Successfully Copied

स्वास्थ्य

लक्ष्मी ठाकुर, हेयर एण्ड ब्युटी एक्सपर्ट, लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियो, भाटभटेनी

मेनोपज भनेको के हो ?

महिलाको महिनावारी एक वर्षभन्दा बढी समयसम्म भएन भने त्यसलाई मेनोपज भएको मान्न सकिन्छ । हार्मोनको गडबडीका कारण महिलाहरूको महिनावारी सुक्छ ।

मेनोपज कति वर्षको उमेरमा हुन्छ ?

नेपालको सन्दर्भमा मेनोपज ४७ वर्षको उमेरमा हुन्छ तर यो सामान्यतया ४० देखि ५५ वर्षको उमेरमा हुन्छ ।

मेनोपज हुने बेलामा के-कस्ता समस्या देखापर्छन् ?

मेनोपज हुने बेलामा महिनावारी गडबड हुन्छ । कसैको चाँडो अर्थात् १५-१५ दिनमा हुन्छ भने कसैको ३ महिना, ६ महिनाको अन्तरालमा महिनावारी हुन्छ । छिनमै जाडो, छिनमै गर्मी महसुस हुने, मुटुको गति तीव्र हुने, रिस उठ्ने, निद्रा नलाग्ने आदि हुनसक्छ । चिन्ता बढ्ने, मनमा नकारात्मक कुरा आउने, आत्मबलमा कमी, योनि सुख्खा हुने, यौनसम्पर्कमा रुचि नहुने तथा सम्पर्क राख्दा पीडा हुने हुन्छ । त्यसैगरी छाला सुख्खा हुने, अनुहारमा चायाँ तथा चाउरी आउने एवं मोटाउने पनि हुनसक्छ  । एस्ट्रोजोन हार्मोनको कमीका कारण हड्डी कमजोर हुन्छ ।

मेनोपजको समयमा र पछि के-कस्ता खानेकुरा खानु उचित हुन्छ ?

चिल्ला तथा गुलिया खानेकुरा कम गर्नुपर्छ । अल्कोहल सेवन गर्नुहुँदैन । रेसादार मौसमी खानेकुरा खानुपर्छ । हरिया सागपात, सिमी, मस्यौरा, तोफु, भटमास, मकै, ओट, राजमा आदि खानेकुरालाई प्राथमिकतामा राख्नुपर्छ । क्याल्सियम प्राप्त हुने भएकाले ज्वानो खानुपर्छ । कम चिल्लो भएका डेरी प्रोडक्ट, माछा, मसरुम, अण्डा, ब्रोकाउली आदिको सेवन पनि उपयुक्त हुन्छ । यसैगरी ओखर, बदाम, पेस्ता आदि पनि खानुपर्छ ।  

मेनोपजमा हुने समस्याबाट छुटकारा प्राप्त गर्न के गर्नुपर्छ ?

मेनोपज प्राकृतिक नियम हो । यो उमेर वृद्धिसँगै सबै महिलालाई हुन्छ । यो समयमा हुने समस्याबाट जोगिन खानेकुरा तथा जीवनशैलीमा ध्यान पुर्‍याउनुपर्छ । आफूलाई केही न केही काममा व्यस्त राख्नुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । पौष्टिक खानेकुरा खानुपर्छ ।

मेनोपजपछि के-के कुरामा ध्यान दिनुपर्छ ?

नियमित शारीरिक व्यायाम गर्नुपर्छ । साइकिलिङ, स्विमिङ, एरोविक्स, गल्फ, टेनिस आदि खेल खेल्नुका साथै मर्निङ वाक आदि पनि गर्न सकिन्छ । योग तथा ध्यान गर्नुपर्छ । चिकित्सकको सल्लाहमा क्याल्सियम तथा भिटामिन खानुपर्छ । कतिपय महिलालाई हार्मोन रिप्लेसमेन्ट थेरापीको आवश्यकता पर्छ । यसैगरी कतिपयको योनिबाट गन्हाउने पानी बग्नसक्छ । त्यस्तो स्थितिमा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

डा. स्वराज राजभण्डारी

सिनियर कन्सल्टेन्ट, अब्स/स्त्रीरोग विशेषज्ञ

निदान हस्पिटल, पुल्चोक

सौन्दर्य

जाडोमा छाला सुख्खा हुने कारण के होला ?

जाडो मौसममा वातावरण चिसो तथा सुख्खा हुने भएकाले छाला फुट्नुका साथै सुख्खा पनि हुन्छ । हिमाली क्षेत्रमा त चिसोले गर्दा अनुहारको एक लेयर नै सुख्खा हुन्छ जसले गर्दा अनुहार कालो देखिन्छ ।

जाडो मौसममा छालालाई सुख्खा हुनबाट कसरी रोक्न सकिन्छ ?

अनुहारको प्रकृति हेरेर मोस्चराइजर क्रिम लगाउनुपर्छ । सामान्यतया छाला साधारण, चिल्लो तथा सुख्खा गरी तीन किसिमका हुन्छन् । छालाअनुसार क्रिम लगाउनुपर्छ । साधारण किसिमको छाला भए कम मोस्चराइजर लगाउनुपर्छ । चिल्लो छाला भएकाहरूले पनि कमै मोस्चराइजर लगाउँदा हुन्छ । सुख्खा छाला भएकाहरूले भने बढी नै मोस्चराइजर लगाउनुपर्छ । सुख्खा छालामा छिट्टै चाउरी पर्छ । त्यसैले पनि त्यस्तो प्रकृतिको छाला भएकाहरूले पर्याप्त मात्रामा मोस्चराइजर लगाउनुपर्छ ।

यो मौसममा फेसवासले अनुहार धुनु हुन्छ कि हुँदैन ?

जाडो होस् वा गर्मी जुनसुकै मौसममा पनि फेसवासले अनुहार धुन मिल्छ । आफ्नो अनुहारको छालाको प्रकृतिअनुसार फेसवास प्रयोग गर्नुपर्छ । फेसवास प्रयोग गरिसकेपछि मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

यो मौसममा मोस्चराइजरका अतिरिक्त कुन क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ ?

यो मौसममा मोस्चराइजर लगाएपछि आफूले सधै प्रयोग गर्दै आएको क्रिम लगाउनुपर्छ । साथै जाडो मौसममा घाम प्यारो हुने भएकाले धेरैजसो घाममै बस्न मन लाग्छ । यस्तो अवस्थामा सनस्किन पनि प्रयोग गर्न सकिन्छ । बाहिर निस्कने बेलामा मोस्चराइजरका साथमा फाउन्डेसन पनि लगाउन सकिन्छ । राति सुत्ने बेलामा क्लिन्जिङले पुछेपछि सफा पानीले अनुहार धोएर नाइट क्रिम लगाउनुपर्छ ।

लक्ष्मी ठाकुर

हेयर एण्ड ब्युटी एक्सपर्ट, लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियो, भाटभटेनी

 Image