Successfully Copied

हटाऔं ईष्र्यारूपी अन्धकार

आफ्नो सफलताबाट जहाँ हामी खुसी हुन्छौं त्यहीँ अरू अघि बढेको देखेर हामीमा एक प्रकारको तनाव सिर्जना हुन्छ ।

आफ्नो सफलताबाट जहाँ हामी खुसी हुन्छौं त्यहीँ अरू अघि बढेको देखेर हामीमा एक प्रकारको तनाव सिर्जना हुन्छ । अरू कसैको खुसीले कसैलाई दु:खी बनाउन सक्छ किनभने व्यक्ति ईष्र्याको दुर्भावनाबाट ग्रस्त छ । यो स्वाभाविक मानवीय कमजोरी हो तर इच्छाशक्ति र सचेत प्रयासका माध्यमबाट त्यसलाई हटाउन सकिन्छ ।

आफ्ना कमी-कमजोरीका कारणले नै व्यक्तिमा यो नकारात्मक भावनाले जन्म लिन्छ । कमी-कमजोरीले हामीलाई दोषहरूबाट भरिपूर्ण भएको अनुभूति दिलाउँछ । जसमा अहम् भावना प्रबल हुन्छ, उनीहरूलाई आफ्ना कमी-कमजोरी स्वीकार गर्न गार्‍हो हुन्छ । जब यस्ता व्यक्तिले पारिवारिक वा सामाजिक जीवनमा अरूलाई स्वयं भन्दा राम्रो पाउँछन् तब आफ्नो हीन भावनाबाट उब्जिएको असन्तुष्टि हटाउन अरूको राम्रोमा पनि कुनै न कुनै नराम्रो कुरा खोजेर आफूलाई सही साबित गर्ने प्रयास गर्छन् । यो एउटा स्वाभाविक मेन्टल मेकानिज्म हो, जसले हामीलाई थोरै समयका लागि तनाव र चिन्ताबाट राहत प्रदान गर्छ तर यसलाई प्रश्रय दिनु उचित होइन । सही समयमा यसलाई हटाइएन भने ईष्र्याले व्यक्तित्वमै नकारात्मक प्रभाव पार्छ ।

ईष्र्या हटाउने उपाय

-    सबैभन्दा पहिले आफ्नो व्यक्तित्वको विश्लेषण गरी आफूलाई कस्ता व्यक्ति र कुन कुराबाट ईष्र्या हुन्छ पत्ता लगाउने प्रयास गर्नुपर्छ ।

-    प्रोफेसनल लाइफमा कुनै सहकर्मीले हाकिमको प्रशंसा वा प्रमोसन प्राप्त गर्छ भने ईष्र्याका कारण तिनका बारेमा आफूमा केही नकारात्मक विचार उत्पन्न हुन्छ । आफ्नो काममा के कमजोरी छ जुन आफ्नो प्रमोसनमा बाधक छ जान्ने प्रयास गर्नुपर्छ अनि त्यसपछि विस्तारै आफूमा परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ ।

-    हरेक व्यक्तिमा त्यस्तो केही खुबी हुन्छ जसले उसलाई विशेष बनाउँछ । आफ्ना यस्ता गुणहरूको सूची तयार गर्नुपर्छ र तिनमा निखार ल्याउने प्रयास गर्नुपर्छ ।

-    कोही  पनि परफेक्ट हुँदैनन् । सबैमा आफ्नो व्यक्तित्व वा जीवन स्थितिलाई लिएर कुनै न कुनै गुनासो हुन्छ । हामीले आफ्ना जुन कमी-कमजोरी सुधार्न सक्छौं, तिनलाई सच्याउनुपर्छ ।

-    आफ्नो व्यक्तित्व वा जीवनको हरेक कमीलाई हटाउन सम्भव छैन । त्यसैले रूप-रंग वा दाम्पत्य जीवनसित जोडिएका स-साना कुरामा अरुसित तुलना गर्नु हुँदैन । त्यसो गर्दा मनमा पीडा उत्पन्न हुन्छ ।

-    एक्लोपनले पनि व्यक्तिलाई स्वार्थी, आत्मकेन्दि्रत एवं ईष्र्यालु बनाउँछ । त्यसैले नजिकका व्यक्तिसँग मनको कुरा सेयर गर्नुपर्छ । नकारात्मक भावना अरूसित सेयर गरे ईष्र्याले जन्म लिन पाउँदैन ।

-    कुनै पनि सफल व्यक्तिलाई लिएर ईष्र्यालु भइन्छ भने उसलाई शत्रु मान्नुको साटो उसका गुणहरूबाट प्रेरित हुने प्रयास गर्नुपर्छ ।

-    अति महत्वाकांक्षाले ईष्र्यालु बनाउँछ । 'सन्तोषं परमं सुखम्' लाई ध्यानमा राख्न सके ईष्र्याले जन्म लिने सम्भावना कम हुन्छ ।

 Image