Successfully Copied

ममता गुरुङ जोशी, फेसन डिजाइनर

यसपटकको गर्मीका लागि के-कस्ता कपडा भित्रिएका छन् ?

कटन, लिनेन, सिफन, जर्जेट, लिसिस, नेट, सिल्क, क्रेप सिल्क, लाइक्रा आदि भित्रिएका छन्।

यो गर्मीका रंग कुन- कुन हुन् ?

मनोक्रम, मिक्सर अफ ब्ल्याक एण्ड ह्वाइट, वार्म कलरमा रेड अरेन्ज, क्रिमसिम, गार्डेनेट, गोल्डेन, चेरी रेड आदि हुन् भने कुल टोनमा लेमन, आक्वा ब्लु, एमरल्ड ग्रीन, इलेक्टि्रक ब्लु आदि रंगका पहिरन चल्तीमा छन्।

गोराहरूलाई प्राय: सबै रंग सुहाए पनि गहुँगोरो रंग भएकाहरूलाई सुहाउँदैन। गहुँगोरो रंग भएकाहरूले कुन  रंगको पोशाक लगाउँदा सुहाउँछ ?

लाइट एल्लो, पिंक, अरेन्ज, ब्राउन, ब्लु, पर्पल, ब्ल्याक, ह्वाइट तथा ग्रे राम्रो देखिन्छ। डार्क कम्प्लेक्सन भएकाहरूले भित्र लाइट कलर एल्लो, पिंक, ब्लु, पर्पल लगाए पनि बाहिर नेट ब्ल्याक तथा डार्क कलर राखेर डिजाइन गर्दा अझ राम्रो देखिन्छ। डार्क आउटर भए प्रयोग गर्दा फेसनेबल देखिनुका साथै कम्प्लेक्सन राम्रो देखिन्छ।

मोटा एवं दुब्लाले यो सिजनमा कस्ता पहिरन लगाउनुपर्छ ?

मोटा मान्छेले भर्टिकल लाइन तथा डाइगोनल लाइन फेब्रिक प्रिन्ट भएका पहिरन लगाए अग्लो र स्लिम देखिन सकिन्छ। ठूला-ठूला प्रिन्ट र टाढा-टाढा प्रिन्ट भएका पहिरन लगाउनुहुँदैन। साना नजिक प्रिन्टका पहिरनले दुब्लो देखाउँछ। कसैको छाती ठूलो भए छातीको भागमा डार्क र हिपको भागमा लाइट कलर प्रयोग गर्नुपर्छ भने हिप ठूलो हुनेहरूले हिपको भागमा डार्क कलर प्रयोग गर्नुपर्छ। 

होचा महिलाहरूले अग्लो देखिन कस्तो पहिरन लगाउनु उपयुक्त हुन्छ ?

होचा महिलाहरूले भी नेक लाइन र भर्टिकल लाइन लगाउन उपयुक्त हुन्छ।  

र्फमल वेयरका लागि केही नयाँ डिजाइन छ कि ?

स्टाइलिस्ट देखाउन बो-टाई, पेन्सिल स्कर्ट, अग्लालाई पेपर पाइन्ट र होचालाई बेली बटन वा  प्यारालाल पाइन्ट।

स्वास्थ्य

डा. रीमा भण्डारी, न्यूरोलोजिष्ट, अन्नपूर्ण न्यूरो अस्पताल तथा शिक्षण अस्पताल

माइग्रेन के हो ?

टाउकाको आधा भागको पीडा नै माइग्रेन हो। यो पीडा साइडबाट तथा पछाडि जता पनि हुनसक्छ। कसै-कसैलाई टाउको दुख्दा उल्टी होला जस्तो हुने वा कसैलाई उल्टी नै पनि हुन्छ।

के कारणले माइग्रेन हुन्छ ?

ब्रेनमा हुने न्यूरो ट्रान्समिटरको उतारचढावका कारण टाउको दुख्न सक्छ। यसैगरी चर्को घाम, धेरै गर्मी, धेरै चिसो, अनिद्रा, चिन्तायुक्त जीवनशैली, खानेकुरा आदिका कारण टाउको दुख्न सक्छ।   

माइगे्रनका लक्षण के हुन् ?

