Successfully Copied

बर्खामा पनि लोडसेडिङ

उज्यालोमा बस्ने नेपाली जनताको सपना पूरा हुन निकै गार्‍हो होलाजस्तो छ। अहिले मध्य बर्खामा समेत लोडसेडिङ घट्न नसकेकाले जलस्रोतको धनी देशका जनता अन्धकारमा बाँच्न विवश छन् भने सुख्खा याममा त अझ के गति होला? बाढी-पहिरोले ठाउँ-ठाउँका पावर हाउसहरूमा क्षति पुर्‍याएकाले मध्य बर्खामा पनि

उज्यालोमा बस्ने नेपाली जनताको सपना पूरा हुन निकै गार्‍हो होलाजस्तो छ। अहिले मध्य बर्खामा समेत लोडसेडिङ घट्न नसकेकाले जलस्रोतको धनी देशका जनता अन्धकारमा बाँच्न विवश छन् भने सुख्खा याममा त अझ के गति होला? बाढी-पहिरोले ठाउँ-ठाउँका पावर हाउसहरूमा क्षति पुर्‍याएकाले मध्य बर्खामा पनि साताको ६० घन्टा लोडसेडिङ खप्नुपरेको हो भनेकै आधारमा नेतृत्वकर्ताहरूले यसबाट उम्कन मिल्दैन। त्यसको निराकरण गर्ने वा वैकल्पिक उपाय नअपनाउने हो भने यसले विकराल समस्या निम्त्याउने निश्चित छ। नेपालको विकासको गति पनि यही समस्याकै कारण ओरालो लागेको छ। परिणामस्वरूप नयाँ खुल्ने त परको कुरा भएका उद्योगधन्दाहरू पनि पलायन भएका छन्। पर्यटन क्षेत्र पनि शिथिल छ। समग्र आर्थिक क्रियाकलापमा मन्दी छाएको छ। नेपाल एक्काइसौं शताब्दीमा पनि मैनबत्ती र टुकीको उज्यालोमा बामे सर्दैछ। यो भन्दा ठूलो दुर्गति के होला?

दुर्गा पौडेल, काठमाडौं

महिलालाई सम्मान गरौं

महिलाहरू जननी हुन्, जसको कृपादृष्टि पाएर नै पुरुषले आफूलाई धन्य महसुस गर्छ। महिलाबिना सृष्टिको निरन्तरता सम्भव छैन तसर्थ परिवारका हरेक सदस्यले महिलाहरूलाई उचित सम्मान गर्नुपर्छ। परिवारले सम्मान गरे राष्ट्रले पनि सम्मान गर्छ। सम्मानका लागि उनीहरूलाई शिक्षित बनाउन साथ दिनुपर्छ। महिलाका घरायसी वा बाहिरी हरेक काममा साथ दिनुपर्छ। महिलाहरूमा पनि केही गर्ने हिम्मत छ, जोस छ भनी साहस र आत्मनिर्णय गर्ने दिशातर्फ सहयोग गर्नुपर्छ। उनीहरूको सीप एवं दक्षताको कदर तथा मूल्यांकन गर्न सके अवश्य देशको प्रगति हुनेछ। यसबाट पुरुषहरूको पनि उन्नति हुने निश्चित छ।

वरुण कार्की, झापा (हाल : काठमाडौं)

के उनले न्याय पाइन्?

थुप्रै नेपाली महिला वैदेशिक रोजगारीमा छन्। जसमध्ये सबै पूर्ण सुरक्षित छैनन्। भर्खरै मात्र शोभा परियारले मृत्युदण्ड पाएकी छिन्। त्यसमा उनको गल्ती थियो होला अथवा नहुन पनि सक्छ तर हाम्रोजस्तो मृत्युदण्डको कानुन नभएको देशका नागरिकले विदेशी भूमिमा मृत्युदण्ड पाउँदा सार्‍है दु:ख लाग्दो रहेछ। सुखद् भविष्य निर्माण गर्ने सपना बोकेर विदेशमा यसरी मारिनुपर्छ भन्ने कल्पना उनले सायदै गरेकी थिइन् होला। फेरि उनी त कमाउन भनेर गएकी थिइन् कसैलाई मार्न भनेर त गएकी थिइनन्। उनले हत्या नै गर्नुपर्ने बाध्यता कसरी सिर्जना भयो त्यतातिर कसले सोच्ने? के उनले साँच्चिकै न्याय पाइन् त?

