Successfully Copied

कसले कसरी मनाउँछन् तीज?

तीजको रमझमले सबैलाई आफूतर्फ खिचेको छ। कार्यक्रम विशेषमा मात्र नभएर सडकमा हिँडिरहेका महिलाहरू रातो, पहेंलो पहिरन एवं शृंगारमा सजिने क्रम सुरु भैसकेको छ।

तीजको रमझमले सबैलाई आफूतर्फ खिचेको छ। कार्यक्रम विशेषमा मात्र नभएर सडकमा हिँडिरहेका महिलाहरू रातो, पहेंलो पहिरन एवं शृंगारमा सजिने क्रम सुरु भैसकेको छ। यो पर्वमा महिलाहरू आफूलाई सिंगार्नु, रमाइलो गर्नुका अतिरिक्त स्वतन्त्रताको अनुभूति पनि गर्छन्। हिजोआज तीजको स्वरूप बदलिँदै गएको छ। यसलाई सामाजिक पर्वका रूपमा विकसित गर्नेमा आजका व्यावसायिक महिलाहरू अगाडि देखिन्छन्। परिमार्जन हुँदै गएको तीज मनाउने शैली पनि फरक वर्गका लागि फरक-फरक छ।

आफूलाई सधै चुस्त-दुरुत राख्न सफल नायिका करिश्मा मानन्धर तीजमा स्वास्थ्यका लागि भए पनि व्रत बस्ने बताउँछिन् भने अर्की नायिका दीपाश्री निरौला तीजको व्रत कसका लागि भन्ने प्रश्न गर्दा ठट्याउलो पारामा भन्छिन्, 'शिवजीका लागि, तर वास्तवमा म आफ्नै लागि व्रत बस्छु। मेरो तीजको व्रत आफ्नै सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि समर्पित हुन्छ।' यी दुवै नायिका पानी पिएर व्रत बस्छन् भने पारिवारिक जमघट र नाचगानमा पनि रमाउँछन्। दीपाश्री अघिल्ला केही वर्ष पानी नपिई व्रत बसिन् तर त्यसले उनको स्वास्थ्यमा नकारात्मक असर त पुर्‍यायो नै व्रतकै दिन रिंगटा लाग्ने, कमजोरी महसुस हुने जस्ता समस्या देखिए। करिश्मा तीजमा रातो साडीमा सजिएर नाचगान गर्छिन्। गायिका मञ्जु पौडेल भने व्रत पूरा गरेपछि दोष मेटिन्छ भनेर पञ्चमीको व्रत पनि बस्छिन्। तीजको किनमेल महँगै हुने बताउने मञ्जुको यसपटकको तीज जापान र दुबईमा बित्दैछ। स्टेज परफरमेन्ससँगै गायकीमा जमेकी इन्दिरा जोशीलाई छिट्टै तीज लाग्छ। घरमा अविवाहितहरू व्रत बस्ने चलन नभएकाले इन्दिरा व्रत त बस्दिनन् तर स्टेज शो, नाचगान एवं जमघटहरूमा उनको तीज भव्य हुने बताउँछिन्। इन्दिराले भनिन्-विवाहअघि व्रत नबसे पनि हामीकहाँ विवाहपछि भने पानी पनि नपिई व्रत बस्ने परम्परा छ। मैले मेरा आमा, हजुरआमाहरूलाई यसै गर्दै आएको देखेकी छु। मलाई यो पनि एकप्रकारको समर्पण हो भन्ने लाग्छ।

तीजमा विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा गीत गाएर सामाजिक कार्यमा समेत योगदान पुर्‍याउँदै आएकी इन्दिरा जोशी यो पर्वलाई सामाजिक अभियानका रूपमा अघि लानुपर्ने बताउँछिन्। सञ्चारकर्मी कविता अधिकारी तीजका दिन पाशुपत क्षेत्रबाट गरिने लाइभ शो होस्ट गर्नुपर्ने हुनाले अघिल्लो दिन राति उठेर दरका रूपमा दही-चिउरा र केरा मिसाएर बनाइएको स्वादिष्ट परिकार खानेकुरा बताउँदै भन्छिन्, यो आडिलो खाना हो। यो स्वस्थकर त छ नै यसले लामो समयसम्म भोक लाग्न दिँदैन। नेपाल वानकी टेलिभजनकर्मी कविताका अनुसार तीज नेपाली नारीका लागि हर्ष, उल्लास र स्वतन्त्रताको दिन हो। पारम्परिक रूपमा यसको जस्तोसुकै महत्व भए पनि अब हामीले तीजलाई महिला अधिकार, स्वतन्त्रता र सशक्तीकरणसँग जोड्दै जानुपर्छ। अधिकारीलाई गरगहना प्रदर्शन एवं तडक-भडक मन पर्दैन। उनका अनुसार गहनाले जोखिम निम्त्याउँछ भने तडक-भडकले समाज दूषित बनाउँछ।

