नाक, कान एवं घाँटीसँग सम्बन्धित रोगहरू के-के हुन् ?
नाक सम्बन्धी रोगमा पिनास, रुघा, नाकभित्रको हड्डी बांगिने, नाकको एलर्जी, नाकभित्र मासु पलाउने, नाकबाट रगत बग्ने जस्ता रोग पर्छन्। यसैगरी कानसम्बन्धी रोगमा कान पाक्ने, कानको जाली प्वाल पर्ने, कानको हड्डी खिइने, कानले नसुन्ने, पियरसिङमा (कान छेडेपछि) मासु पलाउने आदि छन्। घाँटीमा टन्सिलाइटिस, थाइराइड, ग्ल्याण्ड टिबि, स्वर भासिने, घाँटीको क्यान्सर जस्ता समस्या हुन्छन्।
पिनास के कारणले हुन्छ ?
भाइरलको हमला तथा मौसम परिवर्तनका कारणले रुघा लाग्छ। अहिले जताततै धूवाँ-धूलो भएकाले रुघा लाग्ने सम्भावना प्रबल छ। रुघा लामो समयसम्म लागिरहे पिनास हुन सक्छ।
पिनास भएको कसरी थाहा पाउन सकिन्छ ?
अहिले कतिपयलाई रुघा लाग्नासाथ पिनास भयो भन्ने भ्रम छ जुन गलत हो। रुघा लाग्ने सबैलाई पिनास हुन्छ भन्ने छैन। लामो समयसम्म रुघा लागेको व्यक्तिलाई पहेंलो र हरियो सिंगान बगे, टाउको दुखे, नाक बन्द भए तथा हल्का ज्वरो आए पिनास भएको हुन सक्छ। यसैगरी गाला दुखे, माथिल्लो दाँत दुखे तथा नाकबाट रगत बगे पिनासको आशंका गर्न सकिन्छ।
पिनास कुन उमेरकालाई हुन्छ ?
पिनास यही उमेरमा हुन्छ भन्ने छैन। सानो उमेरका शिशुलाई भने पिनाससँगै माथिल्लो छातिको संक्रमण पनि हुन सक्छ। युवावस्था र वृद्धावस्थामा बढी पिनास हुन्छ।
पिनासको रोकथामका लागि के गर्नुपर्ला ?
धेरै लामो समयसम्म रुघा लाग्न दिनुहुँदैन। रुघा लागे चिसोबाट बच्नु, झोल पदार्थ बढी पिउनु तथा तातोपानीको बाफ लिनुपर्छ। हरियो सिंगान बगे उपचार गराउनुपर्छ। लामो समयसम्म पिनास भए मासु पलाउन सक्छ जसलाई ठीक पार्न अप्रेसन नै गर्नुपर्ने हुनसक्छ तसर्थ समयमै उपचार गराउनुपर्छ। बाहिर मास्क लगाएर हिँड्नुपर्छ। पिनास धेरै बिगि्रए आँखा तथा मस्तिष्कमा असर परि जटिल समस्या उत्पन्न हुन सक्छ ।
कोरियोग्राफी : अलिना श्रेष्ठ, कोरियोग्राफर
फेसन कोरियोग्राफी के हो ?
फेसन कोरियोग्राफी एउटा सिर्जनात्मक कला हो। पहिलो त फरक तरिकाले हिँड्न जान्नुपर्छ जसले उक्त कला देखाउन सहयोग गर्छ।
फेसन कोरियोग्राफरमा के-कस्ता कुराको ज्ञान हुनुपर्छ ?
फेसन, कलर र स्टाइलको राम्रो ज्ञान हुनुपर्छ।
फेसन कोरियोग्राफरले कार्यक्रम गर्नुअघि के-के कुरा बुझ्नुपर्छ ?
कार्यक्रम के हो, कस्तो हो, थिम के हो भन्ने बु्झ्नुपर्छ। र्याम्प वर्कमा ब्याकग्राउन्ड संगीतको पनि महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले कोरियोग्राफरले कार्यक्रमको थिम सुहाउने राम्रो संगीत छान्न सक्नुपर्छ।
मोडललाई के-कस्ता कुरा सिकाउनुपर्छ ?