टाउकाको आधा भाग लगातार दुखिरहनु। टाउको दुख्दा बान्ता तथा ज्वरो आउनु। पीडाले गर्दा काम गर्न मन नलाग्नु आदि।

माइग्रेन कुन उमेरकालाई बढी हुन्छ ?

माइग्रेन धेरैजसो युवावस्थामा हुन्छ। १२ वर्षको उमेरदेखि ४० वर्षसम्म माइगे्रन हुनसक्छ। करिब ९० प्रतिशतलाई ४० वर्षको उमेरभित्रै माइग्रेनले आक्रमण गरिसकेको हुन्छ। पुरुषको तुलनामा महिलालाई यो समस्याले बढी सताउँछ। कतिपय महिलामा महिनावारी हुँदा टाउको दुखेको तथा ज्वरो आएजस्तो हुन्छ।  

माइग्रेन हुन नदिन के गर्नुपर्छ ?

पहिले त आफूलाई के गर्दा तथा के खाँदा टाउको दुख्छ पत्ता लगाउनुपर्छ। घाममा हिँड्दा सनग्लास तथा छाता प्रयोग गर्नुपर्छ। रेफ्रिजेरेटरमा राखिएका चिसा खानेकुरा खानुहुँदैन। सिसीमा राखिएको अचार, गुन्द्रुक आदि खानुहुँदैन। यसैगरी तामा, माछा पनि नखानु नै उचित हुन्छ। धूम्रपान तथा मद्यपान गर्ने बानी छ भने त्याग्नुपर्छ। डेरी प्रोडक्ट खानुहुँदैन।

रोकथामको उपाय ?

आफूलाई कुन खानेकुरा खाँदा टाउको दुख्छ, विचार पुर्‍याउनुपर्छ। प्रर्याप्त मात्रामा निदाउनुपर्छ। चिन्तामुक्त रहनुपर्छ। पानी प्रशस्त मात्रामा पिउनुपर्छ। जंकफुड खानुहुँदैन। नियमित रूपमा शारीरिक अभ्यास गर्नुपर्छ। आफूलाई कुनै न कुनै काममा व्यस्त बनाइरहनुपर्छ। यसो गर्दा पनि टाउको दुख्न कम नभए चिकित्सकको सल्लाह लिनु उचित हुन्छ। समयमै उपचार गराए रोगले विकराल रूप लिन पाउँदैन।

सौन्दर्य

सुदिना खड्गी, भीएलसीसी, डिल्लीबजार

सनबर्न वा छाला डढ्ने समस्याबाट कसरी जोगिने ?    

लामो समय घाममा बस्दा वा हिँड्दा सूर्यको किरणले छालामा रातोपन आउने र दुख्ने हुन्छ जसलाई हामी छाला डढेको वा सनबर्न भन्छौं। साधारणतया सनबर्न घाममा बसेेको केही घन्टामै हुन्छ र त्यसको असर केही हप्तासम्म रहन्छ। सनबर्नबाट जोगिन चर्को घामबाट जोगिनुपर्छ। घाममा जानैपर्ने अवस्था भए कम्तीमा एसपीएफ ३० सनस्क्रिन लोसन लगाउनुपर्छ र हरेक दुई घन्टामा रिप्लाइ गर्नुपर्छ।

समर र्‍यास के हो ?

गर्मीमा पसिना बढी आउँदा हिट र्‍यासेस हुन्छ। हिट र्‍यासेस हुँदा राता स-साना पिम्पल्स शरीरका हरेक भागमा (कपडाले ढाकेको ठाउँमा) देखिन्छन्। समर र्‍यासेसबाट जोगिन हल्का तथा हावा प्रवाह हुने कपडा लगाउनुपर्छ। गाढा मेकअप गर्दा छालाका छिद्र बन्द हुने सम्भावना हुन्छ। पसिनाबाट मुक्ति पाउन पटक-पटक नुहाउनुपर्छ।

गर्मीमा धेरै पसिना आउँदा के गर्ने ?

