Successfully Copied

शक्तिकी प्रतीक महिला

सनातन संस्कृतिअनुसार महिला मातृदेवता हुन् । सनातन संस्कृतिले सम्पूर्ण महिलालाई माताका रूपमा स्थापित गरेर उच्च सम्मान प्रदान गरेको छ ।

सनातन संस्कृतिअनुसार महिला मातृदेवता हुन् । सनातन संस्कृतिले सम्पूर्ण महिलालाई माताका रूपमा स्थापित गरेर उच्च सम्मान प्रदान गरेको छ । महिलाहरू पुरुषका भोग्या होइनन् बरु सदैव वन्दनीय एवं पूजनीय हुन्छन् भनेर सनातन संस्कृतिले महिलाप्रति हार्दिक आदर प्रकट गरेको छ । त्यसैले मानव धर्मशास्त्रमा जननीको गौरव गुरुभन्दा लाख गुना र बाबुभन्दा हजार गुना बढी भएको कुरा उल्लेख छ । महिलालाई सदैव अबध्या बताइएको छ, कुनै पनि वर्गकी, सम्प्रदायकी वा कुनै पनि प्रकारकी महिला सदैव पूजनीय हुन्छिन् किनभने महिलाका अङ्ग-अङ्गमा देवताको बास हुन्छ भनेर शास्त्रले महिलाको गुणगान गाएको छ । वैदिक कालमा महिलाको स्थान उच्च थियो । पिताको सम्पत्तिमा पनि महिलाको अधिकार रहन्थ्यो, छोराछोरीमा कुनै भेद थिएन भन्ने कुरा शास्त्रहरूको अध्ययनबाट थाहा हुन्छ । कुनै पनि समाजमा महिलाको स्थान कस्तो थियो र छ भन्ने कुराले उक्त समाज कति सभ्य छ भन्ने कुराको जानकारी गराउँछ । वैदिक समयमा पुरुषकी सहधर्मिणी रहेकी महिलालाई मध्यकालमा पुरुषको सम्पत्ति मान्न थालिएको पाइन्छ । यो कुरा सामन्त कालमा अझ मौलाएर गयो । यसरी हरेक क्षेत्रमा महिलालाई पछाडि पार्ने प्रयत्न हुँदाहुँदै पनि उनको स्वाभाविक गुणका कारण महिला शक्ति लुकेर रहन सकेन । फलत: आधुनिक महिलाहरू पुन: आफ्नो शक्तिका साथ प्रकट हुने मार्गमा अग्रसर भैरहेका छन् । संकीर्ण विचारधारा त्यागेर आत्मविश्वासका साथ अघि बढेका आजका महिलाहरू देख्दा शक्तिका अदम्य स्रोत महिला नै हुन् भन्ने कुरा बुझ्न कत्ति पनि कठिनाइ हुँदैन । किनभने आज समाजमा कुनै यस्तो क्षेत्र छैन जहाँ प्रतिस्पर्धा नभएको होस्, ती सबैमा महिलाको दबदबा छ, समाजका हरेक क्षेत्रमा महिलाहरूले चुनौती प्रस्तुत गरिरहेका छन् ।