र्याम्प वर्क, पोस्टर तथा पोज। साथै बोल्ने, खाने, हिँड्ने र मानिसहरूसँग डिल गर्ने स्टाइल पनि सिकाउनुपर्छ।
कोरियोग्राफरमा के-कस्ता गुण आवश्यक छ ?
कमान्डिङ र फ्रेन्डली हुनैपर्छ।
योग र जीवन : रीता कार्की, योग शिक्षिका
महिलाको तल्लो पेट दुख्ने तथा ढाड दुख्ने समस्याका लागि कुनै योग आसन छन् कि ?
महिलाको तल्लो पेटको पीडा कम गर्न पुतली आसन, गोमुखासन, गर्वासन, ब्रह्मचर्यासन, धनुरासन, मार्जरी आसन लाभदायक मानिन्छ। धेरैजसो महिला घरमा निहुरिएर काम गर्छन्। घर पुछ्न, कुचो लगाउन, बिहानैदेखि निहुरिनुपर्ने बाध्यता हुन्छ। त्यसले ढाडको समस्या देखापर्छ। यसबाट बच्न अगाडि जति समय झुकिन्छ, विपरीत पछाडि केही समय भए पनि झुक्नुपर्छ। ढाड दुख्दा मर्कटासन, भुजङ्गासन, सलभासन आदि गर्न सकिन्छ। ढाड दुख्ने व्यक्तिले कुनै पनि हालतमा निहुरिनु हुँदैन। बरु बसेर काम गर्नुपर्छ। शरीर सीधा अर्थात् ठाडै सीधा राखेर बस्नुपर्छ। कुर्सीमा बस्दा पनि ढाडलाई सीधा राग्नुपर्छ।
योगका लागि उमेरको हदबन्दी छ कि छैन ?
योगका लागि उमेरको हदबन्दी छैन। यद्यपि उमेर बढ्दै जाँदा शरीरको शक्तिमा कमी आउँछ। त्यस्तो अवस्थामा शरीरले जति र जसरी सक्छ, त्यसैगरी योग गर्नुपर्छ।
भान्सामा प्रयोग हुने मसलालाई आयुर्वेदिक औषधि भनिन्छ। यी वस्तुहरूलाई औषधिका रूपमा कसरी प्रयोग गर्न सकिन्छ ?
नेपाल-भारतजस्तो हिन्दू धर्म मान्ने मुलुकमा यस्ता मसलाको प्रयोग बढी हुन्छ। अन्य देशमा यस्ता मसलाको प्रयोग कम गरिन्छ। यसो किन भयो भन्ने कुराको अनुसन्धान गर्दा के पाइयो भने केही वस्तुको नियमित प्रयोग गर्दा रोग नलाग्ने रहेछ। पुराना ऋषिमुनिहरूले उपचार गरिरहनु भन्दा मानिसमा रोग नै लाग्न नदिन विभिन्न औषधिलाई मसलाका रूपमा विकास गरे। उदाहरणका लागि बेसारको कुनै स्वाद हुँदैन। बेसार क्यान्सरजस्तो जघन्य रोगको उपचारको औषधि भएकाले बेसारलाई भान्सामा नियमित रूपमा प्रयोग गर्ने बानी बसाइयो। खुर्सानी पचाउन निकै गाह्रो मसला हो। यद्यपि यसले कुनै पनि शारीरिक पीडा सहने क्षमताको विकास गर्छ। जिरा, ज्वानोजस्ता मसलाले चिसो लाग्न दिँदैनन्। कालो नुन, हिङ, जिरा, धनियाँ, जाइफल, लसुन आदि मसलाले स्वाद बढाउनुका साथै ती औषधीय गुणयुक्त पनि छन्।
भान्सामा प्रयोग हुने मसलालाई नियमित रूपमा खाद्य पदार्थमा मिसाएर प्रयोग गर्दा त्यसले स्वाद मात्र बढाउँदैन, औषधीय लाभ पनि प्रदान गर्छ। यस्ता मसलाको प्रयोग बढी गर्दा शरीरलाई बेफाइदा पनि हुन सक्छ, थोरैले भने फाइदा गर्छ। हामीलाई कुन मसलाले कुन रोगमा फाइदा हुन्छ भन्ने कुरा थाहा नहुन सक्छ। यस विषयमा योग तथा आयुर्वेद विज्ञसँग सम्पर्क राख्नु राम्रो हुन्छ। बुझ्नुपर्ने साधारण कुरा के हो भने बेसार, जिरा, ज्वानो, तिल, हिङ, लसुन आदि मसलाको नियमित प्रयोग गर्नु स्वादका लागि मात्र होइन, थाहा भएका वा नभएका रोगबाट बच्ने उपाय पनि हो।
कानुनी : मीरा दुंगाना, बरिष्ठ अधिवक्ता
आमाको नाममा नागरिकताको मुद्दामा भर्खरै सर्वोच्चले फैसला गरेको छ, अब सहजै पाइएला त ?