गर्मीमा धेरै पसिना आउनु स्वाभाविक हो। बढी पसिना आएको अवस्थामा बारम्बार सनस्क्रिन लगाउँदा छालाका छिद्र बन्द भएर पिम्पल देखापर्छ। पिम्पलबाट जोगिन छालालाई जेन्टल फेस क्लिन्जरले सफा गर्नुपर्छ।

 गर्मी महिनामा छालामा हुने सुख्खापनबाट कसरी जोगिने ?

गर्मीका कारण जब हामी लामो समयसम्म पानीमा बस्छौं तब छाला सुख्खा हुन्छ। त्यसैगरी अति गर्मी हुँदा वा एयर कन्डिसनरमा बस्दा पनि छाला सुख्खा हुन्छ। छालालाई सुख्खा हुनबाट जोगाउन पर्याप्त पानी पिउनुका साथै छालामा मोस्चराइजर लगाउनुपर्छ। मोस्चराइजरले छालामा हुने प्राकृतिक तेललाई जोगाउँछ।

रेजर प्रयोग गर्दा हुने एलर्जी कसरी कम गर्ने ?

गर्मीमा प्राय:जसो खुला तथा छोटा पहिरन लगाइन्छ। हात-खुट्टाको छाला सफा बनाउन रेजर प्रयोग  गरिन्छ। रेजर प्रयोग गर्दा हुने एलर्जी कम गर्न रेजर प्रयोग गर्नुभन्दा पहिले सावर लिनुपर्छ। रौं उमि्रएको दिशातर्फबाट रेजर प्रयोग गर्नुपर्छ भने रेजर प्रयोग गर्दा नयाँ ब्लेड प्रयोग गर्न बिर्सनु हँुदैन। पुरानो ब्लेड प्रयोग गर्दा छालाको एलर्जी हुनसक्छ।

स्वास्थ्य

डा. तुम्ला लाकौल शाह, सुखी परिवार क्लिनिक

सेतो पानी बग्ने समस्या कस्तो रोग हो ?

महिलाको योनिबाट गन्हाउने सेतो, पहेंलो चोक्टा-चोक्टाजस्तो पानी बग्छ। सेतो पानी बग्ने समस्या यौन सम्पर्कबाट सर्ने रोगका कारण उत्पन्न हुन्छ। ८ जना गर्भवती महिलामध्ये १ जनामा यस्तो समस्या देखापर्न सक्छ।

यसले कस्ता समस्या उत्पन्न हुन्छन् ?

ढाड दुख्ने, कम्मर दुख्ने तथा तल्लो पेट दुख्ने हुन्छ। यसले पछि गएर बाँझोपन निम्त्याउन सक्छ भने पाठेघरको मुखमा घाउ पनि हुन सक्छ।

के कारणले यस्तो समस्या देखापर्छ ?

सरसफाइमा ध्यान नदिँदा यस्तो समस्या देखापर्न सक्छ। एउटै अन्तर्वस्त्र धेरै दिनसम्म नधोई प्रयोग गर्दा, सार्वजनिक शौचालयमा पिसाब गर्दा पनि यो समस्या देखापर्न सक्छ।

यो रोग लागेको कसरी थाहा पाउन सकिन्छ ?

योनिबाट गन्हाउने सेतो पानी बग्ने, योनि चिलाउने, पिसाब गर्दा सेतो वा पहेंलो चोक्टा-चोक्टा बगे यो रोग लागेको शंका गर्नुपर्छ।

यसको रोकथामका लागि के गर्नुपर्छ ?

सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुपर्छ। भिजेको अन्तर्वस्त्र लगाउनुहुँदैन। दिनमा दुईपटक अन्तर्वस्त्र परिवर्तन गर्नुपर्छ। दिसा-पिसाब गरेपछि राम्रोसँग सफा गर्नुपर्छ। योनिलाई चिसो राख्नुहुँदैन। चिसो भए किटाणुले संक्रमण गर्ने सम्भावना हुन्छ त्यसैले टिस्यु पेपरले पुछ्नुपर्छ। समस्या देखापरे समयमै चिकित्सककहाँ गएर उपचार गराउनुपर्छ।

 Image