनिमेसनको संसारमा करियर बनाउन सकिन्छ । अहिले विश्वभर यसको क्रेज बढिरहेको छ । विज्ञापन, फिल्म, कार्टुन तथा सिरियल आदिमा एनिमेसन गरिन्छ । यसमा सिर्जनाको महत्वपूर्ण स्थान हुन्छ । एनिमेसनको क्षेत्रमा करियर बनाउन आफूलाई त्यसैअनुरूप तयार पार्नुपर्छ ।

शैक्षिक योग्यता

एनिमेसनको क्षेत्रमा करियर बनाउन प्रबल इच्छाशक्ति आवश्यक हुन्छ । यसका लागि १२ कक्षा उत्तीर्ण हुनु आवश्यक छ । एनिमेसनको प्रशिक्षणसँगै अन्य विषय पनि अध्ययन गर्न सकिन्छ ।

यसका प्रोफेसनल कोर्स पनि उपलब्ध छ । कुनै-कुनै कम्पनीले जागिरका लागि प्रोफेसनल तालिम पनि प्रदान गर्छन् ।

के आवश्यक छ ?

राम्रो एनिमेटर बन्न कडा मेहनत, कल्पना शक्ति, फरक सोच एवं धैर्य आवश्यक हुन्छ । समयसीमाभित्र काम सक्ने हुनुपर्छ ।

कसले गर्न सक्छन् ?

नयाँ सोच राख्ने तथा रचनात्मक कार्यमा रुचि भएकाहरूका लागि यो उपयोगी क्षेत्र हो ।

व्यक्तिगत विशेषता

एनिमेसनमा करियर बनाउन चाहनेहरूका लागि कुनै विशेष चीजको आवश्यकता पर्दैन तर रचनात्मक हुनुपर्छ । स्केच बनाउने, चित्र कोर्ने तथा कम्प्युटरमा रुचि राख्नेहरू यो क्षेत्रमा लाग्न सक्छन् ।

रोजगारीको अवसर

यो क्षेत्रमा विज्ञहरूले आफूले रोजेको ठाउँमा जागिर पाउँछन् । यो यस्तो संसार हो जहाँ आफ्नो खुबीअनुसार विश्वभर बिक्ने भइन्छ ।

 

आम्दानी

सुरुमा १० हजारदेखि १५ हजारसम्म कमाउन सकिन्छ । अनुभव तथा रचनात्मक शक्तिको विकाससँगै आम्दानी पनि बढ्दै जान्छ ।

——————————

बुटिकको सीप

घरायसी रूपमा गरिने व्यवसायमध्ये बुटिक पनि महत्वपूर्ण व्यवसाय हो । नेपाली समाजमा बुटिक एउटा राम्रो व्यवसायका रूपमा परिचित छ । बुटिकमा महिलाहरूको वर्चश्व छ । महिलाहरूले यसबाट राम्रो आयआर्जन गरिरहेका छन् । आकर्षक देखिनु हरेक महिलाको पहिलो चाहना भएको पाइन्छ । त्यसैले पनि नेपालमा बुटिक व्यवसाय निकै फस्टाएको छ । हरेक उपभोक्ता नयाँ शैलीका पहिरनमा सजिन चाहन्छन् । त्यसैलाई मध्यनजर गर्दै नयाँ-नयाँ प्रकारका बुटिकहरू संचालनमा आएका छन् । फलस्वरूप धेरै महिलाले यसका माध्यमबाट प्रत्यक्ष वा परोक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् ।

फाइदा

यो व्यवसाय घरमै वा कुनै चल्तीको क्षेत्रमा प्रारम्भ गर्न सकिन्छ । यसका लागि त्यति धेरै लगानीको आवश्यकता पनि पर्दैन । अहिले महिलाहरू फेसन डिजाइनिङको कोर्स पूरा गरेर बुटिक व्यवसायमा आइरहेका छन् । नेपालमा विभिन्न फेसन कलेज पनि खुलेका छन् । आफ्नो चाहनाअनुसार यो कोर्ष अध्ययन गरी चल्ने ठाउँमा बुटिक खोल्न सकिन्छ । बुटिकका लागि सिलाइ मेसिन, कारिगर, धागो, टाँक तथा लेसहरूजस्ता कच्चापदार्थ आवश्यक हुन्छन् ।

