Successfully Copied

तीस वर्षपछिको रिटायरमेन्ट योजना

हामीले ३० वर्षदेखि नै आफ्नो बुढेसकालप्रति सजग हुनुपर्छ। ३० वर्ष भनेको जीवनको सबैभन्दा महत्वपूर्ण समय हो।

हामीले ३० वर्षदेखि नै आफ्नो बुढेसकालप्रति सजग हुनुपर्छ। ३० वर्ष भनेको जीवनको सबैभन्दा महत्वपूर्ण समय हो। जीवनको एक कडीको अन्त्य तथा अर्को कडीको सुरुवात हो। यो उमेरसम्म धेरैले अध्ययन पूरा गरी आ-आफ्नो करिअर छनोट गरिसकेका हुन्छन्। यतिबेला आफ्नै कमाइ हुन्छ। यो उमेरसम्म आइपुग्दा जीवनलाई व्यवस्थित बनाउनु नै एकमात्र उद्देश्य हुन्छ। यसमा आफैंले आफ्नो लक्ष्य कोरिन्छ। यो बाटो आफ्नो कर्मक्षेत्र हो भन्ने कुरा आँकलन गरिन्छ। त्यसैले यही उमेरमा बुढेसकालका लागि पनि योजना बनाउनुपर्छ। यो उमेर जीवनका सबै कुरा मिलाएर भविष्यका लागि सोच्ने उमेर हो। रिटायरमेन्टको योजना बनाउँदा आफ्नो जीवनलाई कसरी चलाउने, आफूले लिने योजना आफ्नो बजेटले भ्याउने-नभ्याउने आदि सबै कुरामा ध्यान दिनुपर्छ। जीवनका लागि बनाइने रिटायरमेन्ट प्लानले भविष्य सुनिश्चित बनाउँछ।

केही आवश्यक प्रश्न

रिटायरमेन्टको कुरा आउनेबित्तिकै त्यसले आफ्नो नियमित आम्दानीमा कुनै बाधा पुर्‍याउँछ कि पुर्‍याउँदैन ? आफूसँग भएको सम्पत्ति तथा साधनको आय रिटायरमेन्टपछिका लागि पर्याप्त छ कि छैन ? त्यस बखत खर्चको स्तर कति बढ्छ ? त्यस बखत हेल्थ केयर कत्तिको महँगो हुन्छ ? सामाजिक सुरक्षणको स्थिति कस्तो होला ? दीर्घकालीन लगानी कत्तिको नाफामूलक हुन्छ ? सुरुमै पैसा निकाल्नुपर्‍यो भने के गर्ने ?

रिटायरमेन्टसम्म देशको मुद्रास्फीतिको वृद्धि कस्तो रहन्छ ? आफ्नो बचत, जम्मा पुँजी तथा लगानीमा देशको अर्थतन्त्रले कस्तो प्रभाव पार्छ ? मुद्रास्फीतिले दैनिक खर्च, स्वास्थ्य खर्च आदिको लागत बढाउँछ। त्यसैले रिटाएरमेन्टको योजना बनाउँदा मुद्रास्फीतिको सम्भावित स्तरमा ध्यान पुर्‍याउनुपर्छ। १०-२० वर्षपछिको मुद्रास्फीतिको तुलना गर्न १० वर्षअघिको देशको अर्थ व्यवस्था पनि अध्ययन गर्नुपर्छ।

रिटायरमेन्ट प्लानिङका पाँच चरण

मुद्रास्फीतिको आँकलन गरेपछि पैसा कसरी व्यवस्थापन गर्ने जसले गर्दा योजनाले अन्तसम्म साथ दियोस् भन्ने हेतुले केही कुरामा ध्यान पुर्‍याउनुपर्छ।

मुद्रास्फीतिको आँकलन

मुद्रास्फीतिले आफूसँग भएको सम्पत्ति, जम्मा राशि तथा लगानीमा के-कस्तो असर पुर्‍याउँछ। रिटायरमेन्टको आम्दानी टिक्नुका साथै बढ्छ कि बढ्दैन ?

