Successfully Copied

फेसन

मकहाँ क्याजुअल तथा सेमी र्फमल ड्रेस बढी बन्ने हुँदा सोहीअनुसारको स्ट्रेट लङ कुर्ता दसैंलाई फोकस गरेर डिजाइन गरेकी छु ।

मुक्ता श्रेष्ठ, हेड अफ डिजाइन, सबा नेपाल

यसपटकका लागि कस्ता फेस्टिब ड्रेस डिजाइन गर्दै हुनुहुन्छ ?

मकहाँ क्याजुअल तथा सेमी र्फमल ड्रेस बढी बन्ने हुँदा सोहीअनुसारको स्ट्रेट लङ कुर्ता दसैंलाई फोकस गरेर डिजाइन गरेकी छु । यसमा अग्लाले फ्लोर पाइन्ट तथा होचाले लेगिन्ससँग लगाउन सक्छन् । यसपटक यस्तो पहिरन धेरैले रुचाएको पनि देखिन्छ ।

चाडपर्व भन्नासाथ महिलाहरू अलि बढी सजिसजाउ हुन खोज्छन्, त्यसका लागि तपाईं कुन पहिरनलाई प्राथमिकता दिनुहुन्छ ?

अहिले फेसनमा अनारकलीकै माग छ तर यसपटक अनारकलीमा सुरुवाल र सलबिना वेस्ट कोट वा छोटो ज्याकेट लगाउन सकिन्छ ।  त्यसमा पनि दसैं जस्तो चाडमा सजिसजाउ भएर टीका लगाउन  अनारकली जस्तो राम्रो, सजिलो अनि स्टाइलिस्ट पहिरन अरू नहोला ।

तीस नाघेका महिलाहरूका लागि कस्तो पहिरन उपयुक्त हुन्छ ?

घुँडामुनि एलाइन, प्रिन्टेट तथा पेपलाइन ड्रेस सुहाउँछ । कुर्ता लगाउने हो भने अनारकली स्टाइलको गाउन पनि त्यत्तिकै सुहाउँछ । ब्राइट कलर पिंक, मजेन्डा वा रेड टचमा लगाउँदा आकर्षक देखिन सकिन्छ ।

टिनएजरहरूले दसैंमा कस्ता क्याजुअल पहिरन लगाउँदा आकर्षक देखिन सकिन्छ ?

समय अहिले जाडो मौसमतिर गैरहेको हुँदा घुँडामुनिसम्मको हल्का फ्लेयर ड्रेस, यदि स्लिभलेस छ भने ढाकाको छोटो ज्याकेट लगाउन सकिन्छ । यसले स्टाइलिस्टसमेत देखाउँछ । जर्जेट, क्रेप, रसिल्क डार्क र ब्राइट कलरमा ढाका मिक्स गरेर वान पिस पनि बनाउन सकिन्छ ।

सर्ट-ज्याकेटहरू कस्तो फेब्रिकमा बनाउन सकिन्छ ?

ब्रोकेट, कटन, लेनिन एवं भेल्भेटको ज्याकेट उपयुक्त हुन्छ ।

चाडपर्वमा महिलाहरू किन रातै रंगको पहिरन बनाउन खोज्छन् ?

विवाहित महिलाहरू दसैं तथा तीजमा रातै पहिरन लगाउन मन पराउँछन् । रातो रंगले आत्मविश्वास पनि बढाउँछ । यद्यपि दसैंमा पहिले जस्तो रातै रंग भन्दा ब्राइट कलरमा फ्युजन खोज्नेहरू धेरै छन् । जसले नयाँ लुक्स र डिजाइन देखाउन सहयोग गर्छ ।

स्वास्थ्य

डा.मधु पाण्डे, इन्डोक्रानोलोजिस्ट, हिमाल अस्पताल

मधुमेह कस्तो रोग हो ?

मधुमेह मानिसको शरीरमा इन्सुलिनको अभावमा लाग्ने रोग हो । इन्सुलिनको कमीले मानिसलाई अल्छी बनाउँछ ।

मधुमेह कति किसिमका हुन्छन् ?