नर्भिक अस्पतालकी डा. अचला वैद्य व्यस्तताका बाबजुद चाडपर्व मनाउन छुटाउँदिनन्। स्त्रीरोग विशेषज्ञ डा. वैद्य छोटो समयको फुर्सद निकाली तीजका सामान तथा उपहार किनमेल गर्न भ्याउँछिन्। उनका अनुसार यो वर्षौंदेखि चलिआएको संस्कार एवं परम्परा हो। तीजमा महिलाहरू निकै खुसी देखिन्छन्। डा.वैद्य तीजलाई आफ्नो अस्तित्व पहिचान गर्ने दिनका रूपमा लिन्छिन्। तीजमा हरेक नारीलाई आफूखुसी अर्थात् आफूलाई मन लागेको खाने, लगाउने, रमाइलो गर्ने छुट छ। सधैं सेतो एप्रोनमा रहने अचला त्यसदिन रातो साडी र शृंगारमा फरक महसुस गर्छिन् जसले उनलाई आफू भित्रैदेखि फरक भएको अनुभूति हुन्छ।

गायिका मिलन अमात्य तीजको व्रतले परिवार एवं श्रीमान्को सुस्वास्थ्य र दीर्घायुमा सकारात्मक प्रभाव पार्ने कुरामा विश्वास राख्छिन्। उनी तीजकै अवसरमा विभिन्न कार्यक्रममा गीत गाउन पुग्छिन्। त्यहीँ दिदीबहिनीहरूसँग रमाइलो गर्दै नाचगानमा रम्छिन्। तीजको यो पक्ष मिलनलाई अत्यन्त आनन्ददायक र रमणीय लाग्छ। बैंकर्स अञ्जु पन्त तीजअघि नै चुरा-पोते, धागो, रंगीन पहिरन, गरगहना एवं उपहार खरिद गर्छिन्। उनले गर्ने सपिङले उनको तीज सेलिब्रेसनको ढोका खोल्ने काम गर्छ। लुम्बिनी बैंककी अप्रेसन म्यानेजर अञ्जु तीजका अवसरमा माइती जाने, दर खाने, चेलीबेटी भेटघाटका बखत नाचगान गर्दै रमाइलो गर्ने बताउँछिन्। अरुबेला खासै व्रत नबसे पनि तीजमा व्रत बस्ने अञ्जु हाम्रो संस्कृति र परम्परालाई अर्को पुस्तामा हस्तान्तरण गर्न पनि तीज मनाउनुपर्ने बताउँछिन्।

कोरियोग्राफर जयन सुब्बा मानन्धरको तीज अलि क्रान्तिकारी हुन्छ। उनी अरू व्रत बस्ने दिन आफूलाई भिन्न रूपमा प्रस्तुत गर्न मन पराउँछिन्। पारिवारिक भेटघाट, नाचगान एवं स्वादिष्ट परिकारमा उत्तिकै रम्ने जयन अधिकांश नेपाली महिला निराहार व्रत बस्ने तीजकै दिन पनि स्वादिष्ट परिकारमा रमाउन रुचाउँछिन्। उनी तीजलाई नारी स्वतन्त्रताको दिन अर्थात् नेपालीका लागि नारी दिवस हो भन्ने तर्क गर्छिन्। जयन तीजमा आफ्ना चाहनाका कुराहरू पूरा गर्नुपर्छ भनेर सबैलाई सुझाउँछिन्। यसै दिनमा उनी साथीसंगीका साथ सिनेमा हलमा नयाँ सिनेमा हेर्न पुग्छिन्।