लाभदायक सरकारी योजनामा नजर पुर्‍याउनुपर्छ। सामाजिक सुरक्षण कोष तथा बीमाजस्ता योजना बजेट सन्तुलित बनाउन सहयोगी हुन सक्छन्।

रिटायरमेन्ट इनकम योजना बनाउँदा लामो उमेर, हेल्थ केयरमा बढ्दो खर्च तथा अतिरिक्त खर्चका सम्बन्धमा ध्यान पुर्‍याउनुपर्छ। यसले गर्दा आफ्नो बचत समयअघि निकाल्नु पर्दैन।

बचत तथा लगानीको विकल्प पहिचान

हरेक मानिस लामो समयसम्म बाँच्न चाहन्छ। अतः आफ्नो इनकम प्लानको समय लामो राख्नुपर्छ। यसले गर्दा आफ्नो पैसा लामो समयसम्म आफैसँग रहन्छ। मुद्रास्फीतिलाई पनि ध्यान दिँदै आफ्नो जीवनशैली विकसित गर्नुपर्छ। मुद्रास्फीतिले खर्चमा वृद्धि मात्र नगरी आफ्नो बचतको मूल्य पनि घटाउँछ। बचत तथा लगानीका उपायहरू जाँच गरी छनोट गर्नुपर्छ। विचार पुर्‍याएर लगानी तथा बचत गरिएन भने बुढेसकालमा धोका पाइन सक्छ। त्यसैगरी मुद्रास्फितिले मेच्युरिटी अमाउन्टमा कस्तो प्रभाव पार्छ ध्यान दिनुपर्छ। बचत वा लगानी करका विषयमा सचेत हुनुपर्छ।

स्वास्थ्यसँग जोडिएका जोखिम

उमेर बढ्दै जाँदा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन्छ। त्यसैले समय छँदै आफ्नो हेल्थ केयरको पूरा अनुमान गर्नुपर्छ। हेल्थ केयर इन्स्योरेन्स योजना छनोट गर्दा रिटायरमेन्टपछिको समयमा आफूले कत्तिको फाइदा लिन सकिन्छ ध्यान पुर्‍याउनुपर्छ। आजीवन हेल्थ केयर तथा इन्स्योरेन्स पोलिसी समयमै लिनुपर्छ। स्वास्थ्यसम्बन्धी अधिकांश समस्या कभर गर्ने खालको पोलिसी छनोट गर्नुपर्छ। आफूलाई बुढेसकालमा सहारा दिने खालको योजना छान्नुपर्छ।

प्लानिङ  

आफ्नो घाँटी हेरी हाड निल्नुपर्छ भनेझैं कुनै पनि योजना बनाउँदा बुढेसकालमा नपुग्दै रद्द गर्नुपर्ने खालको योजना बनाउनु हुँदैन। यदि आफूले लिइरहेको योजना बीचमै छोड्नुपरे आफूलाई धेरैतिरबाट नोक्सानी हुन सक्छ। योजना छनोट गरेर अघि बढेपछि त्यसलाई अन्त्यसम्म चालू राख्ने व्याकअप बनाउनुपर्छ। यदि त्यो सम्भव छैन भने योजनामा सहभागी नहुनु नै वेश हुन्छ। आफ्नो बजेटअनुसार योजनामा हात हाल्नुपर्छ।

जोखिमको आँकलन

प्रत्येक मानिसको जीवनशैली तथा आवश्यकता फरक-फरक हुन्छ। त्यसैले आफ्नो जीवन शैलीअनुरूप जोखिम आँकलन गर्नुपर्छ। जीवनमा के-कस्तो खतरा आइपर्न सक्छ त्यसको अनुमान लगाउनुपर्छ। आफ्नो जीवनशैली तथा आम्दानीको हिसाबले रिटायरमेन्ट योजना बनाउनुपर्छ। त्यसमा आइपर्ने सबै खालका समस्यासँग जुझ्ने उपाय पनि समावेश गर्नुपर्छ। रिटायरमेन्ट प्लानमा आफ्नो जीवनसाथी तथा उनीहरूको जोखिम पनि सामेल गर्नुपर्छ। जीवनसाथीका लागि पनि बीमा तथा मेडिकल प्लान पोलिसी खरिद गर्न सकिन्छ। कुनै आकस्मिक खतरा, दुर्घटना वा आर्थिक आवश्यकतासँग लड्न अलग बचत आवश्यक छ जसलाई आपत्कालीन समयमा प्रयोग गर्न सकियोस्। त्यसैगरी मुद्रास्फिति, आयकर एवं बढ्दो खर्चमा पनि ध्यान दिनुपर्छ। आफ्नो रिटायरमेन्ट योजनाका साथै घरायसी जिम्मेवारी पूरा गर्नु पनि अभिभावकको दायित्व हो। जस्तो घर, बालबालिकाको शिक्षा, उनीहरूको विवाह आदिको योजना बनाउन बिर्सनु हुँदैन। ती सबै कुरालाई समानान्तर रूपमा अघि बढाएर लान सके वृद्धावस्था पनि सुखमय हुन्छ। कसैको आशामा जीवन बिताउनु पर्दैन।

 Image