सामान्यतया मधुमेह तीन किसिमका हुन्छन् । टाइप १ मधुमेह, टाइप २ मधुमेह तथा जेस्टेसनल मधुमेह । टाइप १ मधुमेह शरीरमा इन्सुलिनको कमीले हुन्छ । यो मधुमेह ११ वर्षको उमेरदेखि १८ वर्षकासम्मलाई हुन्छ । यस्तो मधुमेह एकपटक भएपछि जीवनभर कायम रहन्छ र सधै इन्सुलिन प्रयोग गर्नुपर्ने हुन्छ । यसैगरी टाइप २ मधुमेह ३२ वर्षको उमेर वा त्यसभन्दा पछि हुनसक्छ । यसका लागि औषधि सेवन गर्नुपर्छ । औषधिले काम गर्न छोडेको अवस्थामा भने इन्सुलिन नै लिनुपर्छ । जेस्टेसनल मधुमेह भने गर्भावस्थामा मात्र देखिन्छ र पछि आफैं निको हुन्छ । गर्भावस्थामा मधुमेह देखिएकाहरूलाई धेरै पछि पुन: मधुमेह हुने सम्भावना पनि त्यत्तिकै हुन्छ ।

स्वस्थ मानिसको शरीरमा सुगरको मात्रा कति हुनुपर्छ ?

एउटा स्वस्थ मानिसको शरीरमा सुगरको मात्रा खाली पेटमा ९० भन्दा कम र खानापछि १४० भन्दा कम हुनुपर्छ ।  

मधुमेहमा कस्ता लक्षण देखापर्छन् ?

कतिपयलाई कुनै लक्षणबिना नै मधुमेह देखिन सक्छ । कतिपयलाई भने मुख सुक्ने, तिर्खा लाग्ने, थकाइ लाग्ने, आलस्य हुने, छिनछिनमा पिसाब लाग्ने, खुट्टामा कमिला हिँडेजस्तो हुने र भोक लाग्ने जस्ता लक्षण देखापर्छन् ।  

मधुमेह भएकाहरूले खान नहुने कुरा के-के हुन् ?

मधुमेह भएकाले सबै खानेकुरा खान हुन्छ तर खानाको मात्रा कम गर्नुपर्छ । थोरै खाना पटक-पटक खानुपर्छ । यसैगरी चिनी हालेको चिया, कोल्ड डि्रङस, जुस तथा चिल्ला खानेकुरा खानुहुँदैन । आँप, लिची तथा अंगुर नियन्त्रित मात्रामा खान सकिन्छ । अरू फलफूल भने दिनमा एउटा खान सकिन्छ । अण्डाको पहेंलो भागले कोलस्ट्रोल बढाउने भएकाले त्यसको सेतो भाग मात्र खानु उपयुक्त हुन्छ । बिहान भात खाए बेलुकी रोटी खानुपर्छ ।

मधुमेह भएकाले कति-कति दिनमा रगत जाँच गराउनुपर्छ ?

मधुमेहको औषधि मात्र सेवन गर्नेहरूले महिनाको एकपटक तथा इन्सुलिन प्रयोग गर्नेहरूले हप्ताको एकपटक रगत जाँच गराउनुपर्छ ।

मधुमेहबाट छुटकारा पाउन के गर्नुपर्छ ?

मोटोपनले पनि मधुमेह हुने भएकाले यसबाट मुक्त हुनुपर्छ । जंकफुड खानुहुँदैन । दिनमा कम्तीमा पनि आधा घन्टा हिँडडुल गर्नुपर्छ । खानपान तथा जीवन शैलीमा सुधार ल्याउनुपर्छ । वंशानुगत कारणले पनि मधुमेह हुने भएकाले समय-समयमा सुगर जाँच गराइरहनुपर्छ ।

खानपान

ज्योति थापा, उत्पादक स्वाद अचार मसला

मासुका परिकारहरूलाई कसरी मीठो बनाउन सकिन्छ ?

सर्वप्रथम मासु ताजा हुनुपर्छ । बासी मासुलाई कुनै पनि मसलाले स्वादिष्ट बनाउन सक्दैन । त्यसैले राम्रो फ्रेस हाउसबाट मात्र मासु खरिद गर्नुपर्छ । कुन तरिकाको मासु पकाउने हो त्यसैअनुसार मासुमा मसला हाल्नुपर्छ । मरमसला तथा पकाउने विधि मिल्यो भने मासु स्वादिष्ट हुन्छ ।

बासी मासु कसरी पहिचान गर्ने  ?

मासुबाट पानी आउँछ अथवा एक प्रकारको गन्ध आउँछ, पकाउँदा पानी आइरहन्छ भने त्यो मासु बासी हो ।

मासुका परिकारमध्ये सबैभन्दा बनाउन सजिलो परिकार कुन हो ?