बुटिकलाई आफ्नै हिसाबले विशेष बनाउन सकिन्छ । कसैले र्फमल वा कसैले क्याजुअल पोसाक तयार गर्छन् । यद्यपि एउटै विषयमा सीमित रहँदा आफ्नो परिधि बृहत् बनाउन सकिँदैन । फेसन ट्रेन्डका सम्बन्धमा जागरुक रहनु अहिले स्ट्याटस सिम्बोल बनिसकेको छ । त्यसैले आफ्नो प्रतिभाको क्षेत्र बिस्तार गर्न पनि यो व्यवसाय सहयोगी साबित हुनसक्छ ।

बुटिकको संरचना

बुटिक सुरु गरेर मात्र हुँदैन त्यसलाई स्टाइलिस पनि बनाउन सक्नुपर्छ । सानो भए पनि राम्रो भए सबैले त्यसको प्रशंसा गर्छन् । बुटिकको अर्थ केवल कपडा तयार गर्ने मात्र होइन त्यसको संरचनामा पनि विशेष ध्यान दिनुपर्छ । बजारमा आफ्नो फरक पहिचान बनाउन सक्नुपर्छ । आफ्नो बुटिकमा ग्राहकहरूलाई बढी भन्दा बढी सुविधा दिने प्रयास गर्नुपर्छ । बुटिकको कार्यमा मेजरमेन्ट, सिलाइ, रंगाउने आदि कार्य पर्छन् । यी यस्ता कार्यका लागि कारिगर राख्नुपर्छ । आफूले बुटिक खोलेपछि कारिगर पनि आफ्नै हुनुपर्छ । बाहिरबाट हायर गरिएका कारिगर महँगा पर्न सक्छन् । कारिगरहरू आफ्नो भावना तथा निर्देशन बुझ्ने खालका हुनुपर्छ ।

 

फेसनमा रहनु आवश्यक

नयाँ-नयाँ फेसन सृजनासँगै आफूलाई परिस्कृत गर्दै लानुपर्छ । नयाँ-नयाँ स्टाइल एवं ट्रेन्डका बारेमा पूर्ण जानकारी राख्नुपर्छ । चलेका पत्रिका, मलहरूको सर्वे, फेसन शोका लेटेस्ट डिजाइन आदि हेर्नुपर्छ । विभिन्न फेसन शोहरूमा पनि भाग लिनुपर्छ । यसो गर्दा आफू खुल्न सकिन्छ ।

आफूले बनाएको पहिरनको मूल्य कति पर्छ पहिले नै तय गर्नुपर्छ । कपडाको डिजाइनिङ, धुलाइ, रंगाइ, कढाइ, धागो, पोते, टाँक आदि खर्चमा विशेष ध्यान दिनुपर्छ । बिजुली, कर्मचारी, फोन, तलब, खाजा, यातायात आदि सबै खर्च जोडेर पहिरनको मूल्य निर्धारण गरिन्छ ।

बुटिकका लागि आवश्यक कुराहरू

पुँजी : न्यूनतम २ लाख रुपैंयाँबाट सुरु गर्न सकिन्छ ।

तालिम : फेसन डिजानिङ ।

स्थान : आफ्नै घर वा कुनै फ्ल्याटमा ।

मुनाफा : २० देखि ५० प्रतिशत ।

——————————

ज्वेलरी डिजाइनिङ

गहना व्यक्तित्वमा निखार ल्याउने माध्यम हो । त्यसैले यसको प्रयोग पनि व्यापक छ । नेपालमा विभिन्न ठूला ब्रान्डले आफ्नो शोरुम खोलिरहेका छन् । नेपाली महिलाहरू पनि सुन तथा हीराका गहनाप्रति आकषिर्त हुँदैछन् । गहनाको संसार अचम्मसँग अघि बढिरहेको छ फलस्वरूप ज्वेलरी डिजाइनिङका क्षेत्रमा पनि करियर निर्माण गर्न सकिने भएको छ । अहिले नेपाली युवाहरू पनि यसतर्फ आकषिर्त हुँदै गएका छन् । नेपालमा ज्वेलरी डिजाइन बिस्तारै राम्रो करियरका रूपमा स्थापित हुने स्थितिमा छ । विशेषगरी युवाहरू यो करियरतर्फ आकषिर्त त छन् तर यसका लागि आफूमा केही खुबी हुनुपर्छ ।

