सयौं जुनी पाउन सकिन्छ सकिन्न
यो जुनी त तिम्रै लागि हो..............
दीपक विष्ट र आयशा शाक्य एक्लै कतै भेट्दा दीपकले सुनाउने एक मात्र गीत हो यो। माया-प्रेम कसरी कोसँग गाँसिने हो कसैलाई थाहा हुँदैन। त्यस्तै संयोग हो उनीहरूको प्रेम कथा पनि। सुदूरपश्चिमको डढेलधुराका दीपक विष्ट तेक्वान्दो खेल्न काठमाडौंमा एक्लै बस्थे। आयशा पाटनको एउटा शाक्य परिवारकी एक्ली छोरी, जसलाई कुनै अभाव र समस्या थिएन। त्यतिबेला दीपक विष्ट नेसनल टिममा थिए। उनले आयशालाई रंगशालामा तेक्वान्दोकी जुनियर खेलाडीका रूपमा देखेका हुन्। अरूभन्दा फरक देखिने कोरियन लुक्सकी आयशा उनको नजरमा परिहालिन्। केही समयपछि नै आयशा राष्ट्रिय टिममा छानिइन्। राष्ट्रिय टिममा भएपछि सँगै प्रशिक्षण लिनुपर्दा भेटघाट बढ्न थाल्यो। भोक, प्यास, गार्होसार्हो भन्दा दुवैको पहिलो प्राथमिकता खेल नै हुन्थ्यो। जसरी भए पनि, बिरामीमै पनि प्रशिक्षणका लागि रंगशाला पुग्ने यी दुईको बानीबाट दुवै प्रभावित थिए। आयशा सिनियरहरूसँग पनि नम्रताका साथ सिक्न खोज्थिन् र दीपक पनि तनमनले सिकाउँथे। शंखमूलमा बसिरहेका दीपकलाई आयशा पनि शंखमूलमै बस्छिन् भन्ने थाहा भयो। त्यसपछि उनीहरू आ-आफ्नो साइकलमा आउने, जाने सँगसँगै हुन थाल्यो। दीपकसँग बाइक भएपछि दुवैजना एउटै बाइकमा हिँड्न थाले। सँगै आउने-जाने, चिया-खाजा खाने, सँगै प्रशिक्षण लिने र खेल्ने क्रममा उनीहरूबीच आत्मीयता बढ्दै गयो र बिस्तारै फोनमा लामो कुराकानी हुन थाल्यो।
यसैगरी दुई वर्ष बित्यो। एकदिन दीपकले यो सम्बन्धलाई जीवनभरका लागि बनाउनुपर्ने प्रस्ताव राखे। आयशाले पनि सँगै खेल्ने र प्रेमसम्बन्धलाई पूरा गर्नुपर्ने बताइन्। त्यतिबेला दुवैको एउटै धारणा थियो, 'आपसी सम्बन्धका बारेमा कसैलाई केही नभन्ने र खेलमा दुवैजना सर्वोत्कृष्ट हुने।' त्यसैले त १६ जना खेलाडी ६ महिने कोरियाली प्रशिक्षणमा जाँदा पनि कसैलाई उनीहरूको सम्बन्धको सुइँकोसम्म भएन। त्यतिबेला कोरियामा लुकीलुकी कुरा गरेको, भेटेको क्षण सम्झदा आज पनि रमाउँछ-यो जोडी।
दोहामा आयोजित १४ औं एसियन गेममा दुवैले मेडल जिते। यसरी सँगै अवार्ड पाउँदा दुवैलाई अपार खुसी लाग्थ्यो। बंगलादेशमा सम्पन्न साउथ एसियन गेममा दीपक र आयशाले मात्र नेपालका लागि गोल्ड मेडल ल्याए। देशभर त्यसको खुसी मनाइयो, तर त्यो खुसीमा यी दुईको मौन खुसी अझ बढी थियो। सँगै अमेरिका जाँदा आयशाका बुबाले शंका गरेर उनलाई छिटो बोलाएका थिए तर पनि उनीहरूले त्यो शंकालाई शंकामै सीमित तुल्याउन सफलता प्राप्त गरे। ओलम्पिक सम्पन्न भएपछि विवाह गर्ने दीपकको मन थियो तर आयशाले फेरि खेलेर मात्र विवाह गरौं भनिन्। त्यतिबेला दीपकका दुवै खुट्टाको अप्रेसन गरिएको थियो तैपनि उनले आयशाकै प्रेमका कारण गोल्ड मेडल जिते।