प्रा.डा. वीणा पौड्यालका अनुसार महिला शक्तिका रूपमा पुजिनुको प्रमुख कारण महिलामा भएको प्रजनन् शक्ति नै हो । हुनत प्रजनन् शक्ति महिला-पुरुष दुवैमा हुन्छ र एक-अर्काको सहयोगबिना प्रजनन् सम्भव छैन तैपनि यसमा महिलाको भूमिका बढी महत्त्वपूर्ण हुन्छ । परापूर्व कालमा महिलाको भूमिकाका बारेमा कुरा गर्दा वैदिक कालसम्म पुग्नुपर्ने हुन्छ । त्यतिबेला मानिसहरू अदृश्य शक्तिका रूपमा प्रकृतिका अग्नि, जल, वायु, पृथ्वी आदिको पूजा गर्थे । सोही क्रममा वेदको निर्माण हुँदा महिला देवता उषा, सविता, पृथ्वी आदिको स्तुतिगान त गरिए तर ती पुरुष शक्तिजति बलशाली रूपमा प्रस्तुत गरिएनन् । पौराणिक कालमा आएपछि असुर तथा सुर (देव) का बीच फाटो बढ्ने क्रममा देवताहरूले अत्यन्त शक्तिशाली महिलाको कल्पना गरे । आह्वाहन गरिएकी देवीलाई सबै देवका आयुधहरूद्वारा सुसज्जित बनाइसकेपछि देवताहरूले उनलाई असुरविरुद्ध युद्धमा पठाए । ती देवीले असुरहरूमाथि विजय प्राप्त गरिन् । त्यसपछि जब-जब दानव वा असुरहरूले दु:ख दिन्थे, देवताहरू देवीको आह्वाहन गरी उनैमार्फत असुरहरूलाई परास्त गर्थे । पौराणिक साहित्यमा वर्णन गरिएअनुसार राम, कृष्ण आदिले शक्ति प्राप्त गर्न देवीकै आराधना गरेका थिए । यसका साथै मातृशक्तिका रूपमा पुजिने देवीहरूको पनि कल्पना गरिए वा ती त्यतिबेला मातृसत्तात्मक परिवार रहेका बेलाका शक्तिशाली लोकमाताहरू थिए । यसरी कल्पना गरिएका देवीहरू पनि मातृत्व, र्ऊवरता वा सिर्जनशीलताका कारण पुजिएका थिए । र्ऊवरा शक्ति, धैर्य, सहनशीलताजस्ता स्वभावका कारण महिलालाई पृथ्वीसँग पनि तुलना गरिएको छ । यस्ता विविध कारणहरू केलाउँदा के प्रस्ट हुन्छ भने महिलाहरूको सिर्जनशीलता वा प्रजनन् शक्तिकै कारण उनीहरूप्रति पुरुषले सम्मान देखाएका हुन् अन्यथा मानव जातिको आजसम्मको इतिहास हेर्दा महिलाहरू गौण रूपमा वा पुरुष जातिको स्वार्थसिद्धिका साधनका रूपमा प्रयोग भएका पाइन्छन् ।