निरुता दाहाल, सुनसरी (हाल : भक्तपुर)

महिलाको साथी नारी

नारी नेपालको प्रतिनिधिमूलक महिला पत्रिका हो। यसले महिलाको साथीका रूपमा आफूलाई उभ्याएको छ। महिलाका सुख-दु:खलाई आत्मसात् गर्दै अघि बढेका कारण यो पत्रिका लोकप्रिय पनि छ। मैले पनि नारी पढ्न थालेको करिब १० वर्ष भयो। यो अवधिमा नारीमा धेरै परिवर्तन देखें। अहिले पनि यो उत्तिकै समयसापेक्ष छ। यद्यपि यसले आफूलाई अझै परिमार्जन गर्न छोड्नु हुँदैन। पछि थपिएका फेसबुक, ट्वीटरजस्ता स्तम्भहरू मजस्ता फेसबुक, ट्वीटरमा धेरै नबस्ने तर त्यसप्रति रुचि राख्नेहरूका लागि निकै रमाइलो एवं जानकारीमूलक छ। त्यसैगरी यसका डिजाइनदेखि अन्य हरेक कुरामा परिवर्तन देखा परेका छन् र नारी राम्रो हुँदैछ तर यत्तिमै चित्त बुझाउनु हुँदैन। नारी अब उत्कृष्ट विदेशी म्यागजिनको स्तरमा छापिनुपर्छ।

शारदा अधिकारी, तीनकुने, काठमाडौं

आजकी नारी विस्तृत हुनुपर्‍यो

नारी म्यागजिनको राम्रो स्तम्भमध्ये 'आजकी नारी' पनि एक हो। यो स्तम्भमा धेरैजसो काठमाडौंका महिलाहरूले स्थान पाउँदै आएका छन्। काठमाडौंमा धेरै मानिसको बसोबास हुनु, काठमाडौंमै पत्रिका धेरै बिक्री हुनु र गाउँको तुलनामा काठमाडौंका महिला अघि भएका कारण पनि यो स्तम्भले काठमाडौंका महिला बढी समेटेको हुनसक्छ। तैपनि उपत्यकाबाहिरका महिलालाई पनि उचित स्थान दिनु आवश्यक छ। देशका दूरदराज क्षेत्रका प्रतिभाशाली महिलालाई अघि बढ्न प्रेरणा दिनुपर्‍यो। सीमित घेरामा खुम्चनुको सट्टा क्षेत्र विस्तृत बनाउनुपर्‍यो। त्यसो गर्न सके नारी आफैं पनि ठूलो क्षेत्रमा समेटिन सक्थ्यो र हरेक ठाउँका नारीलाई यो आफ्नै पत्रिका हो भन्ने लाग्ने थियो।

चन्द्रा सुवेदी, तेर्‍हथुम

गतांकको नारी कभर निकै आकर्षक लाग्यो।

       - रमिता थापा, महाराजगन्ज

नारीमा प्रकाशित सबै प्रकारका टिप्स सार्‍है उपयोगी छन्।

       - सजनी श्रेष्ठ, ग्वार्को

कल्पना ढकालको लेख 'बच्नुपर्छ है' समयसान्दर्भिक छ।

       - बिना लामा, बालाजु

पैसा हातको मैला मात्र हो भन्नेहरूले पैसाबिना बाँचेर देखाऊन् त। (पैसा ए पैसा, नारी असार)

       - सम्झना पाण्डे, कलंकी

गतांकको नारी मेकओभर मन पर्‍यो।

       - सुबु निरौला, विराटनगर

साहित्यिक लेख-रचनाहरूलाई पनि नारीमा नियमित स्थान दिइने हो भने सुनमा सुगन्ध हुने थियो।

       - पार्वती विष्ट, कीर्तिपुर

नेपालको संविधान छिट्टै बनोस् र देशको विकास होस्।

       - सुनीता अधिकारी, धादिङ

गतांकमा प्रकाशित स्वास्थ्यसम्बन्धी जानकारीहरू महिलाका निम्ति सार्‍है उपयोगी छन्।

       - करुणा थपलिया, नुवाकोट

आङ खस्ने समस्या नेपाली महिलाहरूको ठूलो समस्या हो, त्यसका बारेमा विस्तृत जानकारी दिएर नारीले सार्‍है ठूलो गुन लगाएको छ।

       - नन्दमाया अम्गाईं, गोरखा

नारीमा प्रकाशन हुने फेसनसम्बन्धी जानकारी मलाई असाध्यै मनपर्छन्।

       - चन्द्रा सुवेदी, सूर्यविनायक

आकर्षक शरीर मात्र सौन्दर्यको मापदण्ड हो र? नारीले यस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ।

       - शान्ता भुजेल, गोरखा

नारीमा सूचना एवं मनोरञ्जनसम्बन्धी जानकारी कम छापिन्छन्, किन होला?

       - सर्वदा न्यौपाने, एकान्तकुना

 

 Image