गृहिणी सावित्री सुवेदी तीज आउनुभन्दा केही दिनअघि आफ्नै टोलका दिदीबहिनी जम्मा भएर गरिने दर तथा नाचगान कार्यक्रमपछि आफूलाई तीजको रंगमा रंगिएको अनुभूति हुने कुरा बताउँछिन्। पहिले पानी पनि नपिई व्रत बस्ने सुवेदी अहिले पानी तथा जुस पिएर व्रत बस्न थालेकी छिन्। हाम्रो परम्परा र संस्कार भएकाले तीजलाई निरन्तरता दिनु आवश्यक भएको सावित्रीको भनाइ छ। उनको घरमा दर भने राति नै पाक्छ। सुवेदी भन्छिन्, 'सदियौंदेखि हाम्रा आमा-हजुरआमाहरूले मध्यरातमा दर खाने परम्परालाई निरन्तरता दिँदै आएकाले हाम्रा छोराछोरीले पनि त्यही कुरा सिकून् भनेर म राति नै दर बनाउँछु।' उनले बनाउने दर शुद्ध शाकाहारी हुन्छ। खिर, ढकनी, विभिन्न तरकारी, फलफूल, दही उनको दरमा समावेश हुने परिकार हुन्। ब्युटिसियन सिर्जना प्रधान पोखरेल तीजलाई हाम्रो धर्मसँग जोडिएको सुन्दर परम्परा भन्न रुचाउँछिन्। उनी तीजमा नन्द-आमाजूलाई घरमा खान बोलाउने, सौभाग्यका सामग्री उपहारस्वरूप दिने, रातो वा पहेंलो पहिरनमा सजिने कार्यमा आफूलाई प्रफुल्ल महसुस गर्छिन्। हरेक तीजमा व्रत बस्दै आएकी सिर्जना यसलाई पारिवारिक समृद्धिसँग जोडेर हेर्न रुचाउँछिन्। पोखरेल भन्छिन्, 'वर्ष दिनमा एकपटक व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ अनि परिवारलाई पनि राम्रो हुने हुँदा म व्रत बस्न रुचाउँछु।' तीजमा उनी नन्द-आमाजू र परिवारका अन्य महिला सदस्यलाई भेला पारेर नाचगानमा रम्छिन् भने आफ्नै हातले बनाएका मीठा परिकार पनि ख्वाउँछिन्।

आ-आफ्नै धारणा

तीजको रौनक सबैतिर छाइरहेका बेला सेलिब्रेटीहरू पनि तीज मुडमा देखिन्छन्। धर्म-संस्कृतिलाई निरन्तरता दिने क्रममा नेपाली सेलिब्रेटीहरू तीजको योजनामा व्यस्त छन्।

सानैदेखि धर्ममा विश्वास राख्ने भएकीले म साथीभाइको देखासिकीमा तीजको व्रत बस्न थालेकी हुँ। नेवारकी छोरी भएर पनि विवाहअघिदेखि नै म तीजको व्रत लिन्थें। धर्मशास्त्रअनुसार राम्रो वर पाऊँ भनेर व्रत लिएकी हुँ। विवाहपछि भने श्रीमान् र छोरीलाई राम्रो होस् भनेर तीजको व्रत बस्छु। वर्षमा एकपटक भोकै बसेर महादेवको पूजाआजा गर्दा श्रीमान्लाई राम्रो हुन्छ भने किन व्रत नबस्ने? तर तीजमा बढेको विकृति भने मलाई त्यति मन पर्दैन। तडक-भडक पूर्वक तीज मनाउनु राम्रो होइन। म साधारण तरिकाले पूजापाठ र ब्रत बसेर तीज मनाउँछु।

