Successfully Copied

इन्टेरियर

घरको वास्तविक झलक नै प्रकाश र रंगद्वारा प्रकाशित हुन्छ। कुनै पनि वस्तुमा माथिबाट प्रकाश दियो भने त्यो वस्तुको भित्री सुन्दरता पनि बाहिर झल्कल्छ

मञ्जु सुवेदी, इन्टेरियर डिजााइनर

रंग  र प्रकाशले  घरको आन्तरिक सजावटमा कस्तो प्रभाव पार्छ ?

घरको वास्तविक झलक नै प्रकाश र रंगद्वारा प्रकाशित हुन्छ। कुनै पनि वस्तुमा माथिबाट प्रकाश दियो भने त्यो वस्तुको भित्री सुन्दरता पनि बाहिर झल्कल्छ र त्यो अझ सुन्दर देखिन्छ। जस्तै कुनै शोपिसमा माथिबाट साधारण प्रकाश पार्ने हो भने त्यो वस्तुको वास्तविक रंग प्रकाशित हुन्छ र त्यसले लबी वा डाइनिङलाई अझ सुन्दर बनाउँछ।

लबीमा प्रकाश  र रंगलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?

वास्तवमा लबीबाटै घरको आन्तरिक सजावट झल्कन्छ। त्यसैले लबीमा प्रकाश र रंगको राम्रो व्यवस्था गर्नुपर्छ, जसबाट साधारण सामानहरूमा पनि कोठा सुन्दर देखिन्छ। लबीमा सोफा, पर्दा, भुइँको कार्पेट, भित्ताको रंग र त्यो कोठामा राखिने सामानहरूमा नयाँपन ल्याउन प्रकाशको व्यवस्था हुनुपर्छ। अहिले बेमेल रंगको चलन बढी भएकाले भुइँको कार्पेट, भित्ता र सोफाको रंग छान्दा ध्यान पुर्‍याउनुपर्छ। एउटै रंगले भद्दा देखाउँछ। त्यसैले रंग छनोट गर्दा सोफा र भित्ताको रंग एउटै भए भुइँमा प्रयोग हुने कार्पेटको रंग फरक हुनुपर्छ। बैठक कोठामा  धेरै  बत्ती प्रयोग गर्नुभन्दा सिलिङको बीचमा झुम्मर प्रयोग गर्न सकिन्छ।

रंगले पनि प्रकाशको भूमिका खेलेको हुन्छ ?

रंगबाट नै कोठामा कति प्रकाश आवश्यक पर्छ भन्ने कुरा थाहा हुन्छ। एउटा अँध्यारो कोठामा सूर्यको प्रकाश पुग्दैन भने त्यो कोठालाई उज्यालो बनाउन बत्ती र रंगको उपयुक्त संयोजन गर्नुपर्छ। भित्ता र छतमा एउटै रंग प्रयोग गरियो भने उज्यालो कम देखिन्छ। त्यसैले भित्तामा सेतो रंग लगाए छतमा हल्का नीलो, पहेंलो वा गुलाफी रंग प्रयोग गर्नुपर्छ। छतमा सेतो रंग लगाए भित्तामा हल्का नीलो, पहेंलो वा हरियो रंग प्रयोग गर्दा कोठा उज्यालो देखिन्छ।

प्रकाशले पनि रंगको भूमिका खेल्छ ?

हो, रंग र प्रकाश एक-अर्काका पूरक हुन्। रंग र प्रकाशबिना कोठाको सौन्दर्य खुल्दैन। प्रकाशबिना एउटा मात्र रंग हुन्छ त्यो हो कालो जुन आन्तरिक सजावटमा कम मात्रामा प्रयोग हुन्छ वा हुँदै हुँदैन। त्यो कालो रंगलाई पनि प्रकाशद्वारा मात्र प्रकाशित गर्न सकिन्छ र त्यसको शो राम्रो देखिन्छ। त्यसैले प्रकाश र रंगको राम्रो संयोजन गर्न सकियो भने अँध्यारो घरलाई पनि उज्यालो बनाउन सकिन्छ।

प्रकाश र रंगले मानिसको जीवनमा प्रभाव पार्छ कि पार्दैन ?

अवश्य पार्छ। प्रकाश र रंगको राम्रो संयोजनले बढी ऊर्जा दिन्छ। कुनै पनि घर वास्तु मिलाएर बनाइएको छ भने त्यसमा प्रकाश र रंगको वास्तु पनि मिलाउनुपर्छ। बैठक कोठामा हल्का रंग प्रयोग गर्दा कोठा ठूलो, उज्यालो एवं शान्त देखिन्छ। तनावका बेलामा कोठामा बस्दा कोठामा प्रयोग गरिएको रंग र प्रकाशको प्रभावले तनावमुक्त हुन सहयोग पुर्‍याउँछ। सानो कोठालाई ठूलो देखाउन पनि प्रकाश र रंगले मद्दत गर्छ।

स्वास्थ्य

डा. सुस्मिता ढकाल,

मेघा हस्पिटल, धोबीघाट

ढाड दुख्ने समस्या भन्नाले कस्तो समस्या बुझिन्छ ?