रचनात्मकता

कम्प्युटरको विकासले ज्वेलरी डिजाइनिङलाई सजिलो बनाएको छ तर पनि यो प्रविधिको सही प्रयोग रचनात्मक काममा लगन भएकाहरूले मात्र गर्न सक्छन् । अहिले परम्परागत मात्र होइन आधुनिक शैलीका गहना पनि प्रशस्त देखिन्छन् । ज्वेलरी डिजाइनका लागि १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । यो पाठ्यक्रममा डिग्री, स्नातक, ग्राजुयसन तथा पोस्ट ग्राजुएसन पनि गर्न सकिन्छ । यसमा छोटो अवधिको तालिमको व्यवस्था पनि छ ।

 

व्यावहारिक तालिम

ज्वेलरी डिजाइनिङमा भर्ना लिनुभन्दा पहिले यो शिक्षा व्ावहारिक छ कि छैन पहिल्याउनुपर्छ । ज्वेलरी डिजाइनरहरूले दिने तालिम प्रभावकारी हुनुपर्छ । व्यवहारिक ज्ञान हासिल गर्ने प्रयास गर्नुपर्छ ।

सम्भावना

ज्वेलरी डिजाइनिङको कोर्स गरेपछि सम्भावनाका विभिन्न ढोका खुल्छन् । ठूल्ठूला शोरुमहरूले फुल टाइम ज्वेलरी डिजाइनर हायर गर्छन् । यसमा मार्केटिङको पनि सम्भावना हुन्छ ।

——————————

वेब डिजाइनिङमा करियर

मानिसहरूको बदलिँदो जीवनशैलीसँगै नेपालमा पनि अनलाइन बिजनेस निकै बढिरहेको छ । यसको माग पनि वृद्धि भैरहेको छ । विशेषगरी व्यस्त जीवनशैलीमा अनलाइन निकै सहयोगी साबित भएको छ । अनलाइन बिजनेस विभिन्न प्रकारका हुन्छन् । यसलाई आफ्नो सहजताका हिसाबले प्रयोगमा ल्याउन सकिन्छ ।

आधारभूत व्यापारिक उपाय

प्रविधिसँग खेल्न मन पराउने भए कम्प्युटर, इन्टरनेट एवं बिजनेस सञ्जाल तीन तत्व प्रमुख छन् । यिनैको माध्यमबाट घरमै बसी-बसी राम्रो आय आर्जन गर्न सकिन्छ ।

काम सुरु गर्नुभन्दा पहिले यो व्यापार केवल नेपालमा वा अरु कुनै देशमा संचालन गर्ने निश्चित गर्नुपर्छ । उक्त निर्णय गरेपछि डोमेन लिन सजिलो हुन्छ ।

कुनै पनि व्यवसाय सुरु गर्दा विशेष योजना बनाउनुपर्छ जसका कारण भविष्यमा आउने विभिन्न समस्यासँग जुध्न सकिन्छ ।

कानुनी झन्झटबाट जोगिन सबै नियम तथा सर्तहरू जान्नुपर्छ ।

बजारमा कस्ता ग्राहक छन्, आफ्ना लक्षित ग्राहक को-को हुन्, उनीहरूसम्म कसरी पुग्ने, बजारमा कस्तो प्रतिस्पर्धा छ र त्यसमा आफूलाई स्थापित गर्न के-के गर्नुपर्छ आदि कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

डोमेन नेम

सबैभन्दा पहिले डोमेन नेम रजिस्टर गर्नुपर्छ ।

स्मार्ट टिप्स

नेपाललाई लक्षित गरिएको छ भने इन नेपाल डोमेन नेम लिनुपर्छ ।

 

