तेह्रौं डाबर स्पेशल तीज महोत्सव हरेक वर्षझैं यो वर्ष पनि सफलताका साथ सम्पन्न भएको छ। महिलाहरूको आर्थिक सशक्तीकरणलाई मुख्य उद्देश्य बनाएको यो महोत्सव १२ वर्षदेखि सञ्चालन हुँदै आएको छ। गत साउन ७ देखि ११ गतेसम्म त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजित तीज महोत्सवमा यसपटक १ सय २५ वटा स्टल राखिएका थिए। महोत्सवमा सवा नेपालका १० वटा फुड स्टल थिए। यसपटकको महोत्सवमा नयाँ तथा पृथक् सामग्री उत्पादन कम्पनीको पनि सहभागिता थियो भने १२ वर्षदेखि निरन्तर भाग लिइरहेका ५० भन्दा बढी स्टलले पनि आफ्ना सामग्रीमा निकै परिमार्जन गरेको देखियो। पोतेबाट बनेका चुरा, हार, औंठी, क्लिप, हेन्डिक्राफ्ट, लुगा, जुत्ता, बेडसिटलगायत फर्निचरका सामानहरू पनि त्यहाँ उपलब्ध थिए। सहज र सुलभ खाताका लागि बैंकहरू पनि महोत्सवमा सहभागी भए।
आयोजक संस्था वुमन्स क्रियसन्सकी मिलु थापाका अनुसार यो महोत्सवले थुप्रै महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै आएको छ। रमाइलो गरी चाडपर्व मनाउनुका साथै आय आर्जन पनि गर्न पाइने भएकाले यसमा भाग लिनुको दोहोरो फाइदा छ। वुमन्स क्रियसन (महिला सिर्जनशील केन्द्र) को आयोजनामा सम्पन्न तेह्रौं डावर स्पेशल तीज महोत्सवको तेस्रो दिन फेसन शो तथा विविध सांगीतिक प्रस्तुति कार्यक्रमको आकर्षक पक्ष रह्यो। यो कार्यक्रमलाई व्यवस्थापन पक्षमा डाबर नेपालले सघाएको छ भने नारी मासिकले मिडिया सहयोगीका रूपमा हातेमालो गर्दै आएको छ।