मेरुदण्डको सबै प्रकारका पीडालाई ढाड दुखाइ मान्न सकिन्छ। यसैगरी ढाडको नसा च्यापिनु पनि ढाड दुख्ने समस्या हो।

कुन उमेरकालाई यस्तो समस्या पर्छ ?

कलेज जाने विद्यार्थीदेखि लिएर वृद्धवृद्धासम्ममा यो समस्या देखापर्छ।

के कारणले गर्दा यो समस्या उत्पन्न हुन्छ ?

दिनचर्या नै यसको प्रमुख कारण हो। मानिसको उठाइ, बसाइ, काम गराइ आदिको तरिका नमिल्दा ढाड दुख्ने समस्या उत्पन्न हुन्छ। लामो समयसम्म एउटै ठाउँमा बसेर पढिरहँदा पनि ढाड दुख्छ। त्यसैगरी लामो समयसम्म बसेर काम गर्नुपर्ने सबैमा ढाड दुख्ने समस्या देखापर्नसक्छ। सामान्यतया बाइक चलाउने, शिक्षक, डेन्टिस्ट, ब्युटिसियन आदिलाई ढाड दुख्ने समस्या हुने सम्भावना बढी रहन्छ। यसैगरी गर्भवती महिलाको पेट ठूलो हुने भएकाले शरीरको बनोट फेरिन्छ र प्रेसर जति पछाडिको भागमा पर्ने भएकाले पनि ढाड दुख्ने समस्या उत्पन्न हुन्छ।

महिला तथा पुरुषमध्ये कुनमा यो समस्या बढी हुन्छ ?

यो समस्याले पुरुषको तुलनामा महिलालाई बढी सताउँछ। महिलाले घरबाहिर तथा घरभित्र दोहोरो काम गर्नुपर्ने भएकाले पनि त्यसो भएको हो।

ढाड दुख्ने समस्या रोकथामका लागि के गर्नुपर्छ ?

सबैभन्दा पहिले त उभिएर वा बसेर गर्नुपर्ने कुनै पनि काम लगातार गर्नुहुँदैन। अफिसमा कुर्सीमा बसेर गर्नुपर्ने काम भए पनि एकछिन ब्रेक लिनुपर्छ। यसैगरी डेन्टिस्ट, ब्युटिसियन तथा शिक्षकहरूले पनि लगातार काम नगरी केही बेर ब्रेक लिनुपर्छ। उभिएर लामो समयसम्म काम गर्दा ढाड दुख्ने समस्या उत्पन्न हुन्छ। मोटोपनले गर्दा पनि ढाड दुख्ने समस्या उत्पन्न हुने भएकाले मोटोपन कम गर्नुपर्छ। हाइहिल्सका कारण पनि ढाड दुख्ने भएकाले हाइहिल्स लगाउनुहुँदैन। समस्या देखा पर्नासाथ चिकित्सकको सल्लाह लिनुपर्छ। ढाड दुखाइको समस्यामा इलेक्ट्रो थेरापी तथा म्यानुअल थेरापीबाट उपचार गर्न सकिन्छ।

कानुनी

बेला राई, अधिवक्ता

सम्पत्तिसम्बन्धी अधिकार भन्नाले के बुझिन्छ ? नेपालमा महिलाहरूको हकमा यससम्बन्धी के-कस्तो कानुनी व्यवस्था छ ?