वेब होस्टिङ स्पेस लिनुपर्छ

आफ्नो वेबसाइट सर्बरका लागि वेब होस्टिङ स्पेस खरिद गर्नुपर्छ जसका लागि मासिक शुल्क तिर्नुपर्ने हुन्छ ।

 

वेबसाइट बनाउने

हिजोआज वेबसाइट बनाउने विभिन्न संस्था खुलेका छन् । आफ्नो उत्पादनको विशेषता तथा विश्लेषणका आधारमा वेबसाइट बनाउनुपर्छ । आफ्ना आवश्यकताहरू बताएपछि प्राविधिकहरूले वेब डिजाइन गरिदिन्छन् ।

 

सुरक्षित भुक्तानी

अनलाइन रिटेल पसल खोल्ने विचार छ भने भुक्तानीका लागि बैंकका साथै कुनै थर्ड पार्टीको सेवा लिनुपर्छ । त्यसका लागि विभिन्न अनलाइन पेमेन्ट सेवाहरूको मद्दत लिन सकिन्छ ।

 

केही आवश्यक टिप्स

आफ्नो वेबसाइटलाई आकर्षक बनाउनुपर्छ ताकि एकपटक भिजिट गरेपछि ग्राहकहरूमा फेरि त्यही साइटमा आउने चाहना होस् ।

हिजोआज सबैका साथमा मोबाइल हुन्छ । आफ्ना ग्राहकहरूसम्म पुग्न यो राम्रो हतियार बन्न्ा सक्छ ।

सबै नियम तथा सर्त उल्लेख गर्नुपर्छ ।

सोसल मिडियाका साइटको माध्यमबाट आफ्नो वेबसाइडको प्रचार-प्रसार गर्नुपर्छ ।

फिडब्याक कोलमको माध्यमबाट ग्राहकहरूको फिडब्याक लिइरहनुपर्छ ।

——————————

ट्युसन : रोजगारीको सजिलो माध्यम

बालबालिकाहरूलाई पढाउने काम आजका व्यस्त अभिभावकका लागि ठूलो समस्या बनिरहेको छ । बढ्दो सहरीकरण तथा व्यस्त जीवनशैलीका कारण बालबालिकाहरूलाई पढाउन समय निकाल्नु आजका अभिभावकहरूका लागि निकै कठिन काम हो । त्यसमा पनि अहिलेको कोर्स सबै आमाबुवाले पढाउन सक्दैनन् । अंंग्रेजी कमजोर भएका आमाबुवाहरूका लागि त अहिलेका बालबालिकाहरूको शिक्षा निकै गार्‍हो छ । समय तथा शिक्षा स्तर दुवैका कारण अभिभावकहरू आफ्ना सन्ततिलाई पढाउन सक्दैनन् । त्यसैले अहिले ट्युसन सेन्टरहरूले रामै्र बजार लिएका छन् । ट्युसन सेन्टरमा सानादेखि ठूला कक्षासम्मकालाई पढाउने व्यवस्था हुन्छ ।

पढाउने शिक्षकलाई आर्थिक सहयोग हुने तथा अभिभावकहरू पनि पढाउने जिम्मेवारीबाट मुक्त हुने भएकाले ट्युसन सेन्टर समयसँगै मौलाउँदै गएको पाइन्छ । नेपालकै तथ्यांक हेर्ने हो भने पनि यसको माग निरन्तर बढिरहेको छ । स-साना नानीहरूलाई पनि ट्युसन राख्ने चलन बढिरहेको छ । फरक-फरक विषय पढ्ने कि सबै विषय पढ्ने त्यसैअनुसार फरक-फरक हिसाबले ट्युसन पढाइन्छ ।