पूर्व र पश्चिम फर्किएको संस्कृतिमा हुर्किएका आयशा र दीपकले तेक्वान्दो खेलबाट देश तथा विदेशमा ख्याति कमाएका थिए। उनीहरूको सोच परिवारजनका साथ धुमधामसँग विवाह गर्ने थियो। त्यसैले दीपक धनगढीस्थित आफ्नो घरमा कुरा गर्न पुगे। घरमा किन नेवारसँग विवाह गर्नुपर्यो, आफ्नो जातको भनेजस्तै पाइहालिन्छ नि भनेर रोक्न खोजे। पछि बुबाले तैंले जीवन बिताउने हो हेेरेर गर् भने पनि मम्मीलाई मनाउन अलि गार्हो भएको दीपकले बताए। काठमाडौं फर्किएपछि यहाँको स्थिति भने अझ डरलाग्दो थियो। फोनमा सम्पर्क बन्द, आयशालाई घरबाट कतै नपठाइएको कुराले दीपक तनावमा परे। दीपकले बुबा र अंकललाई बोलाएर आयशाको घरमा कुरा गर्न पठाए तर सकारात्मक जवाफ आएन। एक त जात नमिल्ने अर्काे ११ वर्षको उमेर अन्तर। फलस्वरूप प्रेममा चुर्लुम्म डुबिसकेका यी दुईले सानाठूला सबैसँग सल्लाह लिए, कुरा सुने तर निर्णय भने आफैले गरे। फलत: बूढानीलकण्ठ मन्दिरमा सीमित साथी र दीपकको परिवारका साथ हिन्दू परम्पराअनुसार उनीहरूको विवाह भयो।
विवाहपछि पनि ३-४ वटा देशमा खेल्न पुगेकी आयशाले मेडल पनि जितिन् जसमा श्रीमान् दीपक विष्ट आफै कोच थिए । चार वर्षे वैवाहिक जीवन बिताइरहेको यो तेक्वान्दो जोडीका साथमा अहिले ११ महिने छोरा आदेश पनि छन्। आगामी एसियन गेमको तयारीका लागि आयशा अहिले बिहान-बेलुकै रंगशाला पुग्छिन् भने दीपकले छोरा हेर्ने जिम्मा लिएका छन्। अप्रेसन गरेको शरीर, सानो बच्चा अगाडि भए पनि खेल्छु र जित्छु भन्ने आयशाको आत्मविश्वासमा सधैं आफ्नो साथ हुने विष्ट बताउँछन्। दीपक भन्छन्, 'यसरी नै यही स्पिडमा जाने हो भने एकदिन आयशाले मेरो रेकर्ड तोड्छिन् जुन म पनि चाहन्छु।'
दुवैसँग अमेरिकाको भिसा भए पनि विवाहपछिको समस्यामा उतै बसेर जीवन बिताउने सोच उनीहरूले कहिल्यै राखेनन्। आयशा र दीपकका अनुसार संसारमा जात-भात भन्ने कुरा हुँदैन, भगवान्ले संसारमा केटा र केटी दुई जातमात्र बनाएका छन्। जात-भात त मान्छेले आफ्नो स्वार्थका लागि बनाएको मात्र हो भन्ने सन्देश दिन उनीहरूले पारिवारिक संघर्ष गर्दै आफ्नो विवाहलाई सफल बनाइछाडे। अहिले आयशा माइती गए पनि दीपक भने ससुराली गएका छैनन्। आयशाले आफ्ना हरेक खुसीका क्षणमा आमाबुबा सँगै नहुँदा नमज्जा महसुस हुने बताइन्। अरूसँग विवाह भएको भए आफ्नो खेल जीवनमा उहिल्यै पूर्णविराम लागिसक्ने आयशाको तर्क छ। आयशाका अनुसार श्रीमान्को घरपरिवारका सदस्यहरू सहयोगी छन्। यो दम्पतीको ठाकठुक एउटै कुरामा पर्छ, दीपक कुनै पनि कुरा भन्नासाथ टक्क भैहाल्नुपर्ने स्वभावका छन्। आयशाले ढिलो गर्दा त्यही कुरा झगडाको बीउ हुन्छ। अहिले उनीहरूले नयाँबानेश्वरमा स्पोर्ट्स युनिभर्स नामको खेल सामग्रीहरू खरिद गर्न सकिने आउट लेट पनि खोलेका छन्। खेलले मिलाएको यो जोडीलाई जिन्दगीभर खेलमै रमाउने चाहना छ। अहिले पनि उनीहरू एकलाई चोट लाग्दा अर्कोलाई दुख्ने अनुभव सुनाउँछन्।
मन पर्छ
दीपक विष्ट आयशा शाक्य
खाना : दाल, भात, तरकारी पिज्जा
पहिरन : दौरा-सुरुवाल ट्य्राकसुट
रंग : रातो र नीलो पहेंलो
चलचित्र : एक्सन मुभी बर्फी
कलाकार : राजेश हमाल, दीपकराज र सीताराम जोन्स स्टास
संगीत : रोमान्टिक सुफी संगीत
खेलाडी : वैकुण्ठ मानन्धर, विधान लामा तथा मेसी दीपक विष्ट र रेनुका मगर
पुस्तक : जेल जर्नल हरर तथा बायोग्राफ
भ्रमण : पहाड, हरियाली भएको ठाउँ पोखरा
रेस्टुरेन्ट : कोरियन भिला रेस्टुरेन्ट इन्द्रेणी