प्रा.डा. मुकुन्द अर्याल भन्छन्-महिला शक्तिको सामाजिक, दार्शनिक, धार्मिक, वैदिक, पौराणिक एवं तान्त्रिक आदि विविध प्रकारले व्याख्या भएको पाइन्छ । पौराणिक एवं तान्त्रिक मतअनुसार शक्ति शब्द नै स्त्री वा महिलाको पर्याय हो । स्त्रीतत्त्वलाई हामी शक्ति भन्छांै । 'या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता' भनेर पुराणले महिलाको महिमागान गरेको छ । यही शक्ति छउन्जेलसम्म कुनै पनि प्राणी जीवित रहन सक्छ । शक्ति हटेपछि प्राणधारीहरू मात्र होइन, निर्जीव पदार्थको अस्तित्व पनि लोप हुन्छ किनभने ब्रह्माण्डका सारा कुरा शक्तिकै कारण अडिएका छन् । शक्तिको अंग्रेजी अर्थ हुन्छ इनर्जी न कि पावर, पावरले शक्तिको अर्थ बोध गराउने सामथ्र्य राख्दैन । सृष्टिको सुरुमा निराकार परब्रह्म थियो, ऊ अण्ड रूपमा थियो । जब त्यो निराकार परब्रह्मले साकार रूप लिन खोज्यो त्यतिबेला त्यो अण्ड फुट्यो र दुई भागमा विभक्त भयो । जसले षट्कोणको रूप लियो । माथि फर्किएको त्रिकोणले ब्रह्मा, विष्णु र महेश्वरलाई बुझाउँछ भने तलतिर फर्किएको त्रिकोणले महासरस्वती, महालक्ष्मी र महाकालीलाई बुझाउँछ । जसरी अण्डामा सेतो र पहेंलो भाग हुन्छ त्यसरी नै षट्कोणमा माथिपट्ट िफर्किर्एको त्रिकोण सेतो हुन्छ भने तल फर्किएको त्रिकोण रातो हुन्छ । सृष्टि, स्थिति र प्रलयका देवताहरूले शक्तिबिना कुनै काम गर्न नसक्ने हुनाले ती देवताका लागि सम्बन्धित शक्तिहरू साथ लागेको बताइन्छ । शक्तिकै कारण सबै कुरा सम्भव हुन्छ । शक्तिबिना जीवन सम्भव छैन । यसैगरी ॐ शब्दभित्र अ, उ र म गरी तीन अक्षर समाविष्ट छन् जसले ब्रह्मा, विष्णु र महेश गरी त्रिदेवलाई चिनाउँछन् । यसले इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनलाई पनि चिनाउँछ । माथिपट्ट िरहेको अर्धचन्द्राकार धर्कोले शक्तिलाई बुझाउँछ भने सबैभन्दा माथि रहेको बिन्दुले निर्गुण ब्रह्म वा परमेश्वरलाई जनाउँछ । सरस्वतीको ज्ञानशक्ति, लक्ष्मीको पालनशक्ति तथा कालीको संहारशक्तिकै कारण सृष्टि, स्थिति र प्रलय हुने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । कालीलाई कतिपयले कालो वर्ण भएकी भनेर बुझ्दै आएका छन् यद्यपि काललाई वशमा पार्ने भएकाले उनलाई काली भनिएको हो । शक्ति सदैव अगाडि रहन्छ त्यसैले हामी गौरीशंकर भन्छौं, राधाकृष्ण भन्छौं, सीताराम भन्छौं र लौकिक व्यवहारमा पनि मातापिता भन्छौं अर्थात् माताको स्थान सदैव अगाडि आउँछ जुन शक्तिप्रतिको सम्मान पनि हो । महिलालाई अबला भनेर चिनाइन्छ जसको अर्थ केही विद्वान्हरूले बलहीन वा कमजोर भन्ने लगाएका छन् तर वास्तविकता त्यसो होइन । अबलाको अर्थ हो-'अथाह बला इति अबला' अर्थात् जोसित अथाह बल छ, शक्ति छ ऊ अबला हो । लोक व्यवहारमा पनि जति काम महिलाले गरिरहेका हुन्छन् ती काम पुरुषले गर्न सकेका हुँदैनन् यो हामी सबैले अनुभूति गरेको कुरा हो । महिलाको आत्मविश्वास, धैर्य, सहनशीलताजस्ता गुणले उनीहरूलाई बलवान् बनाएको छ । स्त्री अर्थात् महिलाभित्र शक्तिको बास हुन्छ किनभने उनीहरू शक्तिकै अंश हुन् । नेपाली लोक साहित्यका मूर्धन्य व्यक्तित्व प्रा.डा. मोतीलाल पराजुली पनि महिलाहरू शक्तिका स्वरूप हुन् भन्ने कुरामा सहमत छन् । पुराणमा वणिर्त त्रिगुणात्मिका भगवतीहरू महाकाली, महालक्ष्मी एवं महासरस्वतीकै अंश हुन् सम्पूर्ण महिलाहरू । लोक समाजमा यी देवीहरूलाई स्थानैपिच्छे विभिन्न नामले पुकारिएको पाइन्छ । मालिका, कालिका, विन्ध्यवासिनी, ब्रह्मायणी, गुह्येश्वरी, कुमारीजस्ता हजारौं नाम छन् देवीका । ती हरेक नामसँग उनीहरूका शक्तिका अनेकौं किस्सा गाँसिएका छन् । ती विविध कथा-कहानीहरूमा महिला शक्तिको खुलेर प्रशंसा गरिएको पाइन्छ । हामीकहाँ जीवित देवीका रूपमा कुमारीको पूजा गर्ने चलन अझैसम्म छँदैछ जसले महिला शक्तिको महिमा प्रकट गर्छ । यसैगरी हरेक शुभकार्य गर्दा कन्या पुज्ने तथा दसैंका बेलामा नवदुर्गा भवानीको प्रतीक मानेर नवदेवीको पूजा गर्ने परम्परा छ । हामीकहाँ पञ्चकन्या, सप्तकन्या, नवकन्या, सप्तमातृका, अष्टमातृका तथा नवमातृकाको पूजा गर्ने सामाजिक प्रचलनले पनि शक्ति कुनैबेला महिला हातमा रहेको नभए पनि महिला शक्तिबिना पुरुष अधूरो हुने कुरा प्रमाणित हुन्छ । त्यसैगरी मनुस्मृतिकै 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता' भन्ने भनाइले पनि महिला सम्मानलाई बढावा दिएको पाइन्छ । लोकसमाजतिरै दृष्टि दिने हो भने पनि कुनै घर बिग्रनु वा सप्रनुमा महिलाकै हात देखिन्छ । महिलाहरूले संरक्षण गरिदिँदा पुरुष समृद्ध हुने तथा नगरिदिँदा कंगाल हुने कुरा लोक व्यवहारबाटै पुष्टि भएका वा हुने कुरा हुन् । महिलाले आँटे एकैछिन, पुरुषले आँटे वर्ष दिन भन्ने उखान त्यसै चलेको होइन । पुरुषहरू शारीरिक रूपमा जतिसुकै बलिया भए पनि एउटी महिलाको इसारामा चल्छन् किन त भन्ने प्रश्नमा महिला शक्तिकै कारण हो भन्ने जवाफ आउँछ ।