चार कक्षासम्म त एउटै शिक्षकले सबै विषय पढाउन सक्छन् तर कक्षा बढ्दै गएपछि एउटै शिक्षकले सबै विषय पढाउन सक्दैनन् । त्यसैले अहिले खुलेका ट्युसन सेन्टरमा सबै विषय एकै ठाउँमा पढाइन्छ । ट्युसन पढाउने काम एक प्रकारको सेवा पनि हो । विषयअनुसार यसको शुल्क फरक-फरक हुनसक्छ । कुनै विषयमा पारंगत भए ट्युसन एउटा राम्रो रोजगारी हुन सक्छ । आफ्नै घर वा कतै कोठा लिएर कम लागतमा ट्युसन सेन्टर स्थापना गर्न सकिन्छ । यो शिक्षकहरूका लागि राम्रो पार्ट टाइम जब पनि हो । यसमा त्यति लगानी पनि गर्नुपर्दैन । यसका लागि कुनै प्रकारको फरक तालिम पनि लिनु पर्दैन । आफूले जानेको कुरा अरूलाई सिकाउनु निकै सजिलो पेसा हो । त्यसैले अहिले घरघरमा तथा संस्थागत हिसाबले ट्युसन पढाउने तथा पढ्ने चलन बढिरहेको छ ।

——————————

व्यायाम प्रशिक्षक

अहिलेको संसार फिट एण्ड फाइन रहनेहरूको हो, जसका कारण जुनसुकै व्यक्ति फिट रहन चाहन्छ । स्लिम तथा टि्रम रहनु सौन्दर्यका हिसाबले पनि लाभदायक छ । त्यसमा पनि स्वास्थ्यको दृष्टिमा शारीरिक बनावट सुडौल हुनुपर्छ । सेलिब्रेटिदेखि गृहिणीसम्म सबै फिट रहन कटिबद्ध हुन्छन् । हिजोआज नेपालमा पनि फिटनेस सेन्टर धाउने क्रम बढिरहेको छ । सहर-बजारमा नयाँ-नयाँ फिटनेस सेन्टर खुलिरहेका छन् । कतिपय ठाउँमा पाँचतारे होटलको अनुभव गराउने खालका फिटनेस सेन्टर पनि खुलेका छन् । हरेक फिटनेस सेन्टरले अन्तर्राष्ट्रिय हिसाबको सेवा प्रदान गरिरहेका छन् जहाँ विभिन्न सेवा प्रदान गरिन्छ । फिटनेस ट्रेनर अहिलेको नयाँ रोजगारी पनि बन्दै गएको छ । फिटनेस ट्रेनरको पेसा नाम र दाम दुवै दृष्टिले उपयुक्त भएकाले उनीहरूको माग पनि बढ्दै गएको हो ।

प्रशिक्षक बन्न : व्यायाम प्रशिक्षक बन्न इच्छुकहरूले प्लस टु उत्तीर्ण गर्नुपर्ने हुन्छ । त्यसपछि ग्राजुएसन तथा पोस्ट ग्राजुएसनका लागि अघि बढ्न सकिन्छ । यो क्षेत्रमा नयाँ-नयाँ प्रविधि भित्रिएका छन् । त्यसैले आफूलाई अपटुडेट राख्नुपर्छ । यसमा पढ्नुपर्छ तर पनि आफ्नो कार्यकौशलको पनि कुरा हुन्छ । नेपालमा ट्रेनिङका लागि विभिन्न संस्था खुलेका छन् । यो विषयमा लामो तथा छोटो दुवै प्रकारको तालिम दिन-लिन सकिन्छ । यसको तालिममा सैद्धान्तिक एवं व्यवहारिक दुवै ज्ञान प्रदान गरिन्छ ।

-    गर्न सकिने काम

-    एरोबिक्स ट्रेनर

-    जिम इन्ट्रक्टर

-    व्यक्तिगत ट्रेनर

व्यक्तिगत विशेषता : फिटनेस ट्रेनिङलाई आफ्नो करियर बनाउन मेहनत तथा धैर्य आवश्यक हुन्छ । अल्छी मानिसहरू यो क्षेत्रका लागि उपयोगी हुँदैनन् । घन्टौंसम्म पसिना बगाउने तथा मेहनतपछि हाँस्नसक्ने मानिसहरूलाई यो क्षेत्रले स्वागत गर्छ । उत्कृष्ट ट्रेनरले आफूलाई शिष्ट तथा सौम्य बनाउनुपर्छ । दिनहुँ नयाँ कुरा सिक्ने चाहना नयाँ प्रविधिको ज्ञान, ज्ञानका लागि समर्पणजस्ता गुण यसका लागि उपयोगी मानिन्छन् ।

