Successfully Copied

हरियो रंगमा साउने सोमबार

साउन महिना भगवान् शिवलाई मनपर्ने महिना, सोमबार मनपर्ने दिन। यही अवसर पारेर महादेवका उपासकहरू उनको आराधनामा तल्लीन हुन्छन्।

साउन महिना भगवान् शिवलाई मनपर्ने महिना, सोमबार मनपर्ने दिन। यही अवसर पारेर महादेवका उपासकहरू उनको आराधनामा तल्लीन हुन्छन्। साउनका सोमबारभरि चोखो बसी व्रत बस्ने तथा चोखो खाने चलन छ। साधारणतया अरू पूजाजस्तै रातो सौभाग्यजनक पहिरन एवं प्रसाधनहरू लगाएर पूजा गर्ने चलन थियो तर अहिले यो बढी फेसनेबल भएको देखिन्छ। हिन्दू धर्म आफै पनि प्रकृतिप्रेमी धर्म र महादेव पनि प्रकृतिमै (कैलाश पर्वत) बस्ने भएकाले पनि साउने सोमबारमा हरिया-राता सौभाग्यका प्रसाधन लगाइन्छ। केही समययता साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोर्‍ह शृंगारमा सजिएर उपासना गर्ने चलन बढेको छ। यतिबेला महिलाहरू मठ-मन्दिर, बाटो, अफिस, घर सबैतिर हरियो रंगमा सजिएका देख्न सकिन्छ। साउनका लागि भनेर पहिरन किन्ने वा बनाउने तथा आफन्त एवं साथीभाइबीच सौभाग्यका सामग्रीहरू आदान-प्रदान गर्ने चलन पनि बढ्दै गएको छ।

पहाड तथा काठमाडौंका धेरै महिला साउनका सोमबारभरि व्रत बस्छन्। साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ। कतिपयले सतीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व छ।  साउन महिनामा बढी वषर्ाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ। यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ।

तराईमा साउन महिनाको पूणिर्माको आसपासको १५ दिन मधुश्रावणीका रूपमा महिलाहरूले मन्दिरमा गएर, चोखो फूल चढाएर व्रत बस्ने चलन भएको प्राध्यापक रामवरण सिंह बताउँछन्। पूणिर्मालाई मनको देवता मानिने भएकाले त्यसको आसपास व्रत बस्ने चलन चलेको मानिन्छ। उमेरअनुसार मधुश्रावणी मनाउने उद्देश्य फरक हुने सिंहले बताए। विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले छोराछोरीको दीर्घायुको कामना गर्दै तथा अविवाहितहरूले असल श्रीमान् पाइयोस् भनेर मधुश्रावणी व्रत बस्छन्।

पहिले साउने सोमबारका दिन आफूसँग भएका गरगहना, राम्रा साडी तथा टीका आदि लगाई चोखो खाएर व्रत बस्ने चलन थियो। केही समययता आएर तराई तथा भारतीय संस्कृति एवं टेलिभिजन तथा चलचित्रको प्रभावले गर्दा साउने सोमबारमा फेसन ट्रेन्ड पनि भित्रिएको छ। वुमन्स प्लानेटकी फेसन डिजाइनर सुषमा सिंहका अनुसार बितेका ६-७ वर्षयतादेखि साउन महिनाका लागि हरिया रंगका कुर्ता, साडी एवं वान पिसहरू बनाउन आउनेहरू बढ्दै गएका छन्। विवाहित हुन् वा अविवाहित सबै हरियो रंगका सिफन, जर्जेट र नेटका कपडामा विड्स, पोते तथा सिताराले भरिएका डिजाइनर पहिरनमा सजिन खोज्छन्। ग्राहकहरूले हरियो टप्स वा कुर्तीमा गोल्डेन वर्क बढी रुचाउने जानकारी दिँदै सिंह भन्छिन्-यसपटक असारको सुरुदेखि नै साउनका लागि पहिरन बनाउनेहरूको भीड छ। यसपटक रातो, पहेंलो, बैजनी, नीलो तथा सुन्तलामा पनि हरियोको टच दिएर नयाँ लुक्स खोज्न थालिएको छ। साउनमा भगवान् शिवको आराधना गर्ने अनि आकर्षक ढंगमा सजिने महिलाहरू हरेक वर्ष फेसनको नयाँ ट्रेन्डअनुसार चल्न पाउँदा खुसी पनि छन्।

राता, हरिया र पहेंला चुरा

विवाहित महिलाहरूका लागि चुरा, पोते र टीकाको महत्व बढी नै छ। एक त विवाहित भएपछि हरेक महिला एउटा भए पनि चुरा लगाएर हिँडेका हुन्छन्। श्रीमान्को दीर्घायुका लागि चुरा लगाउने चलन त छँदै छ साथमा चुराले महिलाहरूको हातलाई पनि सुन्दर बनाउँछ। पहिरनको रंगसँग मिल्ने काँचका दर्जनौं चुरा लगाउँदा हातको सौन्दर्यमा आकर्षण थपिन्छ। त्यसमा पनि विवाह, भोज एवं चाडपर्वमा चुराको महत्व अझ बढी छ। अहिले साउने सोमबारको व्रत बस्ने महिलाहरू हून् वा नबस्ने महिलाहरू नै किन नहून्, उनीहरू हातभरि हरिया चुरा एवं बालामा सजिएका हुन्छन्। ९० वर्षकी हजुरआमादेखि १४ वर्षकी नातिनीसम्मका हातमा हरिया चुरा तथा बालाहरूले साउनको स्वागत गरिरहेको हुन्छ। इन्द्रचोकस्थित चुरापोते पसलकी सना बानुका अनुसार विगत ७ वर्षयता साउनमा दसैं, तीज तथा विवाहको लगनमा जत्तिकै चुराको व्यापार हुन्छ। साउन आउनु एक हप्ताअघि नै साउनका लागि हरिया चुराहरू बिक्री हुन थाल्ने सनाले बताइन्। कुर्तामा भएका स्टोनसँग मिलाएर चुरा किन्न आउनेहरूको पनि त्यत्तिकै भीड हुन्छ। सनाका अनुसार हरिया चुराका साथमा पहेंलो, रातो, रानी तथा सुन्तला रंगका चुराहरू पनि त्यत्तिकै बिक्री हुन्छन्।

 

सुहागको प्रतीक पोते

विवाहित महिलाहरूका लागि पोतेको महत्व ठूलो छ। रातो साडीमा हरियो पोते लगाउँदा महिलाहरूको सौन्दर्यमा थप वृद्धि हुन्छ। तीज एवं साउने सोमबारमा त पोते अनिवार्य नै भएको छ। केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले पोतेका डिजाइन र माला बनाई लगाउने चलन चलेको छ। इन्द्रचोकमा पोतेको व्यापार गरिरहेका अलि खान साउनमा पनि दसैं, तीज एवं विवाहमा जस्तो राम्रो व्यापार हुुन थालेकोमा दंग छन्। पोते उनेर नेकलेस वा विभिन्न फूलका डिजाइन निकालिन्छ। साउनमा रातो, हरियो तथा पहेंलो रंगको कम्बिनेस गरिएको पोते किन्न आउनेहरूको संख्या पनि बढ्दो छ।

 Image