Successfully Copied

एबीसी ह्यान्डको ब्युटिसियन आइकन

सौन्दर्य व्यवसायीहरूको संगठन एबीसी ह्यान्डले आयोजना गरेको ब्युटिसियन आइकनको तेस्रो संस्करण जेठ महिनाको दोस्रो हप्ता सम्पन्न भयो।

सौन्दर्य व्यवसायीहरूको संगठन एबीसी ह्यान्डले आयोजना गरेको ब्युटिसियन आइकनको तेस्रो संस्करण जेठ महिनाको दोस्रो हप्ता सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि उप-राष्ट्रपति परमानन्द झाद्वारा उद्घाटन गरिएको प्रतियोगितामा संस्थाकी अध्यक्ष सीता पाठकले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। १९ जना सौन्दर्य व्यवसायीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा सबनम बानो ब्युटिसियन आइकन-२०१४ घोषित भइन्। सबनमले मुख्य उपाधिसँगै बेस्ट ड्रेसको अवार्ड पनि हात पारिन्। प्रतियोगितामा दीपा कार्कीले फस्ट रनर अपका साथै वेस्ट वाकको उपाधि पनि जितिन् भने बिनु अधिकारी सेकेन्ड रनर अप घोषित भइन्। गायक रामकृष्ण ढकालका गीतहरूले संगीतमय बनाएको उक्त प्रतियोगितामा गायक ढकालसहित नायक नवल खड्का, एसएसपी रमेश खरेल, सञ्चारकर्मी सिर्जना दुवाल श्रेष्ठ आदि निर्णायक थिए। परिचयात्मक, बेस्ट ड्रेस, टप १०, टप ५ हुँदै बिजेता चयन गरेर टुंगिएको उक्त प्रतियोगितामा तिना बज्राचार्य डिसिप्लिन, सुमी कार्की स्किन, सरु राचल फ्रेन्डली, शर्मिला कोइराला ट्यालेन्ट, सुमी खनाल पर्सनालिटी, निशा थापा फोटोजेनिक, सोनी बस्नेत स्माइल तथा विमला तुलाधर बेस्ट हेयरको एवार्ड जित्न सफल भए।

समृद्धिको बाधक चेलिबेटी बेचबिखन

गत महिना 'मानव बेचबिखनको बदलिँदो स्वरूप र हाम्रो प्रतिबद्धता' विषयक गोष्ठीमा सहभागी विभिन्न दलका नेताहरूले चेलिबेटी बेचबिखनजस्तो जघन्य अपराध मुलुकको समृद्धि एवं सामाजिक परिवर्तनमा बाधक रहेको बताए। उनीहरूले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा, सीप, जनचेतना र गरिबी निवारण मुख्य आवश्यकता भएको औंल्याए। कार्यक्रममा माइती नेपालका उपाध्यक्ष विश्व खड्काले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा चेलिबेटी बेचबिखनका घटना आन्तरिक, सीमापार तथा समुद्रपार नयाँ-नयाँ गन्तव्य बिस्तार भएको जनाए। खड्काका अनुसार वाषिर्क १२ हजार नेपाली चेली बेचबिखन एवं यौनहिंसाको सिकार हुने गरेका छन्। उक्त अवसरमा माइती नेपालद्वारा प्रस्तुत 'नारी' शीर्षकको नाटकले सहभागीहरूलाई भावुक बनाएको थियो।  

नारी सर्जकको सालिक तयार

तीनजना विशिष्ट कोटीका नारी सर्जकको सालिक तयार भएको छ। साहित्यका विभिन्न विधामा कलम चलाएका प्रेमराजेश्वरी थापा, गोमा तथा पारिजातको सालिक प्राज्ञ ओम खत्रीले दुई वर्ष लगाएर तयार पारेका हुन्। साहित्यकार मोदनाथ प्रश्रतिको अध्यक्षतामा गठित त्रिरत्न नारी स्मारकको अगुवाइमा तयार पारिएको उक्त सालिक स्थापना गर्न उचित स्थानको खोजी भैरहेको छ। नारी साहित्यकारहरूको उक्त सालिक ६ फिट अग्लो छ।

स्थानीय निकायमा महिला सहभागिता वृद्धि गरिने

गत महिना गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस जोरपाटीले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय निकायमा महिला प्रतिनिधित्व बढाउन मन्त्रिपरिषद्ले स्थानीय स्वायत्त ऐन, २०५५ संशोधन गरी संसद्मा पेश गर्ने तयारी गरेको जानकारी दिए।

नेपाली नारी लेखक मञ्च

साहित्यका विभिन्न विधाको माध्यमबाट महिला हक-हित एवं उत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकामा नेपाली नारी लेखन मञ्च स्थापना भएको छ। नारीवर्गको सामाजिक, धार्मिक, संस्कारगत अप्ठ्यारा एवं उत्पीडनका विषयलाई साहित्यिक अभिव्यक्तिका माध्यमबाट समाजमा चेतना जगाउने प्रयास गर्नु उक्त संस्थाको लक्ष्य हुनेछ। नीलम कार्की निहारिकाको अध्यक्षतामा गठित नारी लेखक मञ्च १५ सदस्यीय छ।

बेचबिखनबाट प्रभावित महिलाहरूको भेला

गत महिना नयाँ संविधानको परिकल्पना मानव बेचबिखनरहित राज्यको पुन:संरचना भन्ने नारासहित मानव बेचबिखनबाट प्रभावित महिलाहरूको तेस्रो राष्ट्रिय भेला राजधानीमा सम्पन्न भयो। बेचबिखनबाट प्रभावित महिलाहरूको समस्या र त्यसको समाधानका उपाय खोज्ने तथा विद्यमान ऐन-नियमको कार्यान्वयन एवं सामाजिक न्याययुक्त समाज निर्माण गर्नु भेलाको उद्देश्य थियो। मानव बेचबिखनबाट प्रभावित महिलाहरुद्वारा १७ वर्षअघि गठित शक्ति समूह, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय एवं एट्वीनद्वारा आयोजित उक्त राष्ट्रिय भेलामा सहभागी महिलाहरूले देशका विभिन्न जिल्लामा अहिले पनि महिलाविरुद्ध हुने हिंसा व्याप्त रहेकाले राज्य रसरोकारवाला सबै निकायले समुन्नत समाज निर्माणका लागि विशेष भूमिका खेल्न आह्वान गरे। भेलामा विभिन्न जिल्लाका झन्डै २ सय ५० भन्दा बढी महिलाको उपस्थिति थियो। उक्त अवसरमा सहभागीहरूले आफ्ना भोगाइ, अनुभव, विचार, जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए।

 Image