क्लास : राम्रो ट्रेनर बन्न परिश्रमका साथ अभ्यास गर्नुपर्छ । स्वास्थ्य जगत्का बारेमा जानकारी राख्नुपर्छ । बायोकेमेेनिक्लोजी, काइनेसियोलोजी, एक्सरसाइज टेक्निक, एनाटमी, फिजियोलोजी तथा पोषणका विषयमा जानकारी लिनुपर्छ । यसका लागि राम्रो सञ्चार कला पनि हुनुपर्छ । आफूले गराउन चाहेको कुनै पनि प्याकेजका विषयमा पर्याप्त ज्ञान हुनुपर्छ ।

अवसर : आधुनिक जीवनशैलीमा फिटनेस ट्रेनरको माग तथा उनीहरूको सम्मान निरन्तर बढिरहेको छ । यो कोर्स गरेपछि जिम, हेल्थ क्लब, फिटनेस सेन्टर, होटल, स्पा, टुरिस्ट रिसोर्ट आदि ठाउँहरूमा काम गर्न वा आफैंले त्यस्ता सेन्टर खोल्न सकिन्छ ।

आम्दानी : अनुभव तथा काम गर्ने शैलीमा आउने परिवर्तनअनुरूप आम्दानी बढ्दै जान्छ । यसमा राम्रो सेवा प्रदान गरेवापत टिप्स पनि प्राप्त गर्न सकिन्छ । अहिले घर-घरमा पनि फिटनेस सेवा प्रदान गर्ने काम प्रारम्भ भैसकेको छ ।

मुख्य काम

-    मानिसहरूलाई फिटनेसका विषयमा जानकारी दिने ।

-    फिटनेसको लक्ष्य तय गर्ने ।

-    व्यक्तिअनुसार उचित डाइट चार्ट बनाउने ।

-    मनिसहरूलाई राम्रोसँग व्यायाम गर्न तथा उपकरण चलाउन सिकाउने ।

——————————

मनोरञ्जनसँगै कमाइ

नृत्यलाई मनोरञ्जनको माध्यम मानिन्छ । यो राम्रो व्यायाम तथा रमाइलो गर्ने माध्यम हो । नृत्य गर्दा मानिसले सबै कुरा बिर्सन्छ । रत्यौली एवं तीजको नृत्यलाई परम्परासँग जोडेर हेरिन्छ तर अहिले आधुनिक नृत्य कला साल्सा, जुम्बा तथा एरोबिक्सलाई फिटनेसको माध्यम पनि मानिन्छ । अहिले महिलाहरू यस्ता नृत्यप्रति निकै आकषिर्त छन् । कतिपयका लागि यो रोजगारीको राम्रो माध्यम बनेको छ । नृत्य सिकाउने काम करियरकै रूपमा विकास भएको छ । त्यसैगरी नृत्यलाई आफ्नो लक्ष्य बनाउनेहरूका लागि विभिन्न नृत्य प्रशिक्षक केन्द्रहरू खुलेका छन् । त्यहाँ विभिन्न विधा तथा प्रकारका नृत्य सिक्न सकिन्छ । यस्ता नृत्य प्रशिक्षण केन्द्रहरू कला केन्द्रको नामबाट प्रचलित छन् । नेपालमा नृत्यको व्यवसायीकरण भएको एकदशक भैसकेको छ । अहिले विभिन्न स्कुले कार्यक्रम, फेसन शो तथा विवाह पार्टीमा पनि नृत्य टोलीलाई पैसा तिरेर बोलाउने चलन बढिरहेको छ । नृत्य गरेर राम्रो आय आर्जन गर्न सकिन्छ । नृत्य सिकेर म्युजिक भिडियो तथा नृत्य प्रशिक्षकको हैसियतले काम गर्न सकिन्छ । हिजोआज स्कुलमा पनि नृत्यको प्रशिक्षण प्रदान गरिन्छ । विद्यालयहरूमा नृत्य सिकाउने शिक्षिकाको हैसियतले काम गर्न सकिन्छ । हाल नृत्यमा कौडा, झ्याउरे, तामाङ सेलो तथा सतार नृत्यको माग बढी छ । त्यसबाहेक मणिपुरी तथा कत्थक पनि धेरैको रोजाइमा छ । मधुरिमा कलाकेन्द्रका मन राई नेपालमा बिस्तारै नृत्य व्यवसायीकरण हुँदै गएको कुरा बताउँछन् । अहिले नेपालमा विभिन्न कन्सेप्टका नृत्य प्रशिक्षण केन्द्र खुलेका छन् । मधुरिमा कलाकेन्द्रमा फिटनेसका लागि जुम्बा तथा अरू लोक नृत्य सिकाइन्छ । यस्ता कक्षा ग्रुप-ग्रुपमा संचालन हुन्छन् । राई भन्छन्-अहिले यो जान्नैपर्ने कला भएको छ ।