सम्पत्तिसम्बन्धी अधिकार भनेको प्रत्येक नागरिकले प्रचलित कानुनको अधीनमा रही जोसुकैले पनि सम्पत्ति आर्जन गर्न सक्ने, उक्त सम्पत्ति बेचबिखन गर्न सक्ने र भोगचलन गर्न पाउनुका साथै उक्त सम्पत्तिबाट अन्य कारोबार गर्न पाउने अधिकार हो। नेपाल पितृसत्तात्मक भएकाले महिलालाई दोस्रो दर्जाका रूपमा हेरिन्छ। त्यसैले कानुनमा जसरी छोरालाई पूर्ण अधिकार दिइएको छ त्यसरी छोरीलाई दिइएको पाइँदैन। नेपालको अन्तरिम संविधान २०६३ धारा २० मा सम्पत्तिसम्बन्धी अधिकारको व्यवस्था छ जसमा महिलाका लागि भने छुट्टै व्यवस्था गरिएको छैन। केवल धारा २० महिलाको हकसम्बन्धी व्यवस्थामा पैतृक सम्पत्तिमा छोरा र छोरीको समान हक हुनेछ भनिएको  छ। नेपालको मुलुकी ऐन एघारौं संशोधनपछि मात्र सर्वसिद्ध अधिकारका रूपमा जन्मनेबित्तिकै छोरासरह छोरीले पनि अंश पाउँछिन् भन्ने व्यवस्था गरिएको छ। यद्यपि उक्त सम्पत्तिमा बुवा, छोरा वा श्रीमान्ले परिवारको सल्लाहमा चलमा सबै र अचलमा आधा चलाउन पाउँछन् तर छोरी-बुहारीको हकमा बुवा वा श्रीमान्ले इज्जतअनुसार खान, लाउन र आवश्यकताअनुसार शिक्षा, दीक्षा एवं राम्रोसँग उपचार गरेका छन् भने छोरीले उक्त सम्पत्ति भोग चलन गर्न पाउँदिनन् भन्ने व्यवस्था गरिएको छ। त्यसैगरी महिलाको सम्पत्तिमाथिको अधिकारमा स्त्री अंशजनको महलमा व्यवस्था गरिएको छ जसमा १ नम्बरमा कन्या सधवा वा विधवा स्वास्नी मानिसले आफूले आर्जन गरेको चल-अचल सम्पत्ति आफूखुसी गर्न सक्ने व्यवस्था छ भने ४ नम्बरमा दाइजो वा पेवा सम्पत्ति आफूखुसी गर्न पाइने व्यवस्था छ।

दाइजो वा पेवाबाट पाएको सम्पत्ति भएका महिलाको मृत्यु भए उक्त सम्पत्ति कसको हुन्छ ?

कुनै पनि महिलाले दाइजो वा पेवाबाट पाएको सम्पत्ति निजको स्वेच्छामा भर पर्छ। महिलाले कसैलाई कागज गरिदिएकी छिन् भने सोही बमोजिम र त्यस्तो छैन भने निजका छोराछोरी भए छोराछोरीले, छोराछोरी नभए भिन्न भैसकेका छोराछोरी तथा ती पनि नभए श्रीमान्ले, श्रीमान् नभए विवाहित छोरी र छोरी पनि नभए छोराको छोरा वा अविवाहित छोरीले र उनी पनि नभए त्यसपछिका हकवालाले पाउनेछन्।

तपाईंले छोरीलाई पनि कानुनले समान अधिकार दिएको छ भन्नुभयो तर त्यसको उपभोग गर्न नपाएको अवस्थामा उपचारका लागि कहाँ जानुपर्छ ?

कानुनले सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् भनेको छ। कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनी छोरा र छोरीले जन्मसिद्ध अधिकारस्वरूप अंश पाउँछन् तर छोरी भएकै कारणले कसैले पारिवारिक सम्पत्ति उपभोग गर्न पाइनन् भने अदालतसमक्ष गएर माग दाबी गरे अदालतले सम्पत्ति दिलाइदिनेछ।

सौन्दर्य स्वास्थ्य

मोहन भुसाल

संचालक, हेल्दी होम, मिड बानेश्वर

हेल्दी होम के हो ?

यो चार वर्षदेखि अनवरत रूपमा महिलाहरूको मोटोपन घटाउँदै आएको स्थापित स्ांस्था हो। यसले महिलाहरूको शरीर स्वस्थ बनाउन विशेष भूमिका खेल्दै आएको छ।

यसले के-कस्तो सेवा प्रदान गर्दै आएको छ ?

हेल्दी होमले स्किन टाइटनिङ, बडीको सेप मिलाउने तथा मोटोपन घटाउनेजस्ता सेवा प्रदान गर्दै आएको छ।

कसरी उपचार गरिन्छ ?

कुल सेपिङ मेसिनमार्फत वैज्ञानिक पद्धतिले उपचार गरिन्छ। कुल सेपिङले ३ घन्टाको अवधिमा शरीरको १ इन्चदेखि २ किलोसम्म मोटोपन घटाउने काम गर्छ। हेल्दी होमले स्थापना कालदेखि अहिलेसम्म ३ हजार महिलाको उपचार गरिसकेको छ।

कति वर्षका महिलाहरूले यो उपचार गराउन सक्छन् ?

१८ वर्षदेखि ६० वर्षसम्मका महिलाहरूले मोटोपनलगायतका अन्य उपचारका लागि हेल्दी होमलाई

सम्झन सक्छन्।

यसले साइड इफेक्ट गर्छ कि गर्दैन  ?  

यसबाट कुनै साइड इफेक्ट हुँदैन। यसले मोटोपन मात्र घटाउँदैन भयानक रोगहरूबाट जोगिन पनि सहयोग गर्छ। अहिलेसम्म हेल्दी होमबाट उपचार गरेर गएका र उपचार गराइरहेका महिलाहरूलाई कुनै प्रकारको असर गरेको अभिलेख हामीसँग छैन।

 Image