पकाउने जाँगर भए मासुका कुनै पनि परिकार बनाउन कठिन हुँदैन । स्वादिष्ट मासुका लागि मसलामा सम्झौता गर्नु हुँदैन । मासु तयार गर्दा लसुन, मसला, धनियाँ तथा टमाटर आवश्यक हुन्छ । अरू परिकारजस्तो लापरबाही गरेर पकाइएको मासु मीठो हुँदैन । जाँगर तथा मसला मिल्यो भने मासुका सबै परिकार बनाउन सजिलो हुन्छ ।

नेपालमा कुन-कुन परिकार लोकप्रिय छन् ?

नेपालमा विशेषगरी तास, सेकुवा, छोइला तथा कचिला लोकप्रिय छन् । खसीको मासुमध्ये तास तथा सेकुवा निकै स्वादिष्ट मानिन्छ ।

मासुलाई कसरी भण्डारण गर्नुपर्छ ?

मासु खरिद गरेर घर लानेबित्तिकै फ्रिजमा राख्नुपर्छ । पकाइएको मासु र काँचो मासु सँगै राख्नुपर्छ । प्याकिङ गरिएको मासु एक हप्तासम्म प्रयोगमा ल्याउन सकिन्छ । मासुलाई २४ घन्टाभित्र पकाउनुपर्छ ।

तास तथा सेकुवा तयार गर्दा के गर्नुपर्छ ?

यो स्वादिष्ट परिकार हो तर सेकुवा तथा तासमा मसला पसेन भने त्यो मीठो हुँदैन । त्यसैले यसलाई तयार गर्नुभन्दा पहिले मसलामा राम्रोसँग मिसाउनुपर्छ । मसला मासु भित्र जति धेरै पस्यो त्यति नै मीठो हुन्छ । तासलाई राम्रोसँग तार्नुपर्छ भने सेकुवा राम्रोसँग पोल्नुपर्छ ।

योग

श्रवणकुमार वली, योग प्रशिक्षक,

निर्देशक, आयुष अस्पताल तथा साउधथ एसियन गोल्ड मेडलिस्ट-२०११

महिलाका लागि उपयुक्त योग आसन कुन हो ?

बिहान सबेरै गरिने सूर्य नमस्कार, खानापछि गरिने बज्रासन, ढाड तथा कम्मरका लागि रिड व्यायाम महिलाका लागि उपयुक्त योग विधि हुन् ।

मोटोपन र पेट घटाउने कुन विधि उपयुक्त हुन्छ ?

मोटोपन र पेट घटाउन पावर योग गर्नुपर्छ । यसअन्तर्गत ५ मिनेट जगिङ तथा पेटका लागि अर्ध मच्छेन्द्र आसन, भुजङ्गासन, सर्पासन, उत्तान पादासन आदि गर्न सकिन्छ ।

असन्तुलित भोजनका कारण निम्तिने विकार हटाउन के गर्नुपर्छ ?

सलाद, दही, मोही आदि बढी सेवन गर्नुपर्छ । बिहान आधा घन्टा सूर्य नमस्कारका स्टेप्सहरू गर्नुपर्छ भने बेलुकी भुटेका-तारेका खानेकुरा कम खानु उपयुक्त हुन्छ ।

अपच, डायरिया, ग्यास्टिक तथा वाकवाकी लाग्ने समस्या समाधान गर्ने केही उपाय छन् ?

यसका लागि पेटको व्यायाम गर्न सकिन्छ । पेटको समस्या कम गर्न प्राणायामअन्तर्गत कपालभाती, पाचनशक्ति बलियो बनाउन पञ्चकर्मअन्तर्गत कुञ्जल तथा एनिमा गर्न सकिन्छ ।

शरीरको अल्छीपन घटाई स्फूर्त र तन्दुरुस्त रहने उपाय ?

कम्तीमा हप्तामा एकपटक सम्पूर्ण शरीरको तेल मालिस गरी स्टिम वाथ लिने तथा आन्तरिक शोधनका लागि शंख प्रक्षालन, जलनेती, सूत्रनेती, कुञ्जल एवं एनिमा उत्तम उपाय हुन् ।

अहिले मानिसमा बढ्दै गएको मानसिक तनावको रोकथाम तथा उपचारका लागि केही विधि छन् कि ?

मुख्यत: सकारात्मक सोच राख्नु नै यसको आधा उपचार हो । त्यसका अतिरिक्त नित्य आसन, प्राणायम गर्नु पर्छ । यसको उपचारका लागि शिरोधारा लिन सकिन्छ ।

 Image