कुनै समयमा नकारात्मक सोच रहेको नृत्य अहिले सम्मानजनक पेसा बन्दै गएको छ । नृत्य निर्देशक तथा कोरियोग्राफरहरूले अहिले राम्रो आय आर्जन गरिरहेका छन् । नृत्यलाई सबैले उत्कृष्ट कला मान्न्ा थालेका छन् । नृत्य जान्दिन भन्दा लाज लाग्ने समय आइसकेको छ । आफूले नृत्य जानेपछि आफ्नै घर वा कुनै फ्ल्याटबाट प्रशिक्षण दिने काम प्रारम्भ गर्न सकिन्छ । प्रशिक्षण केन्द्र खोल्ने मनसाय नभए कुनै संस्थामा प्रशिक्षकका रूपमा काम गर्न सकिन्छ ।

व्यायाम हो नृत्य

नृत्यले तनाव मात्र हटाउँदैन, यसबाट व्यायाम पनि हुन्छ । नृत्यका माध्यमबाट तरोताजा महसुस गर्न सकिन्छ । जब खुसी भइन्छ तब नाच्न मन लाग्छ । हिजोआज नृत्य निर्देशक कोरियोग्राफरमा परिणत भएका छन् । अहिले अनेकौं महिला-पुरुष कोरियोग्राफर बन्न रुचाउँछन् जसको श्रेय बढ्दै गएको जनचेतना तथा रियालिटी शोहरूलाई जान्छ ।

रुचिका साथ आय

यो क्षेत्रमा के पुरुष के महिला समान रूपमा अगाडि आइरहेका छन् । यो कमाइको राम्रो माध्यम हो । यसका लागि मेहनती, नयाँ कुरा सिक्ने चाहना तथा रुचि हुनुपर्छ । आवश्यकता तथा रुचि हेरी विभिन्न प्रकारका नृत्यको प्रशिक्षण लामो तथा छोटो समयका लागि लिन सकिन्छ ।

केही नृत्य प्रशिक्षण केन्द्र

साधना कला केन्द्र

म्युजिक नेपाल

मधुरिमा कला केन्द्र

जुनकीरी संगीत साँझ

——————————

प्ले स्कुल

साना नानीहरू प्ले स्कुलमा रमाउन थालेका छन् । नेपाली समाजमा बालबालिकाहरूलाई प्ले स्कुल पठाउने लहर नै छ । बालबालिकाहरूको प्राथमिक विकास ५ वर्षसम्ममा हुन्छ भन्ने मान्यतालाई यस्ता स्कुलहरूले पछ्याएको पाइन्छ । बालबालिकाहरूको यही प्रि प्राइमरी अध्ययनका लागि तालिमप्राप्त महिलाहरूले मन्टेश्वरी तथा किन्डर गार्टेन स्कुल सञ्चालन गर्दै आएका छन् । अहिले यस्ता प्ले स्कुलको सञ्चालन फाइदाजनक मानिएको छ । अभिभावकहरू स-साना नानीलाई घरमा राख्नुभन्दा स्कुल पठाउन लालायित छन् । तालिम लिएपछि मन्टेश्वरी स्कुल खोल्न सकिन्छ । स्कुलबाहेक बिस्तारै डे केयर सेन्टर तथा क्रेस पनि सञ्चालन हुन थालेका छन् । प्ले स्कुल घरमै सञ्चालन गर्न सकिने एउटा उपयुक्त व्यवसाय हो । अहिले खुलेका विभिन्न तालिम केन्द्रबाट यो विषयमा शिक्षा हासिल गर्न सकिन्छ । अहिले शिक्षा मन्त्रालयबाट पनि तालिम प्रदान गरिन्छ । बालबालिका मन पराउनेहरूका लागि यो व्यवसाय सुनमा सुगन्धजस्तो हुन्छ ।

