प्रोफेसनल जीवनले हरेक दिन नयाँ चुनौतीहरू लिएर आउँछ। दैनिक कामकाजका बेला ठूलो-सानो समस्या आउनु स्वाभाविक हो। त्यस्तो अवस्थामा तनावग्रस्त हुँदा स्थिति अझ बिग्रन सक्छ। बरु शान्त मनले यस्ता समस्या समाधान गर्ने प्रयास गर्नु राम्रो हुन्छ।
अफिस चाँडै पुग्नु छ, तर ट्राफिकमा फस्नुभयो
समाधान : सबैभन्दा पहिले अफिसमा फोन गरी त्यसको जानकरी दिएर धैर्य एवं आरामपूर्वक बस्नुपर्छ। ट्राफिक जाममा फस्दा स्थिति आफ्नो नियन्त्रण बाहिर हुन्छ। यस्तोमा चिच्याउँदा वा कराउँदा आफ्नै मुड खराब हुनसक्छ। स्वयं आफैले ड्राइभ गरिँदैन भने जाममा फसेको समयलाई मेल चेक गर्न, मिटिङका लागि जरुरी नोट बनाउन वा कुनै प्रोजेक्टसम्बन्धी प्रारूप तयार गर्न उपयोग गर्न सकिन्छ। आफू अफिस ढिलो पुग्ने सूचना दिनुपर्छ। यसले सहकर्मीहरूलाई पनि समस्या हुँदैन र आफैलाई पनि सहज हुन्छ।
अरूले गरेको गल्तीमा पनि आफूले सजाय भोग्नुपर्ने हुन्छ
समाधान : शान्त रहनुपर्छ।
यस्तो संवेदनशील अवस्थामा व्यक्तिको सफ्ट प्रोफेसनल स्किलको परीक्षा हुन्छ। आफ्नो गल्ती नहुँदा पनि आफैंलाई दोषी ठहर्याउने काम भए केही समय शान्त बसेर बोसको आवेग पनि शान्त बनाउने प्रयास गर्नु राम्रो हुन्छ। त्यतिबेला प्रतिक्रिया व्यक्त गर्नु उचित हुँदैन। कारण त्यतिबेला मुखबाट केही नकारात्मक प्रतिक्रिया व्यक्त हुने सम्भावना हुन्छ र जसले आफैंलाई घाटा हुनसक्छ। स्थिति सामान्य भएपछि बोसलाई संयमित भएर शिष्ट भाषामा यथार्थ कुरा अवगत गराउनुपर्छ। यस्तो अपि्रय स्थितिको सामना गरिसकेपछि बोस र सहकर्मीसित मित्रतापूर्ण व्यवहार गर्ने प्रयास गर्नुपर्छ।
अचानक कुनै सेमिनार वा इभेन्टमा जानुपर्ने भयो, जसका बारेमा आफूलाई विशेष जानकारी छैन भने
समाधान : आफ्नो मनोबल बढाउनुपर्छ। आफूलाई जुन कामको जिम्मेवारी प्रदान गरिएको छ त्यसका सम्बन्धमा इन्टरनेटद्वारा सम्पूर्ण जानकारी लिएर संक्षिप्त रूपमा एउटा सूची तयार गर्नुपर्छ। कुनै त्यस्ता सहकर्मी वा मित्रसित कुराकानी गर्नुपर्छ जो पहिले नै यस्तो खालको इभेन्टमा सहभागी भैसकेका हून्। उनको अनुभव आफ्ना लागि उपयोगी साबित हुन सक्छ। सम्बन्धित विषयमा आफूलाई शतप्रतिशत जानकारी नभए पनि अरूका सामु आफ्नो व्यवहार आत्मविश्वासले भरिपूर्ण हुनुपर्ने कुरामा विचार पुर्याउनुपर्छ। यो स्थितिमा महिना दिन पहिलेदेखि गरिएको तयारीभन्दा तत्कालीन समझदारी बढी उपयोगी साबित हुन्छ।
आवश्यक काममा अचानक कम्प्युटर बन्द भए
समाधान : जसरी सम्भव हुन्छ आफ्नो डाटा सुरक्षित राख्ने प्रयास गर्नुपर्छ। सबैभन्दा पहिले आफ्ना प्राथमिकता तय गर्नुपर्छ। जुन कार्य बढी जरुरी छ त्यसलाई पूरा गर्नका लागि अरु वैकल्पिक साधन खोज्ने प्रयास गर्नुपर्छ। यदि पूरा अफिसमै सर्भर डाउन छ भने आसपासको कुनै साइबर क्याफेमा गएर त्यहाँबाट जरुरी मेल पठाउने काम गर्न सकिन्छ। यदि आफ्नो कम्प्युटरको हार्डडिस्कले काम गर्न बन्द गरे अफिसमा उपलब्ध अरू कुनै कम्प्युटरमा आफ्नो काम गर्नुपर्छ। दैनिक कार्यको ब्याकअप डाटा सुरक्षित राख्नु आवश्यक छ। यसले आपत्कालीन स्थितिमा कुनै समस्या हुँदैन।
विशेष स्थितिमा सहयोगीले काम गर्दैनन्
समाधान : कम समयमा कसरी सही ढंगबाट काम पूरा गर्न सकिन्छ विचार पुर्याउनुपर्छ। धैर्यका साथ आकस्मिक काम सक्ने प्रयास गर्नुपर्छ। यस्तो अवस्थामा आफ्नो काम गर्ने शैली उपयोगी साबित हुन्छ। यसका लागि केही त्यस्ता व्यक्तिको सहयोग लिनुपर्छ जसले तीव्र गतिमा राम्रो काम गर्न सक्छन्। आफूसित काम गरिरहेकाहरूको पर्फमेन्सको प्रशंसा पनि गर्नुपर्छ। यसबाट उनीहरूको उत्साह वृद्धि हुन्छ। यस्तो स्थितिमा आफू पनि आफ्ना अधीनस्थहरूसित काम गर्न तयार रहनुपर्छ। कम समयमा राम्रो काम गर्नुपर्ने भएकाले अरूलाई दोष दिनुको साटो स्वयं आफैले उक्त कामलाई परिणाममुखी बनाउन अग्रसर हुनु राम्रो हुन्छ।