जाडो यामपछि प्रकृति नै सुन्दर र रमणीय हुन्छ। यो मौसममा फुल्ने फूलहरू धेरै रंग र जातका हुन्छन्। वसन्त ऋतु जताततै रंगीबिरंगी फूल फुल्ने समय हो। फूल फुलेको बेला फूलको जात, रंग र स्वभावको राम्रो पहिचान हुन सक्ने हुनाले आफूलाई मनपर्ने रंग छनोट गर्ने उत्तम समय पनि यही हो। चैतदेखि वैशाखसम्म फुल्ने धेरै थरिका फूलमध्ये नेपालमा उपलब्ध केही फूल यसप्रकार छन् :
१. पेन्जी, २.पिटोनिया, ३.सिनेरिया, ४.भर्गेनिया, ५.गजनिया, ६.पि्रमुला, ७.एन्टोनियम, ८.क्याल्सेरिया, ९.साल्निया, १०. रेनुनक्लस, ११.डेजी, १२. असर्फी, १३. डेल्पोनियम, १४. डालिया, १५. डेन्थम, १६.सिनेरिया आदि।
मौसमी फूलको गुणस्तरीय बीउ हालसम्म नेपालमा सम्भव छैन। हामीले त्यसका लागि विदेशमै आश्रति हुनुपर्छ। जापान, हल्यान्ड र अमेरिकाबाट आएका बीउ उच्च गुणस्तरीय र राम्रो मानिन्छ। मौसमी फूलहरूको आयु छोटो भए पनि यी फूल अत्यन्त आकर्षक देखिन्छन्। बीउ रोपेको ३० दिनमै फूल फुल्न थाल्छ। फूलको आयु ४५ दिनको हुन्छ । यसले बीउ पनि दिँदैन। यस्ता फूलका लागि सिचाइको व्यवस्था राम्रो हुनुपर्छ। मौसमी फूलमा प्रत्येक दिन पानी हाल्नुपर्छ। यसका लागि तापक्रम १८ देखि २० सेल्सियससम्म हुनुपर्छ। यस्ता फूल फुल्ने बीउका लागि बलौटे माटो उत्तम हुन्छ जुन माटोमा अम्लीयपन हुँदैन। मौसमी फूललाई चाहिने खाद्यतत्व यस्तो माटोमा पर्याप्त पाइन्छ। यस्ता फूलमा कम्पोस्ट (गाईं-भैंसीको) मल मात्र हाल्नुपर्छ। मौसमी फूललाई गमला तथा जमिनमा क्यारी बनाएर रोप्न सकिन्छ भने केही ह्याङ्गिङ् गर्न मिल्ने पनि हुन्छन्। मौसमी फूललाई गमलामा भन्दा जमिनमा क्यारी बनाएर रोप्दा फूलको वास्तविक रूप देखिन्छ किनभने जमिनमा जराको वृद्धि, विकास राम्रो हुन पाउँछ। जमिनमा गमलाको तुलनामा फूल पनि धेरै फुल्छन्।
रंग
मौसमी फूल रातो, सेतो, पहेंलो, प्याजी, गुलाबी, नीलो, हल्का रातो, सुन्तला आदि विभिन्न रंगमा पाइन्छन्।
स्याहार
मौसमी फूललाई दैनिक २-३ पटकसम्म निरीक्षण गर्नुपर्छ। दिनहुँ पानी हाल्नुपर्छ।
बिरुवाको उचाइ
१२ इन्चसम्म।
फूलको आकार
३ देखि ६ सेन्टिमिटरसम्म।
ह्याङ्गिङ् गर्ने मिल्ने फूल
१. पिरोनिया २. क्याल्सरिया ३.पिलारोगोनियम ४. भर्गेनिया ५. जिरानियम।
- ईश्वर सिलवाल
सदावहार नर्सरी, गोदावरी