योग्यता

प्लस टुपछि तालिम लिन सकिन्छ । प्रशिक्षणका लागि बेस्ट मन्टेश्वरी, नेपाल मन्टेश्वरी ट्रेनिङ, इसी डिसी तथा हाइड एण्ड सिक मन्टेश्वरी ट्रेनिङ सेन्टरहरूमा सम्पर्क गर्नुपर्छ । यसका लागि १ हप्तादेखि ६ महिनासम्मको तालिम लिन सकिन्छ । यसमा डिप्लोमाको तालिमपछि स्कुल खोल्न सक्षम भइन्छ ।

पुँजी

स्कुल खोल्न ५ लाख रुपैयाँभन्दा बढी आवश्यक हुन्छ । सानो देखिए पनि यसको अप्रत्यक्ष खर्च बढी हुन्छ । यद्यपि यसमा अरू व्यवसायजस्तो बढी पुँजी लगाउनु पर्दैन । सुरुमा स्कुल स्थापना गर्ने ठाउँ चाहिन्छ । प्ले स्कुलमा आयाका साथै शिक्षिकाको पनि आवश्यकता हुन्छ । लगानी बढाउन बैंकबाट ऋण लिन सकिन्छ । सुरुमा फाइदा कम भए पनि बिस्तारै फाइदा हुँदै जान्छ ।

आवश्यक साधन

फ्ल्याट वा घर भाडामा लिएर स्कुल संचालन गर्न सकिन्छ । स्कुलका लागि टेबुल, कुर्सी, ह्वाइट बोर्ड, प्ले कार्ड, उडन फ्लेक्स, सफ्ट टोयज आदिको आवश्यकता हुन्छ । स्कुलको चौरमा पिङ, स्लाइड, झुला तथा आउटडोर प्ले स्टेशन पनि चाहिन्छ । कम्प्युटर, टिभी तथा क्यासेटका माध्यमबाट बालबालिकाहरूलाई बुझाउन सजिलो हुने भएकाले स्कुलमा यस्ता सामग्री पनि आवश्यक हुन्छन् । वरिपरिको वातावरण पहिचान गरी सबैले देख्न सक्ने तथा सुरक्षाका हिसाबले उत्कृष्ट मानिएको ठाउँ रोज्नुपर्छ । भरसक धेरैलाई पायक पर्ने ठाउँमा स्कुल स्थापना गर्नुपर्छ ।

विज्ञापन

स्कुल खोल्नुभन्दा पहिले विभिन्न्ा संघसंस्थाका बोर्डमा स्कुलको ब्रोसियर टाँस्नुपर्छ । स्कुलको पम्प्लेट तयार गरी आवश्यक प्रचार गर्न सकिन्छ । स्कुलको विज्ञापन विभिन्न पत्रिका एवं टिभीमा पनि दिन सकिन्छ । यसका लागि भिज्युुअल विज्ञापन पनि महत्वपूर्ण मानिन्छ ।

व्यवसायका लागि आवश्यक

पुँजी : ५ लाखबाट सुरु गर्न सकिन्छ ।

तालिम : पूर्वप्राथमिक शिक्षाका लागि चाहिने आधारभूत शिक्षा तथा डिप्लोमा सर्टिफिकेट ।

स्थान : आफ्नो घर भए घरमा र नभए कुनै उपयुक्त ठाउँमा घर भाडामा लिएर सञ्चालन गर्न सकिन्छ ।

 Image