Successfully Copied

नायिका श्वेता खड्का र नायक श्रीकृष्ण श्रेष्ठले गत साता हिन्दू परम्पराअनुसार विवाह गरे। ७ वर्षअघि नायक श्रेष्ठले निर्माण गरेको चलचित्र 'कहाँ भेटिएला’ का लागि नयाँ नायिकाको खोजी गर्ने क्रममा फेलापरेकी श्वेता नै श्रेष्ठको दोस्रो चलचित्र कोहिनुर रिलिज हुनुअघि उनकी जीवनसंगिनी बन्न पुगिन्। पनौतीमा जन्मिएकी श्वेता वनस्थली निवासी हुन्। उनी प्लस टुमा पढ्दा कजन दिदी मिथिला शर्माको सल्लाहबमोजिम नृत्य निर्देशक वसन्त श्रेष्ठकहाँ नृत्य सिक्न पुगेकी थिइन्। त्यहीँ नायक श्रेष्ठको नजर श्वेतामाथि परेको थियो।

चलचित्र 'कहाँ भेटिएला’ सफल रह्यो। उक्त चलचित्रको अन्त्यमा दुवैको विवाह भएको थियो। त्यसपछि सबैले यो जोडीको प्रशंसा गर्न थाले र सुहाउने जोडी, राम्रो जोडी भन्दै विवाह होस् भन्ने चाहना पनि व्यक्त गरे। चलचित्र प्रदर्शन गर्ने क्रममा दर्जनौं देश पुगेका श्रीकृष्ण र श्वेताले केही वर्षदेखि सँगै व्यापार गर्न थालेका थिए। होटल इन्द्रेणी हिमालय, कलिउड प्लानेट एवं अन्य व्यापारमा दुवैको साझेदारी छ।

'कहाँ भेटिएला’ पछि 'हाँसिदेऊ एकफेर’,' 'श्रीमान्-श्रीमती’ र 'कोहिनुर’ आदिमा नायिकाका रूपमा काम गरे पनि श्वेताको रुचि व्यापारमै भएकाले उनले धेरै चलचित्रमा काम गरिनन्। विवाहपछि होम प्रोडक्सनमा काम गर्ने कुरा बताउँदै श्वेता भन्छिन्- श्रीकृष्णले बाहिरका चलचित्रबाट राम्रो अफर आयो भने पनि काम गर्नुपर्ने हौसला दिन्छन्। वर्षमा एक मात्र चलचित्रमा काम गर्ने योजना श्वेताको छ। जीवनमा नयाँ केही गर्नुपर्छ भन्ने सोच राख्ने श्वेता विवाहपछि पनि घर, परिवार, व्यापार एवं चलचित्रलाई सँगै अघि बढाउने सोचमा छिन्।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप : रोशना महाजु, ग्ल्यामर ब्युटिपार्लर, ज्ञानेश्वर

लोकेसन : होटल इन्द्रेणी हिमालय, गौशाला

 Image