सहजै पाइन्छ भन्ने कुरा होइन। पहिलेको फैसलामा आमाले पहिचान नै गर्न नसकेको बाबु भन्ने उल्लेख थियो तर अहिले आमाले पहिचान राखेको र बाबुले छोडेर हिँडेको अवस्था हो। कार्यान्वयन गर्ने निकायका पदाधिकारीहरूले यो एउटा व्यक्तिको मुद्दाको नजिर हुन सक्दैन भन्ने मान्यता भएकाले त्यस्तै समस्या भएका अरू व्यक्तिले नागरिकता पाउन फेरि पनि समस्या भोग्नुपरेको अवस्था छ।
पहिले पनि आमाको नाममा नागरिकता दिने भनेर सर्वोच्चले फैसला गरेको थियो, पुनः सोही विषयमा फैसला गर्नुको कारण ?
अघिल्लो फैसला र यसपटक २०७० साल चैत १० गते भएको फैसलामा तथ्य फरक छ। त्यतिबेला बाबुको पहिचान नभएका एकल आमा थिए भने अहिले बाबुको पहिचान भएको तर स्वास्नी, छोराछोरी छोडेर हिँडेको भन्ने तथ्य छ। यस्ता दुवै खाले तथ्य भएको समस्या छ भने जिल्ला प्रशासन कार्यालयले यसलाई नजिर मानेर नागरिकता दिनुपर्छ।
बाबु हराए वा बेपत्ता भए नागरिकताको हकमा के हुन्छ ?
पहिलो फैसलामा अलिकति जटिलता थियो। यसपटकको फैसलाले केही सहज बनाएको हुनाले सबै जिल्ला प्रशासन कार्यालयले त्यस्ता तथ्य भएका नागरिकताका समस्या छन् भने नागरिकता प्रदान गर्नुपर्छ किनभने सर्वोच्चको फैसलालाई राज्यका हरेक निकायले नजिर मान्नुपर्छ।
वालिगले चाहे बाबु हुँदाहुँदै पनि आमाको नाममा नागरिकता प्राप्त गर्न सक्छ कि सक्दैन ?
सक्छ तर कार्यान्वयन गर्ने निकायका व्यक्तिहरूले त्यसरी दिने गरेका छैनन्। जस्तो सिड (संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने सम्पूर्ण भेदभाव अन्त्य गर्ने माहासन्धि) को धारा १६ ले कसको नामबाट नागरिकता लिने ? कसको थर राख्ने ? भन्ने कुराको अधिकार प्रदान गरेको छ। नेपालको अन्तरिम संविधान २०६३, नेपालको नागरिकतासम्बन्धी ऐनमा रहेको व्यवस्था तथा सिडको धारा १६ ले पनि छनोटको अधिकार प्रदान गरेको छ। त्यसैले आमा वा बाबु जसको नामबाट पनि नागरिकता लिन पाइन्छ र दिनेले पनि दिनुपर्छ।