ज्योतिषाचार्य शालिग्राम ढकाल भन्छन्-महिला वा राधाको शक्ति चराचर जगत्मा व्याप्त छ । 'रा' को अर्थ ज्ञान, ऐश्वर्य, वैराग्य, कीर्ति आदि हुन्छ भने 'धा' को अर्थ त्यसलाई धारण गर्ने भन्ने हुन्छ । यही राधा शक्तिकै कारण वासुदेव कृष्ण भगवान् कहलिएका हुन् । यो शक्ति महिला-पुरुष दुवैमा विद्यमान हुन्छ तथापि धारण र सहनशीलताजस्ता शक्ति महिलामै बढी पाइन्छ । त्यसैले महिलालाई शक्तिको प्रतीक मानिएको छ । दसैंका बेला यही शक्ति बोकेका नवदुर्गाको पूजा धुमधामका साथ गरिन्छ ।

वेदाचार्य लक्ष्मी गौतमका अनुसार महिलाहरू शक्तिका प्रतीक हुन् भन्ने कुरा विभिन्न शास्त्रले घामझैं छर्लङ्ग पारेका छन् । शास्त्रीय कुरा र परम्परालाई पन्छाउने हो भने पनि नारीहरू शक्तिस्वरूपा नै हुन् भन्ने पुष्टि हुन्छ । हाम्रा दैनिक क्रियाकलाप वा घरव्यवहार महिलाकै कारण कुशलतापूर्वक चलिरहेका छन् । महिलाबिना पुरुषहरू अपाङ्ग हुन्छन् जुन कुरा अविवाहित पुरुषहरूको मनोदशाबाट पनि सहजै अनुमान लगाउन सकिन्छ । शास्त्रमा पनि 'न गृहम् गृहमित्याहु गृहिणी गृहमुच्यते' भनिएको पाइन्छ, जसको अर्थ गृहिणी नभएको घर घर नै होइन भन्ने हुन्छ । नारित्व भएकी महिलाकै कारण संसार हराभरा एवं सुन्दर बनेको हो । नारी नभएको घर उजाड हुन्छ । पुरुषको उग्रतालाई सीमामा बाँधेर रचनात्मक कार्यमा प्रेरित गर्ने काम महिलाहरूले नै गरेका हुन्छन् । फेरि हाम्रो विवाह संस्कारमा पनि महिलालाई उच्च स्थान दिइएको पाइन्छ । संस्कारअनुसार बुहारीलाई केवल बुहारीका रूपमा नभएर लक्ष्मीका रूपमा भित्र्याइन्छ र यो मान्यता राखिन्छ कि अब घरमा लक्ष्मी भित्रिएकाले कुनै अभाव हुन पाउँदैन । यस्ता अनेकौं दृष्टान्त पाइन्छन् जसबाट महिलाहरू शक्तिका प्रतीक हुन् भन्ने कुराको पुष्टि हुन्छ ।

- दीपक दहाल

 Image