मेलिना मानन्धर, नायिका

आमाले तीजमा व्रत बसेको, नाचगान गरेको, मामाघरमा गएर दर खाएको अनि भगवान्को पूजा गरेको देखेर नै म तीजप्रति प्रभावित भएकी हुँ। किशोरावस्थादेखि नै मैले तीजको व्रत लिन थालेेकी थिएँ। तीजको व्रत बस्दा शान्ति एवं खुसी प्राप्त हुन्छ। मलाई कहिल्यै महिनौंअघिदेखि तीज लागेन। ५ दिनअघिदेखि मेरो तीज प्रारम्भ हुन्छ। म आफ्ना लागि पहिरन जोड्छु भने सौभाग्यका चुरा, पोते, धागो र टीका मिलाएर आफ्ना नन्द, आमाजू एवं मन मिल्ने साथीहरूलाई उपहारस्वरूप दिन्छु। तीजको अघिल्लो दिन नन्द तथा आमाजूलाई दर बनाएर ख्वाउँछु र आफू पनि खान्छु। तीजको दिन आफ्नै घरमा पूजा हुन्छ। सके पशुपति तथा कुम्भेश्वरको दर्शन गर्न पनि जान्छु। विवाह गरेकै साल सन्तान जन्मिएकाले पहिलो तीजमै मैले निराहार व्रत लिनु परेन। म व्रतका क्रममा सकेसम्म पानी खान्न तर शरीरलाई असहज भएपछि पानी एवं सर्बत पिउँछु। तीजमा राम्रो साडीमा चुरा, पोते, टीका आदि मिलाएर लगाउँछु। यसपटकको तीजका लागि मैले साडी तयार गराइसकें। यो महिलाहरूको रमाइलो चाड भएकाले रमाइलोसँग मनाउने वातावरण बन्नुपर्छ।

सविना कार्की, गायिका

मैले थाहा पाएदेखि तीजको व्रत लिएकी छु। आमाहरूले तीजमा व्रत बसेर रमाइलो गरेको देखेर तीजमा व्रत बस्न थालेकी हुँ। तीजको धार्मिक एवं सांस्कृतिक महत्व बुझेपछि मैले खुसीसाथ तीज मनाउन थालें। विवाहपछि म आफ्नो जीवनसाथीलाई राम्रो होस्, सम्बन्ध सधैं सुमधुर रहोस् भनेर तीजको व्रत बस्छु। दर खान माइतीलगायत थुप्रै अन्टीहरूकहाँ जानुपर्छ। यसरी सबै आफन्त भेट्न पाउँदा एकप्रकारको रमाइलो हुन्छ। म तीजमा धेरै खर्च गर्दिन। एउटा कटनको कुर्ता किन्छु तर कहिले राम्रै पनि बनाउँछु। चुरा, पोते एवं टीका पनि किन्छु। कहिलेकाहीँ तीजमा सानातिना गरगहना पनि जोड्छु। अहिले तीजप्रति पुरुषहरूको नकारात्मक सोच बढ्ला जस्तो छ। त्यसैले तीजलाई यसको धार्मिक महत्वको जगेर्ना गर्दै साधारण तरिकाले पूजापाठ गरी मनाउनुपर्छ।

सृष्टि गहतराज, टिभी कार्यक्रम सम्पादक

मैले अहिलेसम्म तीजको व्रत लिएकी छैन तर मम्मी, अन्टीहरूले तीजको व्रत बसेको, पूजापाठ एवं नाचगान गरेको हेरेर रमाउँछु। हिन्दू धर्मअनुसार पूजापाठ गर्ने, मन्दिर जाने र फास्टिङ यसको रमाइलो पक्ष हो। भगवान्का लागि व्रत बस्ने भए बस्छु तर तीजमा राम्रो वरका लागि व्रत बस्ने कुरा सुनिन्छ त्यही भएर पनि म तीजमा व्रत बस्दिन। तीजमा मामुहरूसँग मामाघर एवं अन्टीहरूकहाँ जान्छु। बहिनीहरू भेट्छु, त्यसमै रमाइलो महसुस हुन्छ। तीजको मन पर्ने पक्ष भनेकै रातो पहिरन, चुरा, मेहन्दी, नाचगान गरी स्वतन्त्र भएर हिँडेका महिलाहरूको जमात एवं आफन्तहरूको भेटघाट हो। मचाहिँ मम्मीहरू नाचेको तस्बिर खिच्छु, मीठा-मीठा परिकार पकाएर ख्वाउँछु र राम्रो नृत्यको दर्शक भएर बस्छु। संस्कृतिका नाममा विकृति बढ्नु राम्रो होइन। सबैले देखासिकीमा नभै आफ्नो हैसियतअनुरूप तीज मनाउनुपर्छ।

अदिति बुढाथोकी, मोडल

 Image